ती सुनौला दिन...

ती सुनौला दिन...

उमेरले युवा भए पनि अहिले हामी धेरैको सोच अवकाशप्राप्तहरूकै जस्तो छ। त्यसैले त हामी आजको यथार्थ बुझ्ने र भोलिको परख गर्नेभन्दा हिजोलाई सम्झेर रमाइरहेका छौं।


सान्ना र जंगबहादुर

सान्ना मरिन विश्वकै सबैभन्दा कान्छी बहालवाला प्रधानमन्त्री बनिन्। सरल रेखामा चराझैं उड्दै जाने हो भने उनी प्रधानमन्त्री बनेको देश पुग्न नेपालबाट साढे पाँच हजार किलोमिटरभन्दा बढी दूरी पार गर्नुपर्छ। तर उनी प्रधानमन्त्री बन्ने खबर साढे पाँच सय सेकेन्ड पनि नलगाई नेपाल आइपुग्यो, साइबर साङ्लाहरूबाट।

नेपालबाट निकै टाढा पश्चिमोत्तर दिशामा पर्ने युरोपेली महादेशको फिनल्यान्डबाट जसै सान्नाले शपथ लिने समाचार बाहिरियो, हामीमध्ये कतिमा राष्ट्रियताको भावना भेल बनेर उर्लियो। कतिले गुगल गरे त केहीले सामान्यज्ञानका पुस्तक पल्टाए। अनि, सामाजिक सञ्जालमा लेख्न भ्याइहाले, ‘हामी फिनल्यान्डभन्दा दुई सय वर्ष अगाडि छौं।’ सान्ना र प्रथम राणा शासक जंगबहादुरको तस्बिर सँगसँगै राख्दै नेपाल फिनल्यान्डभन्दा दुई सय वर्षअगाडि छ भन्नेहरूको तर्क थियो— जंगबहादुर २९ वर्षमै प्रधानमन्त्री बनेका थिए।

युवालाई अवसर दिने मामिलामा नेपाल फिनल्यान्डभन्दा निकै अगाडि थियो भन्ने देखाउन खोज्नेहरूलाई न जंगबहादुर कसरी शासनसत्तामा उदाएका थिए भन्नेमा चासो छ न त उनले गराएका कोत र भण्डारखाल पर्वप्रति खेद। के मात्र थाहा छ भने— ‘वाह ! नेपाल त संसारका सबैभन्दा प्रगतिशील, शक्तिशाली र स्वर्णिम थियो।’ तिनले बाबुराम आचार्यको ‘अब यस्तो कहिल्यै नहोस्’ मात्र पढ्ने जाँगर देखाएका भए थाहा पाउने थिए— जंगबहादुर को थिए र कसरी नेपालको शासनसत्तामा उदाए ?

यद्यपि, आजको प्रश्न जंगबहादुर को थिए र सान्नासँग तिनको तुलना गर्ने कि नगर्ने भन्ने होइन। हामीमा किन यस्तो सोच विकसित भइरहेको छ भन्ने हो। जब कहीँकतै कुनै नयाँ कुराहरू हुन्छन् अनि हामी किन हाम्रै विगतमा त्यस्तै कुराहरू खोजेर रमाउन चाहन्छौं ? त्यस्तो प्रवृत्ति विकसित हुनुको कारण र निराकरण के हो ? तर हाम्रो बहस त्यतातिर गएको छैन। हामीले यस्ता विषयमा मथिंगल घुमाएकै छैनौं।

बस् ! हामीलाई त देखाउनु छ— ‘हेर हाम्रो इतिहासमा यस्ता सुनौला दिन थिए, ती तिम्रा आजका सुखद क्षणहरूभन्दा उच्च थिए।’

आत्मपूजन

स्वभावतः मान्छे आत्मपूजक नै हुन्छ। चाहे धनी होस् वा गरिब, पुरुष होस् वा महिला, बालक होस् वा वृद्ध। तर सधैं आत्मपूजामै मग्न हुनेलाई अंग्रजीमा ‘नार्सिसिस्ट’ भनिन्छ। साइबरको जालो र सामाजिक सञ्जालको साङ्लोमा जेलिएको अहिलेको समाजमा ‘नार्सिसिज्म’ सबैभन्दा प्रबल मानवीय स्वभाव बन्दैछ। त्यसको प्रतिछाया समाजका हर क्षेत्र र तहतप्कामा देखा पर्दैछन्।

