प्रदेश राजधानीकै सडक नाजुक
सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगरभित्रकै सडकको अवस्था नाजुक छ। नगरभित्रका सडक कुनै गाउँका कच्ची सडकभन्दा कम छैनन्। समयमै मर्मत सुधार नहुँदा हिलो र धुलोले हिँडिनसक्नु छ। गुणस्तरीय काम नहुँदा केही वर्षअघि मात्रै कालोपत्रे गरेका सडक अहिले ग्राभेलभन्दा तत्लोस्तरका छन्।
सडक दुरावस्थाका कारण सवारी साधनमा यात्रा गर्ने मात्र होइन, पैदल यात्रीलाई पनि सास्ती छ। प्रदेश राजधानीको सुन्दर सपना देखेर वीरेन्द्रनगर छिर्ने जो कोही अचम्मित हुन्छन्। दिनभर धुलो उडेर सडक नै देख्न नसकिने। पानी परेको समयमा हिलाम्य हुन्छ।
‘राजधानी भएको ठाउँ मैले त विकसित सहर होला भन्ने सोचेकि थिएँ,’ जुम्लादेखि पहिलोपटक सुर्खेत आएकी दिलमाया बुढाले भनिन्, ‘तर यहाँको धुलो खप्न नसकेर बजार घुम्दा पनि मुख छापेर हिँड्नुपर्यो।’ बजारक्षेत्रका सडक मात्र होइनन्, मन्त्रालय जाने बाटो पनि कच्ची सडकभन्दा नाजुक छन्। कालोपत्रे उप्किएर बनेका खाल्डोमा दुर्घटनाको जोखिम त छ नै, धुलोले हिँडिनसक्नु छ।
‘बर्सेनि बाटो बनाउन बजेट आएको छ भन्छन् तर त्यो बजेट कहाँ खर्च हुन्छ हामीलाई कुनै जानकारी हुँदैन,’ स्थानीय दिनेश थापाले भने, ‘प्रदेश राजधानी भन्नु पनि लाज भइसक्यो, यहाँ छिर्ने जो कोहीलाई भर्खर ट्र्याक खोल्दै गरेको पहाड गएजस्तो अनुभूति हुन्छ।’
वीरेन्द्रनगरको एयरपोर्ट चोकदेखि काक्रेबिहार, बामीखोला हुँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नयाँ निर्मित भवनसम्म पुग्ने सडक यहाँका स्थानीयको आउजाउ गर्ने मुख्य मार्ग हुन्। तर यिनै मार्ग वर्षौंदेखि जीर्ण छन्। प्रशिद्ध पर्यटकीय क्षेत्र काँक्रेविहार जाने सडकको दूरावस्थाका कारण पर्यटक आउनै नमान्ने गरेको काँक्रेविहार टोलका मणि कोइरालाले बताए। ‘काँक्रेविहार आउने कोही पनि पर्यटक पुनः नफर्किने भन्दै जान्छन्, यसको एउटै कारण हो। यहाँको सडक,’ उनले भने, ‘साँघुरो र कमजोर सडकमा ठूला गाडीले बनाएका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम पनि बढेको छ। धुलोले दिउँसो घरबाहिर निस्कन सक्ने अवस्था नै हुँदैन।’
वडा नम्बर १० का वडाध्यक्ष रत्नबहादुर बुढाले काक्रेविहार टोलको धुलाम्य सडक दुई वर्षदेखि मर्मत भइरहेको बताए। यो सडक मर्मतको जिम्मेवारी ठेकेदार सूर्यबहादुर रावतले १८ करोडमा लिएका छन्। तर काममा ढिलाइ सहजै सवारी गुडाउन सकिने अवस्था छैन। स्थानीय मणिकृष्ण डाँगीले भने, ‘पानी परेको बेला सडकमा नहिँडठ्दा पनि हुन्छ। बीचमा परेका खोल्डामो जमेको हिलो सवारीले छ््याप्छन्।’
गत असार मसान्तमा नगरपालिकाभित्रका केही सडक टालटुल गरे पनि काम भने गुणस्तरीय भएन। सडक बोर्डको ६५ र वीरेन्द्रनगर नगरपालिकाको ४५ गरी एक करोड १० लाख रुपैयाँ साना तथा सहायक सडक मर्मतमा खर्चिएको छ। वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले भौतिक पूर्वाधार विकास मन्त्रालयको समन्वयमा सडक निर्माण तथा मर्मतको काम सुरु भएको बताइन्।
‘पटकपटक सडकका टालटुल गर्न दोहोरो खर्च हुन्छ, त्यसैले सबै सडकको एकैपटक काम सकिनेगरी काम अघि बढेको छ,’ उनले भनिन्, ‘सबै सडकको टेन्डर भइसकेको छ। यो आर्थिक वर्षभित्रै नगरक्षेत्रका हिलाम्य सडकको सास्तीबाट मुक्ति पाइनेछ।’ यता भौतिक पुर्वाधार विकास मन्त्रालयका अनुसार वीरेन्द्रनगरभित्रका जीर्ण तथा नयाँ गरी झण्डै १६ वटा सडक मर्मत तथा विस्तार गर्न २५ करोडको टेण्डर प्रक्रिया सकिएको छ।
प्रतिक्रिया दिनुहोस !