होटलमा लगानी बढ्यो

होटलमा लगानी बढ्यो

इलाम : इलामको सूर्योदय नगरपालिका ८ पालटाँगेमा रहेको होटल स्टन ब्लुका ६० प्रतिशत ग्राहक भारतीय छन्। उद्घाटन हुन बाँकी रहेको यस होटलको सुरुवाती चरणमै भारतीय पर्यटकको आकर्षण उत्साह जनक देखिएको सञ्चालक नगेन्द्र रिजाल बताउँछन्। १४ करोड लगानीमा स्थापना गरेको होटलमा पाउनाले चाहेजस्तो सेवा पाउने रिजालको दाबी छ।

इलामले भारतीय पर्यटकलाई लक्ष्य गरेर ‘चलो इलाम’ लगायतका कार्यक्रम भारतका मुख्य सहरमा सञ्चालन गरेपछि पछिल्लो समय इलाम घुम्ने भारतीयको सख्या बढ्दै गएको होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौड्याल बताउँछन्।

पर्यटकले खोजेको स्वादको परिकार र आवासका लागि होटलमा लगानी गरेको सञ्चालक रिजालले बताए। झापाको सिवसत्ताक्षी ११ मा आठ वर्षदेखि होटल सञ्चालन गरेका रिजाल भन्छन्, ‘पहिलो आउँदा पर्यटकले मागेजस्तो सहजता नपाएकाले लगानी गरेको।’ उनले आफ्नो होटल भारतीय पर्यटक लक्षित रहेको बताए।

साकाहारी भोजनालयसहितको कफी सप, रेस्टुरेन्ट, वार, लजको व्यवस्था रहेको होटल नजिक बाल उद्यान र पर्यटकीय दृश्य हेर्न टावरको निर्माणसमेत धमाधम भइरहेको छ। रिजालले भने, ‘तिहारपछि औपचारिक उद्घाटन गर्छौं।’ उद्घाटन अघि नै उनको होटलले राम्रो कारोबार सुरु गरेको सूर्योदय उद्योग वाणिज्य संघका महासचिव राजन प्रधानले बताए।

कन्याममा र अन्तुमा पर्यटकको आगमन बढेपछि मेची राजमार्गको पाल्टाँगे–शान्ति चोक क्षेत्रको करिब तीन किलो मिटर क्षेत्रमा होटल लजमा लगानी ह्वातै बढेको छ। त्यहाँ १० वटा होटल हालसालै खुलेका छन्। दोभान होटलका सञ्चालक समेत रहेका महासचिव प्रधानले भने, ‘दसैंदेखि तिहारसम्म अधिकांश होटल बुक भएका छन्।’

सूर्योदय होटल एसोसिएसनका सचिव युवराज प्रधान करोडभन्दा माथि लगानी गरेर होटल खोलने क्रम बढेसँगै पर्यटकको आगमन र रोजगारीसमेत बढेको बताउँछन्। सूर्योदय नगरपालिका पर्यटकीय हवका रूपमा विकास हुन थालेपछि होटलमा लगानी बढेको उनको भनाइ छ। सिजनमा मुख्य गन्तव्य बन्ने गरेको श्रीअन्तुमा समेत होटल थपिँदै छन्। स्थानीय होमस्टे सञ्चालक खगराज घिमिरेका अनुसार बाहिरका लगानीकर्ताले अन्तुमा महँगा होटलमा लगानी बढाएका छन्।

देउमाई नगरपालिका ४ का किरण राईले, विक्रम श्रेष्ठ र पवन श्रेष्ठ मिलेर देउमाई नगरपालिकाको मंगलबारेमा रेस्ट्रो चिन्तुना सञ्चालनमा ल्याएका छन्। एक करोडको लगानीमा सुरु गरेको होटलले राम्रो कारोबार गरिरहेको उनीहरूले बताए। देउमाई नगरपालिका १ चमैताका प्रकाश बस्नेतले रा“के बजारमा खोलेको ‘चमु होटल’ पनि ३ करोड १५ लाखको लगानी भएको छ।

श्रीअन्तुका “३६० वेसक्याम्प” होटलका सञ्चालक प्रज्वल प्रधान घुमघाम संस्कृतिको विकाससँगै होटल व्यवसायमा लगानी बढेको बताउँछन्। इलाममा गत वर्षभन्दा ४२ प्रतिशत बढी पर्यटकले इलाम प्रवेश गरेको पर्यटन सूचना केन्द्रले जनाएको छ।

गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा ४० हजार एक सय एक जना बढी पर्यटक इलाम प्रवेश गरेको इलाम प्रवेशद्धार जोर कलशको पर्यटन शूचना केद्रका अधिकृत गगन घिमिरेले जानकारी दिए। उनका अनुसार एक लाख ३४ हजार ७७ पर्यटकले इलामको प्रमण गरेका छन्।

अघिल्लो वर्षको सोही अवधिमा आन्तरिक ९३ हजार पर्यटकले इलामको भ्रमण गरेको घिमिरेले बताए। देशका पश्चिमी जिल्लाबाट पछिल्लो समयमा इलामका गन्तव्य घुम्ने पर्यटकको संख्या बढ्दो क्रममा छ। भारतीय पर्यटकको आगमन पनि उल्लेख्य रूपले बढिरहेको सूचना केन्द्रले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.