'बम हल्ला' ले जनकपुरमा त्रास
जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको कार्यालयमा आइतबार राती ९ बजे १०० नम्बरमा फोन आयो ।'संकट मोचन नजिकैको बस्तीमा बम छ, आइदिनुपर्यो।' खबरलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीको कमाण्डमा बम भनिएको स्थानमा प्रहरी टोली पुग्यो । त्यतिबेलासम्म त्यहाँ हेर्नेको बाक्लो भीड लागेको थियो।
सडकमा बाक्लो भीड र त्रासका कारण घर-घरबाट मानिस निस्केर बम हेर्न भीड लागेको थियो । सडकमा लागेको भीडले नै दुवैतिरको आवत-जावत समेत बन्द गरेको थियो । त्यतिकैमा प्रहरीको टोली आएर शंकास्पद वस्तुलाई चारैतिरबाट घेरा हाल्यो र नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलायो।
यत्तिकैमा रातको करिब साढे ११ बजे नेपाली सेनाको टोलीले रात्रिकालीन बम डिस्पोजल समस्या हुने बताए । डिस्पोजलमा समस्या भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बाटो पूर्ण बन्द गर्न लगाइयो । रातभरि प्रहरीले त्यही बम भनिएको वस्तुलाई सुरक्षा दिइरहयो।
सोमबार बिहान करिब १० बजे नेपाली सेनाको टोली शंकास्पद वस्तु बम भएको आशंकामा निस्क्रिय पार्ने प्रयासमा जुट्यो । तर उक्त बम भनिएको शंकास्पद वस्तु राइसकुकरमा माटो तथा तार बेरेर राखेको भेटियो । भेटिएको वस्तु बम नभएको समेत पुष्टि भयो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीका अनुसार कुकरभित्र कागज, माटो र केही तार मात्र भएको भेटियो।
फेरि लगत्तै अर्को बम भएको खबर आयो । एउटा बम भेटिएको झण्डै अढाइ सय मिटर पर अर्को शंकास्पद वस्तु बम भेटियो । जनकपुरधामको बाह्रविघा रङ्गभूमि मैदानको उत्तरपूर्वी ढोकाको फोहर फाल्ने ठाउँमा अर्को बम भेटिएको स्थानमा नेपाली सेनाको डिस्पोजल टोली पुग्यो । त्यसलाई समेत निस्क्रिए गर्यो । बम भनिएका गोलो बनाएर राखिएको कागजको पोका थियो ।
यसैगरी धनुषाकै धनुषाधाममा अर्को बम भेटिएको खबर आएको छ। धनुषाधाम नगरपालिका ५ श्रीपुरको माध्यमिक विद्यालयमा बम भेटिएको प्रहरीले जनायो ।धनुषाधाममा समेत नेपाली सेनाको डिस्पोजल टोली गइरहेको र त्यहाँ गएपछि थप कुरा आउने प्रहरी नायव उपरीक्षक कार्कीले बताए।
यसअघि गत शुक्रबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा बम बिस्फोट हुँदा एक प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको थियो । त्यो घटना नसेलाउँदै पुनः ठाउँठाउँमा शंकास्पद वस्तु भेटिन थालेपछि जिल्लामा त्रास छाएको छ।