उनी भन्थे- 'मेरो प्रधानमन्त्रीभन्दा तिम्रा फलोअर्स धेरै छन्'

उनी भन्थे- 'मेरो प्रधानमन्त्रीभन्दा तिम्रा फलोअर्स धेरै छन्'

एउटा कुराचाहिँ के हो भने मैले जिन्दगीमा लेखनमा कुनै पाप गरेको छैन। साहित्यमा ठगेको छैन। मेरो लेखनप्रतिको इमानदारीले मलाई बलियो बनायो होला। एक दशक अघिजसोको समयमा उनले अखबारी प्रोफाइल-संस्मरणात्मक लेखनबाट धेरै नै पाठक-प्रशंसक कमाए। यसैको जगमा निस्केका ‘कर्नाली ब्लुज’ (२०६७) र ‘फिरफिरे’ (२०७२) उपन्यासबाट चर्चित बनेका लेखक बुद्धिसागर कवि-गजलकार पनि हुन्। उनी हालै संयुक्त राज्य अमेरिकाको आयोवा विश्वविद्यालयको तीनमहिने लेखन कार्यशालामा भाग लिएर फर्केका छन्।

अघिल्लो शुक्रबार जमलमा भेट्दा उनी नेपाल फर्केको तीन दिन मात्र भएको थियो। अमेरिकाबाट किताबै किताब ‘कोसेली’ लिएर घर छिरेका उनले एडुकेसन बुक हाउस, जमलमा सत्ताइस सय रुपैयाँमा तीनवटा किताब किने। ‘अस्ति त्यत्रो किताब ल्याइयो। आज पनि किताबै मात्र लिएर घर गइने भइयो, लुकाएर लैजान्छु’, उनले रमाइलो गरे। बुद्धिसागरको जीवन-लेखन संघर्ष साहित्यमा रुचि हुने धेरैका लागि अब नयाँ छैन। यसपटक हामीले उनको अमेरिकी अनुभवमा मात्र केन्द्रित भई कुराकानी गरेका छौं।

तपाईं अमेरिका उड्ने दिन गएको भदौ १४ गते अन्नपूर्ण पोस्ट् फुर्सदले अनुवाद विशेषांक निकालेको थियो। जहाँ आवरण लेखमा दिनेश काफ्लेले लेखेका छन्- ‘साहित्यको क्षेत्रमा आयोवा कार्यशालाभन्दा प्रतिष्ठित अर्को कुनै लेखनशाला छैन। यो शाला एक यस्तो तीर्थस्थल हो, जसरी मुसलमानका लागि मक्का, यहुदीका लागि जेरुसलेम, हिन्दूका लागि पशुपति अनि बौद्धका लागि लुम्बिनी। पशुपति जाँदा फूल-अक्षता लिएर गइन्छ, बूढासुब्बा जाँदा बाँसमा बाँध्ने डोरी। कसैकहाँ जाँदा खाली हात नजाने हाम्रो चलन हो। आयोवा जाँदा बुद्धिसागर के लिएर जाँदै होलान् ? ‘कर्नाली ब्लुज’को अंग्रेजी अनुवाद छापिइसकेको छैन। उनका कविता पनि खासै धेरै अनुवाद भएका छैनन्, भएका पनि संगृहीत छैनन्। सायद उनले अप्रकाशित उपन्यासको अंश वा एक-दुई कविता ‘ए-फोर’ कागजमा फोटोकपी गरेर बाँड्नुपर्नेछ। हामीकहाँ लिटरेचर ट्रान्सलेसन इन्स्टिच्युट अफ कोरिया, पोलिस कल्चरल इन्स्टिच्युट, नर्वेजियन लिटरेचर अब्रोड, न्यु बुक्स इन जर्मन जस्ता संस्था हुँदा हुन् त बुद्धिसागर ङिच्च दाँत देखाउँदै जानु पर्दैनथ्यो होला।’ कोसेली दिनलाई आफ्नो किताब भएन है ? दिनेशजीले भनेझैं ङिच्च दाँत देखाएरै आउनुभयो त ?

- मलाई त सुरुमा थाहा थिएन, उता के के हुन्छ भन्ने। रिडिङ सेसनमा कर्नाली ब्लुजबाट केही अंश पढौंला भन्ने थियो। तर त्यहाँ पुगेपछि अरू केही फेस्टिभलमा पनि जानुपर्ने भयो। थप अनुवाद चाहिने भयो। मलाई थाहा थियो- पठन कार्यक्रममा उपन्यासका लामा-लामा अध्याय पढ्न गाह्रो हुन्छ। र, सुन्नेलाई पनि कहिलेकाहीँ झिँजोलाग्दो भइदिन्छ। बुक फेस्टिभलबाट केही पढ्न अनुरोध आएपछि मैले अनुवादक दिनेश काफ्लेलाई फोन गरेर रातारात मेरो कविता र फिरफिरेको एक अंश अनुवाद गरिदिन आग्रह गरेँ। उनले पनि प्रेमले अनुवाद गरिदिए। त्यसपछि श्रीलंकाबाट आएर त्यहाँ अनुवाद पढिरहेकी चामिनी कुलाथुंगासित बसेर केही सम्पादन पनि गरेँ। चामिनी नेपाली बुझ्दिनथिन् तर म सकेसम्म अंग्रेजीमा सार सुनाउँथेँ। उनी सार बुझिहाल्थिन् र अनुवादमा लय थप्थिन्।

हामी लेखकहरू र त्यहाँ उपस्थित विद्यार्थी मिलेर कविता र लेख अनुवाद गर्नुपर्ने हुन्थ्यो। अनुवाद पढिसकेपछि अन्य अनुवादकहरू त्यसभित्रका कमीकमजोरी खुट्ट्याउँथे र सुझाव दिन्थे। आईडब्लूपीकी सम्पादक नताशा जुरोभिचोभाले यो कक्षा सञ्चालन गर्थिन्। यो कक्षामा म प्रायः सहभागी भएँ, दर्शकका रूपमा। लेखकका रूपमा सहभागी हुन मसँग नेपाली भाषा बुझ्ने, अनुवाद गरिदिने कोही थिएन। यो भने चित्त दुःखाइको विषय भयो मेरा लागि। यो तीतो अनुभवले मलाई हाम्रोमा अनुवादको क्षेत्र बलियो बनाउनुपर्छ भन्ने आवश्यकता महसुस गरायो।

तपाईंलेआफूलाई कसरी चिनाउनु भयो ?

- त्यहाँ आफूलाई चिनाउनु गाह्रो थियो। नेपाली साहित्यका बारेमा कहाँबाट सुरु गरेर आफूसम्म आइपुग्ने भन्ने समस्या थियो। जस्तो, मेक्सिकोको स्पेनिस भाषाको कविता लेख्ने साथी मेनुअल बकेरा थिए। उनले कविता वाचन गर्दा हामीले बुझिहाल्थ्यौं- ऊ कतिको फ्रेस कवि हो भन्ने। किनभने हामीलाई त स्पेनिस साहित्यको धेरथोर इतिहास र छनक थाहा भएकै हुन्थ्यो। उनले आफ्नो कवितामा कुन टुल प्रयोग गरेर आफूलाई मौलिक बनाए, छुट्याउन सजिलो हुन्थ्यो। त्यस्तै अफ्रिकन लेखक र साहित्यबारे थोरबहुत थाहा भएकाले त्यहाँका लेखकको बारेमा पनि अनुमान लगाउन सजिलो पथ्र्यो।

बुद्धिसागरको समस्या के भयो भने ? मैले आफूलाई कहाँबाट कसरी चिनाउने ? उनीहरूले मलाई कसरी मूल्यांकन गर्छन् ? कस्तो हो ? के हो ? कसरी थाहा पाउने। यसको उत्तर म दिन सक्दिनँथे। हाम्रो साहित्य अनुवाद र पहिचानको सन्दर्भमा निकै कमजोर छ भन्ने कुरा मैले आफ्नो परिचय दिने क्रममा पत्तो पाएँ।

तर, पनि मभन्दा अझै बढी परिचयको संकटमा परेका अर्का लेखक थिए, सेमुअल। उनी इथोपियाबाट ३० वर्षअगाडि छुटिएर बनेको देश एरेटियाबाट आएका थिए। त्रिगिनिया भाषामा लेख्थे। उनको पनि अनुवादक कोही थिएन। उनी आफैं अंग्रेजीमा अनुवाद गर्ने कोसिस गर्थे। उनको देशमा निरंकुश शासन छ। त्यसैले उनी लेख्ने तर नछाप्ने लेखक हुन्। देश स्वतन्त्र भएपछिमात्र छाप्ने प्रतीक्षामा छन्। उनको स्थिति मैले प्रतिनिधित्व गरेको भाषाको साहित्यभन्दा अज्ञात थियो।

तपाईं कार्यशालामा जानुअघि कस्तो सोचिरहनु भएको थियो ?

