दुलाहाले दाइजो लिएनन्, दुलहीले बाडिन् गाउँलेलाई कपडा

दुलाहाले दाइजो लिएनन्, दुलहीले बाडिन् गाउँलेलाई कपडा

राजविराज : सप्तरीमा केटापक्षले दाइजो नमागेपछि बेहुलीले गाउँका गरिब, दलितलाई साडी, धोतीलगायत कपडा बाँडेकी छिन्। सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका ४ मधवापुरकी अभिलाषा झा र सप्तरीकै बलान बिहुल गाउँपालिका ४ का अमितकुमार झाको बिहीबार सम्पन्न विवाहमा केटीपक्षले मुस्लिम टोल, मुसहर टोलका ४२५ जनालाई साडी, धोती र भेस्ट वितरण गरेका हुन् ।

नम्बरी खेत, मोटरसाइकल, लैनौ भैसी, नगद रुपैयाँ दाइजोमा नदिए विवाह नै नहुने तराई मधेसमा बेहुला पक्षले दाइजो नमागेकाले बेहुलीका बुवा शैलेन्द्रचन्द्र झाले दाइजोमा दिनुपर्ने रकम गरिब, दलितका लागि खर्च गरेको बताए । उनले भने, 'छोराछोरी बराबर भएकाले दुबैलाई पढाएको छु, विवाहमा केटा पक्षले दाइजो नै नमागेपछि खुशीसाथ गरिबलाई कपडा वितरण गरेर छोरीका लागि आशिरवाद मागेको हुँ।'

पछिल्लो समय दाइजो लिनुदिनु सामाजिक कुरीति मानिदै आएपनि दाइजोको रकम लेनदेन गरेर मात्र तराईमा विवाह गरिन्छ । तराईका अधिकांश स्थानमा दाइजोको डरलाग्दो रुप छ। दाइजो नल्याएको निहुँमा बुहारीलाई कुटपिट गर्ने, जलाउने मात्र नभइ मार्नेसम्मका घटना भएका छन् । 

दाइजोमा भनेजति रकम नपुग्दा कतिले विवाहसमेत तोडेर हिँडेका थुप्रै उदाहरण छन् । यस्तोमा आफ्नै गाउँठाउँमा उदाहरणीय विवाह भएकोमा गौरव महसुस भएको विवाहको निम्तो मान्न पुगेका संविधान सभाका पूर्व सदस्य अशोक मण्डलले बताए ।

केटापक्षले दाइजो प्रथाको विरोधी रहेकाले दाइजो नमागेको बताए।अमितले आफ्नी हुनेवाला श्रीमति इञ्जिनियर र रोजगारी पनि गरिरहेकीले आफूलाई श्रीमतिको सोही शिक्षा दाइजो भएको भन्दै दाइजो नमागेको बताए ।

विवाहअघि बेहुलीले मधवापुरको तीन टोलका एक सय २५ जना महिलालाई साडी, २० जना पुरुषलाई धोती र २७५ जना बालबालिकालाई भेष्ट वितरण गरिन् ।  दक्षिणासहित आशिर्वाद लिने चलन विपरित बेहुलीका हातबाट नयाँ वस्त्र ग्रहण गर्दै गाउँलेले टाउकोमा हात राखेर आशिर्वाद दिए । बेहुली अभिलाषाले गरिब, दलितलाई साडी, धोती बाँडेर आशीर्वाद माग्दा आफ्नो सपना पुरा भएको विश्वास व्यक्त गरिन् । 

उनले विवाहमा दाइजो दिनुपर्ने रुपैयाँ सामाजिक काममा खर्च गर्न पाउँदा खुशी लागेको बताइन् । काठमाडौं र राजविराजमा घर भएपनि मूलघर मधवापुरबाटै गाउँलेलाई साक्षी राखी विवाह गर्न पाएकोमा उनी खुशी देखिन्थिन् ।

विवाहको अवसरमा ग्रामीण विपन्न परिवारलाई नयाँ कपडा वितरण गरेकोमा जाडो छल्न सजिलो हुने दृष्टिविहिन चन्दन सदाले बताए । अभिलाषा समाजसेवी एवम राजनीतिकर्मी शैलेन्द्रचन्द्र झाकी छोरी हुन्। इन्जिनियर अध्ययन पूरा गरी अभिलाषा नेपाल स्काउटमा कार्यरत छिन्। अमित पनि इन्जिनियर हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.