असुरक्षित ‘दुर्गा शताब्दी’
घाँस काट्न गएको बेला १४–१५ युवाले तानेरै लगे। महिलाले आफूलाई स्वतन्त्र ठान्ने ती मेलापात र खोलामा दुर्गाहरू अरू कति शताब्दी असुरक्षित हुनुपर्ने हो ?
मीन पचासको मध्य पुस, ठिहिर्याउने महिना। बिहानदेखि अचाक्ली चिसो अनि खुला आकाशमा चिर्चिर गर्दै स्वतन्त्र उडिरहेका पक्षी। चोरूँ चोरूँ लाग्ने लोभलाग्दो चाँदीझैं चम्किएका पहाडका अग्ला चुचुरा, पहाडको हिउँ पग्लेर बगिरहेको उस्तै निर्दोष र कञ्चन खोला, त्यही खोलामा बिहानै जाडोमा थर्थर काँप्दै र चिसो बिर्सन एकअर्कासँग जिस्कँदै नुहाइरहेका संगिनीहरू। खोला किनारामा लस्करै छन् स्याउलाका भारी, घाँसका ढोका अनि पत्करका खांग्रेहरू। लुगा धोएर सुकाउन राखिएका छन्; राता, पहेँला र विद्यालयका पोसाकहरू पनि टाँगिएका छन्। तीन जना साथी छाउ भएकाले सात दिनपछि विद्यालय जाँदै छन्। तीमध्ये अर्की चौथो किशोरी एकदमै, थकित र चिन्तित मुद्रामा ढुंगामाथि टुक्रुक्क बसिरहेकी छन्। मानौं, बिहानीको चिसो सिरेटोले उनलाई कुनै प्रभाव पारेको छैन। डर पनि छ, कतै अग्लो पहाड चिर्दै लम्किरहेका सूर्यका किरणले पोल्ने पो हो कि ? कतै कहीँबाट कोही आएर तानेर पो लैजाने हो कि आजै ?
सुदूरपश्चिमकी दुर्गाको नियति हो यो, जो यही पुसमा १४ पुग्दैछिन्। ढिलो गरी विद्यालय भर्ना भएकी उनी कक्षा ६ मा छिन्। पढेर नर्स बन्ने दुर्गाको भोक मरेको छैन। तर हुने हार, दैव नटार भनेझैं, घरमा चैं मंसिरे घाम आँगनमा टेकेदेखि नै बिहाबारीको कुरो चलिरहेको छ। केही दिनपहिले पल्लो गाउँका आफन्त पनि प्रस्तावको झोली बोकेर आएका थिए। दुर्गाले बिहे गर्दिनँ भनेपछि आमाबुवा पनि कस्ता हुन्, जंगलबाटै फकाएर लैजान भनेछन्। यति भएपछि अरू के चाहियो ? यसपछि ती आफन्तहरू पिछामा लागेछन्। एक दिन दिउँसो घाँस काट्ने बेला करिब दुई किलोमिटरसम्म दुर्गालाई लछार्दै लैजान खोजेछन्। साथीहरूले ढुंगा हान्न थालेपछि छाडेर भागेछन्। दुर्गा पनि बेहोश भइछन्। साथीहरूले निकै बेर पानी छम्केपछि होश खुल्यो। जंगलमा घिसार्दा पोसाक च्यातिएका थिए, शरीरका मांसपेशी लुछिएका थिए। घाउ भएका थिए। रगत बगिरहेको थियो। आज त बाँचियो तर पीर झन् थपियो। नर्स बन्ने सपना बिहाबारीपछि पूरा होला र ? अनि विवाहपछि घर कसरी सम्हाल्ने ?
छाउ भएको पनि दुई दिन मात्रै भएको थियो। सँगै बस्ने तीनजना साथीहरू सात दिन बितिसकेकाले चोखिएर घर जाँदै थिए। विद्यालय जाने बाटोमा कालिका माईको थान (मन्दिर) पर्छ। आमाले त्यो बाटो हिँड्दा माता छोइन्छन् नजानू भनेकी थिइन्। त्यो बाटो छाउ हुँदा कोही पनि जाँदैनन्। गोठमा मात्र होइन, मेलापात पनि एक्लै जानुपर्ने बाध्यताले छोडेको छैन। निकै डर छ मनमा। अब एक्लै मेलापात गर्न जाँदा र गोठमै हुँदा तानेर लैजान्छन्, म पक्कै बाँच्दिनँ अब, बाँचे पनि अधमरो हुन्छ सायद।
गाउँमा यस्ता धेरै घटना भइरहन्छन्। दुर्गाकै धेरै साथी मेलापातबाटै तानेर लगिएका थिए। महिला हिंसा अपराध भनेर उनले पढेकी र सुनेकी थिइन्। अभिभावकले नै यसको अनुमति दिन्छन्। छोरीलाई तानेरै लगे दायित्व पूरा भयो भन्ने ठान्छन् अभिभावक। यो युगौंदेखि चलिआएको गाउँको रीति पो हो। संस्कृति र सम्पदा अनि सभ्यता बन्ला भन्ने डर।
दुर्गालाई ती पुसका कठ्यांग्रिदा रातका परवाह भएन। डर थियो त कतै कुनै पनि बेला अरू जस्तै बालविवाहको सिकार हुनुपर्ने। कुरीतिकै कारण धेरै युवती घाइते बनेका छन्। उनकै साथी रमितालाई आफन्तले तानेर लैजाँदा आँखा नै फुटेको थियो। आमाबुवाले १४ वर्षको कलिलो उमेरमै विवाह गरिदिएकी उनको साथी जमुनाले विवाहको तीन वर्ष अर्थात् १६ वर्षको कलिलो उमेरमै बच्चा जन्माउन नसकेर प्राण त्यागिन्। यस्ता धेरै घटना आँखैअगाडि भएका छन् र सँगैका संगिनीहरू छन्। मनमा त्रासको घट्ट साउनको पानीले झैं गतिमा दौडरहेको कयौं दिन भयो। २० वर्षपछि मात्र विवाह गर्नुपर्छ भन्ने चेतना त छ तर पारिवार नै तयार छैनन्, परम्परा अर्कै छ।
ठूलो बुवाको छोरीले १५ वर्षमै प्रेमविवाह गरेकी थिइन्। अवस्था घरको न घाटको भएको छ। केही समयअघि दुर्गासँग बिलौना गर्दै भनेकी थिइन्, ‘प्रेममा परेर विवाह नगर्नू है। उमेर पुगेपछि मात्र विवाह गर्नुपर्छ नत्र धोका पाइन्छ। मैले पनि धोका पाएकी छु हेर, १५ वर्षको उमेरमा ७ कक्षामा पढिरहेकी थिएँ। आफैंसँग पढ्ने केटासँग प्रेममा परेपछि विवाह गरेँ। तर, जीवन सँगै काट्ने वाचा गरेर गरिएको विवाह सात वर्ष नपुग्दै टुंगियो।’
थपिन्, ‘कहिल्यै सोचेकी थिइनँ, प्रेम नामको छलछाममा आफू पनि पर्छु। दुःख,सुखसँगै काट्ने वाचा गर्दै गाउँ, घरपरिवार, शिक्षा, रोजगार, सुखसयल सबै सपना त्यागेर केवल उसैलाई मात्र रोजेर गएकी थिएँ। तर, धोका पाएँ।’ गाउँका अरू पनि कयौं यस्ता दृश्य दुर्गाका आँखामा कैद छन्।
दुर्गा सोचिरहेकी थिइन्, ‘आज त्यही विवाहकै कारण दिदीको बिल्लिबाठ छ। उनीमात्र होइन, थुप्रै महिला विश्वास गरेका र प्रेममा परेका पुरुषको व्यवहारबाट अरू बढी प्रताडित छन्।’