- एक त अमेरिका, त्यसमाथि अनेक देशका लेखक भेटिन्छन् भन्ने कुराले मलाई उत्सुक बनाएको थियो। त्यहाँ पुगेपछि नाइजेरिन लेखक टेडेले सात वर्षदेखि त्यस कार्यक्रममा आउने प्रयास गरेको सुनाए। आठौं पल्टमा छानिएका थिए। यस्ता कुराहरूले मलाई कार्यक्रम असाध्यै महत्वपूर्ण रहेछ भन्ने लाग्यो। मलाई त सधैं लाग्थ्यो- यस्ता आवासीय कार्यशालाहरू अंग्रेजीमा लेख्ने र अंग्रेजी जान्नेहरूका लागि हो। तर होइन रहेछ। मातृभाषामा लेख्नेहरूका लागि पनि रहेछ। सर्त यत्ति हो कि तपाईंको सिर्जना अंग्रेजी भाषामा अनुवाद भएको हुनुपर्‍यो। यो कार्यक्रममा गएर मैले आफ्नो सिर्जना कम्तीमा २७ देशका लेखकलाई सुनाउने मौका पाएँ र २७ देशका सिर्जना सुन्ने मौका पाएँ। र, २७ देशका बारेमा फस्ट ह्यान्ड जानकारी पाएँ।

जाँदा उत्साह बढी थियो कि डर ?

- एउटा त लामो समय सानी छोरीलाई घरमा छोडेर जानुपर्ने न्यास्रोपन थियो। अर्को अंग्रेजी भाषामा आफ्नो दखल अलि कम भएकाले थोरै डर थियो। मलाई सुरुमा आफ्नो कुरा भन्न सक्छु कि सक्दिनँ होला भन्ने चिन्ता थियो। एक हप्ता त्यहाँ बिताइसकेपछि भाषा खासै समस्या भएन। ताइवानी लेखक थिए, वालिस निकोन। उनी लेखक राम्रो तर अंग्रजीमा कुराकानी गर्नै नसक्ने। मोबाइलमा अनुवाद गरेर हामी कुराकानी गथ्र्यौं। तर, उनलाई भाषाको कारणले गाह्रो भएन। किनभने, तिनको भाषाबाट अंग्रेजीमा अनुवाद गरिदिने मानिसहरू जति पनि थिए। उनी आफूलाई आवश्यक परेको बेला सहजै अनुवादकको सहयोग लिन सक्थे।

तपाईंलाई चाहिँ बुझाउने मानिसहरू थिएनन् ?

- मबाहेक नेपाली बुझ्ने मानिस कोही थिएनन्। कतै अडेसो पनि पाइएन। सबै आफैंमा भर परियो। अनुवादक भए त अडेसो पाइन्थ्यो नि !

अंग्रेजी पनि तपाई पछिल्लो समय निकै मेहनत गरिरहनु भएको छ...

- त्यहाँ गएपछि नियमितजसो छलफल हुन्थ्यो। नेपाली सिकिरहेको अमेरिकीले बोल्यो भने कति व्याकरण नमिलाई बोल्छ, नचाहिने र गलत अर्थ लाग्ने शब्द बोल्छ। तर, भाषामा पकड छ भने ठ्याक्क अर्थ बुझ्नुहुन्छ नि। त्यस्तै त्यहाँ आउने दर्शकको अंग्रेजी भाषामा पकड राम्रै हुन्थ्यो। र, मलाई सजिलोसँग बुझ्ने भए। भाषा माध्यममात्र हो। र, भाषा नै ठूलो कुरो हो भन्ने होइन रहेछ।

तीन महिनामा के कस्तो थिममा खास के-के भयो त ?