र, समाजमा एउटा ठूलो चिन्ताको विषय बन्दैछ, साइबरको जालोले विकसित गराइदिएको यो नयाँ मानवीय प्रवृत्ति।

सान्नासँग जंगबहादुरको तुलना गर्नेहरूमा ‘नार्ससिज्म’को प्रभाव छ वा उनीहरूलाई अर्कै कुनै मनस्थितिले यस्तो गर्न प्रेरित गरिरहेको छ ? यी प्रश्नका उत्तर खोज्नुअघि नेपाली समाजमा अहिले कस्ता बहसले ठाउँ पाइरहेका छन् भन्ने जान्नु उचित हुनेछ।

देशमा बढिरहेको लोकप्रियतावादी उग्र राष्ट्रवादका माझ समाजवादी लोकतान्त्रिक धारकी प्रधानमन्त्री बन्न पुगेकी सान्नालाई जहाँनिया राणा शासनका आरम्भकर्तासँग तुलना गर्नेहरूमा पनि लोकप्रियतावादी उग्र राष्ट्रवादकै छाया देख्न सकिन्छ। तिनमा इतिहासको ‘नोस्टाल्जिया’मा रमाउने एउटा गजबको मोह पाइन्छ, अनि वर्तमानप्रतिको मोहभंगता र निराश्रित भविष्यप्रतिको निराशा।

वर्तमान अवस्थामा नेपालीहरूलाई कुनै मनोवैज्ञानिक प्रयोगशालामा लगेर परीक्षण गर्ने हो भने हामी अधिकांश यही अवसादबाट ग्रस्त भेटिनेछौं— इतिहासप्रति गौरवान्वित, वर्तमानप्रति वितृष्ण र भविष्यप्रति निराश।

आज देशको प्रधानमन्त्री आफूले हिजो जेलमा भोगेको कथा त लेखिरहेका छन् तर कैदीमाथि कैदी र बन्दीमाथि बन्दी किचिएर बस्नुपर्ने अहिलेको यथार्थलाई सुधार गर्ने पहल गरिरहेका छैनन्। नेताहरू आफ्नो पार्टी संस्थापकहरूको सिद्धान्तबारे प्रवचन दिइरहेका छन् तर सेकेन्ड सेकेन्डमा विज्ञानले फड्को मारेर परिवर्तन भइरहेको समाज सुहाउँदो विचार बनाउन सकिरहेका छैनन्।

लेखकले नयाँ प्रयोग गर्दैन र दशकअघि ‘मैले यो लेखेको थिएँ’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गर्छ। प्राज्ञहरू अनुसन्धानभन्दा बढ्दा आत्मप्रशंसा गर्दै लामा प्रवचन दिन उद्यत छन्, जहाँ उनीहरू दशकौंअघि आफूले गरेका ‘डेट एक्स्पायर्ड’ अनुसन्धानका ‘सिनप्सिस्’हरू सुनाउँछन्। पत्रकारले रिपोर्टिङ गर्दैन तर द्वन्द्वकालमा माओवादी वा सेनाले बन्दुक तेस्र्याएको संस्मरण लेखेर वाहवाही पाउँछ।

समग्रमा हामी पुसको जाडोमा सिरक ओडेर वातानुकूलित कोठामा सुत्छौं र तुसारो र शीतका थोपा कुल्चँदै हाम्रा पुर्खाले शत्रुसँग लडेको वीरगाथा गाउँछौं। बुद्ध यही देशमा जन्मिएका हुन् भन्ने नारा लगाउँदै झन्डा बोकेर गिनिज बुकमा नाम लेखाउन त जान्छौं तर बुद्ध बितेको २५ सय वर्षपछि पनि एउटा गतिलो दार्शनिक जन्माउन सक्दैनौं।

