गर्भवतीको हेलिकप्टरबाट उद्धार
डोल्पा : डोल्पाबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। शे-फोक्सुण्डो गाउँपालिका ८ रिग्मोबाट गर्भवती महिलाको उद्धार गरिएको हो। फोक्सुण्डो तालको छेमा रहेको रिग्मो गाउँकी ३० वर्षीया टसीमिन्डीत रोकाया सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि सुर्खेत क्षेत्रीय अस्पतालमा लगिएको स्थानीय आङबहादुर लामाले जानकारी दिए ।
तीन दिनदेखि सुत्केरी व्यथाले थला परेकी रोकायको पेटमा बच्चा चल्न छोडेको र बच्चा जन्माउन नसक्ने अवस्था देखिएपछि सुविधा सम्पन्न अस्पताल लैजान हेलीकप्टरको सहारा लिएको श्रीमान पूर्वातुण्डुप बैजीले जानकारी दिए ।
फोक्सुण्डो स्वास्थ्य चौकीमा अन्य कर्मचारी नभएको र एकजना एचएले उपकरण बिनै सामान्य चेकजाँचका आधारमा बाहिर लैजानु बाध्य रहेको रोकायका श्रीमान फूर्वाले बताए । जिल्ला प्रशासनका कार्यालय डोल्पाको समन्वयमा महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट उद्धार गरिएको हो ।
एक सातामा फोक्सुण्डोको रिग्मोबाट २ जना गर्भवतीको उद्धार गरिएको छ भने जगदुल्लाबाट उद्धार गरिएकी महिलाको भने आमा र बच्चा दुबैको ज्यान गएको छ ।