- विषय दिएर प्यानल डिस्कसन हुन्थ्यो जसमा चार लेखकले त्यस विषयमा धारणा दिन्थे। धारणापछि प्रश्नोत्तर हुन्थ्यो। पठन सेसन। इन्टरनेसनल लिटरेचर टुडे नामको कक्षा पनि हुन्थ्यो। यस कक्षामा वेबसाइटमा राखेका हाम्रा रचना विद्यार्थीले पढेर आएका हुन्थे र उनीहरूले त्यसैमा आधारित भएर प्रश्न गर्थे, लेखकले उत्तर दिनुपथ्र्यो।

त्यहाँ लेखकहरूले आफू आफू बीचबाटै सिक्ने वातावरण थियो। कसैले आएर कक्षाकोठामा थुनेर सिकाउँदैनथ्यो। कल्चर एक्सचेन्ज पनि भनिन्थ्यो। त्यो कक्षामा मैले सकेसम्म हाम्रो वर्तमान साहित्यबारे बोल्ने कोसिस गरेको थिएँ। र, विद्यार्र्थीहरूले ‘कर्नाली ब्लुज’का विभिन्न पाटाबारे सोधेका थिए। यसबाहेक मैले नेसबिलमा भइरहेको बुक फेस्टिभलमा पनि आफ्नो रचना पढेँ।

विभिन्न देशका लेखक साथीहरूसँग पनि तपाईंले संगत गर्नुभयो। ती देशका लेखक साथीहरूको मनोविज्ञान कस्तो पाउनुभयो ?

- त्यहाँ भएका सबै लेखक साहित्यबाहेक सिनेमा र संगीतमा रुचि भएका थिए। अर्जेन्टिनाका सान्टियागो र अल्जेरियाकी अमिरा त फिल्म निर्देशन नै गरिसकेका लेखक थिए। त्यसैले रुचि र लगावहरू मिल्दाजुल्दा भएकाले सहज र रमाइलो भयो। आइओवामा लामो समयसम्म लेखन कार्यशालालाई नियालिरहेका स्थानीयहरू भन्थे- लामो समयपछि उत्साही समूह आयो।

किनभने छोटो समयमै हामी लेखकहरू आपसमा घुलमिल भइसकेका थियौं। तँ सानो, म ठूलो भन्ने खालको खाडल त्यहाँ निर्माण भएन। तीन महिनामा नै हामी आपसमा आफ्ना उतारचढाव, हर्ष र कुण्ठाहरू साटासाट गर्ने भइसकेका थियौं। हाम्रो एउटा ग्रुप नै छ वाट्स एपमा। यही वाट्स एपले अहिले पनि हामीलाई एकआपसमा दरिलो गरी जोडिराखेकै छ। यसले मलाई अपडेट गराइराखेको पनि छ। हर देशको खानादेखि लिएर त्यहाँको नाचगान र संस्कृतिक आदनप्रदान भइरहेकै छ।

मानिसका संवेदना उस्तै हुँदो रहेछ है..

- संसारभरिका मानिसको भावना र संवेदना त उस्तै त हुन्छ नि ! अझ लेखकहरूको समान नै हुने भयो। विभिन्न संस्कृतिबाट आएका हामीमा एकआपसमा कुराकानी हुँदा छक्क परिन्थ्यो। एकपल्ट मैले कुरैकुरामा गणेशको कथा सुनाएको थिएँ। गणेश भगवान्को टाउको कसरी हात्तीको भयो भनेर। केही लेखकलाई त म्याजिकल रियालिज्मभन्दा पनि गजबको लाग्यो रे। हात्तीको टाउको मान्छेको जीउमा जोडेको त मलाई सामान्य लाग्थ्यो, यहाँ। तर ती मेरा विदेशी साथीहरूलाई सरप्राइजिङ लागेछ। कतिले गुगल गरे। म किताब किन्छु, पढ्छु भने। उनीहरूलाई रोचक लाग्यो। यहाँ मलाई सामान्य लाग्ने चिज पनि अर्थपूर्ण र गहिरो लाग्दोरहेछ।

आफ्नो संघर्ष, सफलता र लोकप्रियतालाई उनीहरूसित दाँज्नुभयो कि ? दाँज्दा के पाउनुभयो ?