अनुभव र अवकाश

अनुभव र अवकाशप्राप्तबीच त्यत्तिकै फरक छ जत्ति फरक सफलता र असफलताबीच छ, हार र जितबीच छ। अनुभवीले अनुभव बाँड्छ र नयाँ पुस्तालाई असहज बाटो कसरी सहज ढंगले पार गर्ने भन्ने चेत दिनसक्छ। अवकाशप्राप्तले पनि अनुभव त हासिल गरेको हुन्छ तर उसले आफ्नै इतिहास सुनाउँछ र नयाँ पुस्तालाई पनि उसकै गौरवगाथामा रमाउन सिकाउँछ। नेपालको अधिकांश प्रौढ पुस्ता अहिले अवकाशप्राप्त जीवन बाँचिरहेको छ, जसले नयाँ पुस्तालाई नयाँ युगअनुसार अघि बढ्ने होइन, आफ्नै इतिहासमा गौरव गर्ने कुरा मात्र सिकाइरहेको छ।

यो देशको सबैभन्दा ठूलो विडम्बना त के हो भने देश नै अवकाशप्राप्तहरूले चलाइरहेका छन्। जीवनका ऊर्जाशील वर्षहरू कि सुविधामा कि अभावमा गुजारेका ती अवकाशप्राप्तहरूमा देश चलाउने रणनीति र कार्ययोजना होइन, आफ्नै वा पुर्खाको इतिहासका किस्साहरूको पोको मात्र छ। बेलाबेला तिनीहरू त्यही किस्साको पोको फुकाउँछन् र जनतालाई कहिले हिमालको, कहिले यतीको, कहिले ऋषिमुनिको त कहिले गैंडाको किस्सा सुनाउँदै रोमाञ्चित बनाउँछन्। वर्तमानप्रतिको चरम निराशाले आफ्नै विगत सम्झँदै रोमाञ्चित हुन थालिसकेका जनता पनि के कम ! कुनै नाटकको घतलाग्दो दृश्य देखेर ताली बजाउने दर्शकझैं तिनै अवकाशप्राप्तहरूका किस्सा सुनेर हुटिङ गर्छन् र ताली बजाउँछन्।

जनभावना बुझेरै होला, वैकल्पिक राजनीतिको मञ्चमा पनि तिनै अवकाशप्राप्तहरू आइपुगेका छन्— कोही देश खाएर शेष भएका, कोही दल चहारेर अघाएका र कोही जीवनका पचास वसन्तसम्म विदेशी दाताको रकममा रजाइँ गरेपछि राष्ट्रवादी बनेका। तिनले सुनाउने किस्सा विश्वस्तरका छन्, सपना कल्याणकारी राज्यका छन् अनि आफ्नै सन्तानको भविष्यचाहिँ सान्ना मरिनकै जस्तो देशमा खोजिरहेका छन्।

देश चलाउनेदेखि वैकल्पिक राजनीति गर्नेसम्म, प्राज्ञदेखि लेखकसम्म, कर्मचारीदेखि पत्रकारसम्म, उद्योगीदेखि कृषकसम्म सबै अवकाशप्राप्तले भरिएपछि नेपाल भन्ने देश अहिले अवकाश पाएका मानिसहरूले बुढ्यौली कटाउने कुनै टापुजस्तो बनेको छ। हुन त जनसांख्यिकीय हिसाबले नेपाल युवाहरूको देश हो। तर यथार्थ त्यसको ठीक उल्टो छ— उमेरले युवा भए पनि अहिले हामी धेरैको सोच अवकाशप्राप्तहरूकै जस्तो छ। त्यसैले त हामी आजको यथार्थ बुझ्ने र भोलिको परख गर्नेभन्दा हिजोलाई सम्झेर रमाइरहेका छौं।

