स्वास्थ्य संस्थामा बच्चा जन्माए एक हजार रुपैयाँको बैक खाता
गोरखा : गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएमा पालुङटार नगरपालिकाले नवजात शिशुको नाममा बैक खाता सञ्चालन गरिदिने भएको छ। सुरक्षित सुत्केरी गराई आमा र बच्चाको स्वास्थ्यमा जोड दिनका लागि बैंकमा एक हजार नगद राखेर खाता सञ्चालन गर्ने अभियान सुरु गरेको मेयर दीपकबाबु कँडेलले जानकारी दिए। खाता सञ्चालनका लागि पालुङ्टारस्थित प्रभु बैंकको शाखा कार्यालयसँग नगरपालिकाले सम्झौता गरेको छ।
पालुङ्टारस्थित प्रभु बैंकमा पालुङ्टार–६ का नवजात शिशु आरोग्यमणि विश्वकर्माको खाता खोलेर बुधबारदेखि सो अभियान सुरु गरिएको उनले बताए। ‘साउन १ गतेदेखि नै नवजात शिशुको खाता सञ्चालन अभियान सुरु गर्ने भनेर पाँचौ नगरसभामा निर्णय भएको थियो’, मेयर कँडेलले भने, ‘बुधबारदेखि अभियान सुरु गरिएको छ। अब जसले पालुङटार नगरपालिकाभित्रको स्वास्थ्य संस्थामा बच्चा जन्माउँछ, उसलाई वडा कार्यालयले जन्म दर्ता गरिदिन्छ । जन्मदर्ताको आधारमा प्रभू बैंकले अभिभावकलाई संरक्षक बनाएर खाता खोलिदिनेछ। हामी त्यसमा एकहजार रुपैयाँ राखिदिन्छौं ।’ यो अभियानले सुरक्षित तरिकाले सुत्केरी गराउने, मातृशिशु मृत्युदर शून्यमा पु-याउने अपेक्षा उनले गरेका छन्। अभियान सुरु गर्न ढिला भएकाले गत साउन १ गतेबाट जन्मेका बच्चाको पनि खाता खोलिदिने नगरपालिकाले योजना बनाएको छ । खातामा रहेको रकमको ६.५० प्रतिशत व्याज प्रदान गर्ने बैकले जनाएको छ
नगरपालिकाको यो अभियानले बच्चा जन्मेदेखि नै उसको नाममा रकम जम्मा हुने, दसैंतिहार जस्ता चाडपर्व, बर्थडे जस्ता उत्सवमा जम्मा भएको रकम पनि भविष्यका लागि बचत गर्दै जाने बानी बसाल्ने मेयर कँडेलले बताए। ‘यसले बचत गर्ने बानी बसाल्ने र बच्चा तथा उसको अभिभावकलाई फजुल खर्च गर्ने बानी हटाउने हामीले लक्ष्य राखेका छौं’, मेयर कँडेलले भने, ‘त्यतिमात्र होइन, यसरी जम्मा भएको पैसाले उसलाई उच्च शिक्षा पढ्नका लागि पनि टेवा पुग्ने विश्वास लिएका छौं।’ गत साउनदेखि अहिलेसम्म पालुङटार नगरपालिकाभित्र १ सय २५ जना बच्चा जन्मेका छन्। तीमध्य अहिलेसम्म जम्मा ६७ जनाको मात्र जन्मदर्ता गरिएको छ । बुधबार बिहिबार दुई दिनमा १५ जनाको खाता खोलिसकिएको नगरपालिका स्वास्थ्य शाखाका दीपेन्द्र गिरीले जानकारी दिए।
नगरपालिकाभित्र आँपपिपल सामुदायिक अस्पतालमा, पाँच वटा स्वास्थ्य चौकीमा र एउटा अलग्गै प्रसुतिगृह छन्। यसअघि नियमित गर्भ परीक्षण गरी बर्थिङ सेण्टरमा प्रसुती गराउने आमालाई स्वास्थ्य शाखाले दुई हजार आठ सय रुपैयाँ दिने गरेको थियो। ‘यो अभियानले घरमै असुरक्षित तरिकाले बच्चा जन्माउने काम रोकिनेछ अनि बच्चा जन्मेपछि अनिवार्य रुपमा जन्मदर्ता गर्नुपर्छ भन्ने पद्धतिको विकास हुन्छ’, गिरीले भने, ‘त्यतिमात्र होइन, अहिले सामाजिक सुरक्षा भत्ता बैंक खातामा मात्र जम्मा गरिदिने गरेका छौं। यसले गर्दा सबै ज्येष्ठ नागरिकको बैंक खाता खुलिसकेको छ।’ यो अभियानका कारण बैंक खातामार्फत मात्र आर्थिक कारोबार गर्ने प्रविधिको विकास गर्ने लक्ष्य रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !