म थाक्दिनँ, म हार्दिनँ
शारीरिक पीडा कम गर्न औषधि सुरु गरेपछि म कति बेला औषधिको थुप्रोमा पुरिएँ, यकिन गरेर भन्न सक्दिनँ। सायद त्यही औषधिको रासबाट डिप्रेसन पलायो।
म खुसी र दुःखीभन्दा अलि पर कतै छु। त्यस्तो रित्तो ठाउँ— जहाँ तन त छ, मन छैन। मन त छ, तन छैन।
मनोवैज्ञानिक कोणबाट हेर्ने हो भने संसारमा दुई किसिमका मानिस छन्— खुसी र दुःखी। यी अवस्था स्थायी नहुने भएकाले मानिसहरू खुसी र दुःखको पेन्डुलममा हल्लिरहन्छन्। हरेक मानिस खुसी हुन चाहन्छ। तर, दुःख एउटै सिक्काको अर्को पाटो भएकाले छल्न सकिँदैन। यो चक्र घुमिरहन्छ। तर, संसारमा तेस्रो किसिमका मानिसहरू पनि छन्— कहिले खुसी र कहिले दुःखी हुनेहरूको संसारभन्दा अलग्गै संसारमा संघर्ष गरिरहेका मानिसहरू। ‘डिप्रेसन’को चक्रव्यूहमा बाँचिरहेका मानिसहरू।
हो, म त्यही तेस्रो वर्गमा पर्छु।
मानिसहरू सोच्छन्— डिप्रेसन भनेको रोएर बस्नेहरू हुन्। सधैं दुःखी भएर बस्नेहरू हुन्। जीवनका दुःख गनेर उदास हुनेहरू हुन्। उनीहरू चिच्याउँछन्, अरूलाई दुःख दिन्छन्। कसैसँग बोल्दैनन्। कुनै कुरामा रमाउन चाहँदैनन्, सधैं नकारात्मक सोच्छन्।
हाम्रो समाजले यही कित्तामा राखेर डिप्रेसनलाई एउटा घेराभित्र बाँधिदिएको छ।
कसैले कतै लेखेको थियो— संसारमा सबैभन्दा सजिलो काम अरूलाई मूल्यांकन गर्नु हो। र, सबैभन्दा गाह्रो काम सही मूल्यांकन गर्नु हो।
कल्पना गर्नुस्—
– पृथ्वीको भार एकैपटक टाउकोमा थचारिँदा कस्तो महसुस हुन्छ ?
– सानो बाकसमा वर्षौंसम्म कोच्चिएर बस्नु पर्दा कस्तो सकस हुन्छ ?
– कसैले मुख बन्द गरिदिएको छ, सास बन्द गरिदिएको छ। बाँच्न पनि सकिन्न, मर्दा पनि मरिँदैन ! कस्तो हुन्छ ?
– आँखाअघि धुम्म कालो बादल लाग्दा आँखा हुँदै मस्तिष्कसम्म पुग्ने दृश्य कति भयावह र डरलाग्दो हुन्छ ?
– कहिले मुटु अचानक फुट्लाझैं हुने र सास रोकिने गर्दा कस्तो हुन्छ ?
– गहिरो समुद्रमुनि डुब्नुभएको छ, सास फेर्न छट्पटाइरहनुभएको छ, आकाशबाट कसैले खसालिदिएको छ र तुफानझैं वेगले जमिनतर्फ लड्दै हुनुहुन्छ। त्यति बेला कस्तो हुन्छ ?
यी र यस्तै छट्पटाहट, डर, एक्लोपन, दुःख, शोक र पीडा हो डिप्रेसन। अचेल बाटामा हिँड्दा ठेस लाग्यो भने पनि मान्छेहरू ‘म त डिप्रेस भएँ’ भनिदिन्छन्। म चुपचाप सुनिबस्छु।
यी अवस्थाहरू कल्पना गरेर मात्र बुझ्न सकिन्न। भन्छन् नि— अचानोको पीर खुकुरीले बुझ्दैन।
‘ह्यारी पोटर’ शृंखला लेख्नुअघि जेके रोलिङ त्यस्तै छट्पटाहट, डर, एक्लोपन, दुःख र पीडाबाट गुज्रिएकी थिइन्। एक्ली आमा हुनुले पनि सायद उनमा डिप्रेसनको बलियो जग बसेको थियो। पटक–पटक आत्महत्याको सोच आउँदा पनि उनले आफूलाई सम्हालिन्। उपचारपछि उनी ठीक भइन्। ‘ह्यारी पोर्टर’ शृंखलामा उनले ‘डेमेन्टोर्स’जस्तो भयानक प्राणी जन्माइन्, जसले मान्छेको खुसीलाई हरण गर्छ र डिप्रेसनमा पुर्याउँछ।
रोलिङले कतै लेखकी छन्, ‘डिप्रेसनको अनुभवबारे सामान्य मान्छेलाई बुझाउनै सकिँदैन। किनकि यो उदासी होइन। मलाई उदासीबारे थाहा छ। उदासीले मान्छेलाई रुवाउँछ र त्यसको अनुभव पनि गराउँछ। तर, डिप्रेसन त्यस्तो चरण हो, जहाँ हरेक कुरा रित्ता लाग्छन्। अनुभूति रित्तो हुन्छ।’
डिप्रेसनको सार यही हो— खुसी लाग्ने कुराले खुसी दिँदैन। हाँसो लाग्ने कुराले हँसाउँदैन। कसैसँग बोल्न नपरोस्, कसैसँग हाँस्न नपरोस्, एक्लै कतै आँखा चिम्लिएर बसूँ— हरबखत यस्तै–यस्तै भइरहन्छ। आफ्नो कोठाभित्रकै संसारमा हराएर कतै विलीन होऊँजस्तो लाग्छ। कहिले सिरानीले मुख च्यापेको छ, कहिले छतबाट तल हेर्दै टोलाएको छ। मरूँ–मरूँ लाग्ने तर मर्न नसकिने। बाँचूँ–बाँचूँ नलाग्ने तर बाँच्नैपर्ने। आफैंप्रति घृणा जाग्ने, मनोबल शून्य हुने। शरीर जति बेला पनि गलेजस्तो, कति बेला कहाँ ढलिन्छ जस्तो।
यी वर्गका मानिस तिनै हुन्, जो यो धरतीमा बराबर बाँच्ने अधिकारले आएका हुन्। छोटो मानवीय जुनी सकेसम्म खुसी र सुखका साथ बिताऊँ भन्ने इच्छा यिनीहरूलाई पनि हुन्छ। यी मानिसलाई पनि अरूलाई जस्तै प्रेममा डुब्ने, राम्रो जागिर खाने, संसार डुल्ने र एउटा राम्रो जीवन बिताउने इच्छा हुन्छ। तर, दुर्भाग्यवश उनीहरूलाई त्यो सुविधा छैन। उठेदेखि सुत्ने बेलासम्म आफ्नै दिमाग र आफ्नै शरीरसँग संघर्ष गर्नुपर्ने बाध्यताले यति गाँजेको हुन्छ कि हाँसो र खुसी कतै पर क्षितिजमाथिको आकाशमा कावा खाइरहेझैं लाग्छन्। भन्छन् नि— आकाशको फल आँखा तरेरै मर्ने हो !
म बिहान उठ्छु। कहिलेकाहीँ उठ्नासाथ ममा ‘म अझै किन बाँचिरहेकी छु ? ’ भन्ने भावना आउँछ। किन बिहान भएको होला ? सूर्य किन उदाएको होला ? यो सूर्य किन सधैंका लागि अस्ताउँदैन होला ? यस्तै ‘डिनायल’पछि मेरो दिन सुरु हुन्छ। भन्छन् नि— बिहानीले दिनको संकेत गर्छ।
घरमा बुझ्ने मान्छे छन् भने फरक कुरा तर अधिकांश परिवारले ‘डिप्रेसन’लाई अझै स्वीकार गर्न सकेका छैनन्। त्यसैले हरेकजसो ‘डिप्रेस्ड’ मानिसको संघर्ष घरबाटै सुरु हुन्छ। पढाइ, जागिर, बिहे, बानीबेहोरा आदि कुरामा खप्की खाएपछि मात्र उसको बाँकी दिन सुरु हुन्छ।
हाम्रो सामाजिक संरचना यस्तो छ कि मानिस जे छ, त्यो भएर बाँच्न पाउँदैन। ऊ दुःखी छ भने कसैसामु दुःख बिसाउनुको तुक छैन। ऊ उदास छ भने त्यो उदासी आँखाबाट लुकाउनुपर्छ। आँसु झार्नु पर्यो— अहँ, हुँदै हुन्न। समाज खै कहाँनेर पुगेर भड्कियो, थाहा छैन तर समाज केवल हाँसेको र रमाएको मात्र हेर्न चाहन्छ। उसलाई उदास अनुहारहरू फिटिक्कै स्वीकार्य छैन। समाज हरबखत मूल्यांकन गर्न तम्तयार भएर बसेको छ। यस्तो समाजमा एउटा ‘डिप्रेस्ड’ मानिस कसरी टिक्न सक्छ ?
‘डिप्रेस्ड’ मानिसलाई समाजले बुझ्ने विशेषणहरू यस्ता छन्—
– साइको
– ठिस
– मेन्टल
– पागल
– दुःखी आत्मा
– दिमागी बिरामी
– दिमागको औषधि खाने
– सेन्टी
यस्तै सामाजिक चेतनाले गर्दा मलाई दिनभर अभिनय गर्नुपर्छ। बाहिर छुट्टै मानिस र छुट्टै आवरण देखाउनुपर्छ। मन नलागी–नलागी भीडका लागि हाँसिदिनुपर्छ। नाचिदिनुपर्छ। बोलिदिनुपर्छ।
त्यति गर्दा पनि पुग्दैन। अनेक सुन्नुपर्छ—
‘ए ! त्यसको त के कुरा गर्नू र ! भर्खरै हाँसेको छ, भर्खरै चुप लागेर बसेको छ। पूरै साइको लाग्छ मलाई।’
‘भेटघाट, हँसिमजाकसम्म त ठीकै हो धेरै नजिकिँदा खतरा होला है !’
‘त्यसले त दिमागको औषधि खान्छे।’
‘तिमी यस्तो हाँस्ने, रमाउने मान्छे कसरी डिप्रेस्ड हुन सक्छ्यौ ? ’
‘तिमी काठमाडौंको रैथाने, कसरी डिप्रेस्ड हुन्छ्यौ र ? ’
दिनभरको संघर्षपछि आउँछ रात, जसले आफूजस्तै अँध्यारो लिएर आउँछ। बिस्तारै कोठाभित्र छिरेको अँध्यारोले सारा संसारलाई शान्त बनाउँछ, मेरो संसार बिथोल्छ। म रातसँग डराउन थालेकी छु। म अँध्यारोसँग भाग्न थालेकी छु। तर, भन्छन् नि— रात पनि दिनजस्तै जीवनको अर्को पाटो हो।
म चाहन्छु— मेरो संसारमा दिनमात्रै होओस्। मध्यरातमा पनि म उज्यालो देखिरहूँ !
उज्यालोको उत्कट चाहनाबीच रात यसरी घस्रिरहन्छ कि मानौं समयका हरेक सेकेन्ड, मिनेट र घण्टाका सुईलाई कछुवाले काँधमा बोकेर हिँडिरहेको छ— आफ्नै गतिमा। उज्यालो त खरायो हो !
