डोजर आतंकले गाउँ नै विस्थापित

डोजर आतंकले गाउँ नै विस्थापित

हेटौँडा : धादिङको धुनीवेशी नगरपालिका–६ नौविसे खत्रीगाउँका सन्तोष खत्रीको घर पहिरो खसेर क्षति पुर्‍यायो। असार २७ गतेदेखि २ दिन परेको अविरल वर्षापछि आएको पहिरोले घर अगाडिको जग्गा पनि कटान गर्‍यो। पहिरोको जोखिमका कारण परिवार र घरका सामान सुरक्षित स्थानमा सारे। यसरी उनी विस्थापित हुनुको मुख्य कारण हो, डोजर प्रयोग गरी जथाभावी खनिएका ग्रामिण सडक ।

६ महिनाअघि २२० केभीए विद्युत् प्रशारण लाइन बनाउने बेलामा आवश्यक नभएको ठाउँमा स्थानीय ठेकेदारको ब्यक्तिगत स्वार्थका कारण स्काभेटर प्रयोग गरी सडक खन्ने क्रममा जमिन क्षतविक्षत बनाएपछि आकाशे पानीले नै खत्रीको घर परिवार उठिबास बनाएको हो। बाटो बनाउने क्रममा नालामा बग्ने पानी आफ्नो जग्गातर्फ कटाइदिएको र बाटो खन्दा माटोले जग्गा पुरिएको भन्दै गल्छी गाउँपालिका–६ का शिवप्रसाद अधिकारीले पालिकामा पटक–पटक गुनासो गरे। उनको गुनासो सुनुवाइ नभएकाले उनी विस्थापित हुन वाध्य भए ।

प्राविधिकको अनुगमन र मुल्यांकन विना ठेकेदार र जनप्रतिनिधिको व्यक्तिगत स्वार्थमा कतिपय बाटो खनिएकाले विवाद र समस्या पनि आइरहेको छ। विकासको नाममा जनताले समस्या र पीडा भोग्नु परेको छ। वातावरणीय असरको मुल्यांकन बजेट छुट्याउने र डोजर चलाउने परिपाटी बढ्दै गएको छ। विकास निर्माणभन्दा बाटो बनाउने काममा डोजरवालाबाट कमिसन लिन पाइने भएकाले पनि व्यक्तिगत स्वार्थमा जनप्रतिनिधिले जथाभावी बाटो बनाउने गरेको स्थानीयको गुनासो छ ।

डोजर देख्दा तर्सिन्छन् गाउँले

मकवानपुरको पश्चिमी बिकट राक्सिराङ गाउँपालिका–७ काङ्बाङस्थित दलबहादुर चेपाङले दुई दिनसम्म घरमाथिबाट सडक खन्न दिएनन्। तर जनप्रतिनिधि र ठेकेदारले घरमाथिबाट सडक खन्दा गाढी आउने र जमिनको मुल्य बढ्ने बताएपछि आफ्नो बारीमा सडक खन्न दिए। तर सोही सडकका कारण २०७६ सालको वर्षामा उनी आफ्नो थातथलो छाड्न बाध्य भए ।

जर्बजस्ती घरमाथिबाट खनिएको सडकले उनी घरबार विहिन बनेका हुन्। पछिल्लो समय ४ पाता जस्ताले छाएको टहरोमा बस्दै आएका उनको ६ जनाको परिवार एक किलोमिटर पर खोरिया बारी कमाउँदै जंगलमा बस्न बाध्य भएका छन्। हिउँदको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको भण्डाराबाट करिब चार घण्टाको मोटरयात्रामा पुगिने काङबाङ गाउँमा एक दर्जन परिवार सडकले निम्त्याएको पहिरोको जोखिममा परेका छन् ।

‘गाउँमा सधैं डोजरमै बसेर सडक बनाएको हेर्न सकिँदैन। डोजर चालकले जता बाटो लग्यो त्यतै जान्छ’, वडानम्बर ७ का वडाध्यक्ष कुलबहादुर चेपाङले भने, ‘नचाहँदा नचाहँदै पनि सडकले खुशीसँगै दुख पनि दिएको छ ।’ पहिरोको जोखिममा नेपालकै दोस्रो स्थानमा पर्ने मकवानपुरको पश्चिमी क्षेत्रमा जथाभावी डोजर चलाउँदा दर्जनौं गाउँ बिस्थापित हुने अवस्थामा पुगेको छ। ‘ठेकेदार र जनप्रतिनिधिको स्वार्थमा बढी डोजर चलाउने गरिएको छ’, मकवानपुरको कैलाश ८ का स्थानीय नरेन्द्र तामाङले भने, ‘अहिले त विकास भयो भनेर खुसी हुनुभन्दा पनि डोजर देखेर गाउँले नै त्रसित हुनुपर्ने अवस्था आएको छ ।’

गाउँ जोखिममा

जोडर चालक नै इन्जिनियर बनेर बाटो खन्दा भुम्लु गाउँपालिका वडा नम्बर १० को ३० घर परिवार पहिरोको उच्च जोखिाममा परेका छन्। ०७५÷७६ को अन्तिममा खनिएको उक्त सडकबाट पहिरो बग्न थालेपछि वर्षाको समयमा स्थानीयवासी गाउँ छाडेर अन्यत्र बस्न बाध्य भए। काभ्रेकै कोशी पारी चौरी देउराली गाउँपालिकाका अधिकांस सडक जनताको सुविधालाई नहेरी जनप्रतिनिधि र ठेकेदारको चाहनामा खनिएका छन्। मनपरी चलाइएको डोजरका कारण गत वर्षामा दुई घर पहिरोमा पुरिएको थियो। डोजर आतंकबाट स्थानीय त्रसित छन् ।

हिउँदमा जथाभावी खनिएको सडक वर्षातको समयमा प्रायः बन्द हुन्छ। तापनि यो वर्ष काभ्रेका स्थानीय तहमा सडक निर्माण पहिलो प्राथमिकतामा छ। जोखिम जति निम्त्याए पनि प्राविधिक अनुगमन र मुल्यांकनमा ध्यान दिइएको छैन। सडक बन्नु राम्रो कुरा हो तर प्रकृया र अनुगमनविना खनिएटा ग्रामिण सडकले विकास र सुविधाभन्दा पीडा बढी दिने गरेको छ। यो पक्षलाई सच्याउन स्थानीयको माग छ ।

धादिङबाट मनिष दुवाडी, मकवानपुरबाट कृष्ण सारु मगर र काभ्रेबाट रोजन तामाङ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.