कैद नम्बर ४०२

कैद नम्बर ४०२

अगस्ट ४ को रातदेखि मैले न ‘लभ ट्र्यांगल’ ग्रुपका सदस्यसँग कुराकानी गर्न पाएकी छु, न त अन्य कश्मीरी साथीहरूसँग नै। कडा सुरक्षाघेरा र सञ्चार सम्पर्क विच्छेदबीच बस्न बाध्य कश्मीरी साथीहरूको पीडा म यहाँ बसेर अनुभव त गर्न सक्दिनँ, अनुमान भने गर्न सक्छु।


लभ ट्र्यांगल, हाम्रो ह्वाट्सएप ग्रुपको नाम। हरेक बेलुका हामी केही घण्टाका लागि गफिने ठाउँ। साथी–साथी इत्रिने, जिस्किने र रमाइलो गर्ने एउटा भर्चुअल फोरम।

दुई वर्ष भारत प्रशासित कश्मीर बस्दा बनाएका साथी र म सदस्य रहेको ‘लभ ट्र्यांगल’ डेढ महिनाभन्दा अघिदेखि मृतप्रायः छ। नहोस् पनि कसरी ? त्यो भर्चुअल फोरममा प्राण भर्ने अक्षरहरू, शब्दहरू लेखिन छाडेपछि।

म नेपाल फर्केपछि हामीले बनाएको त्यो ग्रुपमा ६ जना मात्र सदस्य छौँ। पाँचजना कश्मीरी र म। अगस्ट ४ को रातिदेखि त्यस ग्रुपमा कश्मीरी साथीहरूले आफ्ना भावना पोख्न पाएका छैनन्, न त इत्रिँदै इमोजी पठाउन नै।

अगस्ट ४ को राति एउटी साथी (उसकै सुरक्षाका निम्ति म नाम लेख्न चाहन्नँ)ले पठाएको सन्देश अहिले पनि मेरो मोबाइलमा टल्किरहेको छ, ‘भोलिदेखि कुरा गर्न पाइने हो कि होइन, कम्युनिकेसन ब्ल्याकआउट हुने हल्ला छ।’

म पछिल्लो कश्मीरको अवस्थाबारे खासै अपडेटेड थिइनँ। त्यसैले मैले सहज उत्तर फर्काएकी थिएँ, ‘कम्युनिकेसन ब्ल्याकआउट इज भेरी कमन इन कश्मीर ना ? ’

‘नही इन्दु इसबार कुछ अलग हो रहा है, आई डन्ड नो ह्वाट विल ह्यापेन, प्लिज प्रे फर अस’, उसले चिन्तापूर्ण मेसेज गरेकी थिई।

उसको मेसेज हेरेर मैले न्युज पोर्टलहरूमा आँखा डुलाएँ।

धेरैजसो वेबसाइटले कश्मीरीले विशेषाधिकार पाउने भारतीय संविधानको अनुच्छेद–३५(ए) हटाउने तयारी भएको भन्ने विवरणका समाचारहरू प्रकाशित गरेका रहेछन्।

त्यसपछि मैले, ‘यु पिपल आर अल्वेज इन माई प्रेयर्स’ भन्दै कुराकानीको बिट मारेकी थिएँ।

अहिले सोच्छु— अलिबार कुरा गरेको भए पनि हुने रहेछ।

अगस्ट ४ को रातदेखि मैले आजसम्म न ‘लभ ट्र्यांगल’ ग्रुपका सदस्यसँग कुराकानी गर्न पाएकी छु न त अन्य कश्मीरी साथीहरूसँग नै।

कडा सुरक्षाघेरा र सञ्चार सम्पर्क विच्छेदबीच बस्न बाध्य कश्मीरी साथीहरूको पीडा म यहाँ बसेर अनुभव त गर्न सक्दिनँ, अनुमान भने गर्न सक्छु।

सोच्छु, सायद उनीहरू अहिले ठूलो भूकम्पपछिको सन्नाटाको अवस्थामा होलान् वा आफूले नगरेको कसुरमा सजाय पाएको बालकझैं आक्रोशको मुठ्ठी कसेर बसेका होलान्। अनि कुनै न कुनै दिन त्यो कसिएको मुठ्ठी उठ्नसक्छ मुक्का बनेर वा मुख छोपेर ढुंगा हान्ने सैनिक बनेर।

