सभामुखको वक्तव्यको भरमा केशलाई ढिसमिस गराउन हुन्न : गगन थापा
रुपन्देही : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सभामुखमाथि लागेको आरोपको आम नागरिकसरह छानविन र अनुसन्धान हुनुपर्ने बताएका छन् । उनले आरोपित व्यक्तिको जिम्मेवारी, शक्ति र पदले अनुसन्धान प्रभावित नहुने धारणा राखे । रिपोटर्स क्लब प्रदेश ५ ले मंगलबार बुटवलमा गरेको कार्यक्रममा नेता थापाले भने, 'कानुनी राज्यमा कानुनभन्दा माथि कोही हुँदैन। आम नगरिकसँग कानुनले जस्तो व्यवहार गर्छ । प्रचलित कानुनअनुसार यो घटनामा पनि त्यही हुनुपर्छ ।'
उनले सभामुखले वक्तव्य निकालेको भरमा केश टुंग्याउने प्रयास गर्न नहुने विचार व्यक्त गरे । 'सभामुखले वक्तव्य निकालेपछि सकियो भन्ने जसरी ढिसमिस गर्ने प्रयास नहोस् । यती गम्भीर कुरा आइसकेपछि तल्लो तहसम्म गएर छानविन र अनुसन्धान हुनुपर्छ ।' थापाले भने, 'शक्तीशाली हुनुहुन्छ, पदीय जिम्मेवारीमा हुनुहुन्छ भन्ने आधारमा यो केश यसरी रफादफा हुनुहुँदैन ।'
प्रहरी प्रशासनलाई आफ्नो शाख र प्रतिष्ठा पुनस्र्थापित गर्ने मौका समेत भएको भन्दै नेता थापाले घटनाको विश्वसनीय ढंगले अनुसन्धान गर्ने बेला आएको बताए । उनले घट्नाको अनुसन्धान पुरा नहुँदासम्म पदबाट अलग रहन सभामुखलाई आग्रह समेत गरे । 'सभामुखबाट यो घट्नाको अनुसन्धान नहुँदासम्म पदबाट अलग भएर बस्छु र प्रहरीले अनुसन्धान गरोस् भन्ने कुरा आयो भने आम नागरिकमा सहि अनुसन्धान हुन्छ भन्ने विश्वास हुनेछ।' थापाले घट्नाको अनुसन्धान र छानविन अघि बढाउने कुरामा सभामुखको सहयोग हुनुपर्छ।
थापाले सत्तारुढ दल समर्थित कार्यकर्ताले चितवन, तनहुँ र नेपालगञ्जमा घटाएको घट्नाले सरकारको आगामी चरित्र उजागर भएको उल्लेख गरे । उनले सत्तारुढ पार्टीको नेतृत्वको उक्साहटमा विभन्न ठाउँमा घटना भइरहेको दाबी गरे । थापाले सरकार बलियो भएकाले नभई कम्जोर भएकाले यस्ता घट्नाहरु बढ्दै गएको बताए ।
'पहिला उक्साइन्छ, घट्ना घटाइन्छ । प्रहरी प्रशासन लगाएर यसको संरक्षण गरिन्छ । यसबाट के अनुमान गर्न सकिन्छ भने सरकारले आगामी दिनमा यो स्वरुपका व्यवहार गर्दै जान्छ, उनले भने, 'यो सरकार बलियो भएर भएको होइन कम्जोर भएको हो । सरकार तिलमिलाएको छ। सरकारसँग संख्या भएपनि नैतिक तागत छैन।'
प्रतिक्रिया दिनुहोस !