जन्ती गएका भरत ६ दिनदेखि बेपत्ता
गोरखा : छिमेकीको बिहेमा जन्ती गएका निर्माण व्यवसायी संघ गोरखाका कार्यालय सहयोगी भरत अम्गाई पाँच दिनदेखि बेपत्ता भएका छन्। अम्गाई गत बिहिबार साँझ साँढे सात बजेदेखि सम्पर्कविहिन भएको परिवारस्रोतलाई उदृत गर्दै संघका कार्यालय सचिव उमेश अर्यालले जानकारी दिए।
गोरखा नगरपालिका-६ आयुर्वेदिक मार्ग निवासी ४७ वर्षीय अम्गाई गत मंसिर १९ गते स्थानीय शिव श्रेष्ठको विवाहमा रत्ननगर टाँडी चितवनमा जन्ती गएका थिए।
‘खाना खानेबेलासम्म उनी सम्पर्कमा रहेछन्’, परिवारस्रोतलाई हवला दिँदै अर्यालले भने, ‘खाना खाएर को कता गए, कसैले याद गरेनन्। उनले सात बजेर ३७ मिनेटमा घरमा श्रीमतीलाई फोन गरेर बेखर्ची भएँ। अलपत्र भएँ भनेका रहेछन्। त्यसबेलादेखि सम्र्पकबिहिन भएका छन् ’ टेलिफोन गरेको लोकेशन चितवनको दासढुंगा भेटिएको उनले बताए।
भरत यसअघि होटल बिसौनीमा कार्यरतसमेत थिए। केही वर्षदेखि होटल छाडेर संघको जागिर र आफै होटल सञ्चालन गर्दै आएका थिए। परिवार, टोलबासी, निर्माण व्यवसायी संघ, गोरखा प्रहरी र चितवन प्रहरीले उनको दिनदिनै खोजी गरिरहेको अर्यालले बताए। कसैले उनलाई फेला पारेमा आफ्नो मोबाइल नम्बर ९८४६३००५०० मा सम्पर्क गरिदिन श्रीमती गीता अम्गाईले अनुरोध गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस !