जिन्दगीलाई नयाँ नाम दिऊँ
‘म थाक्दिनँ, म हार्दिनँ’ लेख प्रकाशित भएपछि कल्पना पनि गर्न नसकिने सन्देश पाएँ। कतिले प्रशंसा गरे। कतिले ढाडस दिए। बोलिरहने केही मानिस टाढा भए। मुख्य कुरा डिप्रेसनबाट पीडित तर खुल्न नसकेका कैयौंले मलाई सम्पर्क गरे।
मलाई अञ्जान मान्छेहरूले घेरिरहेका छन्। ठाउँ अँध्यारो छ। अंग्रेजीमा भन्नुपर्दा ‘क्याओस’ छाएको छ। शान्त बच्चाहरू चिच्याएर रुन थालेका छन्। गाडीहरू हुइँहुइँ गुड्न थालेका छन्। केही गर्भवती महिला भुइँमा थचक्क बसिरहेका छन्। कोही बाटोछेउ भाँडा माझिरहेका छन्। शान्त आकाशमा बिस्तारै कालो बादल मडारिँदै छ। सुस्त–सुस्त चलिरहेको बतासको गति बाक्लिँदै छ। सबै अञ्जान अनुहार छन्, आफ्नै धुनमा छन्। म हिँड्दै छु। कता जाँदै छु, थाहा छैन। छेउमा चार–पाँच वर्षकी बच्ची छे। उसले मेरो पिछा गरिरहेकी छे। उसले मलाई राम्ररी हिँड्न पनि दिएकी छैन। ऊ घरि मलाई दाउराको चिर्पटले हान्न खोज्ने, घरि सुम्सुम्याउँछे। उत्तिखेरै म पीडामा भएको देखेर ऊ आफू पनि अनुहार अँध्यारो बनाउँछे। फेरि मलाई हँसाउन खोज्छे। म एकछिन हाँसिदिन्छु। ऊ फेरि मलाई अर्को चोट दिन्छे।
ऊ मसँगै हिँडिरहेकी छे। बाटो अप्ठ्यारो छ। कहिले अँध्यारो आउँछ, कहिले उज्यालो। कतिखेर हिल्लाम्मे बाटो आउँछ, कतिखेर पक्की आउँछ। म यहाँ एक्लै हिँड्न चाहन्छु। उसको पिछा छोडाउन हरसम्भव प्रयास गरिरहेकी छु तर ऊ मान्दिन। कतै जाँदिन। मलाई छोड्दिन। म रिसाउँछु। आफैंलाई सताउँछु, चिच्याउँछु। फेरि ऊ दुई पाइला अघि बढेर मुस्कुराउँदै मलाई अझ अघि आउन इशारा गर्छे। ऊ को हो, मैले चिन्न सकेकी छैन। कहिल्यै देखेकी पनि छैन। मेरो छाया हुन्थ्यो भने अँध्यारोमा कसरी देखिन्थी ?
‘तिमी को हो ? के हो तिम्रो नाम ? ’ रिसाउँदै सोध्छु।
उसले तोतेबोलीमा खै के भन्दै थिई, म झल्याँस्स ब्यूँझिएँ। हत्तेरी ! सपना पो रहेछ ! अलिअलि फिल्मी तर कस्तो अर्थपूर्ण सपना ! घडी हेरेँ, समय पनि आँखा मिच्दै उठ्दै रहेछ। घडीका सुईहरू चौबीस घण्टे ड्युटीमा खटिए पनि मेरो लागि समय बेला–बेला सुत्ने गर्छ।
राम्रो सपना देखेपछि गुगलमा दिनभर सपनाको अर्थ खोज्ने तर खराब सपना देख्दा ‘सपनाहरूको केही अर्थ छैन, यो सबै अर्धचेतनवाला दिमागको लफडा हो’ भन्दै म बस्दिनँ। हरेक सपनाको अर्थ खोज्ने प्रयास गर्छु। अर्थ कहिल्यै भेट्दिनँ। र, पनि खोज्न छाड्दिनँ।
बिहान ५ बजे म फेरि लागेँ गुगलतिर। सपना सोच्न बाध्य बनाउने खाले थियो। त्यसपछि निदाउन कोसिस गरेँ तर सकिनँ। एउटा सपनाले थुपारेको प्रश्नको रासमाथि अर्को निद्रा कसरी पथ्र्यो ?
यस्तै अचम्मका सपनाहरू देख्छु म। हामी सबै देख्छौं। तर, मेरा केही सपनाले मलाई सुत्नै दिँदैनन्।
मानिस खराब विपना वा वास्तविकतासँग लड्न सक्छ। हारै भए पनि युद्धमा भाग लिन त पाउँछ। तर, सपनामा मानिस हतियारविहीन हुने रहेछ। ऊ योद्धाभन्दा पनि युद्धभूमि हुन्छ, जहाँ विचारहरूको महाभारत चल्छ।
० ० ०
फुटबलको हरियो मैदान छ, निकै सुन्दर। उनी फुटबल खेलिरहेका छन्। दौडिरहेका छन्। पोस्टनजिक पुगेर गोल हान्न खुट्टा चलाउन खोज्दा अहँ खुट्टा चल्दै चल्दैन। किनकि उनी वास्तविक जीवनमा ‘हाफ–प्यारालाइज्ड छन्।
झसंग हुन्छन्। त्यो बिहान आँखा खुल्दाको त्यो क्षणले उनलाई कल्पना पनि गर्न नसकिने पीडा दिन्छ। तीतो यथार्थ स्वीकार गर्नुपर्दाको क्षण ‘म किन बाँचिरहेछु’ जस्तो लाग्छ। उनका आँखा रसाउँछन्।
दिवस (नाम परिवर्तित) ‘सुइसाइड सर्भाइभर’ हुन्। आत्महत्याको प्रयास गरे तर सफल भएनन्। समय नआई मृत्यु पनि आउँदैन। उनले आफ्नो अन्त्यको समय अगाडि सार्ने प्रयत्न गरे पनि जिन्दगीले उनलाई मृत्यु दिएन। फुटबल उनको ‘प्यासन’ थियो र हो। फुटबलर बन्ने सपना थियो उनको। तर, जब उनमा कम्मर दुख्ने समस्या देखियो, फुटबललाई अलबिदा भन्नु पर्यो। टिमबाटै निकालिए। त्यही नैराश्यताले उनी बिस्तारै डिप्रेसनमा धकेलिए। उनी मनोविज्ञानका विद्यार्थी थिए अमेरिका हुँदा। तर, डिप्रेसनको सकसबाट उनी निस्किन सकेनन्। आफ्ना सपना र महत्त्वाकांक्षाले नै उनलाई डिप्रेसनमा धकेले।
कहिलेकाहीँ सपनाको बोझ थाम्न सकिँदैन। उनलाई त्यही भयो। त्यही दौरान एक साँझ उनले आफ्नो जीवन अन्त्य गर्ने निधो गरे। तर, अन्तहीन पीडा थपियो। उनी सफल भएनन्। उनी जीवितै घर फर्किए तर ह्विलचेयरमा। त्यसपछि उनको डिप्रेसन दिन गुणा रात गुणा चार बढ्दै छ। यस्तो अवस्थामा पनि उनी काठमाडौंका कुनै मनोवैज्ञानिक परामर्शदाताकहाँ गएनन्। गएका एक–दुई ठाउँमा औषधि दिएर टार्न खोजे। कागजमा औषधि लेखिदिने डक्टर भेटिए तर मनको खाटामा मल्हम लगाइदिने भेटिएनन्। उनलाई कुनै औषधिले छोएन। फिजियोथेरापीले अलिकति भए पनि सहयोग त भयो तर बेवास्ता र रूखो व्यवहारले उनी बिच्किए। उनलाई न चित्तबुझ्दो शारीरिक सहयोग मिल्यो न त मानसिक। उनी हरेक रात औषधिको सहारामा निदाउँछन्। तर, ऐंठन पार्ने सपनाले तर्साउँछन्, गिज्याउँछन्।
दिवसले हरेश भने खाएका छैनन्। अझै कोसिस गर्दै छन्— केही गर्न, आफूजस्तै अरूलाई मद्दत गर्न। उनले आफ्नो अवस्था स्वीकार गर्न सकेका छन्। आफूले आफूलाई माया गर्न सिकेका छन्। यो युद्ध उनका लागि अन्त्य भएको छैन। पछिल्लो पटक भेट्दा उनले मलाई एउटा ‘ड्रिम–क्याचर’ दिँदै मुस्काउँदै भनेका थिए, ‘सायद अब तपाईंलाई राम्रा सपना आउलान् कि ? ’
० ० ०
म केही समयअघि एक डाक्टरसँग परामर्श लिन गएँ। मेरा कुरा सरर सुनेपछि उनी रोकिँदै नरोकिई सुरु भए, ‘तपाईंलाई क्यान्सर भएको भए एउटा कुरा। तपाईंका हातखुट्टा भाँच्चिएको भए अर्को कुरा। यस्ता चिज त ठीक भइहाल्छन् नि ! औषधि नै खान परे पनि के भयो र ? मान्छे विद्युतीय झट्का लगाएर त उपचार गराउँछन्। कस्तो–कस्तो पर्दा त मानिस डिप्रेस्ड भएका छैनन्। तपाईं त राम्री हुनुहुन्छ। इँटालाई पहाड नबनाउनुस्। तपाईंहरूजस्ता मानिसले खोजेको के हो, म त बुझ्नै सक्दिनँ।’
उनका कुरा सुनेर म मूर्तिजस्ती भएँ। नेपालको मनौवैज्ञानिक चिकित्सा क्षेत्र कतातिर जाँदै छ, जान्नका लागि यही एउटा उदाहरण काफी छ।
ती डाक्टर मलाई परामर्श दिँदै थिए। उनले मेरो सबै इतिहास सोधे। मैले खुरुखुरु बताएँ। मेरा विभिन्न शारीरिक समस्या र त्यसका औषधिले डिप्रेसन निम्त्याएको हो भन्ने उनले निक्र्योल त निकाले तर त्यसपछि उनका कुरा सुन्दा म तीनछक परेँ, ‘तपाईंहरूजस्ता धेरै आउँछन्। हातखुट्टा गल्छ, औषधि खान मन लाग्दैन, दिक्क लाग्छ भन्नेहरू।’
मलाई लाग्यो— संसारमा कोही मनोवैज्ञानिक परामर्शदाता बन्नलायक छैनन् भने यस्तै डाक्टर हुन्। यो अनुभव मैले मेरो एकजना चिकित्सा क्षेत्रमै काम गरिरहेका साथीलाई सुनाएँ। उनले भने, ‘यो सबै गलत हो। यसरी परामर्श गर्ने नै हैन। परामर्शदाताले कुनै पनि बिरामीको समस्यालाई नकार्ने हैन। ऊ त झन् करुणादायी हुनुपर्छ। अरूको उदाहरण दिने काम पनि एकदम गलत हो। एकजनाको समस्यालाई अरूको समस्यासँग दाँज्ने काम राम्रो हैन। हरेक व्यक्तिको समस्या उसकै अवस्थाअनुसार फरक तरिकाले समाधान गर्ने हो।’
वास्तवमा अरूको दुःखसँग आफ्नो दुःख दाँजेर आजसम्म कसैलाई दुःख कम भएको छैन होला। ती सबै मानिसलाई सम्झाउने कुरा मात्र हुन्। तर मानिस यही कडी अपनाउँछन्।
‘कतिको हातखुट्टै हुन्न। जीवनभर प्यारालाइसिस भएर पनि बसेकै छन्।’
‘आफ्ना प्रियजन गुमाएर पनि मानिस बसेकै छन्।’
‘वर्षौंदेखि कोमामा बसेकालाई हेर त।’
यो गलत पनि होइन। सबै आ–आफ्नो युद्ध लडिरहेका छन् तर कसैको दुःखले मेरो दुःख कसरी घट्न सक्छ ? कसरी कम हुन सक्छ ? एक–दुई दिनसम्म फरक पर्ला तर त्यसको प्रभाव दीर्घायु हुँदैन। मेरो दुःख कम हुनका लागि मेरै दुःख घट्नु पर्छ।
