निगमको चीन उडान : चार वर्षमा बल्ल अनुमति

निगमको चीन उडान : चार वर्षमा बल्ल अनुमति

काठमाडौं : राष्ट्रिय ध्वाजाबाहक नेपाल वायुसेवा निगमले चार वर्ष अगाडि एयरबसको न्यारोबडी जहाज भित्र्याउनासाथ मागेको चीन उडानको अनुमति बल्ल पाएको छ। निगमले एयरबसको ए३२०–२०० सिरिजको सय ५८ सिट क्षमताको जहाज २०७१ माग चौथो साता नेपाल भित्र्याएको थियो। त्यसको एक वर्षमा निगमले छिमेकी मुलुक चीनमा काठमाडौंबाट सीधा उडानको अनुमति मागेको थियो।

चिनियाँ र सोही मुलुक हुँदै आउने अन्य विदेशी पर्यटक भित्र्याउने र विभिन्न कूटनीतिकसहित नेपालीकै आवतजावत बढेको छ। सरकारले चिनियाँ पर्यटकलाई महत्र्व दिन थालेकाले पनि उक्त देशका विभिन्न गन्तव्यमा निगमले उडान गर्न अनुमति मागेको हो। निगमले मागेको अनुमतिलाई चीनले चार वर्षपछि स्वीकृति दिएको उल्लेख छ।

‘चीनले यही डिसेम्बर २० भित्र निगमको सेफ्टि अडिट गर्ने भने पनि हामीले पठाएको कागजातमा भएको विश्वसनियता र सरकारले गरेको कूटनैतिक प्रयासपछि चीन उडान अनुमति दिएको छ’, नेपाल वायुसेवा निगमका सहप्रवक्ता सुलेख मि श्रले बुधबार अन्नपूर्णसँग भने।

उनका अनुसार चीनले क्‍वाङ्‌चावो (ग्वान्झाओ)मा उडान अनुमति दिएको छ। चीनले दिएको औपचारिकपत्र आउन बाँकी भए पनि निगमलाई अब उडान समय तोक्न पनि चीनले आग्रह गरिसकेको छ। अब निमगले अपरेसन, मार्केटिङ, कमर्सियलसहितका विभागसँग आन्तरिक छलफल गर्नेछ। त्यसपछि चीन उडानको अनुकूल समय निर्धारण गरिने जानकारी पनि मि श्रले दिए।

निगमले न्यारोबडी ल्याउना साथ मागेको चीन उडान अनुमति एयरबसकै २७४ सिट क्षमताको वाइडबडी ए३३० जहाज आएको करिब डेढ वर्षपछि अनुमति दिएको छ। चीनले उडान अनुमति दिएसँगै अब निमगले सन् २०२० को मार्चभित्रै उडान गर्ने जानकारी दिएको छ। निगमले बनाएको कार्ययोजनामा आगामी मार्चभित्र ग्वान्झाओमा उडान सुरु गर्ने उल्लेख छ।

१२ वर्ष अगाडि निगमले काठमाडौंबाट सीधा उडान गर्ने गरेको थियो। जहाज अभाव भएपछि निगमले जापानको ओसाकासँगै चीनको सांघाई उडान पनि बन्द गरेको हो। नेपाल र चीनबीच गत साउनमा भएको दुई देशबीचको हवाई सेवा सम्झौता पुनरवलोकनमा चीनका बेइजिङ, ल्हासा, सांघाई, क्‍वाङ्‌चावो, सियान, चेङ्दु, चुङछिङ, खुन्मिङलगायत १५ गन्तव्यमा अनुमति गर्न पाउने उल्लेख छ। सोही सम्झौतापछि चीनले निगमलाई अनुमतिमा सहजीकरण गरेको हो। सेफ्टी अडिट गर्नु नपर्ने र सीधा उडान गर्न दिने गरी दिएको अनुमतिपछि निगमलाई चीन उडानको बाटो खुलेको निगमका पदाधिकारी बताउँछन्।

हाल चीनबाट पाँचवटा वायुसेवा कम्पनीले नेपालमा नियमित उडान गरिरहेका छन्। नेपालबाट भने हिमालय एयरलाइन्सले हिमालय एयरलाइन्सले एयरबसको १५८ सिट क्षमताको जहाजबाट गत कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा सीधा उडान सुरु गरेको छ। चीनकै हुनान प्रान्तको अर्को गन्तव्य चाङ्सामा पनि यही मंसिर ४ गतेबाट हिमालयले उडान थालको छ।

चीनबाट भने एयर चाइनाले सातामा १२७ र २८१ सिट क्षमताका जहाजबाट १० वटा र चाइना इस्टर्नले १३२ सिट क्षमताको जहाजबाट १४ वटा उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। यस्तै, चाइना साउदर्नले १२० सिटदेखि २८६ सिट क्षमतासम्मका ७ प्रकारका जहाजबाट सातामा १४ उडान गर्ने गरेको छ। सिचुवान एयरलाइन्सले १३१ सिट क्षमताको जहाजबाट सातामा चारवटा, तिब्बत एयरलाइन्सले १२८ सिट क्षमताको जहाजबाट सातामा दुईवटा उडान गर्ने गरी अनुमति पाएको प्राधिकरणको भनाइ छ।

नेपालमा चिनियाँ पर्यटक बढ्दै गएको र उडान अनुमति पनि बढेको भए पनि नेपाली वायुसेवाको पहुँच भने बढ्न सकेको छैन। चीनबाट सन् २०१९ को १० महिनामा मात्रै एक लाख ३४ हजार पर्यटक भित्रिएका छन्। सन् २०२० मा यो संख्या साढे तीन लाख बनाउने सरकारको लक्ष्य छ।

नेपालमा सन् २०१८ मा एक लाख हजार ६ सय, सन् २०१७ मा एक लाख चार हजार ६ सय, सन् २०१६ मा एक लाख चार हजार, सन् २०१५ मा ६४ हजार ६ सय र सन् २०१४ मा एक लाख २३ हजार आठ सय चिनियाँ पर्यटक भित्रिएका थिए। निगमले गत वर्ष सन् २०१८ मा चार लाख हवाई यात्रुलाई सेवा दिएको छ। सन् २०१९ मा यस्तो संख्या ६ लाख नाघेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.