एकै दिन नेपाललाई १५ स्वर्ण

एकै दिन नेपाललाई १५ स्वर्ण

काठमाडौं  : १३औं सागको दोस्रो दिन सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ । नेपालले कराँतेमा सात र तेक्वान्दोमा सात स्वर्ण पदक हात पारेको हो । सोमबार नै सुरु भएका यी दुवै खेलबाट नेपालले बढी पदकको आशा गरेको छ ।अर्को एक पदक पोखरामा सम्पन्न ट्रायथलनमा सोनु गुरुङले जितिन् ।

कराँतेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयषा शाक्यले दुई/दुई स्वर्ण पदक हात पारे । मन्डेकाजीले पुरुष एकल काता र टिम कातामा स्वर्ण जितेका हुन् । टिम कातामा उनलाई महसुस मोक्तान र प्रवीण मानन्धरले साथ दिएका थिए । तेक्वान्दोमा आयषाले महिला एकल पुम्से २९ वर्षभन्दा माथि र पेयर पुम्सेमा स्वर्ण पदक जितिन् । पेयर पुम्सेमा उनलाई सञ्जीवकुमार ओझाले साथ दिएका थिए ।

मन्डेकाजी र आयषा दुवै फरक परिस्थितिबीच प्रतियोगितामा सहभागी भएका खेलाडी हुन् । ३५ वर्षीय मन्डेकाजी कराँतेको कातामा विशेष दख्खल राख्छन् । उनले सागमा पदक जित्न १० वर्ष निरन्तर संघर्ष गर्नुप¥यो । यसअघिका दुई साग उनका लागि सुखद रहेन । सन् २०१० मा बंगलादेशमा ११औं साग हुँदा उनी २६ वर्ष पुगिसकेका थिए । त्यतिबेला उनी सागका लागि छनोट पनि भए ।

बंगलादेश सागका लागि उनले स्वर्णको लक्ष्यसहित तयारी पनि गरेका थिए । तर, उनले प्रतिस्पर्धा गर्ने भनेको स्पर्धालाई आयोजकले ११औं सागमा समावेश गरेन । त्यसैले उनले त्यो साग खेल्ने अवसर पाएनन् ।

उनले हिम्मत हारेनन् । १२औं सागमा आफ्नो सपना साकार पार्ने योजना बोकेर उनी निरन्तर तयारीमा लागिरहे । सन् २०१६ मा भारतमा सम्पन्न १२औं सागमा पनि कराँते खेल समावेश गरिएन । फेरि एकपटक सागमा स्वर्ण जित्ने उनको सपना अधुरै रह्यो ।

आफूले १० वर्षअघि देखेको सपना मन्डेकाजीले घरेलु मैदानमा पूरा गरे । सोमबार उनका लागि अर्को संयोग पनि जु¥यो । घरेलु मैदानमा सम्पन्न सागमा देशका लागि स्वर्ण पदक जित्ने उनी पहिलो खेलाडी बने । ‘मेरो वर्षौंदेखिको सपना साकार भएको छ । यो मेरो जीवनको सबैभन्दा सुखद क्षण हो’, दोस्रो स्वर्ण जितेपछि उनले अन्नपूर्णसँग भने ।

उनले आफूले जितेको स्वर्ण देश र सम्पूर्ण नेपालीप्रति समर्पित गरे । ‘यो स्वर्ण म देश र सम्पूर्ण नेपालीप्रति समर्पित गर्न चाहन्छु । मलाई निरन्तर साथ र सहयोग गर्नु हुने सबैप्रति आभारी छु’, मन्डेकाजीले भने, ‘पछिल्लो समय हिमानी मेरा लागि लक्की बनेर आएकी छन् ।’ हिमानी उनकी कान्छी छोरी हुन् । उनी भर्खर ६ महिनाकी भइन् । मन्डेकाजी भन्छन्, ‘हिमानी मेरा लागि लक्की छिन् । उनको आगमनपछि नै मेरो सपना पूरा भएको छ ।’

यसैगरी तेक्वान्दोमा दोहोरो स्वर्ण जित्ने आयषा दुई सन्तानकी आमा हुन् । आयषा कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टकी पत्नी हुन् । आयषा प्रतिद्वन्द्वीसँग भिडन्त गरिरहँदा दीपक अधैर्य देखिन्थे । स्वर्ण पदक जितेपछि खुसीको आँसु थाम्न नसकेकी आयषा खुसीयाली मनाएपछि दौडँदै दीपकको अँगालोमा बाँधिन पुगेकी थिइन् ।

आयषाले सागमा जितेको यो तेस्रो स्वर्ण पदक हो । सन् २०१० मा बंगलादेशमा भएको ११औं सागमा दीपक र आयषा दुवैले देशका लागि स्वर्ण पदक जितेका थिए । दीपकले भने हाल सक्रिय खेलजीवनबाट सन्न्यास लिइसकेका छन् । १३औं सागको आइतबार भएको उद्घाटन समारोहमा दीपकले नै ओलम्पिक ज्योति प्रज्ज्वलन गरेका थिए । सोमबारको खेल सकिँदासम्म नेपाल पदक तालिकाको पहिलो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.