‘म थाक्दिनँ, म हार्दिनँ’ लेख प्रकाशित भएपछि कल्पना पनि गर्न नसकिने सन्देश पाएँ। सयौं मेसेज आए। कयौं अञ्जान व्यक्तिहरूको फोन आयो। कतिले मेरो साहसको प्रशंसा गरे। कतिले मलाई ढाडस दिए। केही बोलिरहने मानिस टाढा भए। बोल्नै छाडे। तर, मुख्य कुरा डिप्रेसनबाट पीडित तर बाहिर खुल्न नसकेका कयांैले मलाई सम्पर्क गरे। अन्धकारमा एक्लै हराइरहेका, एक्लै छट्पटाइरहेका व्यक्तिहरू मकहाँ आफ्नो मन खोल्न आए। मैले उनीहरूसँग आफ्नो मन खोलेँ। जसरी ठूलो हुरीबतास सकिएपछि चराहरू गुँडबाट बाहिर आउँछन्— त्यसरी नै। सायद म उनीहरूकी प्रतिनिधि पात्र भएँ। डिप्रेसनलाई ‘ट्याबु’ जस्तै गर्ने हाम्रो समाजले कति सकस दिएको रहेछ उनीहरूलाई, सुनेर म चकित परेँ। त्यति बेला वास्तवमै मलाई आफ्नो डिप्रेसन सामान्य लाग्यो। सुनामीमा एक्लै फसिरहेका बेला कोही अरू पनि सागरमा देखेजस्तो भयो। लाग्यो— सुनामीमा म एक्लै त रहिनछु। हो— त्यो अनुभवले चाहिँ धेरै राहत दिँदो रहेछ।
हामीले टीभी, रेडियोमा एअरपोर्टबाट बाकस झिक्दै गरेको देख्यौं भने मन दुखाउँछौं। हाम्रो मन अमिलो हुन्छ। त्यस्तै भावुक छौं भने खाना रुच्दैन। ‘सुनको बाला लाउने धोको’ गीत सुन्दै उदास हुन्छौं। तर, दुई–चार दिनपछि त्यो सब बिर्सिन्छौं। हामीलाई आफ्नो जीवनबाटै फुर्सद हुँदैन। तर, केही पात्र यस्ता पनि छन्, जसलाई जीवनभर त्यो बाकसको बोझले थिचिरहेको छ।
सुषमा (नाम परिवर्तन)का श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। एक दुर्घटनामा परेर उनी यो संसारबाट गए। उनी नेपाल फर्किंदा बाकसमा थिए। सारा अस्तित्वका लागि त्यो एउटा कण हराएजस्तै भयो होला। तर, सुषमाका लागि जीवनभरको पीडा दिएर गयो। उनी अहिले डिप्रेसनमा छिन्। सारा जीवन लथालिंग भइसक्यो जस्तो लाग्छ उनलाई। जति औषधि गरे पनि निको भएको छैन। त्यो उदासी नै उनलाई प्यारो भइसकेको छ अब। उनलाई हरबिहान सास फेर्न गाह्रो हुन्छ। केही कुरामा मन भुल्दैन। भुले पनि त्यो क्षणिक हुन्छ। उनी हरेक दिन रुन्छिन् अनि फेरि आफैं थाक्छिन्। उनको मुहारबाट चमक कतै हराएको छ। उनका आँखा हरबखत रसाइरहेका देखिन्छन्। कोही प्रिय मान्छे गुमाउनुको पीडा गुमाउनेलाई थाहा हुन्छ। हामी भन्न सक्छौं, ‘हौसला राख, एक दिन सब ठीक हुनेछ।’ तर, त्यो घाउ उसको जिन्दगीमा लागिसक्यो, निको हुनै सक्दैन। समयसँगै दुख्न कम भने होला। यो अवस्थामा उनले के गर्न सक्छिन् ? उनको परिवारप्रतिको जिम्मेवारी के हुन्छ ? उनीप्रति परिवारको जिम्मेवारी के हुन्छ ?