कश्मीर विश्वविद्यालयबाट स्नातकोत्तर गर्ने क्रममा मैले कश्मीरीहरूसँग गरेको संगतका आधारमा त्यस्तो अनुमान लगाउनु आफ्नो ठाउँमा छ। तर म आफैंलाई थाहा छैन कश्मीरीहरू अहिले कुन अवस्थामा छन्। हरेक दिन अफिसबाट फर्कंदा कश्मीरमा कफ्र्यु हट्यो कि ? सञ्चार सेवा सुरु भयो कि ? भनेर खबरहरूमा आँखा डुलाउँछु। अनि निराश बनेर वेबपेजहरू बन्द गर्छु।

डिग्री लिनका निम्ति त्यहाँ पुग्नुभन्दा अरू कुनै साइनो छैन मेरो कश्मीर र कश्मीरीसँग। तर खै किन हो, प्रत्येक रात मलाई कताकता पीडाबोध हुन्छ। एकखाले आक्रोश र कश्मीरीप्रति सहानुभूति पैदा हुन्छ। एकअर्काको खबर सोध्ने भर्चुअल सम्बन्धको एउटै मात्र तार पनि टुटेकाले पो हो कि मलाई कताकता अदृश्य त्रासले सताउँछ।

०००

कफ्र्यु र सञ्चार सम्पर्क विच्छेद कश्मीरीका लागि नौलो होइन। तर यस पटकको कफ्र्यु र सञ्चार सेवा बन्दले अन्तर्राष्ट्रिय चर्चा पाएको छ। त्यसलाई दक्षिण एसियाका दुई छिमेकी मुलुक भारत र पाकिस्तानले आफ्नै ढंगले विश्वमञ्चमा पुर्‍याएका छन्। कश्मीरको पछिल्लो अवस्थाले नै यस क्षेत्रमा कतै आणविक युद्ध त निम्त्याउने होइन ? भन्ने भयसमेत व्याप्त छ।

कश्मीरको पछिल्लो अवस्थाबारेका खबरहरू पढिरहँदा मलाई भने सन् २०१४ अगस्ट १५ याद आइरहेको छ। अगस्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवस। विश्वविद्यालय बन्द थियो। तर बिहान उठेर हेर्दा होस्टलमा न मोबाइलको नेटवर्क थियो, न त वाइफाई नै। सोचेँ, कुनै प्राविधिक कारणले नेटवर्क गएको होला। केही घण्टासम्म नेटवर्क नआएपछि म होस्टलमै यताउता भौंतारिन थालेँ।

सायद म भौंतारिएको देखेर होला, एउटी कश्मीरी साथीले भनी, ‘मे छुक छे परेसान् सोरी छ ठीक ? ’

‘परेसान्’ र ‘ठीक’ भन्ने शब्दबाहेक अरू बुझे त मर्नु !

ह्वाट ? अकस्मात् मुखबाट फुत्कियो।

अनि उसले मलाई अंग्रेजीमा बुझाइदिई, ‘सञ्चो छैन कि क्या हो ? सबैलाई ठीक छ ? ’

कश्मीर गएको केही सातादेखि नै मैले कतिपय कश्मीरी शब्दहरू टिपेकी थिएँ।

अनि साथीहरूसँग जिस्कँदै कश्मीरीमै हेल्लो हाई गर्ने गर्थे। सायद त्यसैले उसले पनि मलाई कश्मीरीमै हालखबर सोधेकी थिई।

मैलै सञ्चै भएको बताएँ। अनि सोधेँ, ‘आज नेटवर्क के भएको हो ? ’

मुसुक्क मुस्काएर फेरि उसले कश्मीरीमै जवाफ फर्काई, ‘इन्टरनेट छु च्लान के’ अर्थात् इन्टरनेट चलेको छैन।

यसपटक मैले कश्मीरी बुझेँ अनि भनेँ, ‘ह्वाई ? ’

‘इन्टरनेट गासन बन्द। ए छे का नौका, ए थे कसिर’, फेरि उसले कश्मीरीमै जवाफ फर्काई र बुझिस् भन्ने भावमा हेरी।

मैले पूरै बुझिनँ। ‘इन्टरनेट बन्द गरिएको छ भनेको हो कि जस्तो लाग्यो’ भनेपछि त्यसको अर्थ लगाइदिई, ‘इन्टरनेट बन्द गरिएको छ। यो कश्मीर हो नि त कश्मीर !’

