म नास्तिक हिन्दू !
मैले केही कुरामा हाँसेर ठूलो स्वरमा ‘लौन, प्रभु के कुरा गरेको यस्तो’ भनेँ। काखमा छोरी लिएर त्यहीँ उभिइरहेका एक व्यक्तिले सोधे, ‘मिस तपाईं प्रभु मान्नुहुन्छ
? प्रार्थना गर्नुहुन्छ ? ’
केही दिनअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलितहरूलाई प्रश्न गरे, ‘किन तपाईंहरूले हिन्दू धर्म च्यापेर बसेको ? ’ के उनले दलितलाई सबैजना क्रिस्चियन भए राम्रो हुन्छ भन्ने सन्देश दिएको ? उनी प्रधानमन्त्री हुँदा एक दलित परिवारको घरमा बसेर खाना खाएका थिए, यो परिवार पनि क्रिस्चियन भएछ कि ? बाबुरामले यो प्रश्नको उत्तर देलान् त ?
६ वर्षअघि दसैंको दिन दिउँसको बेलामा म र एक साथी दोलखाको विगुबाट हिँड्दै थियौं। त्यही बेला पसलमा बसेर चिया खाँदै, मैले केही कुरामा हाँसेर ठूलो स्वरमा साथीलाई ‘लौ न प्रभु के कुरा गरेको यस्तो’ भनेँ। त्यही बेलामा, काखमा छोरी लिएर त्यहीँ उभिइरहेका एक व्यक्तिले सोधं, ‘मिस तपाईं प्रभु मान्नुहुन्छ ? प्रार्थना गर्नुहुन्छ ? अनायासै आएको त्यो प्रश्नले म अचम्मित भएँ र भनेँ, ‘मान्छु नि, किन नमान्नु ? प्रार्थना त मन्दिरमा गएर गरिहाल्छु नि भगवान्लाई’। ‘ए’ उनले अँध्यारो मुख लगाउँदै भने, ‘मैले त तपाईंलाई पनि हामीजस्तै क्रिस्चियन हो कि भन्ठानेको।’
‘के फरक छ र ? मैले जे माने पनि, भगवान्, प्रभु, ईश्वर, जिसस सबै एउटै होइन र ? ’ मैले उनलाई हेरेर चियाको सुर्को तान्दै भनेँ। ‘कहाँ हुनु र, जिसस त सबभन्दा ठूलो भगवान्। हिन्दूको भगवान्हरू त, मूर्ति पूजा गर्ने ठीक होइनन् नि। हिन्दू धर्ममा त जातपात छ। हाम्रो जिससले त सबै रोग पनि ठीक पार्छ। हिन्दू भगवान्ले पार्दैन’, उनले एक सासमा भने। दया लागेर उनलाई हेरेँ, उनको मन मस्तिष्क कुनै पादरीले भुटेको जस्तै लाग्यो। हरि नामका उनी एक जनजातिका मुखिया थिए कि ?
