उवा काट्न लामाको साइत
डोल्पा : सुन्दा अचम्म लाग्छ ! बाली पाकेपछि कसैले पनि आफूखुसी भित्र्याउन पाउँदैनन्। त्यति मात्रै होइन, समाजका अग्रजको बाली नकाटी अरूको पालो पनि आउँदैन। तर, यो काम समझदारीमै हुन्छ। यसमा कसैको असन्तुष्टि रहँदैन। बैठकबाट गरिने निर्णयमा सबै एकजुट हुन्छन्।
माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धो तराप, ताक्सिलगायत गाउँमा यस्तै चलन छ। यहाँ सबैभन्दा धेरै उब्जनी हुने बाली हो, उवा। यसबाट छ्याङ, सातु र खाजाका अन्य परिकार बनाइन्छ। जौजस्तै देखिने उवा पाकेर बारी पहेंलै देखिन्छन्। यो बाली चैत–वैशाखमा लगाइएको थियो।
बाली पाकेपछि स्थानीय लामाको नेतृत्वमा गाउँलेको बैठक बस्छ। बैठकले बाली पाकेको निक्र्योल गरेपछि उवा भित्र्याउने प्रक्रिया सुरु हुन्छ। गाउँलेलाई खबर गरिन्छ। बैठकपछि पनि स्थानीय बाली काट्न सीधै जाँदैनन्। एक साता घाँस काट्न समय छुट्ट्याइन्छ, बैठककै निर्णयबाट।
घाँस काट्न टाढाका गाउँ जाने चलन छ। घाँस बोक्न चौरी, याक, खच्चडलगायत जनावर लगिन्छ। सामान्यतः जान र फकिन दुई दिन, घाँस काट्न चार वा पाँच दिन समय छुट्ट्याइन्छ। यो समय पनि लामा नेतृत्वको बैठकबाटै तोकिन्छ। डोल्पोबुद्ध–२ का वडाध्यक्ष ग्याल्पो थापा भोटेका अनुसार यो वर्ष असोज १२ मा उवा कटाइ सुरु भयो। ‘लामाको खेतबारीमा रहेको उवा असोज १२ गते काटियो’, वडाध्यक्ष भोटेले भने, ‘सर्वसाधारणको उवा भने असोज १३ देखि काट्न थालियो।’
उनका अनुसार लामाहरू धार्गे, थिन्ले र निमाको उपस्थितिमा बसेको बैठकले उवा काट्ने निर्णय गरेको थियो। यो बेला गाउँलेले राति बस्न त्रिपालसहित अन्य खानेकुरा पनि घरबाट लगेका हुन्छन्। ‘गाउँभन्दा टाढाबाट घाँस काटेर फर्केपछि गाउँले सामूहिक रूपमा उवा काट्न तयार हुन्छन्’, पूर्वशिक्षक केदारविनोद पाण्डेले भने, ‘यसरी उवा काट्नुअघि उनीहरूले खेतबारीको घाँस पनि काटिसकेका हुन्छन्।’
डोल्पाको रहनसहनबारे अध्ययन गरिरहेका पाण्डेका अनुसार समूहमा जुटेका गाउँलेले सबैभन्दा पहिला लामाको खेतमा रहेको उवा काट्छन्। त्यसपछि पालैपालो गाउँलेको उवा काट्छन्। उवा काट्दा खेतबारीमै नाचगान गरिन्छ। मीठा परिकार बनाएर खाइन्छ। सबै स्थानीय उत्साहका साथ यो काममा सहभागी हुन्छन्।
घरनजिकै बाली लगाए पनि गाउँलेले उवा काट्ने बेला बारीमै टेन्ट गााड्छन्। रातको समयमा मात्र यो बाली काटिन्छ। दिउँसो काट्दा बोटबाटै झर्ने हुनाले रातको समयमा काट्नुपरेको स्थानीयको भनाइ छ। गाउँपालिका अध्यक्ष तेम्बा गुरुङका अनुसार उवा मात्रै होइन, अन्य कुनै पनि काम गर्नुपर्यो भने बैठक बसेर निर्णय गर्ने चलन छ। ‘हाम्रो संस्कार यसमै टिकेको छ’, अध्यक्ष गुरुङले भने, ‘यसले सामूहिकताको भवनालाई टिकाइराख्न बल पुर्याएको छ।’