सुस्तादेखि पशुपतिनगर : जे देखेँ

सुस्तादेखि पशुपतिनगर : जे देखेँ

तीन वर्षपहिले २०७३ मंसिर १५ बाट नवलपरासीको सुस्तादेखि इलामको पशुपतिनगरसम्म ‘सीमा बचाऔं अभियान’ लिएर निस्केका ३५ जना युवाहरूले के देखे, के ठाने र के लेखे ?


छिमेकी मुलुक भारतले नेपाली सीमा मिचेको समाचार नयाँ लाग्न छोड्यो। जब मिचेकै सीमामाथि भारतले थप दमन गरिरहन्छ, नेपालमा निरन्तर समाचार बनिरहन्छन्। २०७६ कात्तिक तेस्रो हप्ता कालापानी क्षेत्रसमेत समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा ठूलो तरंग आएको छ। भारतीय नक्साले सरकारदेखि सडकसम्म एकैपटक तरंग सिर्जना भयो। नेपालमा एकपटक पुनः भारतविरुद्ध ठूलो संघर्ष चलिरहेको छ।

हामी ठीक तीन वर्षपहिले २०७३ मंसिर १५ देखि नवलपरासीको सुस्तादेखि इलामको पशुपतिनगरसम्म ‘सीमा बचाऔं अभियान’ लिएर ३५ जना साथी निस्केका थियौं। सुस्ता नवलपरासीको बर्दघाटबाट त्रिवेणी हुँदै नारायणी नदी पार गरेर जानुपर्छ भन्ने ज्ञान भए पनि कसरी जाने ? सुस्ता जाने बाटो सजिलो नभएको कारण हामीलाई अन्योल थियो। यो त्यही नारायणी नदी हो, जहाँ झोलुंगे पुलसमेत छैन। वर्षामा नारायणी नदी डुंगा नै पल्टाउने गरी भयंकर भेल बनेर आउँछ।

जब सुस्ता पुगिन्छ, त्यो नेपाल नै हो भनेर भन्न धेरै गाह्रो पर्छ। दुई तिहाइ भूभाग त भारतले अतिक्रमण गरिसकेको छ। बचेको एक तिहाइ भूमिमा पनि भारतीय थिचोमिचो सहँदै नेपालीहरू बसेका छन्। लगाएको उखुको मूल्य पाउँदैनन्। धेरैजसो गरिब बस्ती छ। धनीहरू सुस्तामा किन पो बस्थे र ? सुस्ता र गरिबी एकअर्काका परिपूरजकजस्तै हुन्। ५ कक्षासम्म पढाइ हुने जनता दलित प्राथमिक स्कुल छ। त्यहाँ पढ्ने बालबालिका ५ कक्षा पूरा गरेपछि बाँकी पढाइका लागि भारत जानुपर्छ। दैनिक उपभोग्य सामग्री पनि भारतबाटै खरिद गर्नुपर्छ। भारतीय सेनाले सीमामा धेरै अभद्र व्यवहार गर्दछन्। आफ्नै देश नेपाल उनीहरूका लागि बिरानोजस्तै हो।

सुस्ता बचाऔं अभियानका गोपाल गुरुङको नेतृत्वमा त्यहाँ कैयौंपटक आन्दोलन भएको छ। उनीहरू काठमाडौंसम्मै आएर अनशन, जुलुस र धर्ना गरे। तर तिनीहरूको माग कहिल्यै सुनुवाइ भएन। गरिबहरूको सुनुवाइ कहाँ पो भएको छ र ?

सुस्ता गए पनि तिनीहरूको अनुहारमा उज्यालो ल्याइदिने तागत हामीमा थिएन। एकैछिनको ढाडसले उनीहरूको अनुहार उज्यालिने कुरै थिएन। किनभने काठमाडौं सुस्तावासीको आवाजलाई नसुनेझैं गरेर मौन थियो। हालसम्म पनि मौन छ। दुई तिहाइ भूमि जोगाउन त सकेन नै, बचेको करिब तीन हजार जनसंख्यालाई राज्यको प्रत्याभूति दिलाउन सक्ने हैसियत यो सरकारसँग थिएन, छैन र सायद अझै लामो समयसम्म हुनेछैन।

नारायणीपारिको अभागी गाउँ सुस्ताले पुस्तौंपुस्तादेखि सास्ती भोगेको छ। हामीले त्यही सुस्ता गाउँमा थुप्रै गाउँलेलाई भेला पारेर भारतीय साम्राज्यवादविरुद्ध नाराजुलुस गर्‍यौं। सुस्तावासीको आन्दोलनमा सँगै रहने बाचा गर्‍यौं। हाम्रा पर्चा र पोस्टरहरू वितरण गर्‍यौं। सम्पूर्ण गाउँलेले हामीलाई भावपूर्ण बिदाइ गरे। उखु खाने बेला भएको थियो। हामी उखुका लाँक्रा चुस्दै डुंगाबाटै फर्कियौं।

हामी सुस्तापछि चितवनबाट पर्साको ठोरी पुग्यौं। त्यो ठोरी त्यही थियो, जहाँबाट भारतले नाकाबन्दी लगाएको समयमा अत्यधिक मात्रामा पेट्रोल, डिजेल तस्करी भएको थियो। हामी जाँदा ठोरी सामान्य दैनिकीमा थियो। वीरगन्जदेखि ६० किलोमिटरभन्दा धेरैको दूरीमा रहेको ठोरीवासीको पीडा तिनीहरूलाई मात्रै थाहा छ। गोरखा, मकवानपुर, काभ्रेबाट बसाइँ सरेर गएकाहरू त्यहाँ बसोबास गरेका छन्। सुख खोज्दै गएका उनीहरू ससाना झुपडी बनाएर बसेका छन्। ठोरीको पारिपट्टि भारतमा भिखनाठोरी छ। त्यही भिखनाठोरीमा राणाहरूले सिकार खेल्न आएको बेलामा बस्नका लागि बनाइएको ठूलो दरबार छ। अहिले जीर्ण भएको त्यो दरबारलाई भारतीयहरूले कब्जा गरेका छन्। धेरै वर्षपहिले त्यो ठाउँमा रेल पनि आउने रहेछ। अहिले भने रेलका जीर्ण लिक मात्रै छन्। भिखनाठोरीमा भारतीय सीमा सुरक्षाबल एसएसबी छ। त्यही एसएसबीले बेलाबेलामा ठोरी र निर्मलबस्तीका बासिन्दालाई दिनुसम्म सास्ती दिइरहेको छ।

नेपालतिरको ठोरी र भारततिरको भिखनाठोरीको बीचबाट ठुटेखोला बग्छ। त्यो खोलामा सानासाना तीनवटा अस्थायी बाँध बाँधिएका छन्। दुईवटाबाट भारतले भवानीपुर र एकवा गाउँमा पानी लगेको छ भने एउटाबाट नेपालले निर्मलबस्तीतिर पानी लगेको छ। निर्मलबस्तीको रामनगर, बुद्धनगर, ब्रह्मनगरमा नेपाली भूमि सिँचाइ हुन्छ।

केही वर्षपहिले निर्मलबस्ती र ठोरीलाई जोड्ने गरी ठुटेखोलामा पुल बनाउन लागिए पनि भारतीयहरूले नदिएपछि बन्न सकेको छैन। चुरेको फेदीबाट निर्मलबस्ती र ठोरी जोडिन्छ। छेँडोले छेकिए पनि दुवै गाउँका नेपालीबीच सौहार्दपूर्ण सम्बन्ध रहिआएको छ। भारतीय अतिक्रमणविरुद्ध दुवै बस्तीका नेपाली एकजुट भएर लड्ने गर्छन्। निर्मलबस्तीमा झन्डै ६० प्रतिशत तामाङ बस्ने गर्छन्। निर्मलबस्तीका थारूहरूको हातमा लालपुर्जा छ तर जमिन भारतीयले मिचेका छन्। सुवर्णपुरबाट महादेवबस्तीसम्म एक सय ७० बिघा जमिन मिचिएको स्थानीयवासी बताउँछन्।

ठुटेखोलाको माथिपट्टि चुरेको जंगल, जसलाई स्थानीयवासी परेवा भीर भन्छन्, त्यहाँ भारतीय जोगीलाई कुटी बनाउन लगाएर त्यही कुटीलाई पिलर दाबी गरेर भारतीयले नेपाली भूमि कब्जा गरेपछि ठोरी र निर्मलबस्तीका हजारौं नेपालीले भारतीयलाई लखेटेका थिए। ठुटेखोलाबाट भारतीयले जबर्जस्ती ढुंगाबालुवा लैजाने गर्छन्। केही वर्षपहिले भारतीयले नेपालका प्रहरी, वन, भन्सारजस्ता सरकारी कार्यालयका छाना भत्काइदिने गर्थे। धेरै अत्याचार हुने रहेछ। हामीलाई घान्द्रुकबाट झरेका चित्रबहादुर न्यौपाने, काभ्रेबाट झरेका बलराम सापकोटाले त्यहाँको दुःखबारे धेरै बताए।

हामी त्यहाँ पुगेको दिन, भारतीयसँग बिहे गरेकी नेपाली महिला भागेर आइन्। भारतीयले कुटपिट र हेला गरेपछि आएकी रहिछन्। उनलाई जबर्जस्ती लैजान ठूलो संख्यामा भारतीयहरू त्यहाँ आएका थिए।

त्यसपछि हामी वीरगन्ज गयौं। त्यहाँ मितेरी पुलको नजिक भारतले नेपाली भूमि मिचेको छ। हामीले गरेको पत्रकार सम्मेलनमा धेरै हुलदंगा भयो। पत्रकारहरूले मेरोविरुद्ध नाराबाजी नै गरे। पछि बुझ्दा थाहा भयो कि तिनीहरू मधेसवादी दलका कार्यकर्ता रहेछन्। उनीहरू भारतले होइन, चीनले नेपाली भूमि मिचेको छ भन्दै गर्जिए। नेपाल पत्रकार महासंघको हलमा पत्रकार सम्मेलन आयोजना गरेका थियौं। बाहिर प्रहरीले घेरा हालेका थिए। प्रहरीले मलाई बढी सुरक्षित बनाउन खोजिरहेका थिए। किनभने त्यो टिमको नेतृत्व मैले नै गरेको थिएँ। हामीले कडा सुरक्षाका बीचमा मितेरी पुल र वीरगन्जमा कोणसभा सम्पन्न गरेका थियौं।

जब हामी बाराको कलैया आएर चोकमा कार्यक्रम गर्न थाल्यौं, मधेसवादी दलका नेताकार्यकर्ता आएर घेरा हाले। हामीले ‘छोडछोड विस्तारवाद नेपाल भूमि छोड’ भन्ने गीतमा एउटा नाच देखाएका थियौं र भाषण गर्न थालेका थियौं। तिनीहरू ममाथि झम्टिए। हाम्रा अन्य साथीमाथि पनि झम्टिए। प्रहरीले हामीलाई सुरक्षा दिन नसक्ने बतायो। हामीले छिटो कलैया छोड्नुपर्ने भयो। मधेसवादी दलका नेताकार्यकर्ताले हामीलाई मिचिएको भूमिसम्म जान पनि दिएनन्। म त त्योभन्दा पहिले पनि कलैया गएको थिएँ। तर अरू कोही पनि गएका थिएनन्। हाम्रो टिममा रहेका सबै साथी धेरै नै डराए। प्रहरीले नै सुरक्षा दिन सकिँदैन, छिटो जानुस् भनेपछि डर पैदा हुनु स्वाभाविक थियो। हामी छिटै कलैया छोडेर सिमरा आएर बास बस्यौं।