पछि अर्की साथीलाई सोधेपछि थाहा भयो, हरेक वर्ष भारतको स्वतन्त्रता दिवसका दिन कश्मीरमा कम्युनिकेसन ब्ल्याकआउट हुँदो रहेछ, कफ्र्यु लाग्दो रहेछ। कश्मीरीले त्यस दिनलाई स्वतन्त्रता दिवसका रूपमा होइन, बरु कालो दिवसका रूपमा हेर्ने रहेछन्।

त्यसैलाई आधार बनाएर भारतले स्वतन्त्रता दिवसका दिन आतंककारी गतिविधि हुनसक्ने भन्दै कश्मीरभर सञ्चार सम्पर्क नै विच्छेद गर्ने गरेको रहेछ। भारतले त्यसलाई सुरक्षाको मुद्दा बनाउने र कश्मीरीले भारतले आफूहरूमाथि गरेको ज्यादतीको मुद्दा ठान्ने गर्दा रहेछन् भन्नेचाहिँ मैले केही समयपछि मात्र बुझेँ।

०००

सन् २०१४ अप्रिलमा क्वारात–उल–एन–अल हैदर छात्रावासको पाचौं तलाबाट कश्मीरमा मेरो विद्यार्थी जीवन सुरु भएको थियो। कश्मीर विश्वाविद्यालय कम्पाउन्डको दक्षिणपश्चिम कुनामा अवस्थित थियो मेरो छात्रावास। छात्रावासको कोठा नम्बर ४०२ मा थिए— दुईतले दुईवटा खाट, दुईटा दराज, दुइवटै टेबल र तीनवटा कुर्सी। दक्षिण फर्किएको कोठाको पूर्वपट्टि थिए— दुईवटा ठूला झ्याल। जहाँबाट देखिन्थ्यो विश्वविद्यालयको स्वास्थ्य केन्द्र अगाडिको मनोरम पार्क र दललेकको किनारामा अवस्थित हजरतबालको मिनार।

अफगानी र भुटानी साथीहरूसँग बसेकी मैले दुईतले खाटको माथिल्लो ओछ्यान रोजेकी थिएँ। जाडोमा त ठीकै हो तर गृष्मकालमा भने गर्मीले आतेस खेलाउँथ्यो। नजिकैको अर्को कोठामा बस्ने बंगलादेशी साथीहरू कहिलेकाहीँ हाम्रो कोठामा आउँदा मेरो गालामा बगेको पसिना देखाउँदै ‘माथा गोरुम’ भन्दै गिज्याउँथे।

नगिज्याऊन् पनि किन ? चटगाउँको समुद्री तटको उखर्माउलो गर्मीबाट आएका उनीहरूका निम्ति न त्यहाँ खासै गर्मी थियो, न त चल्थ्यो तातो हावा नै। तर हाम्रो कोठाका तीनैजनाको भने गर्मीले सातो लान्थ्यो। अनि खाटबाट झरेर भुइँमा ओछ्यान लगाएर सुत्थ्यौं गर्मी महिनाभरि। नेपालबाट परिवारका सदस्य र साथीभाइले चाहिँ कश्मीरमा १२ महिना नै हिउँ पर्छ भन्ने ठान्थे र सोध्ने गर्थे, ‘जाडो कत्तिको छ ? ’

०००

कश्मीर पुगेको केही दिनमै साथीहरूले सोध्न थाले— ट्युलिप गार्डेन घुमिस् ? बारम्बार उनीहरूले सोध्ने त्यो प्रश्नले जगाएको कुतूहल मेट्न एक दिन एकजना कश्मीरी साथीसँगै नेपाल, अफगानिस्तान, भुटान र बंगलादेशबाट अध्ययनका लागि कश्मीर आएका साथीहरू मिलेर हामी ट्युलिप गार्डेन गयौं।