घण्टौंको संघर्षपछि आँखामा आउने निद्रा पनि प्रिय हुँदैन। डरलाग्दा सपनाको ऐंठनले म कतिपटक निस्सासिएकी छु। यस्ता दुस्वप्नले कतिपटक चिथोरिएकी छु। घाँटी च्यापेर कसैले मार्न खोजेजस्तो, आकाशबाट बेतोडले जमिनमा खसेजस्तो, जमिनमुनि जिउँदै गाडिएजस्तो ! हो, यस्तै यस्तै हुन्छ मलाई।
रातभरिको ऐँठनपछि आउने उज्यालोले पनि उति स्वागत गर्दैन। हात–खुट्टा एक्कासि पक्षाघात भएजस्ता हुन्छन्। शरीरमा रगत बग्न छोडेजस्तो हुन्छ। जताजतै ढुंगाले थिचेजस्तो गह्रुँगो हुन्छ। छटपटीमा कहिले भित्ता हेरेर टोलायो, कहिले छानो हेरेर। कहिले उठेर बस्यो, कहिले घोप्टो परेर। कहिले गीत सुन्यो, कहिले किताब पढ्यो।
डिप्रेसनको एउटा यस्तो चक्र हुन्छ, जतिबेला संसारका जे–जस्ता प्रेरणादायी भिडियो हेरे पनि मनमा प्रेरणा जाग्दैन। अध्यात्ममा लीन भए पनि मन बाहिरै कतै टोलाइरहन्छ। संसारभर भड्किए पनि, ड्रग्स लिए पनि, बेहोसै भए पनि त्यो चक्रले अचेट्न छाड्दैन। डिप्रेसन यस्तो काँडाजस्तो बनेर बस्छ, जुन निकाल्न पनि सकिँदैन, राख्न पनि सकिँदैन। न त काँडाले घोचेको ठाउँ भेटिन्छ न काँडा नै। बस्— घोचिरन्छ, विष फैलाइरहन्छ।
आन्तरिक युद्धबाट घायल भइरहँदा पीडा थप्ने काम परिवार, आफन्त र इष्टमित्रले नै गर्छन्। उनीहरू भन्छन्, ‘त्यो पागलको डाक्टरकहाँ किन गएकी ? बेइज्जती। आफ्नो मन आफैंले सम्हाल्नुपर्छ। के भा’को छ र ? आफ्नो मन दह्रो बनाउने हो।’
इष्टमित्रहरू किन सधैं दुष्टमित्र हुन्छन् ?
जसरी शरीरमा कुनै ठूलो घाउ हुन्छ, जसरी मधुमेह र उच्च रक्तचापजस्ता रोग लाग्छन्— डिप्रेसन पनि त्यसरी नै लाग्ने रोग त हो। अरू रोग शरीरका अंगहरूमा लाग्छन्। डिप्रेसन मस्तिष्कमा लाग्छ। मस्तिष्कबाट सुरु भई शरीरका हरेक अंग शिथिल पार्छ।
तर, किन ढुक्कसँग ‘मलाई प्रेसर हाई छ’ भन्न सकिन्छ तर ‘मलाई डिप्रेसन छ’ भन्न सकिँदैन ? किन ‘मैले पेटको वा मुटुको औषधि खान्छु’ भन्न सकिन्छ तर ‘मैले दिमागको औषधि खान्छु’ भन्न सकिँदैन ? किन ‘आइपिल वा कन्डम दिनुस्’ भन्न सहज छ तर ‘मलाई क्युटापिन, प्यारोजेटाइन, क्लोनाजेपाम वा जोल्डेम दिनुस्’ भन्न सहज छैन ? किन यी ‘एन्जाइटी’ र ‘प्यानिक अट्याक’ समाजसँग लुकाउनुपर्छ ? झाडापखाला लाग्दा साथ दिने परिवार, आफन्तजनले ‘प्यानिक अट्याक’ आउँदा किन साथ दिँदैनन् ?