- मैले उनीहरूलाई आफ्नो संघर्षबारे बताएको थिएँ। उनीहरूलाई ‘फिरफिरे’ पुस्तकको विमोचनको फोटो देखाएँ। त्यो फोटो हेरेर साथीहरू त छक्क नै परे। पुस्तक विमोचन पनि यस्तो फुटबलको गेमजस्तो हुन्छ तिमीहरूकोमा भनेर उल्टो प्रश्न पो गरे। हामी नेपालमा पनि लिट्रेचर फेस्टिभल गर्छौं भन्ने कुरा पनि सुनाएँ। हामीले फस्ट प्रिन्ट किताब नै २० हजार प्रति छाप्छौं भनेर सुनाउँदा झन् छक्क परेका थिए। सानो देशको साहित्यिक गतिविधिबाट धेरै सरप्राइज भए। यस भेगको बारेमा उनीहरू कम जानकार थिए। त्यसैले मैले त जे बोले पनि उनीहरूलाई नयाँ र रोचक लाग्थ्यो।

यहाँ पाठक बढी नै हुन् त ?

- हाम्रा पाठक एउटै देशमा, देशभित्र मात्र हुने भए। तर, उनीहरूका पाठक संसारभरि फिँजिएका हुने रहेछन्। कतै अमेरिकातिर, कतै अफ्रिकातिर।

सोसल मिडियामा तपाईंका फलोअर्स देखेर उनीहरू छक्क पनि परे कि ?

- हामी जसरी सोसल मिडिया चलाउछौं, उनीहरू त्यसरी नचलाउँदा रहेछन्। हामीलाई फुर्सद बढी छ। बिहान उठियो-देखि सुतियो-सम्मका अपडेट राख्न भ्याउँछौं, हामी। उनीहरू सामाजिक सम्बन्धका लागि मात्र चलाउँदा रहेछन्। अँ, चेकोस्लोभाकियाका लेखक रोबर्ट गाल ठट्टा गर्दै भन्थे- मेरो प्रधानमन्त्रीभन्दा तिम्रा फलोअर्स पो धेरै छन्।

तर, यसले केही माने राख्दैन। मूल कुरा लेखन हो।

यो कार्यशालापछि तपाईंको लेखनमा कस्तो परिवर्तन आउला त ?

- लेखनमा प्रभाव बिस्तारै आउला। म अहिले लेखिरहेको रचना पहिले सोचेजसरी नै लेख्छु। लेखनमा एकदमै ठूलो परिवर्तन त आउँदैन होला।आफूले गरिरहेको लेखनमा केही अपुग महसुस भएका कुराहरू थप्न भने सकिन्छ। अब बल्ल पो थाहा भयो- दुनियाँ कति विशाल छ भन्ने कुरा।

मलाई अब यहाँ २७ देशको चिन्ता छ। कतै कुनै देशका नराम्रो समाचार आयो भने त्यो देशमा मेरो साथी थियो, उसलाई के भयो होला भन्ने चिन्ता लाग्ने भयो। एकखालको जिज्ञासा सधैं हुने भयो। कार्यशालाको प्रभावबारे ठ्याक्कै यही कुरा भन्न नसके पनि धेरै कुरा सूक्ष्म तरिकाले भइरहेकै छ।

कर्नाली ब्लुज वा फिरफिरे अंग्रेजीमा अनुवाद भइसकेको भए उनीहरूले यो तीन महिनामा सके त पूरै पढ्दा हुन्, अनि तपाईंबारे अझ गहिरिएर बुझ्ने थिए है ?

मेरो किताब अनुवादित भइसकेको थिएन भनेर म पहिलेदेखि तयार थिएँ। त्यसैले त्यस्तो केही भएन। आईडब्लूपीकी सम्पादक नताशा जुरोभिचोभाले पहिलो भेटमै कर्नाली ब्लुजको अनुवादलाई लिएर बधाई भनेकी थिइन्। उनीसँग हामी नियमित छलफल गथ्र्यौं। उनले मलाई पटकपटक लक्की लेखक भनिन्। मैले माइकल हटजस्तो अनुवादक पाएको भएर उनले यसो भनेकी हुन्। सबै लेखकले यतिको शक्तिशाली अनुवादक पाउँदैनन् भनेर उनले माइकल हटलाई धन्यवाद र मलाई बधाई भनिन्। यस्ता कुराले उत्साह थप्दो रहेछ। अनि हामी र हाम्रो साहित्य पछि परेको छैन भन्ने थोरै आश जगाउँथ्योे। फेरि पनि मूल कुरो त देशको हाम्रो प्रतिष्ठानको प्रतिष्ठा संसारमा कस्तो छ भन्ने नै हो।

तपाईंको जुन लेखनशैली छ- डिटेलिङ, यसबारे उनीहरूले के भने ?

