सीमा बैठकबारे जिल्ला बेखबर
गोरखा : एकमहिनाको अवधिमा गोरखा र तिब्बतको सीमाको विषयमा दुई पक्षीय बैठक सम्पन्न भए। गोरखाका दुवै नाका तथा आपसी सहयोग सम्बन्धी बैठक र समझदारीहरु भएका छन् तर यस बारेमा स्थानीय सरकार तथा जिल्ला सरकार अनभिज्ञ छन्।
गत अगस्ट १९ मा रुइला नाका(लार्के)को विषयमा गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १, २, ४ र ५ का जनप्रतिनिधि र तिब्बती अधिकृतहरुको बैठक सम्पन्न भयो। त्यसको एक महिनापछि सेप्टेम्बर १९ मा मुलाढाजेन(ङुइला) नाकाको विषयमा चुमनुब्री गाउँपालिका वडा नम्बर ६, ७ र तिब्बती अधिकारीबीच बैठक सम्पन्न भयो।
दुवै बैठकले सीमा क्षेत्रसम्बन्धी महत्वपूर्ण समझदारीहरु गरेको सम्बन्धित वडा अध्यक्षहरुले जानकारी दिए। आउँदो वर्षदेखि रुइला नाका सधंैका लागि खुल्ला गर्ने बैठकमा तिब्बती अधिकारीले जानकारी दिएको वडा नम्बर १ का अध्यक्ष वीरबहादुर लामाले बताए।
‘तिब्बततर्फ सीमा क्षेत्रमा ट्रेड हाउस निर्माण भइरहेको छ। त्यो सम्पन्न भइसकेपछि सीमावर्ती गोरखाका गाउँलेहरुलाई बाह्रै महिना नाका खोल्ने र व्यापारिक सेवा दिने उनीहरूले हामीलाई जानकारी दिए’, लामाले भने, ‘वडा कार्यालयको सिफारिसका आधारमा हाम्रा चारवटा वडाका बिरामीलाई तिब्बती अस्पतालमा त्यहाँका नागरिकसरह उपचार सेवा दिने प्रतिबद्धता जनाएका छन्। ’
वडा कार्यालयको सिफारिसको आधारमा तिब्बत र गोरखा दुवैतर्फ पर्ने किमोलुङ तीर्थस्थलमा प्रवेश दिने समझदारी पनि भएको उनले बताए। अर्को वर्ष वडा नम्बर १ सामागाउँमा दुई देशीय बैठक गर्ने लगायतका महत्वपूर्ण समझदारीहरु भएको उनले बताए। त्यस्तै सेप्टेम्बर १९ मा जोङ्गा जिल्ला सदरमुकाममा चुमनुब्री गाउँपालिका वडा नम्बर ६ र ७ का जनप्रतिनिधि र तिब्बतको जोङ्गा जिल्ला स्तरका अधिकारीहरुको बैठक सम्पन्न भयो।
यो बैठकले यसअघि बाह्रै महिना खुल्ला भएको मुलाढाजेन नाका अक्टोबर १० सम्म बन्द गर्ने बैठकमा जानकारी गराइएको वडा नम्बर ७ का अध्यक्ष पासाङफुञ्जो लामाले बताए। यसअघि यो नाका खुलाउने विषयमा पनि स्थानीयस्तरकै बैठकले निर्णय गरेको थियो। हालैको बैठकले जोङ्गा सहरको अस्पतालमा वडा कार्यालयको सिफारिसको आधारमा दुईवटा गाउँका बिरामीलाई तिब्बती नागरिकसरह उपचार सेवा दिने पनि तिब्बती अधिकारीले जानकारी गराएका वडा अध्यक्ष लामाले बताए।
लामाले भने, ‘यसअघि हाम्रो सीमाभन्दा ३० किलोमिटर भित्र जान जिल्ला प्रशासन कार्यालयको पास चाहिन्थ्यो। अब वडा कार्यालयको सिफारिसको आधारमा पनि उनीहरूको अस्पतालमा गएर औषधि उपचार गर्न उनीहरूले अनुमति दिने भएका छन्। ’ सीमा क्षेत्रका विषयमा महत्वपूर्ण निर्णय भइरहेका छन् तर गोरखा सदरमुकाम यस बारेमा बेखबर छ। ‘अरु जिल्लाको सीमा बैठकमा जिल्ला प्रशासनको उपस्थिति हुन्छ तर यहाँ नहुने रहेछ’, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने भन्छन्, ‘सीमा क्षेत्रको बारेमा बैठक गर्दा हामीलाई अनिवार्य जानकारी हुनुपर्छ। हामीले दुई पक्षीय सम्पर्क गर्न धेरै प्रयास गरेका छौं। दोभाषेको प्रयोग गरी फोन पनि गरेका थियौं, तर वास्ता गर्दैनन्। ’
प्रशासनसँग समन्वय नगर्नुको कारणबारे आफू अनभिज्ञ रहेको उनले बताए। आफ्नो सीमा क्षेत्रको बारेमा बैठक गर्दा गाउँ सरकारलाई पनि खबर नभएको गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङले बताइन्। ‘वडा अध्यक्षहरुले बैठक हुँदैछ भनेर मलाई अनौपचारिक रुपमा खबर गर्नु भएको थियो। मैले लिखित चाहि नगर्नू भनेको थिए’, उनले भनिन्, ‘बैठक भएछ। विभिन्न बुँदामा समझदारी पनि भएछ। तर हामीसँग समन्वय छैन। ’ दुई देशको विषयको कुरा हुनाले गाउँपालिका, जिल्ला सरकारलाई पनि सहभागी गराइनुपर्ने उनको तर्क छ।
प्रतिक्रिया दिनुहोस !