‘नेपालबाहिरको नेपाली’ भनिदिँदा...

‘नेपालबाहिरको नेपाली’ भनिदिँदा...

नरबहादुर भण्डारी- यो नाम सुन्दा वा सम्झँदा एक जना नेपाली भाषासाहित्यप्रेमी, नेपाली संस्कृतिप्रेमी, सरल, सहयोगी साथै व्यवहारकुशल व्यक्तिको छवि आज पनि मेरो मन-मस्तिष्कमा आकारिन थाल्छ। उहाँ सिक्किम राज्यका सर्वशक्तिमान मुख्यमन्त्रीका रूपमा धेरै वर्षसम्म पदासीन रहनुभयो। मुख्यमन्त्रीका रूपमा उहाँको पहिलो कार्यकाल चलिरहँदा सन् १९८२ मा उहाँलाई पहिलो पटक भेट्ने र एक साँझभरि लामो वार्तालाप गर्ने सुअवसर मलाई मिलेको थियो। त्यसपछि पनि विभिन्न सन्दर्भ र अवसरहरूमा, संस्थागत र व्यक्तिगत कामका सिलसिलामा उहाँलाई सामूहिक अनि एक्लै भेटघाट गर्ने र कुरा राख्ने अवसर मैले पाइरहेँ।

 अझ विशेष गरी नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गर्न चलाइएको सशक्त आन्दोलनका अगुवाका रूपमा उहाँको पहल अनि नेतृत्वमा भए-गरेका विभिन्न संगोष्ठी, सभा-सम्मेलन, शोभायात्रा, जुलुस र अन्य विविध कार्यक्रममा सहभागी बन्ने सौभाग्य पनि मलाई निरन्तर प्राप्त भइरहे। यसबाहेक सन् १९८४ देखि त्रिभुवन विश्वविद्यालयमा म नेपाली एमएको विद्यार्थी छँदाताक गुवाहाटी-काठमाडौं गर्ने क्रममा अनिवार्यजस्तै गान्तोक पुगेकै हुन्थेँ। तिनताक गान्तोकस्थित एमएलए अतिथिशालामा सिक्किमबाहिरबाट आउने साहित्यकारहरूको सम्मानमा प्रायः आयोजना भइरहने कविगोष्ठीहरूमा उत्प्रेरक व्यक्तिका रूपमा धेरै पटक मुख्यमन्त्री नरबहादुर भण्डारीको गरिमामय उपस्थिति हुने गथ्र्यो। त्यस्ता गोष्ठीहरूको समापनपछि मुख्यमन्त्री भण्डारीद्वारा उपस्थित सबैसित सद्भाव दर्शाउँदै गरिने भलाकुसारी साथै उहाँको सरल सहृदयता र मानवीय सद्भावलाई नजिकबाट देख्ने-बुझ्ने मौका मैले पाइरहेँ।

यिनै र यस्तै-यस्तै धेरै निजी अनुभव छन् नरबहादुर भण्डारी अनि उहाँको राजनीतिक-सार्वजनिक र निजी जीवनका सेरोफेरोमा उनिएका- जसमा गाँसिएर उहाँको जीवनको सशक्त मूल खाँबोका रूपमा आदरणीय दिदी दिलकुमारी भण्डारीको उपस्थिति रहेको पाउँछु। आफूले प्रत्यक्ष देखेका, भोगेका, जानेका कुराहरूबाट निचोडस्वरूप बनेको अनुभवका आधारमा- नरबहादुर भण्डारी खुला हृदय र विचार भएका उदारमना व्यक्ति र निर्भीक, वाकपटु राजनेता हुनुहुन्थ्यो भन्ने मेरो निजी धारणा छ।

