उपकुलपति नियुक्तिका लागि सिंहदरबारमा सर्च कमिटीको बैठक
काठमाडौं : विभिन्न विश्वविद्यालयम उपकुलपति र सेवा आयोगका अध्यक्ष नियुक्त गर्ने विषयम छलफल गर्न सर्च कमिटीको बैठक सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयमा बसेको छ। शिक्षा मन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा सोमबार बैठक बसेको हो।
बैठकले उपकुलपति रिक्त रहेको चितवनस्थित कृषि तथा वन विश्वविद्यालय, पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिको लागि सम्भावित व्यक्तिको नाम सिफारिस गर्ने सम्बन्धमा छलफल गरिरहेको छ। बैठकले नेपाल संस्कृत र पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको अध्यक्ष नियुक्त गर्ने सम्बन्धमा पनि छलफल गरिरहेको शिक्षा मन्त्रालयका एक अधिकारीले बताए।
यी विश्वविद्यालयहरुमा भदौ पहिलो सातादेखि उपकुलपतिको पद रिक्त छ। उपकुलपति पद रिक्त रहेको मध्यपश्चिम, सुदुरपश्चिम र पोखरा विश्वविद्यालयका विषयमा भने सर्च कमिटी समेत गठन भएको छैन।
उपकुलपति रिक्त भएका त्रिभुवन विश्वविद्यालयका लागि भने पोखरेलकै अध्यक्षतामा गठन भएको सर्च कमिटीले तीन जनाको नाम सिफारिस गरिसकेको छ। वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईराला, नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष धर्मकान्त वास्कोटा र राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको नाम उपकुलपतिको लागि दसैंअघि नै सिफारिस भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !