प्राज्ञिक कमजोरी

प्राज्ञिक कमजोरी

जगदीशचन्द्र ​ रेग्मीले तयार गरेको सामग्रीहरूको समुच्च स्वरूप हो भन्ने धारणासहित पाठकको पठन अभिप्रेरित भएमा पाठकीय अपेक्षामा ठेस लाग्ने छैन।


इतिहास, संस्कृति, सहर, भूगोल, वास्तुकला आदि इत्यादिबारे अनेकन कृति लेखेका ख्यातनाम प्राध्यापक जगदीशचन्द्र रेग्मीको हालै प्रकाशित पुस्तक ‘नेपालमा ब्राह्मणहरूको संक्षिप्त इतिहास’को पठन अवसर प्राप्त भएको छ। समयक्रमअनुसार प्राचीन कालदेखि वर्तमान समयसम्म नेपाली ब्राह्मणहरूको अवस्थाबारे विभिन्न ६ भागमा वर्णित पुस्तकले ३६६ भन्दा बढी पृष्ठ ओगटेको छ।

‘लिच्छवि संस्कृति’, ‘लिच्छवि इतिहास’, ‘प्राचीन नेपाली संस्कृति’, ‘नेपालको वैधानिक परम्परा’, ‘नेपालको ऐतिहासिक भूगोल’, ‘प्राचीन नेपालको रजनीतिक इतिहास’, ‘काठमाडौं सहर’, ‘शाहीकालीन कला र वास्तुकला’, ‘नेपाली अध्ययन’जस्ता अनेकन गम्भीर कृतिका लेखक हुनुको कारणले रेग्मीका नवप्रकाशित कृतिले सम्बन्धित विषयका जिज्ञासु पाठकहरूलाई नतान्ने कुरै भएन। उसमाथि यताका दिनमा जातीय जरो खोज्ने ज्वरोले को रैथाने, को आगन्तुक भन्ने प्रश्न सघन भइरहेको अवस्थामा नेपाली भूगोलभित्र चर्को दबदबा कायम गर्न सफल ब्राह्मणहरूको इतिहासबारे जिज्ञासा रहनु पनि स्वाभाविकै छ।

सीमान्त, दलित, आदिवासीहरूको इतिहास मात्रै होइन, हामीकहाँ सामाजिक प्रभुत्वशाली संघटकका रूपमा लिइने ब्राह्मणहरूको ऐतिहासिक विवरणसमेत सत्ताकेन्द्रित इतिहास लेखनको हुन्डरीको लछारपछारमा परेको छ। यस्तोमा पूरा/इतिहास शास्त्रका एकजना अग्रणी अनुसन्धानकर्ता प्राडा जगदीशचन्द्र रेग्मीको यो पुस्तक अध्ययन, विमर्श र संग्रहयोग्य रहने अपेक्षा गरिनु अन्यथा हुनेछैन।

०००

पूर्वप्रकाशित अभिलेख, वंशावली, धर्मशास्त्र, ऐतिहासिक पुस्तकमा उल्लिखित विवरणहरूमा खेलेर तयार भएको पुस्तकमा रेग्मीले नेपालमा ब्राह्मणहरूको उपस्थिति कहिलेदेखि थियो र त्यो कुन प्रयोजनका साथ यहाँ उपस्थित थियो भनेर केलाउने प्रयास गरेको पाइन्छ। खासगरी नेपालका विसं ५८७ को पाटन खंपिछेको लिच्छविकालीन अभिलेखमा परेको याज्ञिक विप्रसेन, याज्ञिक वेदभट्ट तथा ब्राह्मण ध्रुवसेन र वृद्धिषेणको विवरण नै लिखित अभिलेखको रूपमा नेपालमा ब्राह्मणहरूको उपस्थिति जनाउने पहिलो सामग्रीको रूपमा रेग्मीले उल्लेख गरेका छन्। याज्ञिकहरूले वेद अभ्यास गरेका वैशम्पायनको कारणपूजाको निमित्त ब्राह्मण ध्रुवसेनसमेत भएर दक्षिणकोलीग्राममा १५० मनिका धान आउने भूमि दान दिएको उल्लेख हुनुले उनीहरू त्यस बखतसम्म काठमाडौं उपत्यकामा जमेर जमिन दान दिने हैसियतमा पुगिसकेका रहेछन् भन्ने देखाउँछ। विसं ५८७ कै पशुपति आर्यघाटको ब्राह्मण पुण्यगोमीको अभिलेखबाट ब्राह्मणहरू राजनीतिक सत्ताको प्रभुत्वको खेलमा निकट भइसकेको देखिन्छ। तत्कालीन राजाहरूले राज्यसत्ता सञ्चालनको सिद्धान्त स्रोतको रूपमा वेद र धर्मशास्त्रलाई मान्ने गर्थे। त्यस्तो अनेकन विवरणहरू लिच्छविकालीन अभिलेखहरूमा उल्लेख भएको पाइन्छ।

मानदेवको काठमाडौं केलटोल (मछिन्द्रबहालनेर) तखाछेंको चोकभित्र इनारको दायाँपट्टि पर्खालमा रहेको अभिलेखमा मानदेवलाई ‘(तेने)दं श्रुतिधम्र्म(रेग्मीले श्रुतिधर्म उल्लेख गरेका छन्)शास्त्रविहितां धर्म क्रियांकुव्व(रेग्मीले कुर्वता उल्लेख गरेका छन्)र्ता’ (वेद तथा धर्मशस्त्रमा विधान गरेबमोजिम धर्म–कर्म गर्ने) विवरण उल्लेख भएको पाइन्छ। अंशुवर्माको विसं ६६४ को टिस्टुङ अभिलेखमा ‘अनतिवृत्ताø्र्यमøर्यादासेतु ः(आर्यमर्यादा(वर्णा श्रमव्यवस्था)’को बन्देजलाई ननाघेको भनी उल्लेख भएको पाइन्छ। त्यसैगरी द्वितीय शिवदेवको सुनागुठी भृंगारेश्वर अभिलेख र बलम्बु अभिलेखले पनि उनी वर्णा श्रमसम्वन्धी व्यवस्था राम्ररी बाँध्न लागेका थिए भन्ने देखाउँछ। सुनागुठी अभिलेखमा प्रयुक्त ‘सुविहितवर्णा श्रमस्थिति’ र बलम्बु अभिलेखमा प्रयुक्त ‘सम्यग्विरचितसकलवर्णा श्रमव्यवस्थः’ विवरणले त्यसबखत एकातिर वर्णा श्रम व्यवस्था राज्य सञ्चालनको प्रमुख आधार थियो भन्ने देखाउँछ भने अर्कोतिर राज्य त्यसैलाई आधार बनाएर जनतामाथि वर्णा श्रमको विभेदका आधारमा विभाजित गर्न लागिपरेको तथ्य देखिन्छ। जयदेव द्वितीयको ज्ञानेश्वर अभिलेखमा प्रयुक्त ‘वर्णोत्तमा भूमिदेवास्स्मार्तशास्त्राणाम्’ले उनी शास्त्रमा उल्लेख भएको स्थितिअनुसार शासन सञ्चालन गर्थे भन्ने देखाउँछ। यी सबै विवरणले धर्मशास्त्रअनुसार न्याय सम्पादन गर्न धर्मशास्त्रका ज्ञाता ब्राह्मणहरूको राज्य सञ्चालनको उपस्थिति रहेको देखिन्छ। कर्मकाण्ड, शास्त्र, देवदेवीको मन्दिर स्थापना आदि कार्य खास किसिमका सम्प्रदायका ब्राह्मणहरूबाट मात्र गरिने प्रचलन रहेका कारण ती कार्यका लागि तत् तत् समुदायका ब्राह्मणको उपस्थिति रहेको सहजै बुझ्न सकिन्छ। ‘विष्णोर्भागवतान् मंगाश्च सवितुः शम्भोः सभस्मद्विजान्। मातृणामपि मण्डलक्रमविदो विप्रान् विदुब्र्रह्मणः। ...ये य देवमुपा िश्रताः स्वविधिना तैत्तस्य कार्या क्रिया।।’ भन्ने वराहमिहिरकृत बृहत्संहितामा उल्लिखित कथनले हरेक सम्प्रदायका मूर्तिहरूमा प्राणप्रतिष्ठा तोकिएकै उपासक सम्प्रदायका ब्राह्मणबाट गराइनुपर्ने व्यवस्था गरिएको पाइन्छ। यसले नेपालमा यहाँ देवदेवीके मूर्ति स्थापना गर्ने र धर्मशास्त्र, वेद वेदांगको सार्वजनिक अध्ययन, नियमन, न्याय परिशीलन आरम्भ भएदेखि नै ब्राह्मणहरूको उपस्थिति रहेको प्रस्टिन जाने रेग्मीले विभिन्न अभिलेख, परिघटनाहरूको विश्लेषण गरेर उल्लेख गरेका छन्। पुस्तकमा नेपाली ब्राह्मणहरूको सम्बन्ध इरानसम्म पनि फैलिएको र राज्यसत्ताको निकट रहेका ब्राह्णहरूले सत्ता षड्यन्त्र चर्काउन गरेको कतिपय तिकडमको रोचक विवरण पनि भेटिन्छ।

लिच्छविकालदेखि मध्यकालसम्म नेपाली ब्राह्मणहरूको नामको अन्तमा सोमशर्मा भनेर जोड्ने गरेको प्रचलनले सोह्रौं शताब्दी यता काठमाडौं उपत्यकामा रचित मानिएको स्वस्थानी कथामा उल्लेखित पात्र सोम शर्मा ब्राह्मणको कथा यहीँका ब्राह्मणहरूको नामको प्रचलनबाट प्रतिलिपि गरिएको थियो भन्ने देखिन्छ। प्रारम्भिककालमा पाशुपत या कापालिक र वैष्णवअन्तर्गतका भट्टहरू कालान्तरमा कसरी पानी नचल्ने कुसले, भाका रूपमा अछूत बनाइए भन्ने रोचक विवरण पनि पुस्तकले समेटेको छ। उपत्यकाभित्र, बाहिर, सुदूरपश्चिम, पश्चिम, माझ नेपाल, पूर्वी नेपालमा विभिन्न कलखण्डमा कहाँबाट कसरी ब्राह्मणहरू आजको नेपाली सरहदभित्र प्रवेश गरे र तिनको फैलावट, बसाइँसराइ र अवस्था के–कस्तो रह्यो भन्ने विवरण पुस्तकले दिन्छ। तर, पुस्तक पढ्दै जाँदा रेग्मीले आफ्नो पुराना सभा सम्मेलनमा, एनजीओका कार्यक्रमहरूमा पेस गरेको प्रतिवेदनलाई पुस्तकको रूप दिएर छापेको पाउँदा भने पाठकलाई निकै नमीठो लाग्ने स्थिति छ। पुराना प्रतिवेदनलाई पुस्तकका रूपमा प्रकाशित गर्न मिल्दैन भन्ने टिप्पणीकारको मत होइन। तर कम्तीमा पुस्तकमा तत् तत् सामग्री राख्दा सामान्य सम्पादनसमेत नगरी जस्ताको तस्तै रख्नु भनेको रेग्मीले पाठकहरूको पठन योग्यतामाथि हद दर्जाको हेलचेक्य्राइँ गरेको भन्न डराउनु पर्दैन। ‘बाहुनमा केन्द्रित यस प्रतिवेदनबाट तत्कालीन समाजको अन्य पक्षलाई...(पृ२)’, ‘समाजको महŒवपूर्ण अंगका बारेमा तयार पारिएको प्रस्तुत प्रतिवेदनले...(पृ२)’ ‘यस्तै आधारमा यस प्रतिवेदनको निमार्ण भएको छ (पृ ६)’, जस्ता अनेकन पटक दोहोरिने हरफहरूले रेग्मी जत्तिको गम्भीर अनुसन्धानात्मक कार्य गर्ने भनेर प्रतिष्ठित प्राध्यापकले आफ्ना प्रतिवेदनलई सामान्य सम्पादनसमेत नगरी किताबको रूप दिनुपर्ने कार्य उनको कुनै बाध्यता हो कि प्राज्ञिक हेलचेक्य्राइँ भन्ने गम्भीर सवाल खडा हुन्छ।

