सिनेमाका कर्मठ ‘पाहुना’
बोर्ड अध्यक्ष नियुक्त भएपछि भट्टराई फिल्म क्षेत्रका लागि ठोस योगदान गर्ने हुटहुटीमा थिए। २०२६ सालमा बनेको चलचित्र ऐनको भरमा चलिरहेको उद्योगलाई दिशा दिन उनी नयाँ चलचित्र ऐन बनाउने र त्यसलाई पारित गर्ने प्रक्रियामा लागेका थिए।
दिनमा घाम भए रातमा जून
जति हाँसौँ, जति बाँचौँ, दुई दिनको पाहुना
भावीले नै लेखे पनि भाग्य आफैँ कोर्नुपर्ने
बाँच्ने आशिष दिए पनि उमेरलाई चोर्नुपर्ने
मुटुमा माया आँखामा पानी ढलपल गर्ने यो जिन्दगानी
बीचैमा साथ छाडेर जान्छन्, अधुरो बनेर कुनै कहानी।
केशव भट्राईले नै बनाएको फिल्म ‘पाहुना’ फिल्मको यो गीत यति चाँडै केशव भट्टराईकै जीवनसँग मेल खाला भन्ने कसैले पनि सोचेका थिएनन्। तर, यही मंसिरबाट ५२ टेकेका उनले आइतबार साँझ भावीबाट उमेर चोर्न सकेनन्। आफूपछि फिल्मलाई अधिक माया गर्ने भट्टराईले फिल्मकर्मीको अभिभावक संस्था चलचित्र विकास बोर्डकै प्रांगणमा देहत्याग गरे। बिसञ्चो भएको आशंकामा बोर्डबाट नजिकै रहेको ओम अस्पताल पुर्याउँदा डाक्टरले उनको निधन पहिले नै भइसकेको जानकारी गराएका थिए।
२०२५ साल मंसिर ४ गते ओखलढुंगामा मेघराज भट्टराई र नन्दकुमारीको कोखबाट जन्मिएका उनी फिल्म भनेपछि हुरुक्कै हुन्थे। विद्युत प्राधिकरणको लगनखेल शाखाको तल्लो तहबाट जागिर सुरु गरेका उनी फिल्मप्रेमकै कारण निर्देशक तुलसी घिमिरेसँग नजिकिएका थिए। उनका नातेदार प्रदीप भट्टराई तुलसी घिमिरेको फिल्ममा पर्दापछाडि रहेर काम गर्थे। उनै प्रदीपले घिमिरेसम्म पुर्याएका थिए। बहाना थियो, घिमिरे निर्देशित फिल्म ‘लाहुरे’को सिल्भर जुबिली कार्यक्रम। भीडभाडको यही चिनजानलाई गाढा बनाउँदै उनले घिमिरेको ‘कोसेली’मा एक दृश्यमा अभिनय गर्ने मौका पाएका थिए। ‘१७ दिन लगनखेलबाट बनेपा धाएपछि कोसेलीमा एक दृश्य पाएको थिएँ,’ केही दिनअघि मात्र पंक्तिकारसँग उनले फिल्म क्षेत्रमा गरेको संघर्ष बताउने क्रममा भनेका थिए, ‘‘चिनो’ सुटिङ गर्ने क्रममा भारतबाट आएका सामान जोगवनी नाकाबाट सकुशल निकालेपछि बल्ल ‘चिनो’मा ठूलो भूमिका पाएको थिएँ।’
तर, जोगवनीसम्म पुग्न पनि उनले एउटा अग्निपरीक्षा दिनु परेको थियो। जोगवनी सुटिङका सामान लिन हिँडेका भट्टराईले बीचैमा मुग्लिङमा भाञ्जा चढेको गाडी दुर्घटना भएको समाचार पाए। तर, मुग्लिङमा रोकिनुपर्ने उनी जोगवनी पुगेर मात्र रोकिए। ‘सम्बन्धको माया मारेर यो क्षेत्रमा आएको हो, मित्र,’ उनले सो भेटमा भनेका थिए।
सोही समयदेखि घिमिरेको निकट रहेका उनी पछिसम्मै तुलसी घिमिरे क्याम्पका कलाकार भनेर चिनिन्थे। उनले घिमिरेको निर्देशन रहेका ‘दुई थोपा आँशु’, ‘दक्षिणा’, ‘मितज्य’, ‘रहर’ र ‘बलिदान’मा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। तर, ‘बलिदान’पछि भने उनले तुलसी घिमिरे क्याम्प छाडे। घिमिरेकै फिल्मबाट आर्ट सेक्सनमा काम गर्ने दयाराम दाहालसँग मिलेर फिल्म बनाउन सुरु गरे। दुवैको पहिलो सहकार्य रहेको ‘दौतरी’ सुपरहिट भयो। निर्माणमा दाहालसँगको सहकार्य बाँकी दुई फिल्म ‘ठूल्दाइ’ र ‘कर्मयोद्धा’सम्म चल्यो। जसमध्ये ‘कर्मयोद्धा’ औसत रहे पनि ‘ठूल्दाइ’ ले सय दिन मनाउने फिल्मको कीर्तिमान कायम गर्यो। तर, दुवै फिल्ममा भट्टराई साइलेन्ट प्रोड्युसर रहेको दाहाल बताउँछन्। ‘केशव र म फिल्ममा एकैदिन आएका हौँ,’ उनले भने, ‘‘चिनो’मा उनी कलाकार थिए भने म कला निर्देशकको समूहमा थिएँ। पुरानो साथी भएकाले बोर्डमा हाम्रो असाध्यै राम्रो ट्युनिङ थियो। धेरै काम गरुँला भन्ने थियो तर बीचैमा छाडेर गए।’ भट्टराईले निर्माताका रूपमा ‘आफ्नो मान्छे’, ‘देवरबाबु’, ‘पाहुना’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ आदि फिल्म बनाएका थिए भने तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेका थिए।