म हिन्दू हुँ तर हिन्दू कर्मकाण्डको विरोध गर्छु, जातका आधारमा मान्छे छुट्ट्याउने विसंगतिको म विरोध गर्छु। तर त्यत्तिकै सम्मान गर्छु हिन्दू धर्मको दर्शनप्रति। संसारका धेरै देशमा घुमेर, काम गरेर नेपाल फर्केपछि मैले भन्ने गरेकी छु। ‘मलाई हिन्दू हुनमा गर्व छ।’ मेरो धर्मले मलाई कहिल्यै पनि अन्य धर्मको मान्छे, उनका ईश्वर कमसल हुन् भन्ने सिकाएन। मेरो धार्मिक ग्रन्थमा मानिसहरू कर्मले पोे बाहुन, क्षत्री, वैश्य, शुद्र हुन्छन् भनेर सिकाएको छ। जन्मँदा त सबै समान हुन्छन् भनेर सिकाएको छ। केही कर्मकाण्डले चाहिँ यो भावना बिगारिदिएका चाहिँ छन्।
मेरो हिन्दू धर्मले २००० वर्षअघि मात्रै संसारमा भएको ‘क्रिस्चियन धर्मभन्दा हिन्दू धर्म राम्रो, हामै्र भगवान्लाई सबैले मान्नुपर्छ’ भनेर सिकाएन। तर, अफसोस ! अहिले नेपालमा आएर गरिब जनतालाई गरिबीको कारणले जीवनमा आशा हराएका र विवश भएका नेपालीलाई धर्मको नाममा केही पादरीले भ्रममा पारिरहेछन्। क्रिस्चियन समुदायका केही अगुवाले अहिले मकवानपुरका चेपाङले चर्चमा गएर जिससलाई पूजा गर्छन्, मन्दिरमा जान छोडे। ललितपुरका नेवारहरू अहिले ‘भजन मण्डली’मा आइतबार ‘चर्च’ जान्छन्, ‘प्रभुले हामीलाई प्रार्थना गरेर सबै रोग ठीक हुन्छ, प्रभुले हामीलाई स्वर्ग पुर्याउनुहुन्छ’ भन्ने विश्वास गर्छन्। त्यस्ता गरिब मानिसलाई धर्मको नाममा अन्धभक्त गराउने पादरीहरू मेरो सन्मुख आएरचाहिँ ‘जिसस ठूलो, तिमीहरूको भगवान् सानो, तिमीहरू पनि चर्चमा गएर प्रार्थना गर’ भन्ने साहस गर्नै सक्दैनन्। किनभने उनीहरूलाई थाहा छ। उनीहरूले मेरो सन्मुख यस्तो कुरा गरे भने उनीहरूले लपटा खान्छन्, हिन्दू धर्मलाई गाली गरेको कारणले भन्दा पनि यस्तो मूर्खतापूर्ण कुरा गर्ने ‘साहस’ मेरोअगाडि गरेकामा।
यस्ता चेपाङ, नेवार, मगरहरू, दलितहरूलाई सेवा गर्ने भनेर आएका पादरीहरूलाई (त्यसमा त धेरैजसो नेपाली नै हुन्छन्) म भन्छु ‘तिमीहरूले दलित, चेपाङको सेवाको नाममा उनीहरूलाई क्रिस्चियन बनाएर उनीहरूको सांस्कृतिक जरो र पहिचान उखेलेर, जराविहीन बनाएर, जीवन नष्ट गर्दैछौं। सायद जिसस ‘बौरिएर’ नेपाल आए भने तिमीहरूको गलत चाला र गरिबको शोषण गरेको देखेर उनले त पक्कै आत्महत्या गर्थे होलान्। तिमीहरूले क्रिस्चियन धर्मको महानतालाई ‘खत्तम’ गरेका छौं। क्रिस्चियन धर्मभन्दा धेरै पुरानो हिन्दू धर्मको दर्शनलाई खत्तम भन्ने अधिकार तिमीहरूलाई कसले दियो ? हिन्दू धर्मको विसंगतिको आलोचना गर्ने अधिकार मलाई छ। तिमीलाई चासो हुनुपर्ने होइन। कसैसँग पनि शारीरिक सम्पर्क नभईकन ‘भर्जिन मेरी’ले बच्चा जन्माइन् भन्दा पनि यस्तो अवैज्ञानिक कुरालाई पनि ‘हो’ भनेर क्रिस्चियन पादरीले भन्दा हामी हिन्दू धर्मकाहरूले तिमीहरूको हंसी उडाएका छैनौं। हामी चर्चमा जाँदा चुपचाप लागेर ‘भर्जिन मेरीको’ अगाडि टाउको झुकाएर सम्मान गर्छौं, तिमीहरूजस्तो जथाभावी बोल्दैनांै।