त्यसपछि हामी रौतहटको गौर पुग्यौं। गौर त झनै जानै नसकिने अवस्था थियो। रौतहटका तत्कालीन एसएसपी यज्ञविनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय अगाडि कोणसभा गर्न अनुमति दिए। मैले गाडीभित्रै साथीहरूको टिम विभाजन गरिदिएको थिएँ। चारजना साथीहरू पोस्टर टाँस्न जाने, बाँकी साथीले कोणसभा गर्ने, बढीमा दुईवटा गीत र नाच देखाउने। पाँचदेखि १० मिनेटर बोल्ने र २० मिनेटमा कार्यक्रम सकाउने। यसरी छापामार शैलीमा कार्यक्रम सम्पन्न गरेका थियौं। त्यहाँ अघिल्लो साँझदेखि नै मैले पत्रकार महासंघको हलमा पत्रकार सम्मेलन गर्ने भनेर स्थानीय पत्रकारहरू एनटीभीका शैलेन्द्र गुप्ता, एभिन्युजका गौतम श्रेष्ठ, नागरिकका मदन ठाकुर, कान्तिपुरका पवन यादवलगायतलाई फोन गरेको थिएँ। म तीन जना साथीहरू लगेर आधा घण्टा पत्रकार महासंघको हलमा रुघेँ। तर कोही आएनन् मात्रै होइन कि कसैले पनि फोन उठाएनन्। शैलेन्द्रले एउटा होटलमा पर्चा, पोस्टर र कार्यक्रमको बारेमा छोडिदिन भनेको हुनाले त्यहीँ छोडेर हामी फर्कियौं।

मलंगवाको हालत पनि त्यस्तै थियो। मधेसवादीहरूले हामीमाथि आक्रमण गर्ने धेरै खतरा थियो। स्थानीय नवी हसनले कार्यक्रम तालमेल मिलाएका थिए। त्यहाँको खुलामञ्चमा कोणसभा र सांस्कृतिक कार्यक्रम सम्पन्न गरेर फर्कियौं। त्यहाँ भने हामीलाई धम्की दिन कोही आएनन्।

महोत्तरीको माहोल फरक थियो। झन्डै ४० किलोमिटर भारतसँग सीमा जोडिएको महोत्तरीको भिट्ठामोड भन्सार नेपालीहरूले सास्ती पाउने ठाउँ हो। नेपाल र भारतीय दुवैतिरका मान्छेले दसगजामा गाडिएको पिलरसम्मै घरगोठ बनाएर बसेका छन्। भारतले भिट्ठामोडबाट सीतामढीसम्म जोड्ने बाटो दसगजा क्षेत्रलाई मिचेरै बनाएको छ। रघुनाथपुरमा बाँध बाँध्ने ठूलो तयारी त छँदैछ, मौका पर्दा बाँधिहाल्छ। भिट्ठामोडमा रहेको तीन सय नम्बरको पिलरलाई बालुवाले पुर्दै लगेको थियो। मलिवरा गाउँका विद्यार्थी खोला तर्न नसकेर भारततिर पढ्न जान्छन्। एकातिर भारतले सीमा नाघेर नेपालको जमिन हडपेको छ, अर्कातिर नेपाली जनताको दुःखले सीमा नाघेको छ। योभन्दा पीडादायी अर्काे के हुन सक्छ ? हामीले पत्रकार सम्मेलन पनि गरेका थियौं। त्यहाँका पत्रकारले नै मिचिएको भूमि देखाउने काम गरे। पत्रकार महासंघका सभापति ईश्वरीप्रसाद पौडेल, गोरखापत्रका नगेन्द्र कर्ण, एनटीभीका हरिप्रसाद मण्डललगायत पत्रकारले सहयोग गरे।

