पुलमा ठेकेदारको रजगज

पुलमा ठेकेदारको रजगज

इलाम/धनकुटा : ठेकेदारको लापरवाहीका कारण इलामस्थित माइखोलाको दुधाङ बेसीँमा साढे ६ करोडको पूल ६ वर्षमा पनि पुरा हुन सकेको छैन। इलामको राजदुवाली चिसापानी दानाबारी शनिश्चरे सडक खण्डमा पर्ने डेढ करोडमाथीका बुढी सुखानीको पक्की पुल पनि आठ वर्षदेखि अलपत्र छ। इलाम सदरमुकामबाट माइजोगमाई गाउँपालिकाको केन्द्र जोड्ने मुल सडकमा पर्ने माइखोलाको पक्की पुल बनाउन थालेपछि स्थानीयले जोखिम हट्ने आश गरेका थिए। माइजोगमाई ५ का टेकबहादुर खड्काले भने, ‘पुल निर्माण अलपत्र छ।’ चार वर्षअघि नै निर्माण सक्नु पर्ने पुलको काम आधा पनि भएको छैन।

इलाम नगरपालिका-५ को बरबोटे र माइजोगमाई ५ को सोयाङ जोड्ने दुधाङमा पक्की पुल निर्माणका लागि २०७१ असार २७ मा ठेक्का सम्झौता भएको थियो। ०७३ असार २६ सम्ममा सक्नु पर्ने पुल अहिलेसम्म आधा मात्रै काम भएको छ। पुल निर्माण स्थल माइजोगमाई गाउँपालिका-५ का वडाध्यक्ष दातारामा सञ्जेलले भने, ‘केहि समयदेखि काम शुरु भएको छ, अब सकिन्छ होला।’ आफुले गाउँपालिकामा कुरा पु¥याएपछि काम शुरु भएको उनको भनाइ छ।

डिभिजन सडक कार्यालय इलामका अनुसार सम्झौता अवधीमा काम नसकिएपछि ०७४ पुस २७ सम्मलाई पहिलो पटक म्याद थपिएको हो। पटक पटक म्याद थपे पनि ठेकेदार कम्पनी नेशनल निलगिरी जेभी फेरी म्याद थप्ने दौडमा छ। डिभिजन सडक कार्यालय इलाका इञ्जिनियर धुर्वकुमार झाका अनुसार पछिल्लो पटक कम्पनीले म्याद थपको निवेदन दिएको छ। ‘ठेकेदारको निवेदनमा ढिलो हुनुको ठोस कारण नभएकाले म्याद थप्न अस्विकार गरेका छौं’, उनले भने।

सडक डिभिजन कार्यालयले छ करोड १२ लाख ९२ हजारमा ठेक्का लगाएको सो काम निलगिरी जेभीले दुई वर्षभित्रै सम्पन्न गर्नु पर्ने सम्झौता थियो। इञ्जीनीयर झाका अनुसार ठेकेदार कम्पनीले काम समयमा नसकेवापत १० प्रतिशत हर्जना तिर्नुपर्ने भएको छ। अब पनि काम अघि नबढे ठेक्का तोड्ने प्रकृया शुरु हुने झाले बताए।

इलाम सदरमुकामबाट माइजोगमाई केन्द्रसम्म दैनिक १२ वटासम्म गाडी चल्ने गर्छ। करिब २२ किलो मिटरमा पर्ने पुल सम्पन्न नहुँदा खोलाबाटै कठिन यात्रा गर्नुपरेको स्थानीय बासीन्दाको गुनासो छ। संविधानसभाका पूर्वअध्यक्ष सुभाषचन्द्र नेम्वाङ र पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र जोड्ने पुल हो। ‘देश हाक्ने नेताको क्षेत्रमा त ६ वर्षसम्म पुल बन्दैन, अरु स्थानमा विकासको के अपेक्षा गर्ने’, स्थानीय खड्काले भने।