०००

आफ्ना पुराना पुस्तकहरूको तुलनामा रेग्मी यस पुस्तकमा निकै फितलो तवरले प्रस्तुत भएको सहजै महसुस हुन्छ। प्रथमतः यस पुस्तक तयार गर्न रेग्मीले रत्तिभर आफ्नो स्वतन्त्र अनुसन्धानको बाछिटासम्म पनि यसमा उपस्थित गराउने कोसिस गरेका छैनन्। विभिन्न समयमा विभिन्न लेखकले प्रकाशित गरेको मुख्यतः अभिलेख विवरण, पुस्तकहरूमा उल्लिखित विवरणहरूमा खेलेर रेग्मीले यो पुस्तक तयार पारेको देखिन्छ। खासगरी धनवज्र वज्राचार्य संकलित, सम्पादित ‘लिच्छविकालको अभिलेख’, ‘मध्यकालका अभिलेख’ र ‘पूर्वमध्यकालका अभिलेख’मा समावेश भएका अभिलेखमा उल्लिखित विवरणहरूमा खेलेर त्यहाँ उल्लिखित ब्राह्मणहरूलाई साक्षी मानेर उनले यो पुस्तक तयार पारेको देखिन्छ। त्यसका अलावा वज्राचार्य र ज्ञानमणि नेपालकृत ‘ऐतिहासिक पत्रसंग्रह’, योगी नरहरिनाथका इतिहास प्रकाशका विभिन्न अंक, महेशराज पन्त र दिनेशराज पन्तका पूर्णिमा र अन्य पत्रिकामा प्रकाशित लेख, पुस्तक, मोहनप्रसाद खनालले प्रकशित गरेका विभिन्न अभिलेखमा उल्लिखित विवरणहरूमा खेलेर यो पुस्तक तयार भएको छ। यसमा रेग्मीको स्वतन्त्र खोज केही देखिँदैन। यसअघि प्रकाशित नभएका नयाँ तथ्यपूर्ण सामग्री या विचार प्राप्त गर्ने पाठकको अभिलाषालाई अन्वेषकको सार्वजनिक छवि बनाएका रेग्मीको यो पुस्तकले धुलिसात पारिदिन्छ।

०००

यताका दिनमा नयाँ तथ्यहरू या विवरण, अभिलेख प्राप्त गर्न सकिने अवस्था नरहेको कुरा स्वीकार गरेर रेग्मीमाथिको अपेक्षालाई पाठकीय महŒवाकांक्षा नै मान्न पनि सकिएला। र, त्यसलाई घटाएर पूर्वप्रकाशित अभिलेखमा उल्लिखित विवरणमा आधारित भएर तयार गरिएको नवसामग्री र रेग्मीको विश्लेषणको लागि यो पुस्तक पढ्न जरुरी मान्न पनि सकिएला। तर, त्यही अपेक्षालाई समेत निमोठ्न रेग्मी यस पुस्तकमा पानापिच्छे जस्तो कटिबद्ध भएर प्रस्तुत भएका भेटिन्छन्। पुस्तकभर ‘अनुमान गर्न खोजिएको हो..’, ‘मान्न सकिने देखिन्छ..’, ‘हुनुसक्ने अनुमान गरिएको छ..’, ‘अनुमान गर्न सकिन्छ..’, ‘हुन सम्भव देखिनाले..’, ‘सूचनाहरूको विश्लेषणको ज्यादै श्रम र समय साध्य कामलाई हाल थाती राखेर...’, ‘ऐतिहासिक सामग्रीहरूको तुलनाको काम हाल सम्भव नभएकाले’ जस्ता पानापिच्छे दोहोरिइरहने शब्दहरूले अनुमानका भरमा, सामग्रीहरूको विश्लेषणको सामथ्र्यको अभावमा रेग्मीले पुस्तक निकाल्ने बाध्यता पाठकीय अपेक्षा निमोठ्नकै लागि त होइन भन्ने प्रश्न उठ्छ। जे होस्, पुस्तक पढ्नुअघि विशिष्ट खोजको अपेक्षाभन्दा पनि यसअघि नै प्रकाशित भएका विभिन्न अभिलेखमा खेलेर रेग्मीले तयार गरेको सामग्रीहरूको समुच्च स्वरूप हो भन्ने धारणासहित पाठकको पठन अभिप्रेरित भएमा पाठकीय अपेक्षामा ठेस लाग्ने छैन।

@gaunkomanchhey


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.