अस्पतालको खातामा एक करोड ५७ लाख जम्मा
भक्तपुर : अस्पताल प्रशासनले भक्तपुर क्यान्सर अस्पतालको खातामा बिहीबार एक करोड ५७ लाख रुपैयाँ जम्मा गरेको छ। अन्नपूर्ण र अन्नपूर्ण पोस्ट डट कमले बुधबार र मंगलबार अस्पताल प्रशासनले अढाई करोड रुपैयाँ अपचलन गरेको समाचार प्रकाशन गरेको थियो। उक्त समाचार आएको दुई दिनमा प्रशासनले उक्त रकम जम्मा गरेको अस्पताल व्यवस्थापन समितिका कोषाध्यक्ष कृष्णप्रसाद ताम्राकारले जानकारी दिए। उनले भदौ १ गतेदेखि एक करोड १५ लाख खर्च भएको बिल पेस गरी प्रशासनले बाँकी एक करोड ५७ लाख रुपैयाँ बैंकको खातामा जम्मा भएको बताए।
प्रशासनले उक्त रकम जम्मा गर्नेबित्तिकै व्यवस्थापन समितिले अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीको असोजको तलब पनि निकासा दिएको कोषाध्यक्ष ताम्राकारले बताए।
‘सुरुमा प्रशासनले अस्पतालको आम्दानी बैंकमा जम्मा गर्न मानेको थिएन’, उनले भने, ‘लगत्तै जिल्ला प्रशासन कार्यालय भक्तपुर र राष्ट्रिय सतर्कता केन्द्रमा अस्पतालका कर्मचारीले अस्पतालको दैनिक आम्दानी अपचलन गरेको भनी निवेदन दिएपछि बैंकमा रकम जम्मा गरिएको थियो। बैंकमा आम्दानी जम्मा हुनेबित्तिकै चिकित्सक, नर्स र कर्मचारीको असोजको तलबसमेत निकासा गरेका छौं।’
कोषाध्यक्ष ताम्राकारले प्रशासनले गरेको खर्च नियमसंगत भए÷नभएको जाँच गर्न व्यवस्थापन समितिले आन्तरिक लेखापरीक्षक नियुक्त गरिएको बताए। आन्तरिक लेखापरीक्षकले बेरुजु निकालेको खर्च सम्बन्धित व्यक्तिबाटै असुलउपर गरिने उनको भनाइ थियो।
अस्पतालका प्रशासन तथा वित्त प्रमुख जगन्नाथ भुर्तेलले पनि भदौदेखि भएको खर्च कटाएर बाँकी भएको एक करोड ५७ लाख रुपैयाँ बैंकको खातामा जम्मा गरिएको स्पष्ट पारे।
यसअघि अस्पतालका प्रशासन तथा वित्त प्रमुख भुर्तेल, प्रशासक राजाराम तजले र व्यवस्थापन समितिबाट निलम्बित मेडिकल डाइरेक्टर प्रो.डा. नारायण श्रेष्ठले भदौदेखिको अढाई करोडभन्दा बढी आम्दानी अस्पतालको बैंक खातामा जम्मा नगरी अस्पतालमै राखेका थिए।
अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठले अस्पतालमा भक्तपुर नगरपालिकाले साउन ३० गते हस्तक्षेप गरेपछि भदौदेखिको अस्पतालको आम्दानी बैंकमा जम्मा नगरिएको बताए।
अस्पतालको आम्दानी बैंकमा किन जम्मा नगरेको भनी प्रशासन तथा वित्त प्रमुख भुर्तेललाई पटक–पटक प्रश्न गर्दा स्पष्ट जवाफ नदिएको उनले जानकारी दिएका थिए। भक्तपुर नपाले अस्पताललाई दिएको जग्गा र आर्थिक सहयोग दुरुपयोग गरेको भन्दै साउन ३० गते बसेको बोर्ड बैठकले अस्पताल व्यवस्थापन समिति समानान्तर हुनेगरी नगर प्रमुख सुनील प्रजापतिको अध्यक्षतामा अर्को व्यवस्थापन समिति गठन गरेको थियो। अस्पतालका मेडिकल डाइरेक्टर श्रेष्ठ र प्रशासक तजलेको बलमा भक्तपुर नपाले अस्पतालमा हस्तक्षेप गरेको थियो।
भक्तपुर नपाले अस्पतालमा हस्तक्षेप गरेपछि अस्पताल व्यवस्थापन समिति सर्वोच्च पुगेको थियो। सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भदौ १० गते भक्तपुर नपाको हस्तक्षेप अवैधानिक भन्दै मौजुदा व्यवस्थापन समितिलाई नै बिनाअवरोध काम गर्न र गराउन अन्तरिम आदेश दिएको थियो। उक्त आदेशपछि परेको पेसी पाँचपटकसम्म सरेको छ। मंगलबारका लागि तोकिएको पेसीसमेत सरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।
सर्वोच्चको अन्तरिम आदेशपछि मेडिकल डाइरेक्टर श्रेष्ठले अस्पतालमा हस्तक्षेप गराउन भूमिका खेलेको भन्दै अस्पतालको मौजुदा व्यवस्थापन समितिले निलम्बन गरेको थियो। तर, उनले निलम्बनको पत्र बुझेका छैनन्।
उनी बिहीबारसम्म अस्पतालमा मेडिकल डाइरेक्टरको हैसियतमा उपस्थित भइरहेका छन्। बिहीबार अस्पताल पुगेका व्यवस्थापन समितिका कोषाध्यक्ष ताम्राकारले प्रो.डा. श्रेष्ठलाई निलम्बितसँगै म्याद सकिँदा पनि कुन हैसियतले मेडिकल डाइरेक्टरको कुर्सीमा बसिरहेको भनी प्रश्न गर्दा उनी नाजवाफ भएका थिए। उनलाई तत्काल मेडिकल डाइरेक्टरको कुर्सी छाड्न भनेको कोषाध्यक्ष ताम्राकारले जानकारी दिए।
प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले अझै अस्पतालमा अवैध रूपमा मेडिकल डाइरेक्टरको कुर्सीमा बसिरहे कानुनी र गैरकानुनी सबै उपाय अपनाएर उनलाई अस्पतालबाट गलहत्याइने चेतावनी दिइएको एक कर्मचारीले जानकारी दिए। उनका अनुसार मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठ लेखिएको नेमप्लेट र टेबल प्लेटसमेत हटाइएको छ।
प्रतिक्रिया दिनुहोस !