मन्त्रिपरिषद् पुनर्गठन छिट्टै

मन्त्रिपरिषद् पुनर्गठन छिट्टै

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले छिट्टै मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्। उनले मन्त्रिपरिषद् पुनर्गठनको तयारीसम्बन्धमा पार्टीमा जानकारी गराएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेको र छिट्टै पुनर्गठन गर्ने बताएका हुन्।

‘प्रधानमन्त्रीले आफ्नो योजनाका रुपमा मन्त्रिपरिषद् पुनर्गठनको विषय पार्टी बैठकमा जानकारी गराउनुभएको छ,’ सचिवालयका एक सदस्यले भने, ‘सोमबार ÷मंगलबार भित्रमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ।’ समसामयिक विषयमा छलफल भन्दै आइतबार नेकपा सचिवालय बैठक बोलाइएको थियो। बैठकका एजेन्डा सार्वजनिक नगरिए पनि मन्त्रिपरिषद् पुनर्गठन, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टीका दुई अध्यक्षबीच कार्यविभाजन लगायत विषयमा छलफल हुनसक्ने अनुमान लगाउँदै नेताहरू बैठकमा पुगेका थिए।

प्रधानमन्त्री ओलीले सरकारको प्रभावकारिता बढाउन आफूले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेको भन्दै बैठकमा विषय प्रवेश गराएको ती नेताले बताए। ‘प्रधानमन्त्रीले छिट्टै आफू मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिपरेको बैठकमा जानकारी गराउनुभयो। हटाइने मन्त्री र नयाँ आउने मन्त्रीको नामबारे केही बताउनु भएन, नाममा छलफल भएन पनि,’ सचिवालयका ती सदस्यले भने।

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा लामो समयदेखि चलेकाले गर्ने भए ढिलो नगरी गर्न पनि नेताले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको अधिकार भएको भन्दै सचिवालय बैठकले प्रधानमन्त्रीलाई पुनर्गठनको सैद्धान्तिक सहमति दिएको अर्का एक सचिवालय सदस्यले बताए।

‘अब प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको अधिकार पाउनुभएको छ,’ ती सचिवालय सदस्यले भने, ‘सोमबार प्रधानमन्त्रीले यस विषयमा अन्तिम गृहकार्य गर्नुहुनेछ, अर्का अध्यक्षसँग पनि परामर्श गर्नुहुनेछ। आवश्यक परे अन्य नेतासँग पनि छलफल गर्न सक्नुहुनेछ, अनि पुनर्गठन हुन्छ।’

उनले सम्भव भए सोमबार र सम्भव नभए मंगलबारसम्म मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताए। पुनर्गठनका विषयमा प्रधानमन्त्री ओलीले यसअघि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाललगायत नेतासँग छलफल गरेका थिए।

सचिवालय बैठकअघि आइतबार पनि दुई अध्यक्षले बालुवाटारमै छलफल गरेका थिए। पुनर्गठन गर्दा प्रधानमन्त्रीले कम्तीमा ८ जनासम्म हटाएर नयाँ मन्त्री नियुक्तिको तयारी गरेको स्रोतले बताएको छ। नयाँ मन्त्रीका लागि घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रभु साह, वसन्त नेम्वाङलगायत नेता चर्चामा छन्। तर नामका विषयमा अन्तिम निर्णय प्रधानमन्त्रीले लिइनसकेको बालुवाटार स्रोतले बतायो।

बैठकमा नेताहरूले प्रधानमन्त्री ओलीलाई पुनर्गठन गर्ने भए ढिला नगर्न सुझाएका थिए। उनीहरूले पार्टीभित्रको सन्तुलन कायम गरी समावेशी हिसाबले पुनर्गठन गर्न र त्यसो गर्दा सक्षम र योग्य नेतालाई समेट्न सुझाव दिएका थिए। ‘योग्य र सक्षम नेता खोजी गर्नुहोस् भन्ने सुझाव हामीले दिएका हौं, अब प्रधानमन्त्रीले क सरि सोच्नुहुन्छ, त्यो उहाँको अधिकारको विषय भयो,’ सचिवालयका ती सदस्यले भने।

प्रधानमन्त्री ओलीले पार्टी बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे पनि नेताहरूलाई पछिल्लो अपडेट गराएका थिए। शनिबार गरिएको पछिल्लो डायलासिसका विषयमा उनले जानकारी गराएका हुन्। ‘मैले फेरि डायलासिस गरे। स्वास्थ्य अवस्था सामान्य नै छ, चिकित्सकहरूले डायलासिस गर्न सुझाव दिएका छन्, अहिले ठीक छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै वरिष्ठ नेता झलनाथ खनालले भने, ‘बाहिर प्रचारबाजीमा आएजस्तो विदेश उपचारका लागि जान लागेको, आदि इत्यादी केही पनि छलफल भएन।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीले आफनो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी बैठकमा गराएको बताए। दुई अध्यक्षको कार्यविभाजनको विषयले भने बैठकमा प्रवेश नै नपाएको सचिवालयका अर्का एक सदस्यले बताए।

प्रवासी समन्वय गर्न कमिटी गठन

विदेशमा पार्टी कमिटी नबनाउने औपचारिक निर्णय गरेको नेकपाले प्रवासी नेपालीको हकहित संरक्षण, एकता र मेलमिलाप प्रवद्र्धन गर्न तथा समन्वय गर्न समन्वय कमिटी गठन गरेको छ।

समन्वय कमिटिको इन्चार्जमा विन्दा पाण्डे, सह–इन्चार्जमा लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाई, सचिव श्रीप्रसाद साह र सदस्यमा तिल विश्वकर्मालाई जिम्मेवारी दिइएको छ। ‘प्रवासमा रहेका नेपालीको हक हित र एकताका विषयमा समन्वय गर्ने गरी पार्टी नेतालाई जिम्मेवारी दिने काम भयो,’ वरिष्ठ नेता झलनाथ खनालले भने।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.