केशव भट्टराई फिल्म क्षेत्रमा उदाहरणीय कलाकार थिए। तर, उनी उदाहरणका रूपमा आउँथे, कमाउने र गुमाउने निर्मातामा। ‘आफ्नो मान्छे’ फिल्मबाट लाखौँ कमाएका उनले यही फिल्मको पैसाले काठमाडौँमा घर बनाएका थिए। तर, ‘पाहुना’ र ‘सो सिम्पल’मा नराम्रोसँग डुबेपछि उनी घर बेचेर डेराकै जीवनमा फर्किएका थिए। ‘घरबाट चम्चा पनि नलिई डेराको जीवनमा फर्किएको थिएँ,’ भट्टराई बारम्बार भन्ने गर्थे, ‘नीतिगत रूपमा बलियो नबनाएसम्म धेरै निर्माताको हालत मेरोजस्तै हुन्छ।’
सोमबार बिहान उनको देहावसानको खबर पाएका श्रवण घिमिरेलाई उनको मृत्युको खबर अझै पनि सिनेमाजस्तो लागिरहेको छ। केही दिनअघि मात्र मोटाएको ज्यान देखेर योगाभ्यास गर्न सुझाएका उनले यति चाँडै अप्रिय खबर सुन्नुपर्ने कल्पना गरेका थिएनन्। ‘केशवजी घरको परिवारको सदस्य हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँ महिनौँ हाम्रो कालिम्पोङको घरमा बस्नुभएको छ। सुरु–सुरुमा प्रोडक्सनमा हामीलाई खूब सहयोग गर्नुभएको थियो। कलाकारका रूपमा पनि पहिलाका फिल्मको तुलनामा धेरै राम्रो गर्न थाल्नुभएको थियो। केही दिनअघि मात्र पनि भेट हुँदा ज्यान मोटाएको देखेर ४० कटेपछि अभ्यास गर्नुपर्छ भनेर सम्झाएको थिएँ। तर, यति चाँडै अप्रिय खबर सुन्नुपर्यो।’
गत वर्षको चैत ४ मा बोर्ड अध्यक्ष नियुक्त भएका भट्टराई फिल्म क्षेत्रका लागि ठोस योगदान गर्ने हुटहुटीमा थिए। यही हुटहुटीका कारण २०२६ सालमा बनेको चलचित्र ऐनको भरमा चलिरहेको उद्योगलाई दिशा दिन उनी नयाँ चलचित्र ऐन बनाउने र त्यसलाई पारित गर्ने प्रक्रियामा लागेका थिए। अहिले सो ऐन संसद्मा टेबल भईकन विभिन्न मन्त्रालयमा घुमिरहेको छ। त्यसै गरी, उनले काठमाडौँबाहिर बक्स अफिस कार्यान्वयनमा ल्याउनुका साथै उपत्यकानजिकै इन्डोर स्टुडियो स्थापनाका लागि पनि पहल थालेका थिए। केही दिनअघि मात्र सो ठाउँमा फिल्म म्युजियम स्थापनाका लागि ब्रिटिस काउन्सिलसँग सम्झौतासमेत भएको थियो।
आइतबार पनि भट्टराई फिल्मकै कामले बेलुकीसम्म सञ्चार मन्त्रालयमा सदस्य सचिव महेन्द्र साँखीसँगै थिए। आउँदो माघमा प्रदेश नं. ५ को भैरहवामा फिल्म महोत्सव गर्ने बोर्डको तयारी थियो। सोही कार्यक्रमको तयारी सञ्चारमन्त्रीसँग ब्रिफ गर्न दुवै साँझसम्म मन्त्रालयमा बसेका थिए। भट्टराईसँग छुटेर साँखी घर मात्र के पुगेका थिए, बोर्डका कर्मचारीले फोन गरे। ‘मन्त्रीज्यूलाई देखाउने पावरप्वाइन्ट तयार गर्नू है, भोलि हेर्छु’ भनेर कीर्तिपुर जानुभएको थियो,’ साँखीले दुःखी हुँदै भने, ‘तर, छुटेको दुईतीन घण्टामै सदाका लागि आँखा चिम्लनुभो।’
मन्त्रालयबाट छुटेका भट्टराई बोर्डकै सदस्य तथा फिल्म निर्माता नरेन्द्र महर्जनको कीर्तिपुरस्थित घर गएका थिए। त्यहाँ खानपिन गरेर फर्किएका उनी बाटोमै सिकिस्त भएका थिए।
उनी सोमबार कलाकार दीपक क्षत्रीको आर्यघाटमा अन्त्येष्टि सकेर हेटौँडा जाने तयारीमा थिए। तर, नियतिको खेल, सोमबार भट्टराई क्षत्रीकै शव छेउ जलिरहेका थिए। दुवैको शवलाई आर्यघाटमा लग्नुअघि बोर्ड परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो भने आर्यघाटमा दुवैलाई राष्ट्रिय सम्मान प्रदान गरिएको थियो।