हिस्टोरिकल नोस्टाल्जिया

चिकित्सा विज्ञानका एकजना विद्यार्थी योहानेस होफरले सन् १६८८ मा पहिलो पटक प्रयोग गरेको शब्द हो— नोस्टाल्जिया। ग्रिक भाषाका नोस्टस् (घर फर्कनु) र अल्गोस् (पीडा) मिलेर बनेको यो शब्दको सीधा अर्थ हुन्छ— घरको यादले सताउने पीडा अर्थात् सामान्य अर्थमा गृहातुरता (होम सिकनेस)। होफरले तत्कालीन समयमा घर छाडेर लामो समय टाढा रहने स्विस सेनामा देखिएको मानसिक तनावलाई व्याख्या गर्न यो शब्द चलाएका थिए। तर समयक्रममा नोस्टाल्जिया शब्दको प्रयोग धेरै व्यापक मात्र भएन, मानसिक रोगलाई व्याख्या गर्न प्रयोग गरिएको शब्द कला र साहित्यमा त सकारात्मक अर्थमा प्रयोग हुन थाल्यो। होफरको अनुसन्धानमा नोस्टाल्जियाबाट प्रभावित सेनामा तनाव, अनिद्रा र अरुचिसहित अन्य धेरै खाले लक्षणहरू देखिएका थिए।

अहिले हामी नोस्टाल्जियालाई सकारात्मक शब्दका रूपमा व्यापक प्रयोग गरिरहेका छौं। यसको प्रयोग चलचित्र, पत्रकारिता, साहित्य र कलामा अधिक भइरहेको छ। तर यो शब्दको जुन इतिहास थियो, त्यस्तै प्रयोग भने राजनीतिमा भइरहेको छ, नेपालमा मात्र होइन विश्वभर नै। त्यसको ज्वलन्त उदाहरण हो— अमेरिकी राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्पलाई विजयी बनाउने ‘मेक अमेरिका ग्रेट अगेन’को नारा। त्यस्तै लक्षण युरोपेली संघबाट बाहिरिने क्रममा रहेको बेलायतमा मात्र होइन, नजिकैको भारत र नेपालभित्रै पनि देखिइरहेकै छन्।

नोस्टाल्जिया नामक पुस्तकसमेत लेखेका सामाजिक मनोवैज्ञानिक क्ले राउटलेज् र उनका साथीहरू मिलेर सन् २०१४ मा गरेको एउटा अनुसन्धानले देखाएको छ— नोस्टाल्जियाले सम्भावित राजनीतिक शक्ति प्रकट गर्न मद्दत गर्छ। सन् २०१५ मा क्लेले एउटा अमेरिकी अनलाइन म्यागेजिनमा लेखेको आलेखमा भनेका छन्, ‘यद्यपि नोस्टाल्जिया प्रतिक्रिया हो, कारण होइन। जब व्यक्ति वर्तमानमा व्याकुल हुन्छ, केही मार्गदर्शन पाइन्छ कि भनेर विगत हेर्न पुग्छ।’

क्लेकै शब्द सापटी लिएर भन्ने हो भने अहिलेको नेपाली समाज वर्तमानप्रतिको वितृष्णाले नोस्टाल्जियामा पुगेको छ। ‘हिजो जुन विचार र सिद्धान्तले देश चलेको थियो, त्यो नै सबैभन्दा उत्तम रहेछ’ भन्ने मनस्थितिमा पुग्नु भनेकै सामाजिक चेतना नै नोस्टाल्जियामा पुग्नु हो। नोस्टाल्जिक हुनु वा पुराना यादमा रमाउनु आफैंमा गलत होइन। तर चौबीसै घण्टा नोस्टाल्जियामा रमाएर भोलिका लागि काम नगर्नुचाहिँ भविष्यलाई अन्धकारतर्फ धकेल्नु हो।

सिर्जनशील नोस्टाल्जिकहरूले पुराना यादलाई ताजा बनाउँदै र वर्तमानका चुनौतीको सामना गर्दै सुनौलो भविष्यको रेखा कोर्न थाल्छन्। अल्छीहरूले न वर्तमानको चुनौती चिन्ने कोसिस गर्छन् न भविष्यका लागि कुनै रेखाचित्र कोर्छन्। मात्र, पुराना यादहरू ताजा गर्दै ‘ती सुनौला दिन...’ भनेर दूबोको चउरमा बसेर घाम ताप्दै बदाम खान्छन्।

सान्ना मारिनसँग जंगबहादुरलाई तुलना गर्दै हाई काढेर बस्ने कि नोस्टाल्जियालाई एकातिर थन्क्याएर ‘अबका सुनौला दिनहरू...’का निम्ति जाँगर देखाउने ? नेपाल र नेपालीको भविष्य त्यसैले निर्धारण गर्नेछ।

@Pokharelbp


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.