हुनलाई मुख्यमन्त्री नरबहादुर भण्डारीका कटाक्षपूर्ण घोचपेचले भरिएका भाषणहरू पनि दुईचार पटक सुन्ने मौका मैले नपाएको होइन। सिक्किम संग्राम परिषद्का सभा-सम्मेलनहरूमा उहाँ आफ्ना विपक्षीहरूप्रति कटु, कठोर र आक्रामक रूपमा प्रस्तुत भएका दृश्य पनि मैले देखे-सुनेको हुँ। मलाई लाग्छ यो त राजनीतिको अटल पक्ष हो। राजनीतिलाई नै जीवनवृत्ति चुनेपछि त्यसैअनुरूपको बाह्य व्यवहार र आचरण पनि आफ्नो व्यक्तित्वलाई भिराउनुपर्ने बाध्यता व्यक्तिलाई आइलाग्नु स्वाभाविक कुरो हो। तर नरबहादुर भण्डारीले आफ्ना विपक्षी वा विरोधीलाई बाहिरी भाषण र व्यवहारमा जतिसुकै छ्यासे पनि निजी वा व्यक्तिगत जीवनमा भने तिनैलाई उदारतापूर्वक आर्थिक, प्रशासनिक एवं व्यावहारिक सहयोग गरेका केही दृष्टान्त मेरो जानकारीमा छन्।

सांसद इन्द्रजित खुल्लरले अपमानपूर्ण बोलीमा नेपालीलाई ‘विदेशी भाषा’ भन्दै खसालेर बोलेपछि नेपाली चेली श्रीमती दिलकुमारी भण्डारी निकै भावविह्वल बन्न पुग्नुभयो र भारतीय लोकसभामा आँसु बगाउँदै धरधर्ती रुनुभयो।

भनिन्छ, राजनीति गर्ने व्यक्ति बढी उदारमना हुनु, प्रस्ट वक्ता हुनु, अति सहृदय हुनु वा संवेदनशील मनको हुनु उसका चरम अवगुण हुन् आजको समयमा त्यसको मूल्य उसले चुकाउनैपर्छ। नरबहादुर भण्डारीको राजनीतिक जीवनको उत्तराद्र्धतिर दृष्टिपात गर्दा माथिको भनाइ एक हदसम्म साँचो भएको ठहर्छ। उहाँको प्रस्ट वक्ता छविको अपव्याख्या भयो। उहाँको उदारतालाई दुर्बलता ठहर्‍याइयो।

यसरी एउटा कालखण्डका जल्दाबल्दा नायक नरबहादुर भण्डारी आफ्नो राजनीतिक जीवनको उत्तराद्र्धमा निरुपाय, निस्तेज र अकर्मण्य चरित्रनायकमा घटुवा हुन विवश बन्नु पर्‍यो। जसको पछिपछि एउटा भीड हिँड्ने गरेको देखेको थिएँ धेरै पटक, जसको एउटा इशारा वा संकेतलाई पर्खेर कार्यकर्ताहरूको घुइँचो लाग्ने गरेका दृश्य मेरा सम्झनामा आज पनि ताजा बनी चलमाउँछन्- उनै नरबहादुर भण्डारीलाई अन्तिम पटक सन् २००८ मा गान्तोकको सडकमा एक्लै हिँड्दै आइरहेको भेटेको थिएँ मैले। मलाई चिनेपछि उहाँले आत्मीयतापूर्वक मेरो हात समातेर बाटोछेउको एउटा फार्मेसीमा लिएर जानुभएको थियो। त्यहीँ उभिएर धेरै बेरसम्म हामीले कुराकानी गरेका थियौं। मलाई त्यो नै उहाँसँगको मेरो अन्तिम भेट हुनेछ भन्ने त्यति बेला के थाहा !

