जहाँ आधारभूत सुविधा छैन

जहाँ आधारभूत सुविधा छैन

एकजना सर थिए। पोहोर साउनमा राजीनामा दिए। फागुनसम्म खाली भयो। सरकारले फागुनमा एकजना मिस पठायो तर स्कुल आएका छैनन्।


सहरको सरकार सहरकै लागि हवाईजहाज, पानीजहाज, रेलमार्ग, सुरुङमार्ग, ग्यासको पाइपलाइन, पेट्रोलियम पदार्थको पाइपलाइनको योजना बनाउँछ। सुविधासम्पन्न अस्पताल, युग सुहाउँदो विद्यालय, विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्छ। सहरका नेताहरू समृद्धिको भाषण गरेर थाक्दैनन्। यही देशमा एउटा गाउँ छ; जसलाई पुस्तौंदेखि अभाव, असुविधा र गरिबीले थिचिरहेको छ।

गोरखाको हिमालपारि रहेको त्यो गाउँको नाम हो– न्याक। यो चुमनुब्री गाउँपालिका–३ मा पर्छ। सडक धेरै परको कुरा, यहाँसम्म पुग्न सिँडी लगाइएको पदमार्ग पनि छैन। बूढीगण्डकी माथिको ठाडो भीरमा करिब एक फिट चौडा बाटो छ। यहाँ पुग्न गाउँपालिकाको केन्द्रबाट चार घण्टा मानवबस्तीविहीन उकालो चढ्नुपर्छ। यति लामो उकालो चढ्ने न्याकवासीलाई घाँटी भिजाउन बाटोमा खानेपानीको सुविधा छैन।

कहालीलाग्दो उकालो चढ्दा यहाँका बासिन्दालाई अर्को त्रासदी छ, बेलाबेला झरिरहने ढुंगाको। भीरमा चर्ने मृग, घोरल, झारल, नाउरले बेलाबेला ढुंगा झारिरहन्छन्। माथिबाट झरेको एउटा ढुंगाले बाटोसम्म आइपुग्दा पहिरोकै रूप लिन्छ। यसबाट बच्न यहाँका बासिन्दा तलमाथि हेर्दै हिँड्नुपर्ने अवस्था छ।

गाउँमा पुगेपछि भित्तामा पसारो परेका ४४ घरधुरी गुरुङ समुदायको मात्र बसोबास देख्न सकिन्छ। गाउँलेले मोटरबाटोको कल्पना गरेका छैनन्। अघिल्लो वर्षदेखि गह्रुँगो भारी बोक्न गाउँमा खच्चड आइपुगेको छ। खच्चड चल्न थालेपछि गाउँलेको थाप्लोले केही सुख महसुस गर्न थालेको छ। ‘हाम्रो गाउँको मान्छेले गाडी चढ्ने सपना देखेका छैनन्’, गुरुङ भन्छन्, ‘पोहोरदेखि खच्चड चल्न थालेको छ। यसैमा खुसी छौं। अब डब्लूएफपीले सिँडी बनाइदिन्छु भनेको छ। त्यही आशा छ।’सिजनमा लटरम्मै फल्ने स्याउले गाउँलेलाई अलिअलि पैसाको मुख देखाउँछ। कि त रक्सी बेचेपछि धेरथोर पैसा हात पर्छ। सिजनका बेला स्याउ र अरू बेला गाउँलेहरू रक्सी, मकै, गहुँ बोकेर त्यही कठिन ओरालो बाटो मनास्लु पदमार्गमा पर्ने न्याकफेदी, ड्याङ, पेवा, पाङ्सिङ र फिलिमसम्म पुग्छन्। ‘स्याउ पाक्ने बेलामा पिठोसँग साट्न पाङ्सिङसम्म पुग्छौं’, दिपेश भन्छन्, ‘बेच्नु पर्‍यो भने डोको बोकेर मनास्लु जाने बाटोमा पर्ने न्याकफेदी, पेवा, ड्याङ, फिलिमसम्म पुग्छौं।’

