लाखौंको लगानीमा ढल निर्माण: सडकमै बग्छ भेल
बागलुङ : जिल्ला सदरमुकामको हल्लनचोकमा लाखौंको लगानीमा ढल निर्माण गरिए पनि सडकबाटै भेल बग्न छोडेको छैन ।वर्षौदेखि व्यवस्थित सडक र ढल अभावमा डुबानमा पर्दै आएको चोकमा सडक र ढल निर्माण गरिए पनि पुरानै समस्याले टोलवासी र यात्रुहरु आजित बनेका छन् ।
जीर्ण बनेको हल्लनचोकको सडक अहिले पुनः ढलान गरिएको छ भने ढल पनि व्यवस्थित गरिएको नगरपालिकाले जनाएको छ।तीन वर्ष पहिले बागलुङ बजारको मुल सडक ऐश्वर्यचोकदेखि श्रीनगरटोलसम्म ४ सय ६० मिटर सडक ३४ लाख रुपैयाँको लागतमा मर्मत तथा व्यवस्थापन गरिएको थियो । तर, हल्लनचोकमा अलि ठूलो वर्षा हुँदासाथ सडक, चोकमा डुबानको समस्या उस्तै छ ।
पछिल्लो साता निरन्तर परेको वर्षाले चोक जलमग्न बनेर छेउछाउका पसलमा पनि भेल पस्ने र डुबानले पैदल यात्रु र सवारी चालकलाई पनि निकै सास्ती खेप्नुपर्ने अवस्था रहेको स्थानीय ओमप्रकाश पौडेलले बताए । 'सडक नाली बन्यो भने समस्या समधान होला भन्ने लागेको थियो,' पौडेलले भने, '१०, १५ मिनेट झरी पर्यो भने ढल घरभित्रै पस्ने क्रम रोकिएन ।'
बागलुङको मालिका, श्रीनगर टोल, जीपपार्क र लोकतान्त्रिक चोकबाट बग्ने पानी सबै यही ढलमा जम्मा हुँदा समस्या यथावत देखिएको छ । 'बाहिर नाली बनाएको जस्तो देखियो, भित्र नालीको भाग निकै सानो छ,' उनले भने, 'नालीले बजारको पानी थेग्न सक्दैन र सडकबाट बग्छ ।'
बनाएका नाली खुल्लै छन्। सडक छेउमा थुपारिने प्लाष्टिकजन्य फोहोर सबै नालीमै खस्ने गरेका छन् । यस्तो समस्या पटक-पटक दोहोरिदा पनि बागलुङ नगरपालिकाले व्यवस्थापनका लागि कुनै चासो नदिएको स्थानीय गुनासो गर्छन् । 
हल्लनचोकको तल्लो भेगका स्थानीयले घरबाट निस्कने फोहोर सिधै नालीमा फाल्ने गरेका कारण समस्या भएको बागलुङ नगरपालिका-३ का अध्यक्ष जीवन आचार्यले बताए । 'नाली थुनिएर सडकबाटै भेल बग्ने गरेकोबारे जानकारी छ,' अध्यक्ष आर्चायले भने, 'घरबाट सिधै नालीमा फोहोर नफाल्नुस् भनेर हामीले उहाँहरुलाई पटक-पटक भनेका छौं । ठूला ठूला सामान पनि अटेर गर्दै नालीमै फालेको भेटिएको छ ।'
बागलुङ बजारमा वल्ड बैंकको सहायतमा नाली व्यवस्थापनको ठूलो कार्यक्रम आउँछ भनेर यो वर्ष नालीको कामको लागि बजेट विनियोजन गरिएको छैन । 'तत्काल हामीले नयाँ नाली बनायौं भने भोली भत्काउनुपर्ने अवस्था आउँछ, साना नालीमा स्थानीयले जानाजान धेरै फोहोर फालिदिँदा समस्या आएको छ,' अध्यक्ष आचार्यले थपे, 'तत्कालको विकल्प भनेको नाली सरसफाइ हो, नाली सफा गर्नका लागि यहाँ मान्छे पाइदैन, बिरगञ्जबाट मान्छे झिकाएका छौं । दसैं अघि पुनः नाली सफाई गरिन्छ।'
बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले बजारका ढल व्यवस्थापनका विषयमा प्राविधिक कमजोरी भएको हुनसक्ने स्वीकार गरे । नगर क्षेत्रमा भइरहेका समस्याबारे वडा कार्यालयमार्फत निवेदन आएमा नगरपालिकाले आवश्यक सहयोग, समन्वय र व्यवस्थापन गर्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !