मृत्यु मन्थन
लघुकथारूपी फूलहरूलाई उनेर उपन्यास बनाइएको छ।
आठवटा लघुकथासंग्रह निकालिसकेका लेखक रवीन्द्र समीरको बाह्रौं साहित्यिक कृति ‘मृत्युको आयु’मा १६६ वटा लघुकथारूपी फूलहरूलाई एउटै धागोमा उनिएको छ। लघुकथारूपी फूलहरूलाई एकअर्कासँग सम्बन्धित बनाउँदै एउटा सिंगो कथाको रूप दिनु पक्कै पनि सजिलो कार्य भने हैन।
रवीन्द्र समीर लघुकथा विधामा सिद्धहस्त छन्। त्यो उनका आठवटा लघुकथाका संग्रहले नै बताउँछन्। लघुकथामै ब्रान्ड बनिसकेका उनले लेखेकोचाहिँ लघुकथा नै हो, तर यसरी लेखे कि एकपछि अर्को लघुकथा जोडिँदै गयो र बन्यो उपन्यास। सम्भवतः यो नवीन प्रयोग गर्न उनले ठूलै जोखिम पनि मोलेका छन्। समालोचक÷आलोचकहरूले उपन्यासको विधा भञ्जन भयो वा यो उपन्यासै भएन भनेर औंला उठाउन पनि सक्लान्। तर एउटा लेखकको सफलता पाठकको रुचि हो। पाठकले मन पराए भने समालोचकले जे भने पनि लेखक सफल हुन्छ।
मृत्युको आयु खाडी देशमा मानो कमाउन जाने एउटा नेपाली युवाको कथा हो। ऊ ठूलो उत्साह र रहर बोकेर खाडी त जान्छ, तर त्यहाँको गर्मी, एक्लोपन, निराशा र श्रमआधिक्यले थिल्थिलो बन्दै जीवन गुजारा गरिरहेको हुन्छ। सपना उसका अनेक छन्, जस्तो आम नेपालीका हुन्छन्। हामी नेपाली ठूल्ठूला सपना देख्तैनौं। हामीलाई दुई छाक राम्रो खान पुगे हुन्छ। आङमा एकसरो लुगा नटुटे हुन्छ। शिर लुकाउन एउटा सानो छानो भए हुन्छ। छोराछोरीलाई राम्रो शिक्षा दिन सके हुन्छ। उनीहरू आत्मनिर्भर बनेर दुई छाक खान पुर्याए हुन्छ। आमनेपालीले देख्ने भनेको सपना नै यिनै हुन्। यिनै साना सपनालाई साकार पार्न दुईचार हजार पैसो कमाउन हाम्रा युवा खाडीतिर हवाईजहाजमा उड्छन्। कतिपयलाई पैसो लिएर हवाईजहाजमा फर्किने भाग्य हुँदैन।
यिनै खाडी उड्ने र फर्किंदा रातो बाकसमा कैद भएर फर्किने एउटा अभागी युवाको कथा हो- मृत्युको आयु। अझ स्पष्ट भन्दा मृत्युको आयुले ती राता बाकसमा फिर्ने युवकयुवतीहरू जम्मैको प्रतिनिधित्व गर्छ। कथानक युवकको शरीरबाट निस्किएको आत्माको आत्मालापबाटै सुरु हुन्छ। शरीरदेखि निस्किएपछि युवक पूर्ण रूपमा मुक्त भएको अनुभव गर्छ, उसलाई आफ्नो शरीर बोकिरहनु पर्दैन। ऊ जहाँ पनि जानसक्छ। जे पनि सुन्न र देख्न सक्छ, दुःख अनुभव गर्न सक्छ, सुख अनुभव गर्न सक्छ, तर प्रत्यक्ष भाग लिन सक्तैन, देखिन सक्तैन।
खाडीमा शरीर छोडिँदादेखि शवलाई घरमा ल्याइपुर्याई तेह्रौं दिनको काजकिरिया सकिएपछि उपन्यास सकिन्छ। मृत्यु मर्छ र उसको आयु सकिन्छ। यिनै दिनहरूमा युवकको आत्माले भोगेका सुखानुभूति तथा दुखानुभूतिहरूमा सुन्दर लघुकथाहरूलाई जोडेर औपन्यासिक रूप दिइएको छ।
युवकले आफ्ना साथी लासहरूका आत्माहरूसित कुरा गर्छ। यी कुरामा मानिसले भोगेका पीडा नै झल्किन्छन्। परदेशिएका मानिसहरूको एउटा अनन्त निराशा, सपना पूरा गर्ने भरपूर कोसिस र बाकसमा फर्किनुपर्दाको पीडा यहाँ देख्न पाइन्छ। मानिसका अपूरा साना सपनाहरू, दुःख र पीडाका पहाडहरू पढिरहँदा हामी पाठक ती पीडाले छटपटिन्छौं, निसासिन्छौं।