हामी २०७३ मंसिर २४ गते सप्तरीको तिलाठी पुग्यौं। भारतीय अत्याचारले सीमा नाघेको तिलाठीको बारेमा बुझ्न हामी आतुर थियौं। तिलाठीको दक्षिणी क्षेत्रमा रहेको खाँडो नदीले २२३ नम्बरको जंगे पिलरलाई पुरेको थियो। खाँडो नदीमा बनाउन खोजिएको पक्की पुलका दुईवटा पुल पूर्ण रूपमा भत्किएका थिए। त्यो पुल कुनचाहिँ पप्पुको फेला परेको थियो, त्योचाहिँ थाहा हुन सकेन। तिलाठीदेखि भारतीय बोर्डरसम्म १२ वटा पुल बनाइएको छ र नेपालबाट पानी बगेर भारततिर जान्छ। तर भारतले त्यो पानी बग्ने एउटा पनि पुल त बनाएको छैन नै, बाँध बनाएजस्तै गरी बाटो बनाएको छ। खाँडो नदीले हरेक चार–पाँच वर्षमा आफ्नो बहाव परिवर्तन गर्छ। भारतीयहरूले त्यसैको फाइदा उठाउँदै नेपाली जमिन अतिक्रमण गर्छन्। फलस्वरूप नेपालतिरको पानी थुनिएर तिलाठी क्षेत्र डुबानमा पर्छ। खाँडो नदीमा भारतले कच्ची बाँध बाँधेर नेपालतिर डुबान गराउन खोजेपछि भारतीयसँग त्यहाँ लडाइँ भइरहन्छ।

खाँडो नदीभन्दा पूर्वतिरको जिता नदीमा भारतले बनाउन लागेको एउटा पक्की बाँधलाई पनि नेपालीले भत्काएका थिए। भत्काइएको बाँधको बिजोग त अहिलेसम्म पनि हेर्न सकिन्छ। २०७४ को बाढीले तिलाठी क्षेत्र डुबानमा परेको थियो। हामीले २०७५ मा फेरि त्यहाँ पुगेर डुबानपीडितलाई कम्बल वितरण गरेका थियौं।

विसं २०७३ मा खाँडो नदीमा आएको बाढी रोक्न भारतीयले बाँध बनाएपछि तिलाठी डुबानमा परेको थियो। देवनारायण यादवको नेतृत्वमा भारतीयले बनाएको बाँध भत्काइएको थियो। बाँध भत्काउने क्रममा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले कैयौं कुशलता प्रदर्शन गर्न सकेको रहेछ। भारतीयहरूले बनाएको बाँध हजारौं नेपालीले भत्काए र जित हासिल गरे। नेपाली जनताको त्यो लडाइँले कसरी जित हासिल गर्न सक्यो भन्ने र त्यसको लागि सशस्त्र प्रहरीले कसरी कुशलतापूर्वक भूमिका निभायो भन्ने कुरा तत्कालीन सशस्त्र प्रहरी निरीक्षक जीवेशकुमार पाण्डेले मलाई जानकारी गराए। अहिले जिवेशकुमार पाण्डे कता छन्, थाहा छैन, तर तिनीप्रति मेरो श्रद्धा जीवनभर रहिरहनेछ, जसले सीमाको सुरक्षा गर्न नेपाली जनताको साथमा आफ्नो कौशलता प्रदर्शन गरेका थिए। देवनारायण यादवले सशस्त्र प्रहरीको भूमिका झनै रोचक तरिकाले प्रस्तुत गरेका थिए।

तिलाठीका चर्चित योद्धा देवनारायण यादवलाई हामीले सम्मान गर्‍यौं। त्यो बाँध भत्काउने क्रममा घाइते भएकामध्ये निरज मुक्ति, शिवनारायण यादव, सुशील यादव, शिवशंकर राय र विजयकुमार यादवलाई तिलाठी सीमा क्षेत्रमै कार्यक्रम गरेर हामीले दोसल्ला ओढाएर सम्मान गर्‍यौं।

