चोट के हो ? व्यथा के हो ? नारीलाई सोध

चोट के हो ? व्यथा के हो ? नारीलाई सोध

बाहिर हेर्दा पुतली झैं पखेटा फिंजाएर उमंगले आफ्नै लयमा फुर्र फुर्र उड्ने ब्युटी पितृसत्ता र यसका रखवारीको कत्रो दपेटमा छ भन्ने कुरा कसले सहजै अनुमान लगाउन सक्छ र ?


केही समय अघि सप्तरीको एक गाँउमा मधेसी महिलाहरुलाई बालविवाह अन्त्य सम्बन्धी प्रशिक्षण दिनका लागि प्रस्ताव आयो। काठमाडौमा अलिक बढि व्यस्तताका वावजुद पनि मैले हुन्छ भने। तालिम ३ दिने थियो अनि सहभागि मधेसका ग्रामीण महिलाहरु थिए।

महिलाकै क्षेत्रमा लामो समय काम गरे पनि मधेसका महिलाहरुको सोंच, शैली र व्यवहारलाई नजिकबाट नियाल्ने विशिष्ठ अवशर थियो मलाई। सप्तरीको खड्ग नगरपालिकास्थित सिस्वाबेल्ही वडा नं एकमा कार्यक्रम आयोजना गरिएको थियो। पहिलो दिनको उद्घाटन कार्यक्रम वडाकै अध्यक्षले व्यानरमा लेखेको ‘बालविबाह अन्त्यका लागि महिला निगरानी समुहको प्रतिबद्घता’ भन्ने शीर्षक पढेपछि शुरु भएको थियो।

कार्यक्रमको औपचारिक शुरुवातीपछि लैङ्गिक हिंसा, जेण्डर, बालविवाहको अवस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन लगायत विषयहरुमा पालैपालो कुरो राख्ने काम भयो। कार्यक्रममा ३० जना ग्रामीण महिलाहरु सहभागि थिए। तराइको वर्णसंकर सुन्दरताले धपक्क बलेका युवावय, मझौला र केही पाका उमेरका महिलाहरु उत्साहपूर्वक सहभागि थिए कार्यक्रममा। नेपालमै सप्तरी जिल्ला बाल विबाह अत्यधिक ८३ प्रतिशत हुने जिल्लामै गन्ती हुँदो रैछ। यो कुरोले झन बढि पुष्टी ग-यो मलाइ जब सहभागि मध्ये ९९ प्रतिशत महिलाहरुको बाल विबाह भएको पाइयो। कस्तो विडम्बना ! हामी कहां छौ ? हाम्रो महिला आन्दोलन कहाँ छ ? अनि राज्य र यसका बडेमाका प्रतिबद्घता कहाँ छन् ?

कार्यक्रमको पहिलो दिनको पहिलो चरणमै एकजना हँसिली र उज्यालो अनुहार सहितको उचाइमा अलिक होचो कदकी महिलामा मेरो विषेश ध्यान अड्कियो। कालो वर्ण, गोलो अनुहार र चम्किला आँखा अनि मिलेको र भरिलो शरीर उसका आर्कषणका केन्द्र थिए। रङ्गीचङ्गी बुट्टेसारीले धपक्क बलेको थियो उसको व्यक्तित्व। खै किन हो मलाई उसको निर्दौष र हँसिलो अनुहारले कार्यक्रम भरी तानिनै रहृयो।

दो श्रो दिनमै म सहभागि महिलाहरुसंग घुलमिल भैसकेको थिए। अनि मेरो आर्कषणको केन्द्र बिन्दु बनेकी त्यो हँसिलो अनुहार सहितकी सहभागीलाई नाम दिएं ‘ब्युटि’ तर उसले जन्मदै न्वारानमा पाएको नाम चांिह कृस्नी थियो अनि जात चाँहि शाह। नजानिँदो पाराले म उतिर आकर्षित भइरहेको थिए। उ पनि मसंग खुलिरहेकी थिई। म बेला बेला उसलाई जिस्काउँथे, उ झन धपक्क बल्थी। मैले सोधे ‘ब्युटी भनेको के हो थाहा छ तिमीलाई’ ? उसले टाउको हल्लाइ ‘सुन्दर’ उसको मैथली मिसिएको लवज झन् मिठो थियो।

दोश्रो दिनको मध्यान्हसम्म मलाई सिस्वा बेल्ही र यहाँका महिलाहरुको बारेमा धेरै कुरो पत्ता लागिसकेको थियो अनि ब्युटिको बारेमा पनि। उसले मलाई बताई ‘मेरो श्रीमानको अर्को पनि श्रीमती छ पहाडमा, अनि श्रीमान पहाडमै बस्छ कान्छीसंग।’ उसको श्रीमान पेशाले मास्टर रहेछ प्रावि तहको। ब्युटी पट्टी एक छोरा र छोरी रहेछन्, अनि कान्छी पट्टी दुइ गरी जम्मा चार छोराछोरी रहेछन्। अनि मैले उसलाई सोधे ‘तिमीलाई माया गर्छ त तिम्रो श्रीमानले ’, उसले सहज जवाफ दिइ ‘गर्छ।’ उसकै अनुसार बेला बेला श्रीमान घर आउने, घर खर्च दिने र परिवारको रेखदेख पनि गर्ने रहेछ। यस्तो लाग्थ्यो मानौ उसले सौता ब्योर्हनु सामान्य कुरो हो। तर मलाइ किन किन लागिरहृयो, उसको अनुहारमा फक्रिएको मुस्कान भित्र कचपचिएको घाउ झैं नुनचुक सहितको पीडा घोलिएको छ।

कार्यक्रमको ते श्रो दिन एक छिन म हल बाहिर रहेको बेला उ छुनमुन हुदै म छेउ आइ र मलाई एउटा फोटो देखाइ। फोटो एउटा किशोरीको थियो। फोटोमा किशोरीको एउटा हात आधा मात्र थियो। मैले सोधे ‘कसको फोटो हो यो ? ’ मेरो सौताको छोरीको हो,यसको अपाङ्ग कार्ड बनाउन के गर्नुपर्छ दिदी ? ’ मेरो सबै इन्द्रीयहरु केन्द्रित भए ‘हँ केले बनेकी छ, यो ब्युटि ? ’ कसले भन्छ ! महिलाको सत्रु महिला हो भनेर ? सधै पितृसत्ता टिकाउन यसकै तावेदारहरुले महिला माथि शासन गर्न महिला महिला मिल्दैनन् भन्दै महिला माथिको उत्पीडन माथि आफ्नो शासन टिकाइरहेकै छन्। पुरुष पुरुषचाँही कहाँ मिलेका छन् र ? यहाँ महिला- महिला र पुरुष भन्दा पनि शासक र शासित बीचको ध्रुविकरण प्रधान हो जसले वर्गीय र पितृसत्ता टिकाइरहन हजारौ वर्षदेखि काम गरेकोछ। जुन चुरो कुरो खुट्याउनेतिर महिला आन्दोलनको ध्यान कमै गाको छ अहिलेसम्म।

कार्यक्रमको अन्तिम दिन भएकाले बेला, बेला महिलाहरु मैथलीमा मेला पात र बिहेमा गाउने गीतहरु लय हाल्दै गाइरेहेका थिए। कस्तो पीडा मिसिएको छ उनीहरुको लयमा मानौ, उनीहरु आफ्नो बेदना र पीडालाई भित्रैदेखि निचोरेर फ्याँक्न चाहन्छन् सदाका लागि तर बिडम्वना राज्य सुनेर नि अनसुना गर्छ। राज्य र यसका तावेदारहरु महिलाहरुको आँसु र बेदनाको आहालमा डुबुल्की लगाउँदै मस्त छन् सत्तामा।

कार्यक्रमको दो श्रो प्रहरमा खाजा खाने बेला भो। हामी सबै आ आफ्नो खाजाको पोको लिएर छरियौ। उ म नजिक आइ, किन हो कुन्नी ! उ मसंग अलिक धेरै पोखिन चाहन्थी। त्यत्ति बेला अर्की थरुनी महिला हामीसंग मिसिइ अनि कुरा खुल्यो। ब्युटीको श्रीमानले त पाँचवटी विबाह गरेको मात्र हैन, आफ्नै भाउजुसंग पनि नाजायज सम्बन्ध राखेर भाउजुलाई गाउँ निकाला गरिएको रहेछ। भाउजुसंग सम्बन्ध राख्ने देवर चाँहि निकाला भएन छ, समाजमा किन की उ पुरुष हो। पुरुषहरुको त चरित्र पनि चोखिन्छ,समाजकै ठालु पुरुषहरुले बोले पछि। ब्युटीको अनुसार उ माहिली श्रीमती हो। जेठी श्रीमती मरेपछि उसलाइ बिहे गरेर ल्याइयो। त्यसपछि अर्की, अनि अर्की अनि अहिलेकी कान्छी, जो संग उसको श्रीमान बसिरहेको छ। ओहो म निष्तब्ध र आहत भए एकै पटक ! ब्युटी केहीबेर अध्याँरी भई।

मैले अचम्म मान्दै सोधेको प्रश्न थियो, ‘पाँच श्रीमती ? ’ ऊ टोलाई अनि सहज हुदै जवाफ दिई, ‘हो त नि।’ उसको साथीले पनि सहमति जनाई। पाँचवटा श्रीमती भएकोले भन्दा पनि ब्युटीमाथिको श्रँृखलाबद्घ अत्याचार अवहेलनाले मलाई नमीठोसंग पिरोल्यो केहीबेर। आखिर एउटा मान्छेले अर्को मान्छेलाई कत्तिसम्म प्रताडना दिनसक्छ ? पत्याउनै गाहृो यथार्थ। मैले ठट्टा गरे ‘तिम्रो श्रीमानलाई मुद्दा हाल्दिन्छु है ब्युटी ? ’ उसले आँखा फारेर हेरी मलाई, पत्याइन सायद अनि भनी ‘हुन्छ।’ उसलाई विश्वास थिएन सायद, किनकी अहिलेसम्म कसैले उसमाथि भएको उत्पीडनको विरुद्घ कहि पनि त मुद्दा हालेन,नत कारवाही नै ग-यो कसैले। राज्य आफै पीडितकहाँ जादैन नत, ब्युटीको पँहुच राज्यसम्म छ। कथित गणतन्त्रमा पनि कानुन र संविधान त पहुंचवालाहरुकै सजिएका सोकेसमा सिमित छन्।

मैले कुरो अन्तै मोडे, किनकी मैले ब्युटीलाई तत्काल उसको दुख र संर्घषमा केही पनि त गर्न सक्दिनथे। मलाइ नमीठोसित पश्चाताप भो, खाली उसका पाक्दै, खाटा बस्दै गरेको घाउलाई रगडेर रक्तामे पारे मात्र ! उ अहिले सिलाई बुनाइ काम गर्दीरहीछ। त्यसबाट आएको पैसोबाट उ छोरा र छोरीको खर्च जोहो गर्दीरहिछ। मैले ब्युटीको मुर्झाएको अनुहारमा हाँसो ल्याउन र उर्जा थप्ने हिसाबले भने ‘जे जे भए नि, ब्युट्टी धेरै खुशी छ अनि बहादुर पनि।’ उ मिठो मुस्कान सहित साबिकमै फर्की अनि बोली ‘म बेला बेला होस् हराए झै हुन्छु दिदी, जब मेरा श्रीमानले म माथि गरेका दुखहरु सम्झन्छु,’ उसका आँखा रसाए।

मान्छेका गूहृय कुरो त रहँदा बस्दा पो थाहा लाग्दोरैछ। छोटो भेटमा साटासाट भएका कुरा त बाहिरी मात्र हुन् भन्ने कुरो जस्तै पहिलो दिन ब्युटीलाई देखेर मैले जुन कोरा अनुमान लगाएकी थिए, ती भ्रम त पानीका फोका जस्तै फुस्स भए अहिले। बाहिर हेर्दा पुतली झंै पखेटा फिंजाएर उमंगले आफ्नै लयमा फुर्र फुर्र उड्ने ब्युटी पितृसत्ता र यसका रखवारीको कत्रो दपेटमा छ भन्ने कुरा कसले सहजै अनुमान लगाउन सक्छ र?