नरबहादुर र जगदम्बा श्री

२०४७ सालको तेस्रो ‘जगदम्बा श्री’ पुरस्कार सिक्किमका तत्कालीन मुख्यमन्त्री श्री नरबहादुर भण्डारीलाई ‘नेपालबाहिर नेपाली भाषा र साहित्यको समुन्नतिमा व्यक्तिगत तथा संस्थागत स्तरमा असाधारण योगदान गरेबापत’ प्रदान गर्ने निर्णय मदन पुरस्कार गुठीद्वारा गरिएको थियो र श्री भण्डारीलाई यस निर्णयको जानकारी गराउँदै गुठीले पत्राचार गरेको थियो। यो जगदम्बा श्री पुरस्कार २०४८ असोज २५ गते त्यस वर्षका मदन पुरस्कार विजेता कवि श्री भानुभक्त पोखरेलसँगै श्री भण्डारीज्यूलाई प्रदान गर्ने तय भएको थियो। तर पुरस्कार वितरण गरिने मितिभन्दा लगभग डेढ महिनाअघि २४ अगस्त १९९१ का दिन नयाँ दिल्ली, भारतबाट नरबहादुर भण्डारीले ढिलो गरी लेख्नुभएको पत्र मदन पुरस्कार गुठीका सदस्यसचिव श्री कमलमणि दीक्षितलाई प्राप्त हुन्छ, जुन पत्रमा श्री भण्डारीले जगदम्बा श्री पुरस्कार आफूले ग्रहण गर्छु भनी व्यक्तिगत स्वीकृति प्रदान गर्न सजिलो नभएको मात्र उल्लेख गर्नुभएको छैन, पुरस्कार ग्रहण गर्न केही ढिलो हुनसक्ने संकेत गर्दै त्यसका निम्ति अग्रिम क्षमायाचनासमेत गर्नुभएको पाइन्छ।

श्री भण्डारीले प्रेषित गर्नुभएको पत्रको पेटे बेहोराबाट के कुरा प्रस्ट हुन्छ भने भारतीय संघअन्तर्गत पर्ने सिक्किम राज्यको पदीय दायित्वमा बाँधिएका एक जना जिम्मेवार मुख्यमन्त्रीका हैसियतले विदेशी मुलुक नेपालबाट दिइएको पुरस्कार आफूखुसी स्वीकार गरिहाल्नु त्यति सजिलो विषय भने होइन। मदन पुरस्कार गुठीका सदस्य-सचिवलाई प्रेषित उक्त पत्रलाई गहिरिएर नियाल्दा श्री भण्डारीले भारतीय केन्द्र सरकारबाट अनुमति प्राप्तिका लागि प्रक्रिया थालिसकेको र त्यसका निम्ति केही समय लाग्न सक्ने संकेत परोक्ष रूपमा गरेको भने बुझ्न सकिन्छ।

त्यसपछि पुरस्कार वितरण गरिनुभन्दा ६ दिनपूर्व गान्तोकबाट श्री भण्डारीले गुठीका अध्यक्षलाई सम्बोधन गरी लेख्नुभएको दोस्रो पत्र पनि मदन पुरस्कार गुठीलाई प्राप्त भयो। यस पत्रमा भने श्री भण्डारीले आफूले हाललाई ‘जगदम्बा श्री’ पुरस्कार ग्रहण गर्न नसक्ने दुई कारण प्रस्टसँग उल्लेख गर्नुभएको छ- पहिलो, गुठीद्वारा पठाइएको पत्रमा ‘नेपालबाहिरको नेपाली’ भनी आफूलाई उल्लेख गरिएको कुरो चित्त नबुझेको। आफ्नो भाषा-साहित्य-संस्कृति नेपाली भए पनि आफू स्पष्ट रूपमा भारतीय नागरिक भएको हुँदा आफूलाई भारतीय नागरिकको मर्यादा प्रदान गर्दै पुरस्कृत गरिनुपर्ने। दोस्रो, नेपाली भाषालाई भारतीय संविधानमा मान्यता दिलाउने संघर्ष अहिले अधुरै रहेकाले आफू ‘जगदम्बा श्री’ पुरस्कार थाप्न अझै योग्य बनिनसकेको।

अन्योल र अप्ठ्यारा

नेपाली भाषाले भारतीय संविधानको आठौं अनुसूचीमा मान्यता नपाएसम्म जगदम्बा श्री पुरस्कार नलिने भण्डारीको अडान धेरैका लागि उदेकलाग्दो गसिपको विषय बन्दै थियो भने केही व्यक्ति उहाँको अडानमा रहेको संकल्पको दृढता अनि नेपाली भाषालाई मान्यता दिलाएर छाड्ने कठोर प्रणको सराहना गरेर थाक्दैनथे।