विडम्बना त के छ भने दिनभरि भारतीयसँग लडाइँ हुन्छ, तर साँझपख भारतकै कुनौलीमा गएर आफ्ना दैनिक गुजाराका सामान किन्नुपर्ने बाध्यता छ। जब हामीले यो दृश्य आफ्नै आँखाले देख्यौं, हाम्रो आँखामा पीडा र आक्रोशबाहेक केही आएन। सीमा क्षेत्रका बहादुर नेपालीलाई त्यति खराब हालतमा सरकारले छोडेको छ। तिलाठीका सम्पूर्ण जनता भारतीय कुनौली बजारमा निर्भर छन्। नेपाली जनतामा सरकारप्रति घृणा र आक्रोश छ।

तिलाठीमा भारतले बनाएको २२२ देखि २२३ सम्म कुनै पनि सहायक पिलर छैनन्।

भारतले अत्यधिक सीमा मिचेको अर्काे जिल्ला झापा पनि हो। झापाको मेचीपारि महेशपुर गाउँ छ। भद्रपुर नगरपालिका पर्छ। मेची नदीबाट वर्षाको समयमा डुंगा चढेर जानुपर्छ, २०४९ सालमा बनाएको एउटा डुंगा छ, त्यसैमा वारपार गर्छन् गाउँले। हिउँदमा भने नदी तर्न सकिन्छ।

त्यहाँ मेची निम्न माध्यमिक विद्यालय (अहिले प्राथमिक विद्यालय) छ। त्यो विद्यालयमा नेपालीभाषी एक जना पनि विद्यार्थी छैनन्। विद्यालयमा मात्रै होइन, सिंगो गाउँमा नेपालीभाषी कोही पनि छैनन्। अधिकांश राजवंशी बसोबास गर्छन्। केही सन्थाल पनि छन्। खोटाङबाट झरेका कैलाश राईको नेतृत्वको टिमले पढाइरहेको छ। त्यहाँ खेतको बीचमा सानासाना पिलर छन्। धेरै गाउँलेको जमिनको लालपुर्जा आफूसँग छ तर भारतीयले खेती गरिरहेका छन्। हामी त्यहाँ पुग्दा किसानले आलुमा विषादी छरिरहेका थिए।

एउटा प्रहरी चौकी छ, त्यसले शान्तिसुरक्षाको काम गर्छ। भाङबारीमा गाउँ विकास समितिको पैसाले बनाएको बाटो अहिले आधाभन्दा धेरै भारतले अतिक्रमण गरिसकेको छ। त्यहाँ नेपालीलाई आवतजावत गर्न दिइन्न। साग लिएर बेच्न जाँदा पनि भारतीयले खोसिदिन्छन्। २०५५ सालमा भारतीय आएर ठूलो डकैती गरे। एक जना मारिए। १०४/१० नम्बरको पिलर अहिले पूरै भारतमा पारिएको छ। दिगेन गणेशले किनेको एक बिघा जमिन अहिले भारतमा छ। धेरै गाउँलेको जमिन भारतमा छ।

हामी इलामको पशुपतिनगरमा पुग्यौं। पशुपतिनगरमा भारतीय सुरक्षा चेकपोस्ट नै दसगजामा गाडिएको पिलरबाट नेपालतिर बनाइएको छ। त्यसको ५० मिटर दक्षिणतिर दसगजामै गुम्बा बनाइएको छ। भारतीयले पक्की गुम्बा बनाउन खोज्दा पशुपतिनगरवाससीले केही वर्षपहिले ठूलो आन्दोलन गरेका थिए। त्यसपछि त्यहाँ पक्की गुम्बा बन्न सकेको छैन।

मानेभञ्ज्याङको कथा झन् बेग्लै छ। तत्कालीन गोर्खे गाविसको वडा नम्बर ८ र ९ मा कुनै पनि स्कुल छैनन्। त्यहाँका करिब ५० जति विद्यार्थीलाई नेपालीले दार्जिलिङ लगेर पढाएका छन्। करिब आठ किलोमिटर टाढा स्वास्थ्यचौकी छ।

सन् १९८६ को गोर्खाल्यान्ड आन्दोलनको समयमा मानेभञ्याङ सीमापारि भारतीयका सम्पूर्ण घर पनि भारतीय सेनाले जलाइदिएका थिए। मोतीलाल मुखिया सुनार, गोविन्द प्रधानलगायत नेपालीका सातवटा घर पनि जलाइदिएका थिए। त्यसपछि सयौं भारतीय नेपालमा आ श्रय लिएर बसेका थिए।

स्थानीय भाषामा जंगे पिलरलाई मुर्चल भनिन्छ। मानेभञ्ज्याङमा पिलरहरू पनि छन्। तर दसगजा छैन। दुवैतिर बाक्ला घर छन्। दुवैतिरका घरबाट बग्ने फोहोर पानी नालीमा मिसाइएको छ। त्यही नाली नै मानेभञ्ज्याङको दसगजा हो। मानेभञ्ज्याङको डाँडोमा रहेको सीमाबजारमा पहिले भन्सार कार्यालय थियो। त्यो डाँडो भारतीयले पूरै मिचेका छन्। भन्सार कार्यालयको कुनै अस्तित्व पनि छैन। अहिले प्रहरी कार्यालय र भन्सार कार्यालय मानेबजारमा राखिएको छ।

हामी सीमा बचाऔं कार्यक्रम लिएर वीरगन्ज पुग्दानपुग्दै झापासम्मका सुरक्षा अधिकारीहरू भने सतर्क भइसकेका थिए। धेरै ठाउँमा उनीहरूले हामीलाई सुरक्षा दिए। लगभग सबै सीमाका कार्यक्रममा एस्कर्टिङ गरे। मानेभञ्ज्याङमा कार्यक्रम गर्ने सन्दर्भमा भने इलामका त्यहाँका एसपीले झमेला गरे। सीमामा गएर कार्यक्रम गर्न अनुमति नै दिएनन्। प्रहरी चौकीमा रहेका हबलदारले के नै गर्न सक्थे र ? माथिको आदेश भन्दै हामीलाई बजारमा कार्यक्रम गर्न अनुमति दिए। तत्कालीन प्रमुख जिल्ला अधिकारीले पनि निहुँ खोजे। हामीलाई नसोधी सीमामा कसले जान भन्यो भन्न भ्याए। आफ्नै सीमामा जान र कार्यक्रम गर्न पनि तिनको अनुमति चाहिने ? फोनमा भनाभन नै भयो।

हामीले सुस्तादेखि इलामको मानेभञ्ज्याङसम्म भारतले मिचेका धेरै सीमा र नेपाली बस्ती अवलोकन गरेका थियौं। सीमामा बस्ने भनेका गरिब नेपाली नै हुन्। सीमाना नजिक गरिब बस्तीमा खानेपानी छैन, स्कुल छैन, अस्पताल छैन, बजार छैन, कृषि सामग्री बेच्ने ठाउँ छैन। तिनै गरिबले नेपाली भूमि रक्षा गरिरहेका छन्। तर नेपालले तिनै गरिबमाथि अन्याय र अत्याचार गरिरहेको छ। सीमा रक्षा गरेर बसेका देशभक्त नेपालीलाई पराईको व्यवहार गर्ने शासकहरूले सीमा रक्षा गर्न त सकेका छैनन् नै, गरिब नेपालीमाथि निरन्तर शोषण, दमन, अन्याय, अत्याचार गरिरहेका छन्। उत्पीडनमा परेका सम्पूर्ण सीमावासीले काठमाडौंका शासकहरूको थिचोमिचोविरुद्ध संघर्ष गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.