अस्ट्रेलियालाई घरमै नेपालको चुनौति

अस्ट्रेलियालाई घरमै नेपालको चुनौति

क्यानबेरा (अस्ट्रेलिया) : विश्वकप छनोट फुटबलमा बिहीबार नेपालले आफूभन्दा निकै प्रभावशाली प्रतिद्वन्द्वी अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। उक्त छनोट खेल अस्ट्रेलियाको राजधानी शहर क्यानबेरास्थित जियो रंगशालामा खेलिने छ। खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे (स्थानीय समय अनुसार राति ८ बजे) सुरु हुनेछ।

सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि नेपाली टोलीले खेल्न लागेको यो तेस्रो छनोट खेल हो। यसअघि खेलिएका दुईवटा छनोट खेलमा नेपाली टोलीले मिश्रित नतिजा निकालेको छ। कुवेतसँग उसैको घरेलु मैदानमा खेलिएको पहिलो छनोट खेलमा नेपाल ७—० गोलको फराकिलो अन्तरले पराजित भएको थियो। त्यसपछि नेपाली टोलीले आफ्नो दोस्रो छनोट खेलमा चाइनिज ताइपेईलाई उसैको मैदानमा २—० गोलले हराएको थियो। उक्त खेलमा दुबै गोल अञ्जन बिष्टले गरेका थिए।

बुधबार जियो रंगशालामै आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक योहान कालिनले अस्ट्रेलियाविरुद्धको खेलका लागि आफूहरू तयार रहेको बताए। ‘अस्ट्रेलिया बलियो टोली हो भन्ने कुरा मैले राम्ररी बुझेको छु। हामीले पनि सोही अनुरुपको तयारी गरेका छौं’, प्रशिक्षक कालिनले भने, ‘अस्ट्रेलियाविरुद्धको खेलका लागि मेरा खेलाडी तयार छन्।’

एक प्रश्नको जवाफमा प्रशिक्षक कालिनले नेपाली दर्शकको उल्लेख्य उपस्थितिले पनि आफ्ना खेलाडीको मनोबल उच्च बनाउने विश्वास ब्यक्त गरे। उनले अस्ट्रेलियाविरुद्धको खेलमा धेरैले नसोचेको नतिजा पनि आउन सक्ने धारणा ब्यक्त गरे। ‘अस्ट्रेलियन टोलीमा थुप्रै स्तरीय खेलाडी छन्। धेरै खेलाडीले इङ्लिस प्रिमियर लिग र बुन्डेस लिगाको अनुभव पनि बटुलिसकेका छन्। तर फुटबल हो, जस्तो पनि नतिजा आउन सक्छ। अप्रत्यासित नतिजा आए पनि आश्चर्य हुने छैन’, उनले भने।

उक्त खेल हेर्न करिब ६ हजार नेपाली दर्शक उपस्थित हुने अनुमान गरिएको छ। नेपाली समर्थकका लागि छुट्याइएको सबै टिकट यसअघि नै बिक्री भइसकेको छ। करिब २५ हजार दर्शक क्षमताको जियो रंगशालामा नेपाल र अस्ट्रेलियाबीचको खेल हेर्न १६ हजारभन्दा बढी दर्शक उपस्थित हुने अनुमान आयोजकले गरेको छ।

यसैगरी अस्ट्रेलियन टोलीका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टोलीलाई ठूलो अन्तरले हराउनु नै आफ्नो एकमात्र लक्ष्य भएको बताए। उनले नेपाली टोलीविरुद्ध बढीभन्दा बढी गोल गर्ने योजनासहित आफ्नो टोली मैदानमा ओर्लने दाबी गरे। प्रशिक्षक आर्नोल्डले नेपालले कुवेत र चाइनिज ताइपेईसँग खेलेको खेललाई पनि आफूले नजिकबाट नियालेको बताउँदै आफ्नो टोली आक्रामक रणनीतिसहित मैदानमा ओर्लने बताए।

अस्ट्रेलियन प्रशिक्षकले विपक्षीको रणनीतिप्रति खासै चासो नदिएको दाबी गर्दै आफ्ना खेलाडीहरू नेपालविरुद्ध सकेसम्म बढी गोल गर्न तयार रहेको बताए। स्थानीय आयोजकले पनि प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। पत्रकार सम्मेलनपछि बिहीबारको खेल हुने जियो रंगशालामा दुबै टोलीले एक/एक घन्टा अभ्यास पनि गरेका थिए। पहिले अस्ट्रेलियन टोली अभ्यास गरेर फर्किएपछि नेपाली टोली अभ्यासका लागि रंगशाला पुगेको थियो। पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तान भने सहभागी थिएनन्।

नेपालका लागि अस्ट्रेलिया निकै बलियो प्रतिद्वन्द्वी हो। विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा पनि अस्ट्रेलिया ४४औं र नेपाल एक सय ६१औं स्थानमा छन्। जारी विश्वकप छनोटको समूह ‘बी’ मा हाल दुई खेल खेलेको कुवेत तीन अंकसहित पहिलो स्थानमा छ। नेपालविरुद्ध सात गोल गरेकाले नै गोलअन्तरका आधारमा कुवेता तालिकामा माथि रहेको हो।

यसैगरी एक खेल खेलेको अस्ट्रेलिया तीन अंकसहित दोस्रो, एक खेल खेलेको जोर्डन तीन अंकसहित तेस्रो र दुई खेल खेलेको नेपाल पनि तीन अंकसहित चौथो स्थानमा आसिन छन्। अघिल्ला दुबै खेलमा हार भोगेको चाइनिज ताइपेई भने तालिकाको पाँचौं स्थानमा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.