यसबीच नेपालका केही समाचारप्रधान साप्ताहिक पत्रिकाहरू ‘भण्डारी नेपाल र नेपालीविरोधी हुन्’ भन्दै हेडलाइन ठड्याइरहेका थिए साथै ‘जगदम्बा श्री’ पुरस्कारका लागि उहाँ उपयुक्त पात्र नभएकोसम्म जिकिर गरिरहेका थिए। तर साप्ताहिक पत्रपत्रिकाहरूका यस्ता समाचार र विश्लेषणलाई मदन पुरस्कार गुठीले उति महत्व नदिएको प्रस्ट बुझ्न सकिन्थ्यो। गुठी आफूले गरेको निर्णय सही रहेकामा विश्वस्त थियो। ‘घोषणा भइसकेको जगदम्बा श्री पुरस्कार अब हामीकहाँ श्री भण्डारीको नासोका रूपमा सुरक्षित रहिरहनेछ। उहाँले आफ्नो अनुकूल वा उपयुक्त समयमा आई यसलाई ग्रहण गर्नु नै हुनेछ।’ गुठीको यस्तो अडान थाहा पाएपछि यसबारेका अन्योल र अप्ठ्याराहरू बिस्तारै मत्थर हुँदै गएका थिए।

अन्ततः संविधानमा मान्यता

भारतमा नेपाली भाषा-मान्यता आन्दोलनको लामो समयशृंखलामा धेरै संघसंस्था, भारतभरि छरिएर रहेका नेपाली र नेपालीइतर प्रबुद्ध व्यक्तिहरू तथा सर्वसाधारण नेपालीहरूको ठूलै त्याग, निष्ठा, सक्रिय सहभागिता र बलिदानको भूमिका रहेको कुरो बिर्सन मिल्दैन। यस आन्दोलनको इतिहास निकै लामो छ। बेला-बेला तात्दै-सुस्ताउँदै फेरि ब्यूँझँदै नेपाली भाषा-मान्यताको आन्दोलन भारतमा जारी रहेको इतिहासले देखाउँछ।

 सन् १९७० को दशकको आरम्भतिरै ‘अखिल भारतीय नेपाली भाषा समिति’लाई पुनर्गठन गरी यस आन्दोलनमा फेरि प्राण भर्ने काम दार्जिलिङले गर्‍यो; जसको फलस्वरूप नेपाली भाषा-मान्यताको आन्दोलन डुवर्स, असम, मेघालय, मणिपुर, नागाल्यान्ड, मिजोरम हुँदै देहरादुन, धर्मशाला र भाक्सुसम्म तीव्र रूपमा प्रचारित-प्रसारित हुँदै गयो।

नेपाली भाषा-मान्यताको आन्दोलनले शासकवर्गको निद्रा बिथोलेपछि प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीले सन् १९७३ मार्च १४ का दिन अ.भा.ने. भाषा समितिलाई वार्ताका लागि पहिलो पटक नयाँ दिल्ली बोलाइन्। प्रधानमन्त्री श्रीमती गान्धीसित पार्लियामेन्ट भवनमा भएको पहिलो वार्तामा दार्जिलिङका २१ जना, देहरादुनका एकजना प्रबुद्ध व्यक्ति सामेल हुनुहुन्थ्यो भने असमबाट ‘बृहत्तर गुवाहाटी नेपाली विद्यार्थी संघ’को महासचिवका हैसियतले उक्त वार्तामा मेरो पनि सहभागिता थियो।

सन् १९७५ मा सिक्किमको विलय भारतीय संघमा हुन्छ र नयाँ सिक्किम राज्यको गठन हुन्छ। सन् १९७९ मा चुनाव जितेर श्री नरबहादुर भण्डारी पहिलो पटक सिक्किमका मुख्यमन्त्री बन्नुभएपछि भारतमा नेपाली भाषा-मान्यताको आन्दोलनले नवीन ऊर्जा, सदृढ इच्छाशक्ति, नौलो आत्मविश्वासका साथै व्यापकता र थप उचाइ हासिल गर्दै जान थाल्छ। श्री भण्डारीले नौलो संस्थागत संरचना तयार गरी भाषा-मान्यताको आन्दोलनलाई गति र व्याप्ति मात्र प्रदान गर्नुभएन, यसलाई सही ढंगबाट परिचालन गरी नेतृत्वसमेत प्रदान गर्नुभयो। अर्कोतिर भारतीय लोकसभाको सदस्यका हैसियतले श्रीमती दिलकुमारी भण्डारीले संसद्मा नेपाली भाषा-मान्यताका निम्ति बारम्बार कुरो उठाउने र छलफल चलाउने काम गरिरहनुभयो। यसै क्रममा १९ अगस्त १९९२ का दिन भारतीय लोकसभामा कांग्रेस (आई)का सांसद इन्द्रजित खुल्लरले अपमानपूर्ण बोलीमा नेपालीलाई ‘विदेशी भाषा’ भन्दै खसालेर बोलेपछि नेपाली चेली श्रीमती दिलकुमारी भण्डारी निकै भावविह्वल बन्न पुग्नुभयो र भारतीय लोकसभामा आँसु बगाउँदै धरधर्ती रुनुभयो। सांसद श्रीमती भण्डारीको हृदयविदारक रोदनपछि लोकसभाका तत्कालीन सभामुख श्री शिवराज पाटिललाई १५ मिनेट लोकसभाको कारबाही स्थगित गर्न कर लाग्यो।