 म डिटेलिङमा लेख्ने लेखक, उता डिटेलिङलाई बढावा दिइँदो रैछ। अरेट्रियाका लेखक स्यामुअलले यो कुरा ध्यानमा राखेका रैछन्। एकपल्ट भनेका थिए- याद गर्‍यौ ? हामी यहाँ जति पनि लेखक छौं, सबै डिटेलिङमा लेख्छौं। आख्यान होस् या कविता। कथा के लेख्यो भन्दा पनि कसरी लेख्योले लेखकलाई महत्वपूर्ण बनाउँदो रैछ। त्यसैले पनि हामी निराश हुनुपर्ने स्थितिचाहिँ देखिनँ। यत्ति हो- टीभीमा च्यानल टिपिसकेको छ। अलिअलि झ्यार्रझ्यार्र आइरहेको छ।

 साहित्यको च्यानल झ्यार्रझ्यार्रबाट के गर्‍यो भने एचडी होला त ?

 बिस्तारै होला। प्रयास त गर्नुपर्‍यो नै। मूल कुरो लेखक अपडेटेड हुनुपर्‍यो। समर्पित हुनुपर्‍यो। राम्रो लेख्नुपर्‍यो। यहाँ आत्मरति र लघुताभास धेरै छ कि जस्तो पनि लाग्छ।

यो कार्यशालापछि तपाईंको विश्व-यात्राको पनि ढोका खुल्यो नि, है न र ?

यो कार्यशालामा संसारभरिका लेखकले जाने इच्छा राख्ने ठाउँ रहेछ। त्यसबाहेक त्यहाँ गइसकेका लेखक राम्रै हुन्छन् भन्ने धारणा हुँदो रहेछ। मलाई धेरै देशबाट निम्ता आइरहेका छन्। नयाँ किताब आएपछि उनीहरूले पनि प्रमोट गर्दिन्छन्, हाम्रो लेखक हो भनेर। अंग्रेजीमा निकाल्ने तर पठाउने कहाँ भन्ने समस्या हुन्थ्यो नि त ? अब पठाउने ठाउँ पनि भयो। मानिसहरू कस्तो लेखिरहेका छन्। कस्तो ध्याउन्न छ। थाहा भयो। अझै लेख्ने। समय खेर नफाल्ने। सकेसम्म धेरै लेख्ने भन्ने विचार आएको छ। बिस्तारै ममा पनि परिवर्तन देखिँदै जाला।

‘कर्णाली ब्लुज’को अनुवाद कहिले आउने हो ?

 तीन महिना जस्तोमा आउँछ होला, भारतबाट।

 तपाई आफैंलाई पनि अब अनुवाद नपर्खेर अंग्रजीमै लेख्दिम् जस्तो लागिराछ कि ?

उता गएर आइसकेपछि त मैले बढी नेपालीमा लेख्न थालेको छु। हामी लेखक भाषामा भिड्ने होइन। तपाईंले कुन भाषामा लेख्नुहुन्छ, यो सरोकार नै भएन। तपाईंले लेख्नु के हुन्छ, यसको मतलब छ। ढिलोचाँडो अनुवादकहरू आउँछन् नि त। र, बाँकी काम अनुवादकले गर्छन्। संसारभरि कति विश्वविद्यालय छन्, उनीहरूले अनुवादक निकाल्छन् नि त। हाम्रो नेपाली भाषाको अनुवादक पो कम भएका हुन् त। नेपाली भाषाको अनुवादक बढाउन हाम्रो विश्वविद्यालयले पनि त केही गर्ला नि।

कार्यशालामा कुन विधाका लेखक धेरै थिए ?

त्यहाँ कवि धेरै थिए। मैले त्यहाँ पुगिसकेपछि अनुवादक दिनेश काफ्लेको सहयोगमा मेरो कविता ‘मरेको मानिस’ अनुवाद गराएँ। त्यहाँ पढँे। किन पनि भने रिडिङलाई कविता ठिक्क हुने रहेछ। उपन्यास अंश त पढ्यो, सुन्नेलाई पनि लाग्छ, यसले यस्तो डिटेलिङमा लेख्दो रहेछ भन्छन्। तर पूरा महसुस गर्न त किताब पूरै पढ्नुपर्‍यो। छोटो समयमा सुनाउन त कविता महत्वपूर्ण हुँदो रहेछ। मलाई अलि धेरै कविता लेखेको, अनुवाद गरेको भए हुन्थ्यो भन्ने लाग्यो। भविष्यमा हाम्रोबाट कोही लेखक यस प्रोग्राममा गए भने कविता लिएर जानुस् भनेर टिप्स दिन चाहन्छु।

तपाईंले एउटामात्र कविता सुनाउनुभयो ?

यही एउटा कविता सुनाएँ। फिरफिरेको एउटा अंश सुनाएँ। अनि कर्नाली ब्लुजको केही अंश सुनाएँ। मेरो सानो सानो संस्मरणहरूको अनुवाद भएको भए सुनाउँथेँ जस्तो लागिरहेको थियो। त्यहाँ कति म्यागेजिन, जर्नल, पत्रिकाहरूले मागेका थिए। तर खिन्न हुँदै ‘छैन’ भन्नुपर्‍यो। 

तपाईंको कविता लेखन कम भइरहेको थियो। अब झन् लेख्नुहुन्छ होला नि ?

 कविता म झन् बेसी लेख्छु भन्ने लागेको छ। छाप्ने-नछाप्ने अर्कै कुरा भयो। मैले विश्व साहित्यमा भइरहेको कविताको नयाँ प्रयोगबारे थाहा पाएँ। यसले मलाई नयाँ शैलीमा कविता लेख्ने हुटहुटी जगाइदिएको छ। म्याक्सिकोका कवि म्यानुअल बकेराले घोडालाई कसरी मार्ने भन्ने विषयको कविता सुनाए। उनको कविता ब्लेडजस्तो धारिलो थियो। केही लठारो छैन। ट्वाक ट्वाक ट्वाक ठोकेको छ। उनको प्रयोग र कविताप्रतिको पागलपनले मलाई निकै प्रभावित गरेको छ। ल्याटभियाकी कवि मान्दरा, टर्कीका कवि एफे, लिथुआनियाकी कवि ट्यातभिया, जापानकी कवि ताकाको सबै शानदार कवि थिए।

 समग्रमा भन्दा यस्तो खालको कार्यशालाको के महत्व हुँदो रहेछ त ?

- हाम्रो एकेडेमी, हाम्रा विश्वविद्यालयले पनि यस्तो कोसिस गरेका होलान्, तर खासै प्रभावशाली भएजस्तो लागेको छैन। विदेशतिर नेपाली साहित्यसँग सम्बन्धित थुप्रै संस्था छन्। तर, विदेशतिर पनि हामी नेपाली लेखकहरू नै आपसमा छलफल गर्दा रहेछौं। ती देशका कवि-लेखकसित खासै सहकार्य गरेका रहेनछौँ। अन्य देश र भाषाका लेखकहरूसँगै राखेर अनुभव र ज्ञान साटासाट गर्ने माहोल बनाउँदा हाम्रो सिकाइ र बुझाइ झन् फराकिलो हुन्थ्यो होला। यस्तो खालको अभ्यास नभएकाले हामी खुम्चिनु परेको छ।

 तपाईंको पुस्तक कर्नाली ब्लुजलाई पीताम्बर शर्मा, सीके लाल, माइकल हट, राजेश हमालदेखि केकी अधिकारीजस्ता विभिन्न क्षेत्रका फरकफरक पृष्ठभूमिका मानिसले मन पराएर सिफारिस गरेको देखिन्छ। के तत्वले गर्दा मानिसहरूले यतिविधि मन पराएजस्तो लाग्छ ?

- मलाई लाग्छ- उहाँहरूले रैथाने चिज पाउनुभयो, मेरो रचनामा। मानिसलाई कतै न कतै छुन्छ पनि त्यसले। मानिसले कतै न कतै मेरो पात्रमा आपैंmलाई भेट्छ जस्तो लाग्छ। पढ्दै गर्दा आफ्नो पनि कथा जोड्न पाउँछ, यही कारणले मेरो लेखन जनमानसले मन पराएजस्तो लाग्छ। मानिसहरूलाई भावनाले छुन्छ। एउटा कुराचाहिँ के हो भने मैले जिन्दगीमा लेखनमा कुनै पाप गरेको छैन। साहित्यमा ठगेको छैन। मेरो लेखनप्रतिको इमानदारीले मलाई बलियो बनायो होला।

कुराकानी : विमल आचार्य र रवीन्द्र ढकाल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.