प्रत्येक बाहिर देखिएका हँसिला र उमंगसहितका महिलाहरुका आ आफ्नै कथाब्यथाहरु चाङ्ग छन् यो संसारमा। तर बिडम्बना कति छ भने आफ्नो पक्षको खुशी जोहो आफ्नै ढंगले गर्न नपाउनु, आफु माथिको घोर अन्याय हो भन्ने बुझ्दै नबुझि यो धर्तीबाट सुटुक्क बिदावारी हुन्छन् असंख्य ब्युटीहरु।

यहि अर्को रोचक लागेको प्रसंङ्ग एक अधबैसे मधेसी महिलाको ६ वर्षमै विबाह भएको रहेछ। छलफलको क्रममा उनलाई सोधियो ‘तपाइलाई सानैमा बिबाह हुदाँ कत्तिको गाहृो भयो ? ’ उनको जबाफ थियो ‘खासै गाहृो भएन।’ भन्दै सजिलो उत्तर दिन्छिन बा ! छ वर्षको उमेरमा बोझिलो बुर्हातन, घर माइति र कुटुम्बका मान मनिता, बाल सुलभता भित्रको अज्ञानता, तराइको ग्रामीण समाज, गरिबी अनि अशिक्षा, अन्धविश्वासले जगडिएको परिवार र परम्परा। अजंङ्गको पहाड जस्तो दुख धान्न आफ्नो उमेर भन्दा जेठो भएर गर्नुपर्ने विधि विधान भनिसाध्य छैन् तै पनि कति चाम्रा छन् तराइका आमाहरु।

उमेर पुगेर माया पीर्तिका सांङ्गोलामा बाधिंएर गरिएका भनिएका बिबाह अनि बिबाह पछिका हाम्रा घरहरु त, महिलाका लागि अझै सुरक्षित र मर्यादापूर्ण छैनन्। म बाँचेको समाजमा महिला विरुद्घ हुने हिंसा र उत्पीडनको खातैखात सम्झेंर ल्याउँदा आङ्ग सिरिङ्ग हुन्छ, तैपनि आम महिला भन्छन्- गाहृो छैन। हिंसाप्रति मौन स्वीकारोक्ति दिन्छन्।

हैन के ले बनेका छन यी सिस्वाबेल्हीका महिलाहरु ? फलाम त एउटा तापक्रमले गल्छ भने यी महिलाहरु चाही किन पग्लिदैनन् ? कि पितृसत्ताको वर्तमान सत्ता र संरचनाको कबचले यिनीहरु आफु माथिको अत्याचारको पत्तो नपाउने गरी लाट्टिएका छन् ? कि एकदिन यस्तो आउला कि यी नपत्याइएका महिलाहरु आफुमाथिको अत्याचारको विरुद्घ परिवार र समाजमा सुनामी आउने गरी पग्लिने हुन् ? प्रश्नहरुको गुजुल्टो फिजारिदै मेरो अगाडि बिस्कुन भए, म भने म र जस्तैहरुका उत्पीडन र पीडाको बोधले एकछिन लत्रक्क गले।

कार्यक्रम सकाउनुपर्ने हतारमा सबै आआफ्नो तरखरमा लागे। मैले पनि कुराको बीट मार्नुपर्ने थियो। अन्तमा केही समुह फोटाहरु खिँचिए, हाँस्दै अनि जिस्किदै सायद मधेशका महिलाहरु आफु माथि ऐतिहासिक रुपमा भएका क्षेत्रीय, लैङ्गिक, सांस्कृतिक उत्पीडनबाट क्षणिक भएपनि उन्मुक्ति खोज्दै बत्तिन चाहन्थे। उनीहरु हौसिंदै एक एक गर्दै आफ्नो गन्तब्यतिर लागे। अनि ब्युटी उ पनि मलाई मीठो मुस्कानको कोशेलीको भारी बोकाएर चम्किला आँखासहित ओझेल हुदै गई।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.