त्यसको भोलिपल्ट कृष्णजन्माष्टमीका दिन भारतीय संविधानमा ७१औं संशोधन गरी लोकसभाको निकै ठूलो बहुमत अर्थात् पक्षमा ३७६ अनि विरुद्धमा नौ मतको अन्तरले नेपालीलगायत मणिपुरी र काेंकणी भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गर्दै मान्यता प्रदान गरियो। भारतमा यो नेपाली भाषाभाषीहरूको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि थियो। यस उपलब्धिको श्रेयको भागी- भारतमा नेपाली भाषा-मान्यता आन्दोलनमा लागिपरेका सबै भारतीय नेपाली (वा गोर्खा) सर्वसाधारण, नेतृत्ववर्ग, प्रबुद्धजन हुन् भन्नेमा कुनै शंका छैन। तर नेपाली भाषालाई भारतीय संविधानमा मान्यता दिलाउन गरिएको अन्योलपूर्ण आन्दोलनलाई सही दिशानिर्देश गर्दै अन्तिम निष्कर्षसम्म पुर्‍याउन श्री नरबहादुर भण्डारी र श्रीमती दिलकुमारी भण्डारीले निर्वाह गर्नुभएको भूमिका अविस्मरणीय रहिरहनेछ र यस सुकीर्तिमय उज्ज्वल सुकार्यको श्रेयका मुख्य भागीदार पनि उहाँहरू दुवै नै हुनुहुन्छ।

पुरस्कार ग्रहण

भाषाले मान्यता पाएको पनि डेढ वर्षभन्दा बढ्ता भइसकेको थियो, तर जगदम्बा- श्री पुरस्कार वितरणको मेलोमेसो कतै देखिइरहेको थिएन।यस्तैमा एक दिन जगदम्बा श्री-वितरण कार्यक्रमको निम्तो आयो।

निम्तोपत्र हेरेपछि आश्चर्य के कुरामा लाग्यो भने सायद पहिलो पटक हुनुपर्छ, मदन पुरस्कार गुठीको कार्यक्रम आफ्नै परिसरमा नगरी कुपन्डोल हाइटको हिमालय होटलको हलमा गर्ने निधो गरिएको रहेछ।

मुख्यमन्त्री भण्डारी अत्यन्त प्रसन्न मुद्रामा देखिँदै हुनुहुन्थ्यो। एकछिनको भलाकुसारीपछि उहाँले ब्रेकफास्ट सँगै खाने प्रस्ताव राख्नुभयो। मलाई निकै अप्ठ्यारो अनुभव भइरहेको थियो। तर उहाँले नजिकैको अर्को कोठामा लग्नुभयो जहाँ टेबलमा ब्रेकफास्ट राखिसकिएको रहेछ। त्यहाँ मैले चिनेका एक जना मान्छे मात्र देखिरहेको थिएँ- वरिष्ठ साहित्यकार श्री सानु लामाजी। अरू सबै नचिनिएका अनुहारहरू भए पनि उहाँहरूको सौहार्दतामा कुनै कमी थिएन- मुख्यमन्त्रीले एकाबिहानै निम्त्याएको पाहुनाका लागि।

ब्रेकफास्ट सकेर हामी पहिलेकै कोठामा आयौं। मुख्यमन्त्री महोदयको हातमा अहिले एउटा ब्रिफकेस देखिँदै थियो। ब्रिफकेस खोलेर उहाँले दुईतीन वटा बेग्लाबेग्लै साप्ताहिक समाचारपत्र देखाउँदै भन्नुभयो, ‘यी त तपाईंले पढिसक्नुभएकै होला ? ’

ती तिनै साप्ताहिक थिए जसमा उहाँको उछितो काढ्दै तथानाम लेखिएको थियो।

मुख्यमन्त्री भण्डारीले निकै संयमित शान्त मुद्रामा भन्नुभयो, ‘यिनलाई काठमाडौंमा प्रेस खोल्न, पत्रिका चलाउन मैले चालीस-पचास लाख रुपियाँ लगानी गरिदिनुपर्‍यो रे। मैले भनेँ, प्रेस र पत्रिकाको खाँचो तपाईंहरूलाई भन्दा सिक्किमलाई बढी छ। सिक्किमका गरिब जनताको भाग खोसेर तपाईंहरूलाई पोस्न म असमर्थ छु। मैले रित्तो हात फर्काइदिएपछि यहाँ आएर मेरो विरुद्धमा षड्यन्त्र रच्ने काम गर्दै छन्।’

रमाइलो मुद्रामा हाँस्दै शालीन पाराले भन्नुभयो, ‘आज एक दिनमा पुरस्कार पनि थाप्नु छ र अन्त धेरैतिर पनि पुग्नु छ। तपाईंले चाहिँ हामीलाई नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान डुलाइदिनुपर्छ है !’

मैले उहाँको प्रस्ताव सहर्ष स्वीकार गरेँ। तिनताक म प्रज्ञाप्रतिष्ठानमा ‘समकालीन साहित्य’, ‘प्रज्ञा’ र ‘कविता’को कार्यकारी सम्पादकको हैसियतमा कार्यरत थिएँ।

उहाँले भन्नुभयो, ‘हाम्रा लागि गाडीहरूको व्यवस्था भारतीय राजदूतावासले मिलाएको छ। पहिले पशुपति जान्छौं अनि स्वयम्भू र दक्षिणकाली। प्रज्ञा-प्रतिष्ठान आइपुग्दा १२ जति बज्ला कि !’

आज उपकुलपति ईश्वर बराल दसै बजे आइपुग्नुभएकाले सजिलो भयो। मैले बराल सरलाई मुख्यमन्त्री भण्डारीको प्रज्ञा-प्रतिष्ठान अवलोकन गर्ने इच्छाबारे जानकारी गराएँ। उहाँले उत्साहित हुँदै भन्नुभयो, ‘कहाँ अवलोकन मात्र ? त्यस्ता सम्माननीय पाहुनालाई त एउटा कार्यक्रमकै आयोजना गरी अभिनन्दन गर्नुपर्छ।’

यसै पनि बराल सर र उहाँको टिमको पन्ध्र दिन मात्र समय शेष थियो प्रज्ञा-प्रतिष्ठानमा। उहाँले प्रशासन प्रमुखलाई डाकेर सबै व्यवस्था मिलाउन भन्नुभयो।

मुख्यमन्त्री भण्डारी प्रज्ञा-प्रतिष्ठान पुग्दा दिनको एक बज्दै थियो। उहाँलाई पूmल, अक्षता, लावा अनि दहीको सगुन टक्य्राएर स्वागत गरियो। प्रज्ञा भवनमा राजाको सवारी हुँदा प्रयोग गरिने हल, प्रेक्षालय, पुस्तकालय, उपकुलपति र सदस्यहरूका कार्यकक्ष अवलोकन गराइसकेपछि तलको पुस्तकालय हलमा उहाँको अभिनन्दन समारोह पनि भव्यतासाथ सम्पन्न भयो।

‘अटल भण्डारी’ स्मृति ग्रन्थमा प्रकाशित श्रेष्ठको लेखको सम्पादित रूप। यो स्मृति ग्रन्थ १६ जुलाई २०१९ मा भण्डारीको तेस्रो पुण्यतिथिमा सिक्किममा सार्वजनिक भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.