एकपटक डक्टरको पालो कुरिरहेका बेला एकजना सुन्दर युवती आएर मेरो छेउमा बसिन्। उनी पनि डक्टरलाई भेट्न आएकी रहिछन्। कुरैकुरामा उनले म आउनुको कारण सोधिन्। फिस्स हाँसेर ‘बेला–बेला एन्जाइटी भएर निद्रा पर्दैन’ भनेँ। प्रत्युत्तरमा उनले पनि आफ्ना कुराहरू सुनाइन्। उनको कानमा के–के आवाज गुञ्जिरहँदो रहेछ। अनेक आवाज सुन्ने रहिछन्। मान्छेहरू देख्दी रहिछन्। उनको पालो आएर जानु परेकाले कुरा त्यहीँ टुंगियो। उनलाई ‘सिजोफ्रेनिया’ भएको होला भनेर अड्कल काटेँ। तर, त्यो भेटपछि मलाई लाग्यो— यस्ता मानसिक समस्याहरू जो–कोहीलाई पनि हुन सक्ने रहेछ। कसैले चाहेर वा नचाहेर हुने कुरा होइन— धेरै अवस्थामा।
नाम चलेका सेलिब्रिटी— जिम क्यारी, एन्जेलिना जोली, दीपिका पादुकोण पनि डिप्रेसनको यही चक्रबाट गुज्रिएका हुन्। दीपिकाले त एक अन्तर्वार्तामै भनेकी थिइन्, ‘म डिप्रेसनमा हुँदा १६ घण्टासम्म सुत्थेँ, जतिबेला निदाइरहन मन लाग्थ्यो। तर पनि सुटिङमा जान्थेँ, काम गर्थें।’
दीपिकाले डिप्रेसनबाट छुट्कारा पाएपछि ‘लिभ लव लाइफ’, ‘फाइट अगेन्स्ट डिप्रेसन’ फाउन्डेसन सुरु गरेकी छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा हरेक २५ जनामा एकजना डिप्रेसनको सिकार हुन्छन्। हरेक वर्ष आठ लाख मानिसले डिप्रेसनका कारण आत्महत्या गर्छन्। १५ देखि २९ वर्षका मानिसमा आत्महत्या मृत्युको दोस्रोको ठूलो कारण हो। यसमा दुःखको कुरो के छ भने डिप्रेसनसँग लडिरहेका र जुधिरहेका मानिसमध्ये जम्मा १० प्रतिशतमात्र उपचारका लागि जान्छन्। सामाजिक डर, लाज, अज्ञानता, कमजोर आर्थिक स्थिति आदिले रोक्छन्। यो संख्या हरेक वर्ष बढ्दो छ।
एकजना साथीले एउटा घटना सुनाएका थिए। एकपटक कसैको घरमा पार्टी चलिरहेको रहेछ। सबैजना नाचगान गरिरहेका रहेछन्। एकजना दाजु पनि खुब खुसी हुँदै उफ्री–उफ्री नाचिरहेका रहेछन्। ती दाजु अचानक नाच्न छोडेर कोठातिर लागेछन्। कसैले केही मतलब गरेनन्। सबै आफ्नै तालमा व्यस्त भए। पछि उनीकोठामा झुन्डिएको अवस्थामा भेटिएछन्।
बाहिरबाट हेर्दा ती दाजुको जीवन एकदमै सन्तुलित थियो। श्रीमती, नौ महिनाको बच्चा, राम्रो जागिर र उल्लेख्य आम्दानी। उनको आन्तरिक अवस्थाबारे कहिल्यै कसैलाई शंका पलाएन। किनकि उनको व्यवहार सामान्य थियो। तर, उनले मृत्युको बाटो रोजे।
एकजना साथीका बुवा ‘अल्कोहोलिक’ थिए। उनले किन त्यति रक्सी खान्थे, कसैलाई थाहा थिएन। न त उनले कसैसँग आफ्नो मन खोले न कसैले जान्ने प्रयास गर्यो। सायद उनी पनि डिप्रेसनमा थिए। रक्सीको सहारामा डिप्रेसन घटाउने प्रयास गर्थे। यस्तै भइरहँदा उनी एक दिन घरबार छोडेर लापत्ता भए। कहाँ गए, कसैलाई थाहा भएन। करिब १५ वर्ष भइसक्यो, उनी आजसम्म पनि फर्केका छैनन्।
म कुनै मनोचिकित्सक होइन तर यसबारे भोग्दा–भोग्दा धेरै पढेकी छु। कहिलेकाहीँ डक्टरले व्यंग्य गर्छन्, ‘तपाईंको गुगल डक्टरले के भन्छन् त ? ’