मैले भन्न सकिनँ उनलाई— जिन्दगी कति महत्त्वपूर्ण छ। सधैं सुतिरहन्छिन्, रोइरहन्छिन्। तर, एक दिन आँसु पुछ्नै पर्छ, एक दिन उठेर हिँड्नै पर्छ। जन्म र मृत्यु कसैको वशमा हुँदैन। एक दिन त आफैंभित्रबाट एउटा आवाज आउला, ‘उठ अब, तिमी सक्छौ। जिन्दगी सुन्दर छ।’
उनी मसिनो आवाजमा भन्छिन्, ‘कसैलाई यस्तो नपरोस् !’ औषधि, चिकित्सकको पनि एउट सीमा हुन्छ। उनीहरूले केही हदसम्म सहयोग गर्छन् तर जबसम्म आफूभित्रैबाट आवाज आउँदैन— मानिस उठ्न सक्दैन। आफ्नो लागि सर्वोत्कृष्ट औषधि र चिकित्सक दुवै मानिस आफू नै हो। अरू कोही पनि हुन सक्दैन।
एकजना साथीलाई पसिना धेरै आउने समस्या रहेछ। त्यसले उनमा समाजसँग डर उत्पन्न गरायो। ‘इन्फेरियर’ (लघुताभाष) अनुभव भयो। त्यसबाट ‘एन्जाइटी’ हुन थाल्यो। पछि ‘सोसल फोबिया’ र बिस्तारै डिप्रेसन। उनी एक्लै बस्न थाले। पसिनाको कारणले डिप्रेसन भएको सुन्नुभएको छ ?
माल्दिभ्समा बस्ने अर्को साथीले ट्विटरमा आफ्नो मन खोले। माल्दिभ्स टापु नै टापुको देश भएकाले चारैतिर समुद्र नै समुद्र। पानी नै पानी। दिनरात त्यही पानी देख्दा–देख्दा उनलाई पनि डिप्रेसन भएछ। समयमै थाहा भएपछि त्यसको निराकरण पनि भएछ। तर, जब उनले आफू जुध्दै गरेको डिप्रेसनबारे एक साथीलाई सुनाए, उनी सबैतिरबाट ब्लक भएछन्। के हामी मान्छे हाँसेको मात्रै हेर्न चाहन्छौं ?