निर्माणधीन पुलबाट माइजोगमाई गाउँपालिका-१ नयाँबजार, वडा नम्बर २ जोगमाई, वडा नम्बर ५ सोयाङ र वडा नम्बर ६ प्याङका बासिन्दा लाभान्वित हुने छन्। ‘बर्सामा हामीले फिक्कल पुगेर सदरमुकाम जानु पर्छ। यो बाटो नयाँबजार इलामको भन्दा तीन दोब्बर बढि हो’, स्थानीयको भनाइ छ। इलाम सदरमुकामदेखि माइजोगमाईको केन्द्र नयाँबजारसम्म पुग्ने मोटरबाटो एक अर्ब रुपैयाँभन्दा बढी बजेटमा ग्राभेल भएको छ। बीचमा रहेको खोलामा पुल नहुँदा पानीपर्दा गाडी चल्दैन।

इलामको राजदुवाली चिसापानी दानाबारी शनिश्चरे सडक खण्डमा पर्ने बुढी सुखानीको पक्की पुल पनि सम्झौता भएको ८ वर्षमा पनि सम्पन्न भएको छैन। डिभिजन सडक कार्यालय इलामसँग ०६८÷६९ मा स्काई, अजम्बर, शिवराम जेभीले ठेक्का सझौता गरे पनि सम्झौताअनुसार समयमा काम नसेकेकाले ठेक्का रद्ध गर िठेकेदारलाई कालो सूचीमा राख्ने प्रकृया शुरु गर्न लागेको इन्जिनियर झाले बताए। एक करोड ६२ लाख १२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेकोे कम्पनीले अब ३० लाख रुपैयाँमात्र भुक्तानी लिन बाँकी छ।

इलामको माई नगरपालिकाका दानाबारी, महमाई, चिसापानी तथा माङ्सेबुङ गाउँपालिकाका विभिन्न ठाउँबाट हाट बजार भर्न झापा, खुदुनाबारी, शनिश्चरे, विर्तामोड जान यो पुल प्रमुख रहेको इलाम उद्योग बाणिज्य संघ दानावारीका बरिष्ठ उपाध्यक्ष गोपाल घिमिरेले बताए।

धनकुटा साँगुरीगढी गाउँपालिकाको सिम्सुवास्थित लेउती खोलामा निर्माणाधिन् पक्की पुल निर्माणमा पनि ढिलाई भएको छ। पुल निर्माण सम्पन्न हुनुपर्ने अवधिमा ४५ प्रतिशत मात्रै काम भएको सडक डिभिजन धनकुटाका इन्जिनियर विकेश लागेले बताए। भ्याटसहित करिव ७ करोड रुपैयाँ लागत रहेको उक्त पक्की पुल निर्माणको ठेक्का कुन्सालिङ, बिरुवा र सारासृष्टि निर्माण कम्पनी जेभीले पाएको हो।

०७४ असार २५ गतेदेखि निर्माण सुरु भएको पुलको काम दुई महिनाभित्र सम्पन्न भइसक्नु पर्ने सम्झौंतामा उल्लेख छ। आयोजनाको म्याद २०७६ असारमै सकिएको छ। ठेकेदार कम्पनीले सुरुमा फाइनल भएको पुलको डिजाइन त्रुटी भई संशोधन गर्ने क्रममा ७÷८ महिना काम रोकिएको कारण निर्माणमा ढिलाई भएको भन्दै एक वर्ष म्याद थप्न सडक डिभिजनमा निवेदन दिएको छ। म्याद थपको फाइल अहिले सडक विभागमा अड्किएको छ।

डिजाइनमा त्रुटी भएको र पछि संसोधन गर्दा सुरुमै निर्माण ढिला भएको ठेकेदार मिङमा शेर्पाको भनाइ छ। उनका अनुसार वर्खाको बेला खोलामा ठूलो वाढी आउने भएकाले काममा वाधा पुगेको हो। साँगुरीगढी गाउँपालिकाको वुढिमोरङ, फाक्सिव, खुवाफोकसहित चौविसे गाउँपालिकाको जनतालाई कोशी राजमार्गसँग जोड्ने उद्देश्यसहित मध्य चौविसे सडक खण्डको निर्माण गरिएको हो।

पक्की पुल समयमै सम्पन्न नहुँदा ती क्षेत्रका स्थानीय वासिन्दा करिव आधा घण्टा पैदल दुरीमा रहेको झोलुंगे पुलवाट ओहोरदोहर गर्न वाध्य छन्। बर्खाको बेला लेउती खोलामा ढुंगा र वालुवासहित वाढी आउने भएकाले खोला तर्न जोखिम हुने गरेको स्थानीय चन्द्रसिंह नेम्वाङले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.