तिमीहरू ‘जिससले सबै रोग ठीक पार्छन्’ भनेर गरिबलाई ठग्छौ। के तिमीहरूका पादरीहरू बिरामी भएर कोही पनि अस्पताल जाँदैनन् ? औषधि खाँदैनन् ? तिमीहरूको जिसस जन्मेको देशमा कि प्रार्थनाघर मात्र छन् ? अस्पताल, औषधि, डाक्टर छैनन् ? छन् भने किन बनाएको त अस्पताल, किन राखेको डाक्टर ? किन बनाएको औषधि ? अमेरिकाको, युरोप, भारत आदिका क्रिस्चियन मान्नेले शिशुलाई कुनै खोप नै लगाउनु पर्दैन ? चर्चमा गएर जिससलाई प्रार्थना गरेपछि के भ्यागुते रोग, पोलियो, धनुष्टंकार लाग्दैन ? के केरलामा इसाईहरूले हामीलाई अस्पताल र स्वास्थ्य चौकी चाहिँदैन, प्रभुले हाम्रो रोग निको पार्छन् भन्ने गरेका छन् ? अमेरिका र युरोपका इसाईहरूले के औषधि प्रयोग गर्दैनन् ? जिससको प्रार्थना मात्र गरे रोग मुक्त हुन्छन् ? ’ तर मलाई यस्तो प्रश्न गर्ने मौका नै दिँदैनन् पादरीहरू। त्यस्ता धर्म परिवर्तन गराउनेहरू त दोलखा, कर्णाली, हुम्ला, डोल्पा, दलित बस्तीमा जान्छन्।
तिनीहरूले आशाको हातमा बाइबल थमाइदिएका छन्। त्यो बाइबलको अनुवादित नेपाली त नेपाली भाषाका प्रकाण्ड विद्वान्ले पनि बुझ्दैनन्। बिचरा ती चेपाङ र नेवारहरूलाई केही लोभ देखाएर क्रिस्चियन बनाएर ‘पादरीहरू’ले आफ्ना हाकिमलाई विदेशमा भन्नेछन्, ‘नेपालमा त धेरै क्रिस्चियन भएका छन्। अब क्रिस्चियन क्रान्ति गर्नका लागि समय ठीक भएको छ।’
ती क्रिस्चियन धर्म नेपालमा फैलाउने पादरीले आफ्नो देश अमेरिकामै गएर काला र गरिबहरूको बीचमा जिससका कथा सुनाए हुन्थ्यो होला। नेपालमा आउने किन ? यसका पछाडि कुनै राजनीतिक अभीष्ट छ भन्ने स्पष्ट नभएको त होइन तर क्रिस्चियन धर्मका व्यक्तिहरूसँग यति पैसा छ कि, लाखौं डलर दिएर उनीहरूले हाम्रा नेतालाई पनि झुलाइदिन्छन्। ‘होली वाइन’ खाएर राजनेता सबैलाई लट्ठ पारिदिन सक्छन्। तर ती क्रिस्चियन धर्मगुरु मेरा सम्मुख पर्नचाहिँ सक्दैनन्।
अनाथ आ श्रम बनाएर धर्मको नाममा कसरी ठगी हुन्छ भन्ने एक घटना छ। बालकको रक्षा गर्ने नाममा कर्णालीबाट बच्चा ल्याएर अनाथ आ श्रममा ‘बाबुआमाविहीन’ भन्ने कागज बनाएर काठमाडौंमा राखेको घटना केही वर्षअघि थाहा भयो। राज नामका एक व्यक्तिले केहीपछि ती बालबालिकाका आमालाई नै बुझाइदिए, पैसा सिद्धियो भनेर। सुर्खेतको झुप्रे खोलाको किनारमा बसोबास गरेका बादीका बालबालिका काठमाडौं गएर, क्रिस्चियन बनाए फेरि खोला किनारमै ल्याए, अहिले ती बालक ‘प्रभु’ मान्छन्, मन्दिर जाँदैनन्। उनीहरूको जीवनमा आफ्नो संस्कृति भन्ने नै रहेन।
१० वर्षअघि मैले दैलेखमा जाडोको बेला, ७ बजे बिहान चिया खान पसल खोज्दै गर्दा एक आठ वर्षका बालक किताब च्यापेर कतै लागेको देखेँ। ‘कता लागेको यति बिहानै जाडोमा’, मैले सोधेँ। ‘बाइबल स्कुलमा जान लागेको’, उनले हातको बाइबल देखाउँदै भने। बिचरा कठ्यांग्रिएर बाइबल कक्षामा गएर के पढ्दा हुन् ? ’ तिमीहरूका राम, कृष्ण, शिव खराब हुन्। तिनलाई छोड, जिससको शरणमा आऊ, तिम्रो लागि स्वर्गको ढोका खेलिन्छ भनेर सिकाउँदा हुन्। बालकलाई सिकाएपछि त आमाबुवाकहाँ पुगिहाल्छन् भनेर जानेका पादरी बाठा रहेछन्।
‘हाम्रा धार्मिक नेता, पुरोहित, सरकारी कर्मचारीहरूसमेत पवित्र वाइनमा लट्ठ पर्छन्।’ धेरै जनताले आफ्नो फेसबुकमा लेखेका पनि थिए। यो ‘होली वाइनले एकछिन मात्र लट्ठ पार्ने होइन, आउँदो पुस्तालाई पनि जरोविहीन बनाउनेछ। धर्म र संस्कृतिको नाममा क्रिस्चियन धर्मको फैलावट मानौं एक मौन ज्वालामुखी हो। यस्ता पादरीले डाक्टर, इन्जिनियर, वकिल र शिक्षकलाई समेत क्रिस्चियन धर्मको महानता बुझाउन सकेर, हामीलाई पनि धर्म परिवर्तन गराउने खेल खेल्न खोजेका हुन् कि ? तुलसी गिरी पनि त क्रिस्चियन भएर देशै छोडेर गए भन्ने छलफल चलिरहन्छ।
म जिसस क्राइस्टको दयालु नीतिको साह्रै सम्मान गर्छु तर मलाई ‘हिन्दू हुनुमा गर्व छ’। मैल यसोे भन्दा कतिले त मलाई ‘तिमी त हिन्दू धर्मको धज्जी उडाउनमा पोख्त छ्यौ ? हाम्रा कति सांस्कृतिक पक्षलाई नकाछ्र्यौ। कसरी तिमी गर्वित हुन्छ्यौ ? ’ भन्ने प्रश्न नसोधेका पनि होइनन्। तर म हिन्दू र त्यसको खराब संस्कृतिको चिरफार गरेर, धर्मलाई मानव जीवन असल बनाउन सक्ने काममा योगदान दिन्छु (मैले बुझेर र भ्याएसम्म)। मेरो कर्तव्य पनि हो, अधिकार पनि हो। म हिन्दू धर्मको विशालतम् पक्षलाई अंगीकार गर्छु, त्यसलाई आलोचना गर्ने छुट मलाई हिन्दू धर्मले नै दिएको छ। म हिन्दू हुनमा गर्व गर्दा, मैले क्रिस्चियनलाई गाली गर्न नपर्ने रहेछ भन्ने सिकेकी छु।
म मेरो धर्म के हो भन्ने आफैं परिभाषित गर्न सक्छु, यो हिन्दू धर्मको ठूलो सम्पत्ति हो। म मन्दिरमा पूजा गर्दिनँ तर मानव सेवा मात्र गर्छु भन्ने अधिकार मलाई छ, किनभने म हिन्दू हुँ। म कुनै पनि देवीदेवता मान्दिनँ तर वर र पीपललाई संरक्षण गर्छु भन्ने अधिकार छ। किनभने, म हिन्दू हुँ। म नागपञ्चमीमा घरमा नागको फोटो टाँस्दिनँ, तर सर्प र जीववस्तुको संरक्षण गर्नैपर्छ भन्छु। म ‘तुलसीको’ विवाह गर्ने काम गर्दिनँ तर तुलसी रोपेर त्यसको प्रयोग गर्नुपर्छ भनेर तुलसीको महत्वबारे लेख्छु। मेरो हिन्दू धर्मले मलाई ‘मानक जीवन राम्रो बनाउने काम गर, तिमी चाहे नास्तिक हो वा आस्तिक’ भनेर सिकाएको छ।
कुन अरू धर्मले म मेरो भगवान्, प्रभु, परमेश्वर, अल्लाह मान्दिनँ भन्ने अधिकार दिएको छ ? कुनै धर्ममा त ‘म मेरो भगवान् मान्दिनँ भन्नेलाई झुन्ड्याइदिने’ कानुन छ, मैले मानेको हिन्दू धर्ममा छैन।
हाम्रा केही पण्डितको मूर्खता र राज्यले गरेको दुव्र्यवहारले आजित भएका दलित समुदायलाई अनेक थरीका पादरीले फकाउँछन् र ‘प्रभुको प्रार्थना गर, तिम्रो गरिबी र रोग भाग्छ’ भन्छन्। जिससलाई प्रार्थना गरेर रोग भाग्दो हो त अमेरिकामा किन रोगी छन् भन्ने प्रश्न गर्ने शक्ति नेपालमा छैन ? नव क्रिस्चियनलाई सिकाइएको छ, ‘तिमीहरू हिन्दूहरूको देवताको पूजा गरेको प्रसाद भनेर दिएको केही नखानू।’। त्यसैले मालती श्रेष्ठ, कुमार ज्यापू, रमेश तामाङजस्ता व्यक्तिहरू अहिले ‘प्रभुलाई मानेर प्रसाद खान छोडेका छन्। उनीहरूले हरिको नाम ह्यारी, माधुरीको नाम मेरी, आशाको नाम आयशा राखिदिएका छन्।
यस्तै स्वतन्त्रताको प्रयोग जब ‘धर्म’लाई उल्टाउने, काट्ने, तोड्ने, मोड्ने गरिन्छ, क्रिस्चियन धर्मगुरुबाट, तब लाग्छ उनीहरूले हाम्रो सभ्यताको ‘चोरी’ गर्ने काम गरेका छन्। धार्मिक व्यक्ति हुन कसैलाई असल व्यक्ति बन्ने र बनाउने काम पो गरिन्छ। अरूको धर्मलाई गाली गरेर गरिन्न।
हिन्दू धर्ममा अनेक विश्वास र सम्प्रदाय शैव, वैष्ण आदि छन्। तिनका कुनै पनि धार्मिक गुरुले कसैलाई पनि ‘जिसस क्रिाइस्ट मान्ने नगर्नू, उनीहरू खराब हुन्’ भन्ने सुनिएको छैन।
हिन्दू धर्मको उदारताले अनेक विदेशी ‘इस्कोन’ आएका छन्, कृष्ण प्रणायामी भएका छन्। ती क्रिस्चियन पादरीले आफ्नै देशका ‘इस्कोन’ मान्नेलाई क्रिस्चियन धर्म सिकाए हुन्थ्यो होला। दु :ख गरेर यति टाढा नेपालमा किन आउनुपरेको होला ? के मानवताको नाताले हो ? अवश्य होइन। मानवताको नाताले काम गर्ने भए त अमेरिकामा नै कति भोका, नांगा, गरिब, मानसिक असन्तुलन बिग्रिएका मानिस छन्। जिसस क्राइस्टको नाममा उनीहरूलाई नै लगेर, उनीहरूको घाउमा मल्हम लगाएर, उनीहरूका लागि प्रार्थना गरेर ठीक पारे हुन्थ्यो नि। कि अमेरिकाका जिसस क्राइस्टलाई त्यहाँका पादरीहरूको प्रार्थना सुन्ने र बिरामी निको पार्ने फुर्सद छैन ? तर नेपालका क्रिस्चियन बिरामीलाई चाहिँ निको पार्ने ठेक्काचाहिँ जिसस क्राइस्टले लिएका छन्। हिन्दू धर्मको पाँच हजार वर्षको इतिहास बिर्सेर वा नबुझेर कुनै नेपाली पादरीले ‘हाम्रा जिसस ठूला’ भन्छन् र अनि उनलाई पाँच हजार वर्षअगाडि परमेश्वरका छोरा जिसस नजन्मँदा चाहिँ मानिसहरूले कसको प्रार्थना गर्थे होलान् भन्ने प्रश्न कसले गर्ने हो ?
हरिबाट ह्यारी भएका एक व्यक्ति ‘डिप्रेसन’ भएर मानसिक रोग विशेषज्ञकहाँ आए। महिनौंदेखि बिरामी उनको अनुहार फुंग थियो। कति राति राम्रोसँग सुतेका थिएनन्, धेरै दिन राम्रोसँग नखाएकाले दुब्लो थिए। उनले रूँला रूँला जस्तो गरेर भने, ‘मलाई भएको रोग प्रभुलार्ई प्रार्थना गरेपछि जान्छ कि जस्तो लागेको थियो। तीन महिना गरेपछि पनि २० को १९ भएन, त्यसैले साथीहरूको सल्लाहमा तपाईंकहाँ आएँ। मेरो रोगको औषधि त छ होला नि।’
मनोरोग विज्ञले भने, ‘किन नहुनु नि ? छ नि। औषधि खाएको दुई तीन हप्तापछि आराम हुँदै गएपछि पूर्ण आराम हुनेछ। तपाईं प्रभुको प्रार्थना त गर्नुस् तर रोगचाहिँ प्रार्थनाले मात्र ठीक हुँदैन भनेर आफ्ना अनुयायीलाई पनि बुझाउनुस्।’
ह्यारी औषधि गरेपछि पूर्ण स्वस्थ भए। उनले ‘प्रभुलाई’ त्यागेर पुन : हिन्दू भगवान् नै मान्न थाले। नाम पनि हरि नै राखे। धन्न, नागरिकतामा चाहिँ परिवर्तन गर्न भ्याएका रहेनछन्।
त्यसैगरी कतिपय अस्पतालमा पनि केही व्यक्तिले ‘प्रभुको प्रार्थना गरेर हामी रोग निको पारिदिन्छौं। अस्पतालको पैसा पनि तिरिदिन्छौं, तिमी प्रभुलाई मान, क्रिस्चियन बन भन्छन्’ भन्ने पनि सुनिएको छ। मानव धर्ममा विश्वास गर्ने जिसस क्राइस्टका अनुयायीले यसै पनि अस्पतालमा गरिब बिरामीलाई पैसा तिरे भइहाल्यो नि।
दोलखामै ६ वर्षअगाडि हिँडिरहँदा केही व्यक्तिले ‘हामी प्रभुलाई पनि मान्छौं तर दसैंमा टीका पनि लगाउँछौं। हामीले आइतबार गएर चर्चमा प्रार्थना गर्दा, दसैंको टीकाले त के बाधा पुग्छ र ? ’ भनेको पनि सुनिएको थियो। अर्थात् केही क्रिस्चियन हिन्दू धर्मको सांस्कृतिक पक्षचाहिँ मान्ने भएछन्।
गाउँघरमा धामीझाँक्रीले ढ्यांग्रो ठटाएर, कुखुरा काटेर कतिपय रोग ठीक भएको भन्छन्, ग्रामीणहरूले, सायद त्यसैगरी गिर्जाघरमा गएर मैनबत्ती बालेर, भगवान् पूजा गरेर केही छिन मौन बसेपछि मनमा केही शान्ति हुने पनि होला। सायद त्यसैले कति आधुनिक डाक्टरले ‘दवा र दुवा (प्रार्थना)’ दुवै गर्नुपर्छ भनेका हुन् कि ?
तर पनि किन क्रिस्चियनहरू यति बलियो भएर नेपालका चेपाङ, दलितलाई क्रिस्चियन बनाउँदा हिन्दू धर्मगुरुहरूले नेपालमा दलितलाई सम्मान दिन नसकेका ?