लेख प्रकाशित भएपछि एउटा लामो मेसेज आएको थियो। मेसेज गर्ने साथी काठमाडौंदेखि टाढैको कुनै ठाउँमा बस्दा रहेछन्। एक आयोजनामा काम गर्ने हुँदा धेरै मानिसको समूहमा बस्नुपर्ने रहेछ। उनीहरूलाई खाना पकाएर खुवाउने एक सोलुखुम्बुकी महिला रहिछन्। चिसो ठाउँमा हुर्के–बढेकी। त्यो आयोजना भने तुलनात्मक रूपमा गर्मी ठाउँमा रहेछ। एक दिन साँझ खाना खाएर सबै गफ गर्दै गर्दा उनी अचानक भुइँमा ढलिछन्। सबै आत्तिए। उनी बेहोशजस्ती भएकी थिइन्। सास पनि राम्रोसँग नफेरेको देखेपछि सबैको हंश उड्यो। कसैले गर्मीले होला भन्दै पंखा लगाए। कसैले बोलाउने कोसिस गरे तर उनी पूरै अचेत थिइन्। पानी छम्किँदा पनि चलमल नगरेपछि रातारात काठमाडौं ल्याउने सल्लाह भएछ। तर, बीच बाटोमा ठूलै पहिरो गएका कारण समस्या आएछ। बल्लबल्ल बिहान ३ बजे अस्पताल पुगेपछि अवस्थामा सुधार आएछ। डाक्टरले सबै जाँचबुझ गर्दा ‘डिसअर्डर’ भएको निक्र्योल निकालेछन्। उनी केही दिन अस्पताल बसेर घर फर्किइन्। पछि जागिर छोडिन्। साथीले फोन सम्पर्क गर्दा उनले भनिछन्, ‘यो पहिलो पटक हैन। सोलुखुम्बु छोडेर कतै गर्मी ठाउँमा गएपछि यस्तै हुन्छ मलाई। माफ गरिदिनुहोला, मैले यो कुरा लुकाएँ। तर, जागिरको एकदम खाँचो थियो मलाई।’
त्यसपछि उनी बाध्यताले कतार गइन्। त्यहाँ झन् अवस्था खराब भएपछि नेपाल फिर्ता गरिदिएछन्। अहिले उनी सोलुखुम्बुमै जेनतेन गुजारा गरिरहेकी छन्। डिप्रेसन र एन्जाइटीजस्ता समस्याले मानसिक तनाव त दिएकै छन् तर आर्थिक अवस्था कमजोर भएकाहरूको अवस्था झन् खराब छ। एउटा ट्विट देखेकी थिएँ, ‘यो डिप्रेसन पनि धनीहरूको रोग रहेछ। गरिबहरूलाई डिप्रेसन भएको आजसम्म सुनिएको छैन।’
यस्तो गलत बुझाइ देखेर म बेलाबेला गम खान्छु। डिप्रेसनले धनी–गरिब हेर्दैन। यसले सबैलाई बराबर सताउँछ। निम्नवर्गीय मानिसहरूको डिप्रेसन कसैले बुझेको छैन। उनीहरूको अवस्था झन् खराब छ। किनकि, निम्नवर्गीयमध्ये धेरैलाई त थाहा पनि छैन कि उनीहरूलाई डिप्रेसन छ। आफूलाई के कुराले डसिरहेको छ, निलिरहेको छ भन्ने पत्तै छैन। उनीहरू पनि हरेक क्षण डिप्रेसनको खाल्डोमा खसिरहेका छन्।
एकजना साथीलाई जागिरको सिलसिलामा जाजरकोट गइरहनुपर्ने काम पर्दो रहेछ। एक दिन हिँड्दा–हिँड्दा राति एउटा गाउँमा पुगेछन्। होटलको कुरा छाडौं, बस्ने घर पनि एक–दुइटा मात्र रहेछन्। त्यही पनि सबै सुतिसकेका। धेरै अनुरोध गरेपछि एउटा घरमा बास मिलेछ। चाउचाउ उमालेर खाएपछि साथीहरू पिँढीमा सुतेछन्। सबैजना मस्तले सुतिरहेका बेला रातको त्यस्तै २ बजेतिर आँगनमा कोही जोड–जोडले चिच्याउँदै रोइरहेको सुनेछन्। भूतप्रेत आयो कि भनेर सबै आत्तिएछन्। तर, टर्च बालेर हेर्दा घरका एक पुरुष आँगनमा घोप्टो परेर बसिरहेका। सबैले उनलाई सम्हालेछन्। रोएको कारण सोध्दा केही नभनी घरभित्र छिरेछन्। यो कुराले साथीहरूको टोली अचम्मित भयो। कति त डराएछन् पनि। जसोतसो रात काटेछन्। बिहान घरका मूलीलाई रातिको घटनाबारे सोधेछन्।