डिप्रेसन धेरै किसिमका छन्। जीवनमा घट्ने घटनाले सिर्जना गर्ने डिप्रेसन र दिमागमा हुने रासायनिक बदलावले निम्त्याउने डिप्रेसन। ‘बाइपोलर डिसअर्डर’, ‘सिजनल अफेक्टिभ डिसअर्डर’, ‘साइकोटिक डिप्रेसन’, ‘सिचुएसनल डिप्रेसन’ आदि। रासायनिक बदलाव र उतारचढावले हुने डिप्रेसन त छँदै छ तर मौसमी डिप्रेसन पनि त्यत्तिकै भयाभव नै छ। जस्तै कि जाडो महिना आयो भने डिप्रेसन हुन्छ।
एकपटक इलाम जाँदा गाडी चालकसँगको कुराकानी सम्झिन्छु। उनी भन्थे, ‘यो इलामको मौसम सधैं चिसो हुन्छ। सधैं हुस्सु लागिरहने। कन्यामदेखि राँकेसम्मको एरियामा सबैभन्दा बढी। यो मौसम हेर्यो कि विरक्त लाग्छ। पलाएको जाँगर पनि हराउँछ। यही मौसमकै कारणले पनि होला नेपालमा सबैभन्दा धेरै आत्महत्या इलाममै हुन्छ।’
त्यो कुरा साँचो हो जस्तो लाग्छ। संयुक्त राज्य अमेरिकाको म्यासाचिउट्समा बस्ने मेरो मिल्ने साथी छे। प्रायः हिउँ परिरहने ठाउँ रहेछ त्यो। घाम खासै देख्न नपाउने भएर होला— मानिसहरू डिप्रेसनमा जाँदा रहेछन्। उसले भन्थी, ‘हामी सबै अनिवार्य काउन्सिलिङमा जान्छौं, नत्र धेरै गाह्रो हुन्छ।’
उपचार भएन भने डिप्रेसन पतनको बाटो हो। तर, सामाजिक परिवेश र सहयोग धेरै महŒवपूर्ण पक्ष हुन्। हामीजस्तो अझै पनि पुरातन सोचमा रुमल्लिरहेको समाजले मानसिक समस्या भएकालाई उत्प्रेरक (क्याटलिस्ट)को काम गर्छ। मैले यो लेख लेखेकै कारण कति जनाको खप्की खानु पर्नेछ। भन्नेछन्, ‘के लेख्या यस्तो ? किन दुनियाँलाई सुनाइरहनु पर्यो ? किन आफूलाई एक्सपोज गर्नु परेको ? ’ यस्तो सुन्दा मलाई आश्चर्य पनि लाग्नेछैन।
नबुझेका, यसबारे नपढेकाहरूबाट धेरै अपेक्षा गर्न सकिन्न तर पढेलेखेका मानिसले समेत यसलाई ठूलै ‘इस्यु’ बनाएको देखेकी छु। पढेलेखेका तर आत्मरतिमा रमाउने अर्धविद्वान्हरू समाजका लागि साह्रै खतरा लाग्छन् मलाई।
मलाई बच्चा बेलादेखि नै समस्या थियो। समाजले इज्जत दिएर भन्ने शब्द प्रयोग गर्नुपर्दा म ‘रोगी’ मानिस हुँ। म धेरै बिरामी परिरहन्थेँ। अहिले पनि परिरहन्छु। शारीरिक पीडा कम गर्न औषधि सुरु गरेपछि म कतिबेला औषधिको थुप्रोमा पुरिएँ, यकिन गरेर भन्न सक्दिनँ। सायद त्यही औषधिको रासबाट डिप्रेसन पलायो।
मिल्ने साथीहरू कोही भएनन्। जो पछि साथी भए, उनीहरूले मेरो हाँसो निकै राम्रो छ भने। कसैले कपाल राम्रो छ भने। कसैले जीउडाल कति मिलेको छ भने। सायद अँध्यारो कसैले मन पराउँदैनन् र देख्दै देख्दैनन्। के डिप्रेसनमा परेका मानिसहरू समाजका लागि ‘अँध्यारो’ हुन् ?
मलाई पनि वर्षौंसम्म थाहा थिएन, म डिप्रेसनबाट गुज्रिरहेकी छु भनेर। तर, जब शरीरमा ‘हाइपो थाइराइड’ र भिटामिन ‘डी’ एकदमै कम भएको पत्ता लाग्यो, त्यति बेलासम्म म डिप्रेसनको दलदलमा भासिइसकेकी रहेछु, अत्यधिक मात्रामा। ढोका बन्द गरेर सुतिरहन मन लाग्ने, खान मन नलाग्ने तर वजन बढ्दै जाने, सामाजिक सञ्जालमा छरपस्ट डिप्रेसन पोख्ने हुन थालेँ। डक्टरले राम्रोसँग बुझाएपछि मात्र बुझ्न थालेँ। त्यसपछि डाक्टर र औषधि नजिक भए, नजिक भएकाहरू टाढा भए। जसरी डायबेटिज भएपछि मुख बार्नुपर्छ, डिप्रेसनमा विषालु ‘मानिस’हरू बार्नुपर्ने रहेछ।
यो ‘डिप्रसेनपथ’ सुनसान हुने रहेछ। एक्लै हिँड्नुपर्ने। कहिले लड्दै, कहिले घिस्रिँदै। साथ दिन कोही आएजस्तो गरे पनि छिनमै एक्लै भइहालिने।
यस्ता कुराहरू केही सुनाउन मन थिएन तर यो लेख लेखिनु जरुरी लाग्यो। उनीहरूका लागि, जो वरपर हुँदा एकदम मिलेजस्तो गर्छन् तर पर जानासाथ ‘जज’ गर्छन् र ‘साइको’ भन्छन्। उनीहरूका लागि, जो प्रेमको नाटक गर्छन् तर साथ दिने बेला अञ्जान भइदिन्छन्। उनीहरूका लागि, जो मित्रताको खोल ओढेर आउँछन् तर भित्रभित्रै हुँडार हुन्छन् (यी सबैभन्दा विषालु र घातक प्राणी हुन्)। ती आफन्त र इष्टमित्र, जो झोलामा कोसेली होइन, नुन बोकेर आउँछन् र घाउमा छर्छन्। र, त्यो समयलाई, जसले कहिल्यै पनि मजस्ता ‘अल्पमत’लाई अँगाल्दैन।
हामी सबैले यो कुरा दिल, दिमाग, विवेक र मानवीयताको ढक्कन खोलेर बुझ्न किन जरुरी छ भने तपाईं एकजनाको व्यवहारले कसैको जीवन फक्रक्क फुल्न सक्छ, कसैको जीवन ओइलाएर झर्न पनि सक्छ। उनीहरूलाई बुझिदिनुस् किनभने उनीहरू न खुलेर बताउन सक्छन् न गुम्सिएर बाँच्न सक्छन्।
अस्पतालमा कोही भर्ना हुँदा फेसबुकमा अस्पताल ‘चेक–इन’ गर्दै सुतिरहेका बिरामीको तस्बिर पोस्ट गर्ने तपाईं आफ्नै परिवारको कोही ‘प्यानिक अट्याक’ले कोठामा छट्पटिँदा कोठाको ढोका बन्द नगर्नुस्।
कसैलाई ढाडस दिँदै—
‘आत्तिनु पर्दैन, ठीक भइहाल्छ नि।’
‘तिमीभन्दा दुःखी मानिसहरू पनि छन्, उनीहरूलाई हेर त।’
‘खान नपाएका, सुत्न नपाएका पनि छन् संसारमा। तिमी त धेरै भाग्यमानी हौ।’
‘अझै सञ्चो भएन ? ’
‘हामी सबै यो अवस्थाबाट गुज्रिनुपर्छ।’
‘जाऊ, बाहिर निस्केर केही गर। ठीक हुन्छ।’
‘यत्तिको स्मार्ट मान्छे भएर पनि यस्तो कुरा गर्ने हो ? ’
— जस्ता बासी, सडेगलेका र विषालु आश्वासन डिप्रेसनका बिरामीलाई नदिनुस्।
बरु उनीहरूलाई—
– ‘स्पेस’ दिनुस्।
– घरको माहोल राम्रो बनाउनुस्।
– ऊ डाक्टरकहाँ जाँदा साथी भइदिनुस्। उपचारमा उसलाई सहयोग गरिदिनुस्। उसका कुरा सुनिदिनुस्।
– उसलाई ‘म तिम्रो साथमा छु’ भनिदिनुस्।
– ‘तिमीलाई अहिले विश्वास नलाग्ला तर तिम्रो अवस्था कुनै दिन फेरिनेछ’ भनिदिनुस्।
– समाज, आफन्त, इष्टमित्रले कुरा काट्न थाले उनीहरूको सातो लिइदिनुस्।
त्यत्ति त गर्न सक्नुहुन्छ नि ?
अझै धेरै जीवन देख्न बाँकी छ। यसबीचको अत्यधिक संघर्षका बीच म अझै तयार छु आउने समयका लागि। हरेक प्रकारका समयका लागि। म कहिल्यै थाक्दिनँ तर यो डिप्रेसन एक दिन त अवश्य थाक्छ, हार्छ।
भन्छन् नि— अँध्यारोमै उज्यालोको आत्मा बसेको हुन्छ !