त्यहाँ पुग्नेबित्तिकै मलाई अभिताभ बच्चन र रेखा अभिनीत सिलसिला चलचित्रको ‘देखा एक ख्वाब तो ए सिलसिले हुए...’ गीतको दृश्यको झल्को आयो। चलचित्रको पर्दामा देखेको दृश्यमा जस्तै लहर मिलाएर राखिएका बुट्टाझैं फुलेको ट्युलिप देख्दा नेपालमा पनि यस्तै घुम्ने ठाउँ भइदिए ? भन्ने मनमा आयो।

बाटोमा फर्कंदा मैले साथमा रहेकी कश्मीरी साथी सकिनालाई जिस्क्याउँदै सोधेँ, ‘डेटिङ आउने ठाउँ पो रहेछ त तिमी ब्वाइफ्रेन्डसँग आउँदैनौ ? ’

‘तुम् भी ना’, ऊ सर्माई। तर ट्युलिप गार्डेनमा हेजाब र अबायामा सजिएका धेरै युवतीहरू पनि आफ्नो प्रेमीसँग हात समाएर हिँडिरहेको दृश्य नौला थिएनन्। कश्मीरको समाज एकदमै बन्द समाज हो भनेर सुनेकाले मेरा लागि भने ती दृश्यहरू अनौठा लागेका थिए।

०००

छात्रवृत्तिमा कुनै नाम चलेको विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्ने अभिलाषाले मलाई पुर्‍याएको थियो कश्मीर। द्वन्द्वको भुमरीमा परेको त्यो भूमिमा अध्ययनको अवसर पाउँदा पनि मैले डरलाई कतै लुकाएर पाइला चालेकी थिएँ त्यसतर्फ।

सुरुका दिनहरूमा म न कसैसँग खुलेर कुरा गर्न सक्थेँ, न त जहाँ मन लाग्यो त्यहाँ घुम्न नै जान्थँे। त्यसका धेरै कारणमध्ये एउटा प्रमुख कारण थियो— विश्वविद्यालयको मैले अध्ययन गर्ने विभागका प्रमुखको चेतावनीपूर्ण निर्देशन।

उनले भनेका थिए, ‘बाहिरबाट आएका सबै विद्यार्थीलाई मेरो अनुरोध छ— मसँग सल्लाह नगरी यहाँका संवेदनशील क्षेत्रमा नजानुहोला। यो मैले तपाईंहरूकै सुरक्षाका खातिर भनेको हुँ। स्वतन्त्रतामा बन्देज लगाउन खोजेको होइन।’

केही महिनापश्चात् नै हामीले उनको आदेशलाई शिरोपर गर्न छाड्यौं र आफ्नै मर्जीले सकेसम्म बढीभन्दा बढी स्थानको भ्रमण गर्न थाल्यौं। कश्मीर पुगेको सुरुका केही महिना भने मेरा लागि कश्मीर भन्नु नै छात्रावासको त्यही कोठा नम्बर–४०२ थियो।

त्यो विद्यार्थी बस्ने एउटा सानो कोठा थियो, गरिबीले ग्रस्त। घरको कान्छो सन्तानका रूपमा लाडिएर हुर्किएकी मेरानिम्ति कतिपय आधारभूत सुविधाहरू पनि नभएको त्यो कोठा र छात्रावास देख्दा तुरुन्तै पढाइ छाडेर नेपाल फर्कौंजस्तो लाग्थो। तर मलाई आफ्नो अध्ययन पूरा गर्नुका साथै द्वन्द्व र प्राकृतिक सौन्दर्यका कारण विश्वभरि चिनिएको कश्मीरलाई बुझ्नु थियो। त्यसैले तमाम असुविधाका बीच मैले त्यही सानो कोठालाई दुई वर्षका निम्ति आफ्नै घर ठानेँ।

अनि, त्यही कोठाबाट सुरु भयो कश्मीर र कश्मीरीलाई थोरबहुत बुझ्ने प्रयास।

भनिन्छ, कुनै ठाउँ र त्यहाँका मानिसबारे बुझ्न भाषा बुझियो भने सहज हुन्छ। म भने कश्मीरमा ठाउँ, कश्मीरी र त्यहाँको भाषा एकैपटक बुझ्ने प्रयासमा थिएँ। त्यसैले हरेक दिन बिहान क्लास गएर फर्किएपछि म कहिले आफ्नै कोठामा त कहिले छात्रवासको टीभी रुममा पुगेर कश्मीरी साथीहरूसँग भाषा सिक्ने प्रयास गर्थें।

गएको केही महिनामा नै म कश्मीरीमा साथीहरूले गरेको कुराकानी निकै बुझ्ने भइसकेकी थिएँ। तर दोहोरो कुराकानी गर्नचाहिँ आउँदैनथ्यो। र, दुई वर्षको बसाइमा पनि म मजाले कश्मीरी बोल्न सक्नेचाहिँ बनिनँ।

हुन त कश्मीरीहरूले बोलेको अंग्रजी नै बुझ्न पनि सहज कहाँ छ र ? त्यसको कारण हो— उनीहरूले गर्ने उच्चारण। पश्चिमा देशहरूमा बसेर फर्किएका एकाध बाहेकले आधा उच्चारण गर्नुपर्ने ‘स’ र ‘ट’लाई आधा उच्चारण गरेको मैले कहिल्यै सुनिनँ। कश्मीरी लवजका व्यक्तिहरूका लागि ‘स्पुन’ (चम्चा) ‘सपुन’ बनिदिन्छ भने ‘स्कुल’ चाहिँ ‘सकुल’। दिल्लीलाई ‘देहल्ली’ भन्ने उनीहरू ‘डिपार्टमेन्ट्स्’लाई ‘डिपाटमेन्टस’ भन्ने रहेछन्। रेस्टुरेन्टमा खाना खान जाँदा कैयौं पटक स्पुन माग्दा नबुझेर आफैंले सपुन भन्नु परेको क्षण सम्झँदा मलाई अहिले पनि हाँसो लाग्छ।

०००

कश्मीर विश्वविद्यालयभित्र प्रायः सुनिने एउटा नारा सुरुसुरुमा निकै अनौठो लाग्थ्यो। त्यो थियो—

‘हम क्या चाहते ? आजादी।

छिन के लेंगे, आजादी।’

त्यहाँ पुगेको केही दिनमै कश्मीरीहरूले आफूहरू भारत र पाकिस्तानको कब्जामा परेको तर छुट्टै देश हुन पाउनुपर्ने माग गरिरहेका छन् भन्ने त मैले बुझिसकेकी थिएँ। तर दोस्रो नारालाई भने मैले बुझ्न सकेकी थिइनँ।

जब उनीहरू ‘छिन के लेंगे, आजादी’ भनेर नारा लगाउने गर्थे म भने त्यसलाई ‘चीन से लेंगे, आजादी’ भनेको सुन्थँे। अनि लाग्थ्यो, भारत र पाकिस्तानसँग ‘आजादी’ लिने कुरा गर्नेहरू किन चीनसँग लिन्छु भनिरहेका छन् ?

एक दिन कोठा नम्बर ४०२ मै आएकी एउटी कश्मीरी साथीलाई मैले ‘तिमीहरू किन चीनसँग पनि आजादी मागिरहेका छौ ? ’ भनेर सोधेँ। सुरुमा त उसले वाल्ल परेर हेरी। मैले आजादीको नाराबाजी हुँदा यस्तो यस्तो नारा लाग्छ भनेपछि चाहिँ मरिमरि हाँसी र मलाई ‘चीन से होइन छिन के हो’ भनेर बुझाइदिई।

कश्मीरमा आजादीको नारा नघन्किएको दिन हुँदैनथ्यो। कतै भारतका नजरमा आतंककारी तर कश्मीरीका नजरमा स्वतन्त्रता सेनानी मारिऊन् वा कोही पक्राउ परेको खबर आओस्, कश्मीरीहरूले आजादीको नारा लगाइहाल्थे।

कहिलेकाहीँ त विद्यार्थीले यसै रमाइलोका लागि पनि आजादीको नारा घन्काएको सुनिन्थ्यो। अनि विश्वविद्यालयदेखि ब्रान्डेड पोसाकका सो रुमसम्म, ग्रामीण क्षेत्रका स्याउ किसानदेखि सहरका फलफूल र तरकारी व्यापारीसम्म सबैले भेटेपछि सोध्ने एउटा प्रश्न समान हुन्थ्यो, ‘कश्मीर कि आजादी के बारे आप्का धारणा क्या है ? ’

जसरी नेपालीले नेपालमा होस् वा बाहिर विदेशीसँग कुराकानी गर्दा कुनै न कुनै रूपमा नेपाललाई सगरमाथा र बुद्ध जन्मेको देश भन्न छुटाउँदैनन्। त्यस्तै कश्मीरीले बाहिरबाट गएका मानिसहरूलाई आफ्नो आजादीबारे नसोधेका हँदैनन्। लाग्छ, त्यहाँका हरेक मानिसले प्रत्येक रात सुत्नुअघि आजादीको सपना देखौं भनेर सुत्छन् र सपनामा आजादी नै देख्छन्। अनि बिहान उठेर पनि आजादीकै कामना गर्छन्।

गत अगस्ट ५ मा भारतले कश्मीरले विशेषाधिकार पाउँदै आएको भारतीय संविधानको अनुच्छेद–३७० लाई निलम्बन गरेपछि कश्मीरलाई बाहिरी विश्वबाट अलग्याइएको छ। तर मलाई लाग्छ, अहिले पनि त्यहाँका हरेक कुराले आजादीकै नारा घन्काइरहेका होलान्। दललेकका हरेक हाउसबोटबाट आजादीको नारा लागिरहेको होला। काँडेदारमा घेरिएको सडकबाट बालबालिकाहरूले ‘हम क्या चाहते, आजादी’ भनिरहेका होलान्।

अनि, कश्मीरीको त्यही मनस्थिति र प्रवृत्तिलाई देखाउँदै कैयौं निर्दोषहरू बेपत्ता पारिइसके होलान् र हज्जारौं पक्राउ परिसके होलान्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबरहरूअनुसार नै हालसम्म चार हजारभन्दा बढी त प्राध्यापक, पत्रकार, बुद्धिजीवी, कार्यकर्ता, चिकित्सक र सामाजिक अभियन्ताहरू पक्राउ परिसकेका छन्। पेलेट गन भनिने छर्राको गोली प्रहार गरिने हतियार प्रयोग भइरहेको छ। त्यसले साना बालबालिकासहित कैयौंलाई दृष्टिविहीन बनाइसकेको छ।

अहिले भारत र पाकिस्तानले कश्मीर मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो अनुकूल प्रयोग गरिरहेका छन्। त्यसमा उनीहरूको आआफ्नै स्वार्थ छ। तर दुवैले कश्मीरलाई आफ्नो अनुकूल प्रयोग गर्ने नाममा कश्मीरीहरूलाई केन्द्रमा राखिरहेका छैनन्। लाग्छ, उनीहरू कश्मीर चाहन्छन् तर कश्मीरीलाई चाहँदैनन्। इतिहासले पनि त्यही बोल्छ।

जब भारतमाथि प्रहार गर्नुपर्छ तब मात्र पाकिस्तानले पनि त्यहाँको कश्मीरमा भएको मानवअधिकार हननबारे कुरा उठाउँछ। हालै मात्र संयुक्त राष्ट्रसंघकै एउटा निकायले पाकिस्तान प्रशासित कश्मीरको मानव अधिकार हननबारे पनि प्रश्न उठाएको छ। भारत प्रशासित कश्मीरको मानव अधिकार हनन्नमा त झन् विश्वले खासै चासो दिएजस्तो लाग्दैन— औपचारिकताका लागि वक्तव्यबाजी गर्नेबाहेक।

०००

कश्मीर गएका केही महिनासम्म मलाई यो आजादीको संवेदनशीलता थाहा थिएन। कहिलेकाहीँ राति छात्रावासबाटै बन्दुक पड्किएको आवाज सुनिन्थ्यो। भोलिपल्ट थाहा हुन्थ्यो— कतै इन्काउन्टर भयो भनेर। अनि त्यस दिन बिदा हुन्थ्यो— हाम्रो विश्वविद्यालय।

विद्यार्थी न परियो, पढ्न जानु पर्दैन भनेपछि यसै दिलखुस। तर जब केही महिनापश्चात् मैले त्यहाँ हुने इन्काउन्टरबारे बुझ्न थाले। त्यसपछि भने आफ्नै छात्रावासमा बस्ने साथीहरूका आफन्त पो त्यसमा परे कि वा कोही निर्दोषले आतंककारीको नाममा मर्नु पर्‍यो कि भन्ने चिन्ता लाग्न थाल्यो।

यसै पनि द्वन्द्वका पत्रपत्रले जेलिएको समाजका हरेक कुराहरू सहजै कहाँ बुझ्न सकिन्छ र ? कश्मीर पुग्दा सुरुमा मैले जे जसरी त्यहाँको समाज र कश्मीरीलाई हेर्ने गर्थें अहिले मेरो सोचाइ र हेराइ त्यसको ठीक उल्टो भइसकेको छ। र, सायद म जीवनका कुनै कालखण्डमा कश्मीर पुगेकी थिइनँ भने त्यो परिवर्तन कदापि आउने थिएन। अहिले जसरी भारतीय मिडियाले कश्मीरलाई सामान्य देखाइरहेका छन्, त्यो दाबीलाई अन्य कतिपयले झैं सहजै पत्याउँथे होला।

तर म अहिले सञ्चारमाध्यममा छाउने श्रव्यदृश्यहरूलाई पनि सहजै विश्वास गरिरहेकी छैन। किनकि मलाई थाहा छ, कश्मीरको वास्तविकता ती समाचारमा देखाइने दृश्यहरूभन्दा नितान्त भिन्न छ। विश्वकै सबैभन्दा बढी सैन्यकरण भएको कश्मीरमा थप ४० हजार सेना थपेर भारत सरकारले चालेको कदमले त्यहाँको स्थिति पक्कै पनि पहिलेभन्दा अझ खराब भएको होला।

०००

हरेकजसो छात्रावासमा आफ्नै नियम हुन्छन्। विद्यार्थीका लागि ती कडा नै लाग्छन्। अझ एउटा बन्द समाजको छात्रावासमा बस्दा हामीलाई त्यहाँका नियमहरू कडा नलाग्ने कुरै थिएन। अझ कश्मीरमा त हरेक गौंडागौंडामा सेना र अर्धसैनिक बलका जवानहरू हुन्थे। जतातजै काँडेतार लागेको हुन्थ्यो। विश्वविद्यालयभित्रै अर्धसैनिक बलका जवानहरू आधुनिक हतियार लिएर गस्ती गरिरहेका हुन्थे।

ती सबै देखेपछि म र मसँगै बस्ने भुटानी एवं अफगानी साथीहरू हामी आफू बस्ने कोठालाई कैद नम्बर–४०२ भन्ने गर्थ्यौँ। एक दिन हामी विश्वविद्यालयको दीक्षान्त भवनबाहिरको चउरमा बसेर छात्रावास फर्कने कुरा गर्दै थियौं। छात्रावास जाने बेलामा हामीले जिस्किएर ‘चलो कैद नम्बर–४०२’ भन्यौं।

नजिकै बसिरहेका कश्मीरी साथीहरूको एउटा समूहबाट एकजना साथीले भनी, ‘इन्दु ऐसा मत् बोलो, तुम् तो दो सालके लिए कैदी हो, बट वी आर इन लाइफ इनप्रिजनमेन्ट !’

अगस्ट ५ यता विश्वबाट विच्छेद गरेर ८० लाखभन्दा बढी कश्मीरीलाई सेनाको घेरामा राखिएपछि मैले बारम्बार त्यही कश्मीरी साथीलाई सम्झिरहेकी छु। अनि उसले भनेका, ‘वी आर इन लाइफ इनप्रिजनमेन्ट !’ भन्ने शब्दहरू मेरो कानमा गुञ्जिरहेका छन्।


@iamwhatiamnot1 कश्मीर विश्वविद्यालयबाट काश्मीर तथा दक्षिण एसियाली अध्ययनमा स्नातकोत्तर हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.