खुल्लामञ्चमा रातारात फेरि ढलान

खुल्लामञ्चमा रातारात फेरि ढलान

काठमाडौं : दसैंमा सर्वसाधारण घरतिर लागे। स्थानीय बासिन्दा जात्रा पर्वमा व्यस्त भए। यही मौका छोपेर काठमाडौं महानगरपालिकाले रातारात बसपार्कमा ढलान गरेको छ। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको ठाडो आदेशमा बसपार्कमा ढलान भएको हो।

खुल्लामञ्चमा सारिएको अस्थाई बसपार्कमा व्यवसायीले फेरि टहरा बनाएको विवाद नसकिँदै ढलान विवाद सुरु भएको छ। बसपार्कमा महानगरपालिकाले ढलान गर्न लागेको थाहा पाएपछि स्थानीयहरूले यसअघि ढलान भत्काएका थिए। तर महानगरपालिकाले रातिको समय पारेर फेरि ढलान गर्‍यो। बसपार्कलाई व्यवसायीको हातमा दिन महानगरपालिकाले स्थायी ढलान गरेको स्थानीय आरोप लगाउँछन्।

महानगरपालिकाले अस्थायी बसपार्कमा कालोपत्रे गरे पुग्ने स्थानीय गणपतिलाल श्रेष्ठ बताउँछन्। महानगरले खुल्लामञ्च अतिक्रमण गर्न कालोपत्रेको सट्टा ढलान गरी माफियालाई संरक्षण गरेको उनको आरोप छ। ‘हामी कालोपत्रे गर्ने विरोधमा छैनौं,’ उनले भने, ‘तर ढलान नै गर्नु भनेको अहिलेको बसपार्कलाई स्थायी बनाउने खेल हो।’

बसपार्कमा बनाइएको ढलानका विषयमा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले उक्त ढलान अस्थायी प्रयोगका लागि मात्र गरेको दाबी गरे। ‘बसपार्कलाई धुवाँधुलो, खाल्डाखुल्डी र हिलोमुक्त बनाउन ढलान गरिएको हो,’ प्रवक्ता डंगोलले भने। पुरानो बसपार्कमा भ्युटावर बनेपछि खुल्लामञ्चमा राखिएको अस्थायी बसपार्क त्यहाँबाट हटाइने उनको भनाइ छ।

पुरानो बसपार्कमा ‘भ्युटावर’ निर्माण प्रक्रिया लम्बिएसँगै अस्थायी बसपार्कमा नयाँ नयाँ विवाद आउन थालेको हो। ०७१ माघ ११ मा महानगरले जलेश्वर स्वच्छन्द बिकोईलाई निर्माण गर्न ठेक्का दिएको भ्युटावर बनाउन अझै अघि बढेको छैन।

महानगर र ठेकेदार कम्पनीबीच ५ वर्षमा टावर बनाइ सक्नुपर्ने सम्झौता भएको थियो। तर कम्पनीले टावर निर्माण अलपत्र छाड्दा अस्थायी बसपार्कमा समस्या खडा भएको हो।

समयामा निर्माणको जिम्मेवारी लिएको कम्पनीले भ्युटावर बनाउन नसके विकल्प खोजिने काठमाडौं महानगरपालिकाले बताउँदै आएको छ। तर काम नगर्ने ठेकेदारलाई कुनै कारवाही गर्न भने अहिलेसम्म सकेको छैन। उल्टै १२ तलामात्र बनाउने सम्झौता भएको उक्त टावर अझै १० तला थपिएर बन्ने भएको छ। यसबाट भ्युटावरको निर्माण अवधि अझै लम्बिने देखिन्छ। यसको प्रत्यक्ष असर खुल्लामञ्चमा वर्षौंसम्म पर्ने निश्चित छ।

६ महिनाअघि खुलामञ्चमा अवैध सटर सञ्चालनमा थिए। राजनीतिक महत्वको खुलामञ्च व्यवसायीको हातमा दिएको भन्दै काठमाडौं महानगरका मेयर शाक्यको चर्को विरोधसमेत भयो। स्थानीयको विरोधपछि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा ती टहरा भत्काइएको थियो। अहिले फेरि दुईमाजु मन्दिर परिसरमा सटर बनाइएको छ। तर यसलाई हटाउन महानगरले कुनै पहल गरेको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.