खाडीमा साहूले गर्ने विभेद, शवलाई कुहिन नदिन राखिने केमिकलहरू, शीतगृहको चिसो र साथीहरूको अपनत्व र धोका सबै छर्लंग देख्छ आत्माले। जिउँदो हुँदा देखी नसहने साहूले आफ्नो शवलाई गरेको सम्मानमा आश्चर्यचकित हुन्छ युवक। अनि नेपालमा आएर ओर्लिंदाको उदेक, भन्सारको किचलो, कफिन किन्नेको दलालीजस्ता घटनाले पाठकको मनमा दुःखानुभूति सिर्जना गर्छन्। हामी सोच्न बाध्य हुन्छौं, पैसाका लागि हामी कतिसम्म तल पुग्दा रहेछौं, कति गिर्दा रहेछौं, हामी कस्तो समाजमा बाँच्दा रहेछौं।
जलेर खरानी भएको शरीरको अलिकति अवशेष लिन पनि पैसा मागिन्छ। घरमा किरियापुत्री बसिसकेपछि, गाउँलेहरूको भीड जम्मा हुन्छ। जिउँदो हुँदा कहिल्यै त्यसरी प्रेम प्रकट नगर्नेहरू मरेपछि त्यसरी सम्मान प्रकट गर्छन्- युवकको आत्मा छक्कै पर्छ। खुसी पनि हुन्छ। तर गरुड पुराण सुरु भएपछि युवकका सबै सुखानुभूतिहरू विदीर्ण हुँदै जान्छन्। सुख दुःखमै परिणत हुँदै जान्छ। पण्डितले पनि गरुड पुराणका ती अंशहरूको मात्र व्याख्या गर्छन् जहाँ किरियापुत्रीहरूले पितृलाई तार्न गोदान, स्वर्णदान, भूमिदान आदिका कुरा उठाउँछन्। भन्छन्- दान नदिए पितृ तर्दैनन्। किरियापुत्रीहरू सानो मुख लगाएर र झोक्रिएर बस्छन्। निरुपाय हुनुभन्दा ठूलो विडम्बना के हो र ?
सपिण्डी गरी युवकलाई पितृहरूसँग जोडेपछि उपन्यासको अन्त आउँछ। मृत्युको आयु सकिन्छ।
लघुकथाका माध्यमले समाज चित्रित गर्ने काममा रवीन्द्र समीर खप्पिस छन्। यस उपन्यासका अंशहरूमा पनि उनको लघुकथाको शिल्प गजबले आएको छ। लघुकथाको अन्तिममा गएर अचानक ट्विस्ट दिने वा क्लाइमेक्स दिने उनको शिल्पले पाठकलाई गद्गद् बनाउँछ। ट्विस्टहरूले पाठकलाई लघुकथाको स्वाद त दिन्छन् दिन्छन्, एउटा लघुकथा अर्कोमा गएर जोडिँदा जुन ‘न्यारेटिभ’ बन्छ, त्यो बेजोड बनेको छ।
लघुकथारूपी फूलहरूलाई उनेर उपन्यास बनाउँदा, धेरै हदसम्म सफल छन् रवीन्द्र समीर। यो आख्यान हो र यसमा नवीन प्रयोग गरिएको छ। साहित्यमा नयाँ प्रयोग गर्नेलाई निरुत्साहित गर्न जडवादी समालोचकहरू यसमाथि खनिन पनि सक्छन्। तर जे भए पनि रवीन्द्र समीरको यो प्रयासलाई हामीले प्रशंसा गर्नैपर्छ।
पुस्तक पढ्दा घरिघरि कतैकतै क्रमभंग भएजस्तो, ‘न्यारेटिभ’ सलल्ल नबगेको जस्तो अनुभव पाठकलाई हुनसक्छ। एउटा लघुकथाबाट अर्कोमा जाँदा सिलसिला नमिलेजस्तो पनि लाग्न सक्छ।
‘उज्यालो’ खोज्ने पाठकहरूचाहिँ ‘मृत्युको आयु’बाट निराश हुन सक्छन्। किनकि शीर्षक नै ‘मृत्युको आयु’ छ। यो सम्पूर्ण चिन्तन नै मृत्यु विषयक हो र यसले मृत्युदेखि बाहेक अरू कुरा गर्दैन। मूल चिन्तन ‘मृत्यु’बाट अलग हुँदा ‘न्यारेटिभ’मा असर पर्ने हुन्थ्यो र त्यस्तो भूल लेखकले गरेका छैनन्। नौलो प्रयोग गरेकामा रवीन्द्र समीर साधुवादका पात्र छन्।