सुख्खा खोलाको पनि डीपीआर
मुगु : छायाँनाथ रारा नगरपालिका ४ मा सुक्खा खोलाको पनि डीपीआर तयार पारिने भएको छ। बर्सेनि वर्षात्मा रारा विमानस्थल हुँदै खोलामा आउने बाढीले घरजग्गा क्षति गर्न थालेपछि पहिरो नियन्त्रणका लागि नगरपालिकाले डीपीआर तयार गर्न लागेको हो।
नगरपालिकाको वडा नम्बर ४ मा पर्ने सुक्खा खोलाको पहिरोले बर्सेनि स्थानीयका घर जग्गासहित गमगढी—बालै जोड्ने ग्रामीण सडकलाई क्षति बनाउँदै आएको छ। ०७४ साउनमा गएको बाढीले रोकायाबाडा, भामबाडा र रावलबाडाका पाँच सय घरधुरीको चार हजार रोपनीभन्दा बढी जग्गा बगाएको थियो। सुख्खा खोलामा जाने बाढीले बर्सेनि क्षति बढ्न थालेपछि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार गर्न लागेको निमित्त नगर प्रमुख प्रशासकीय अधिकृत ललिजंग मल्लले बताए।
छायाँनाथ रारा नगरपालिका—४ का वडाध्यक्ष विष्णुकुमार भामका अनुसार सुख्खा खोलामा पहिरो नियन्त्रणका लागि नगरपालिकाले स्पाइरल इन्जिनियर एजुकेसनल कन्सल्टेन्सी पोखरासँग १५ लाखमा डीपीआर तयार गर्ने सम्झौता गरेको छ। सम्भौताअनुसार तीन महिनाभित्र बुका खोला, लेते खोला र भियाल भीरको डीपीआर तयार हुनेछ।
नगर प्रमुख स्वरोजगार कार्यक्रमअन्तर्गत एक करोड र अन्य निकायसँग समन्वय गरी थप रकममा वातावरणमैत्री संरचना निर्माण र पानीको व्यवस्थापन गरिने इन्जिनियर विक्रम शाहीले बताए।
प्रतिक्रिया दिनुहोस !