विकास विमुख

विद्युत् प्राधिकरणका सीईओ कुलमान घिसिङले लोडसेडिङमुक्त बनाए भनेर देशमा झ्याली पिटिएको छ तर न्याक गाउँमा बिजुलीबत्ती छैन। केन्द्रीय प्रसारण त धेरै पर, लघु जलविद्युत्को बिजुली पनि गाउँमा छैन। पाँच घण्टाको बाटो पर भालुवनमा उत्पादन गरिएको लघु जलविद्युत् ४५ घरधुरीका लागि लाइन तान्न कोही मान्दैनन्।

भूकम्पपछि पुगेको एउटा संस्थाले प्रत्येक घरलाई सोलार बत्ती बाँडेको थियो। ती पनि कतिपय बिग्रिसके। सोलार बत्ती बिग्रिएका स्थानीयवासी अहिले अँगेनुमा बलेको आगोको उज्यालोको भरमा बस्ने गर्छन्। ‘सोलार त छ तर कसैकसैको घरमा बिग्रिसक्यो। उनीहरू अँगेनुको आगोको उज्यालोको भरमा छन्’, स्थानीय वीरेन्द्रराज गुरुङले भने, ‘कहिलेकाहीँ दुई दिन, तीन दिन, एक हप्तासम्म घाम नलागेको बेला सोलार भए पनि दियालो बाल्छौं।’

गाउँमा एउटा विद्यालय छ, बुद्धहिमाली प्रावि। कक्षा ३ सम्म सञ्चालन अनुमति पाएको त्यहाँ कक्षा १ मा चार जना छन्। २ र ३ कक्षामा विद्यार्थी छैनन्। शिक्षक पनि छैनन्। ‘एकजना सर थिए। पोहोर साउनमा राजीनामा दिए। फागुनसम्म खाली भयो। सरकारले फागुनमा एकजना मिस पठायो तर स्कुल आएका छैनन्’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत गुरुङ भन्छन्, ‘तलब कसरी खाएका छन् कुन्नि ? चेकमा मेरो सही गर्न आएका छैनन्। नक्कली सही गरेको पो छ कि ? ’

पढ्नका लागि यहाँका बालबालिका गाउँ छोड्न बाध्य छन्। आवासीय सुविधासहित पढाइ हुने छिमेकी वडाका विद्यालयमा बालबालिका पढ्न पठाउनु परेको गाउँलेको गुनासो छ। ‘पढ्नका लागि कोही गप, कोही फिलिम, कोही साम्दो, कोही स्याला, कोही काठमाडौं गएका छन्’, सुनिता गुरुङ भन्छिन्, ‘गाउँको स्कुलमा पढाइ हुने भए सानासाना बालबालिका पनि किन आमाको काख छोड्नु पथ्र्यो ? ’

सूचना सञ्चारका लागि गाउँमा मोबाइल सेवा छैन। ‘हाम्रो गाउँमा मोबाइल पनि टिप्दैन’, दिपेश गुरुङ भन्छन्, ‘तलका मान्छेले मोबाइल खेलाएको देखेर हाम्रो गाउँका युवाहरूले पनि मोबाइल किनेका छन्। तर गेम खेल्न, फोटो खिच्न, गीत सुन्न, भिडियो हेर्न र बत्ती बाल्न प्रयोग गर्छन्।’ फोन गर्नुपर्‍यो भने गाउँभन्दा माथिको डाँडामा उक्लिनुपर्ने उनले बताए। ‘अरूले हामीलाई फोन गर्‍यो भने टिप्दैन। हामीले गर्नुपर्‍यो भनेचाहिँ डाँडामा गएर गर्ने गरेका छौं’, उनले भने, ‘मोबाइल नचलेपछि इन्टरनेट सेवा चल्ने कुरै भएन।’ अहिलेको विश्वको सामाजिक सञ्जाल तथा अनलाइनले न्याक गाउँमा प्रवेश पाएको छैन।

देशविदेशमा के भइरहेको छ भन्ने गाउँलेलाई अत्तोपत्तो हुँदैन। कोही दैनिक बारीको काममा व्यस्त हुन्छन्। कोही गोठ र खर्कमा पशु चौपायासँग भुलिरहेका हुन्छन्। फेरबदल भइरहने राजनीतिक परिवर्तनसँग गाउँलेलाई सरोकार छैन।

इन्टरनेटबाट विमुख न्याक गाउँमा रेडियो पनि टिप्दैन। ‘कुनै पनि रेडियो स्टेसन टिप्दैन। टीभी छैन। पत्रपत्रिका आउने त कुरै भएन’, स्थानीय पासाङ गुरुङ भन्छन्, ‘देशविदेशमा के भइरहेको छ भन्ने मतलब छैन। खेतीबाली कसरी गर्ने भन्ने मात्र थाहा छ।’ वैदेशिक रोजगारीमा जाने मान्छेसमेत गाउँमा एकजना मात्र रहेको उनले बताए।

घरव्यवहारको कामको चापका कारण विदेश जान नपाएको उनले बताए। ‘घरमा काम गर्दिने मान्छे नभएर हाम्रो गाउँका युवाहरू विदेश जान पनि पाउँदैनन्। कोही पनि छैन भनूँ भने जम्मा एकजना मात्र छ’, उनले भने।

गाउँमा सरकारी स्वास्थ्यचौकी पनि छैन। निजी मेडिकल पनि छैन। धामीझाँक्रीचाहिँ छन्। न्याक गाउँको गाउँपालिकाको कार्यालय फिलिममा छ। वडा कार्यालय पनि त्यहीँ छ। स्वास्थ्यचौकी पनि त्यहीँ छ। न्याकबाट त्यहाँ पुग्न सन्चो मान्छेलाई चार घण्टा लाग्छ। ‘सानोतिनो बिरामी भयो भने यति धेरै हिँडेर औषधिउपचार गर्न जाँदैनन्’, दिपेश गुरुङ भन्छन्, ‘धामीझाँक्रीले झारफुक गर्छन्। जडीबुटीकै भर पर्छन्।’ गाउँका धेरैजनामा टीबी, ग्यास्ट्रिक, हेपाटाइटिस पनि रहेको उनले बताए।

बिहेबारीको रोचक परम्परा

न्याक गाउँमा बिहेबारीको चाहिँ राम्रो परम्परा छ। यहाँ एकफेर बिहेबारी गरेर सम्बन्ध जोडिसकेपछि कहिल्यै सम्बन्ध बिच्छेद हुँदैन। न त कसैले दोस्रो बिहे नै गर्छन्।

‘हाम्रो गाउँमा आजसम्म कसैको पनि दोस्रो बिहे भएको छैन’, स्थानीय पासाङ गुरुङ भन्छन्, ‘एकचोटि बिहे गरिसकेपछि कहिल्यै छोडपत्र पनि हँदैन। कोही श्रीमान् श्रीमतीको झैझगडा भएर दस, पन्ध्र वर्ष श्रीमती माइत बसे, नथाकीकन पर्खेर फेरि सँगै बस्ने चलन छ।’ एकल महिला वा एकल पुरुषले पनि दोस्रो बिहे नगर्ने चलन रहेको उनले बताए।सानो उमेरमा बिहे गर्नु हुँदैन भनेर सरकारले पछि प्रचारप्रसार गरेको हो। त्योभन्दा धेरै पहिलेदेखि न्याक गाउँमा ठूलो भएपछि मात्र बिहे गर्ने परम्परा चलेको थियो। ‘सरकारले त अचेल मात्र सानो उमेरमा बिहे गर्नु हुँदैन भनेको हो। हाम्रो गाउँमा त बाउबाजेको पालादेखि नै सानो उमेरमा बिहे गर्ने चलन छैन’, स्थानीयवासी जोनिशा गुरुङ भन्छिन्, ‘प्रेम विवाह गर्ने चलन पनि हाम्रो गाउँमा छैन। मागी विवाह मात्र गर्ने चलन छ।’

मागी विवाह गरेपछि केही समय श्रीमान् श्रीमती सँगै नबस्ने चलन रहेको अर्का स्थानीयवासी दिपेश गुरुङ बताउँछन्। ‘विवाह गरेपछि श्रीमतीको माइतीघरको घरव्यवहार मिलाएपछि मात्र श्रीमान्को घरमा जाने चलन छ’, उनी भन्छन्, ‘ठेकी पोम राखेपछि पनि श्रीमान्, श्रीमती मिलेर आफ्नो घरको, माइतीघरको व्यावहारिक अवस्था ठीकठाक पार्छन् अनि बल्ल श्रीमान्को घरमा गएर सँगसँगै बस्ने चलन छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.