नालापानी युद्धको सम्झनामा
नालापानी युद्धको सम्झनामा खलंगामा बर्सेनि खलंगा महोत्सव आयोजना गर्ने गरिएको छ। खलंगाको सागर तालमा आयोजित यो महोत्सवमा नेपाली कला-संस्कृति झल्किने पहिरन, नेपाली गीत-संगीत, नेपाली खानेकुराको परिकारलगायत प्रदर्शित देखियो। स्थानीय गोर्खाली समाज र देहरादुनका अन्य समुदायका व्यक्तिहरूबीच पनि यो महोत्सव लोकप्रिय छ।
४४ वर्षदेखि प्रत्येक वर्ष यो महोत्सव हुँदै आएको छ। जंगलको बीचमा रहेको खुला मैदानमा आयोजना गरिने महोत्सवमा सहरी संस्कृतिले ओझेलमा पर्दै गएको पारम्परिक संस्कृतिको झल्को देख्न पाइयो।
बलभद्र खलंगा विकास समितिले खलंगाको सागर तालमा यो महोत्सव आयोजना गरेको थियो। युद्ध चलिरहेको समयमा यो स्थानमा रहेको पानीको मुहानमा अंग्रेजहरूले विष मिलाएर नेपाली योद्धाहरूलाई गलाउन खोजेको भन्ने इतिहासमा उल्लेख छ। भारतीय सेनाको उपल्लो तहमा पुगेका नेपाली मूलका भारतीय दुई अवकाशप्राप्त जनरल पनि यो महोत्सवमा सहभागी थिए। रिटायर्ड लेफ्टिनेन्ट जनरल रामसिंह प्रधान र रिटायर्ड जनरल शक्ति गुरुङ (सैन्य सचिव) यो समुदायका मार्गदर्शक पनि रहेछन्।