‘त्यो मेरो जेठो छोरो हो। सानैदेखि यस्तै गर्छ। हामीलाई त बानी परिसक्यो। किन रुन्छस् भनेर सोध्दा टाउकोमा ठूलो चिज आएर च्यापिएजस्तो हुन्छ भन्छ। आँखा पनि धुम्म हुन्छन् रे, सास फेर्न पनि गाह्रो हुन्छ भन्छ। अनि चिच्याएर रोएपछि अलि कम हुने रहेछ। सधैंको कुरा हो यो त। भूतप्रेत हो कि भनेर कति फुकाइम् तर उस्ताको उस्तै हुन्छ। हामीलाई बानी परिसक्यो। यसको बिहे पनि भएको छैन। बूढो भइसक्यो।’
भूगोलको जुनसुकै कुना होस्, यो समस्याबाट कोही मुक्त छैन।
तराई, पहाड, हिमाल। प्रदेश १ देखि ७। हिउँमा बस्नेदेखि लिएर उष्ण गर्मीमा बस्नेसम्म। एसियादेखि अमेरिका, युरोप, अफ्रिकासम्म। समुद्रमुनि पन्डुब्बीमा बस्नेदेखि अन्तरिक्ष केन्द्रमा बस्नेसम्म। बालकदेखि वृद्धसम्म। पहिलो लिंगीदेखि तेस्रो लिंगी, रिक्सा चलाउनेदेखि लिएर जहाज उडाउनेसम्म। कार्यालय सहायकदेखि लिएर राष्ट्रपतिसम्म। मानवदेखि जनावरसम्म।
अझै वैज्ञानिक पुष्टि हुन बाँकी छ तर जनावरहरूमा पनि डिप्रेसनका संकेत देखिएका छन्। असामान्य व्यवहार, असामान्य यौन गतिविधि, आत्महिंसा, उदासी र केही आत्महत्याका घटनासमेत देखिएका छन्। कुकुरको एक प्रजाति ड्यालमेसनमा यो कुरा म आफैंले अनुभव गरेकी छु। एकदमै माया र ध्यान खोज्ने। कहिलेकाहीँ कसैले वास्ता नगरेको देखेपछि घण्टौं टोलाएर बस्ने। खाना नखाने। अरू बेला एकै ठाउँमा दिसा–पिसाब गर्नेले जथाभावी गर्न थाल्ने।
पशुहरूमा सबैभन्दा बढी डिप्रेसनका घटना ‘प्राइमेट्स’हरूमा देखिँदो रहेछ। जस्तै चिम्पान्जी, ढेडु बाँदर आदि। जंगलमा बस्नेभन्दा चिडियाखानामा बस्नेमा धेरै। अँध्यारो ठाउँ खोज्ने, जिस्क्याउँदा पनि आक्रामक नहुने, खान मन नगर्ने जस्ता लक्षण देखिन्छन्।
मानव सभ्यताले जहाँ–जहाँ कदम चालेको छ, डिप्रेसन छायाजस्तै पछि–पछि लागिरहेको छ। चोट लागेको देखिन्छ, ज्वरो आएको छामेपछि थाहा हुन्छ तर डिप्रेसन देखिँदैन। त्यसैले सबैलाई पत्याउन गाह्रो हुन्छ। विश्वास गर्ने केही आधार हुँदैनन्।
परीक्षामा फेल भएर, जागिर नमिलेर, प्रेममा धोका खाएर, सपना पूरा नभएर, कोही नजिकको वा परिवारको मानिस गुमाएर, यातना पाएर, यौन हिंसा बेहोरेर, भेदभाव खेपेर, गरिबीमा पिल्सिएर, यौन असन्तुष्टि र दुर्वलता बढेर, प्रेम नपाएर, तापक्रम नमिलेर, उचाइ, ठाउँ र परिस्थिति अनुकूल नभएर, पारिवारिक झगडा र वियोग आदि कारण त छँदै छन्। यीबाहेक अरू कारण पनि हुन्छन्— जीवनबाट निराशा उत्पन्न हुँदा, वैराग चल्दा, जीवनको अर्थ र उद्देश्य नभेट्टाउँदा र आफ्नो अस्तित्व अर्थहीन लाग्दा पनि मानिस डिप्रेसनमा जान्छन्। डिप्रेसन जस्तोसुकै कुराबाट पनि जीवनमा छिर्न सक्छ। अलिकति कमजोर र एक्लो देख्नासाथ यसले आक्रमण गर्छ। जाडो महिनामा कोठाको चेपबाट, दुलोबाट, झ्यालको किनाराबाट भित्र चिसो छिर्न खोजेजस्तो।
अर्को कुरा हामी हरेक कुरामा पश्चिमाभन्दा पछि छौं। पश्चिममा ढिलो पुग्ने भनेको घाममात्र हो। त्योबाहेक हरेक कुरामा उनीहरू अघि छन्। डिप्रेसनका बिरामीहरू पनि उतै धेरै छन्। आत्महत्याको दर उता पनि कम छैन। तर, उता समाजले डिप्रेसनलाई ‘ट्याबु’ मान्दैन। परामर्श राम्रो हुन्छ। बिरामीलाई एउटा अर्को ‘केस’को रूपमा नहेरी साँच्चिकै उनीहरूका कुरा सुनिन्छ। डिप्रेसनका बिरामीलाई चाहिने त्यो एकदम महत्त्वपूर्ण कुरा हो। नेपाल र भारतजस्तो देशमा पहिलो लडाइँ नै समाजसँग गर्नुपर्छ। अनि बल्ल डिप्रेसनसँगको लडाइँ सुरु हुन्छ। यो जसको घरमा पनि, जसको परिवारमा पनि छिर्न सक्छ। जसरी डेंगीको महामारी फैलिँदा सबैले सतर्कता अपनाए, यो कुरामा पनि सतर्कता वा पूर्वतयारी अपनाउनु जरुरी छ। यो युद्ध कहिल्यै सकिने त छैन तर एक्लै लड्नुभन्दा समूहमा लड्दा हारिँदैन।
जिन्दगीमा सबैभन्दा ठूलो कुरा सत्यलाई स्वीकार गर्न सक्नु हो र सबैभन्दा मुस्किल कुरा पनि यही नै हो। कुनै तीतो यथार्थ स्वीकार गरेर अघि बढ्न सक्नु झन् चुनौतीपूर्ण कुरा हो। हामी योभन्दा नराम्रो अब मेरो जिन्दगीमा केही हुँदैन भनेर सोच्छौं तर केही समयपछि योभन्दा भयानक अवस्थाको पनि सामना गर्न सक्नुपर्ने हुन्छ। जब सोच्छौं— योभन्दा राम्रो समय अब आउँदैन— दिस इज द पर्फेक्ट टाइम— त्योभन्दा लाख गुणा खुसी हुने दिन पनि पक्कै आउँछ। जसरी आँधीबेहरी पनि सधैं टिकिरहँदैन, जिन्दगीको दुःख, भोगाइ, कष्ट पनि त्यस्तै त हुन्। बिहान एक दिन जरुर आउँछ किनकि बिहानीसँग अरू कुनै विकल्प छैन। तपाईंको नजिक अँध्यारोसँग जुधेर बिहानीको पर्खाइमा बसिरहनुभएका कोही न कोही पक्कै हुनुहोला। जानुस्, उहाँसँग कुरा गर्नुस्। उहाँहरूको कुरा सुनिदिनुस्। तपाईं आफैं पनि आफ्नो लागि हिँड्नुस्। कसैलाई आफूसँगै डोर्याउनुस्। केही कुरा अपनाउन सक्नु नै सबैभन्दा ठूलो कुरा हो। हार नमान्नुस्। यो निष्पट्ट कालो अँध्यारो एक दिन अवश्य चिरिनेछ।
र, हामी सबैको जिन्दगी हामीलाई दुई कदम अगाडि पर्खिबसेको छ। आउनुस्, आज जिन्दगीलाई एउटा नाम दिऊँ र अँगालेर भनौं— प्रिय जिन्दगी ! आऊ एकअर्कालाई साथ दिऊँ !