उहाँहरूको त राम्रो सम्बन्ध थियो। लामो समय रोजगारीको सिलसिलामा भारतमा पनि सँगै गुजारेका थिए। दुवैले पैसा कमाएर घरसमेत बनाएका थिए। तर, जब दिदीले आफूले नोकरी कुरेर श्रीमान्लाई घर बनाउन नेपाल पठाइन्, अनि उनीमाथि बज्रपात परेको थियो। उनकी दिदीबाट बच्चा नजन्मिने भएपछि श्रीमान्ले अर्की भिœयाएका रहेछन्। दुर्गालाई उनले फेरि दिदीको बिलौना सम्झन्छिन्, ‘ श्रीमान्को त्यो घातले आहत थिएँ। आमा र भाइको सहयोग हुने अपेक्षा थियो। उहाँहरूले पनि हेर्नुभएन। मेरो घाउमा मल्हम लगाउने कोही भेटिनँ।’
कुरैकुरामा भक्कानिँदै भनिन्, ‘उहाँ आफ्नै घर बनाएर फर्केको देख्दा मनमा खुसी पलाएको थियो। तर, उहाँको नामको सिन्दूर जब अर्कैको सिउँदोमा देखेँ। मेरो टेकेको जमिन नै खस्कियो। श्रीमान्ले त सजिलै कान्छी श्रीमती भने तर त्यो शब्दले भत्भतति पोल्यो। बोल्नै सकिनँ। आगोको मुस्लोमा झ्वाम्म हाम्फालेझैं भयो।’ दिदीले बोलेका ती शब्दले यति बेला दुर्गालाई पनि पोलेको छ। बेस्सरी चिच्याउँदै, कराउदै रोइन्। जताततै खतरा मात्रै देखिन्।
यतिमात्र होइन, जीवनसाथी छान्न नजान्दा कैयौंले ज्यान गुमाएका छन्। दुर्गाको पल्लाघरे काकाले पनि काकीलाई १५ वर्ष पुग्नै लाग्दा हात मागेरै भिœयाएका रहेछन्। उनी १० वर्षे सशस्त्र जनयुद्धमा सहभागी भए। त्यस बेला वर्षौंसम्म सम्पर्कमै रहेनन्। काकीले एक छोरा र छोरी पालेर बसिन्। जनयुद्ध सकियो, शान्ति सम्झौता भयो र सेना समायोजन पनि भयो र उनले जागिर नपाउने भएपछि उनी भारत हान्निए। केही वर्ष उतै बसेपछि अर्को विवाह गरे। यता घरकी श्रीमतीलाई बेवास्ता गर्न थाले।
२०७२ साउनमा झाडापखाला चलेपछि औषधि नपाएर काकीको मृत्यु भयो। त्यस बेला दुर्गाले काकीको एकदमै रेखदेख गरेकी थिइन्। गाउँमा गाडी नजाने भएकाले स्टे«चरमा राखेर अस्पाल लैजानुपथ्र्यो। गाउँमा पुरुषका अनुहारै देखिन गाह्रो। सबै रोजगारीको सिलसिलामा विदेश हान्निएका थिए। गाउँका मान्छे सामान्य झाडापखाला न हो। ठीक भइहाल्छ भनेर झारफुक र घरेलु औषधिमा लागे। यसले केही समय सामान्य काम त गर्यो तर पूर्ण रूपमा निको भएन। अन्ततः त्यही झाडापखाला नै उनको हत्यारा बन्यो। यस्ता थुप्रै घटनाका दुर्गा लगातार साक्षी हुन्।
उनीमात्र नभई धेरै युवती अहिले पनि छाउ हुँदा घरदेखि पर बनाइने सानो, साँघुरो, चिसो, थोत्रो र सास फेर्नसमेत मुस्किल हुने खोरमा कैद हुन्छन्। २०६३ मा सर्वोच्च अदालतले छाउपडी कुप्रथा भएको ठहर गर्दै खारेजसमेत गरिसकेको छ। यसपछि २०६४ मा सरकारले छाउपडी प्रथा उन्मूलनसम्बन्धी निर्देशिका जारी गरिसकेको छ। २०७४ मा जारी मुलुकी ऐनले समेत छाउपडीलाई गैरकानुनी घोषणा गरेको छ। तर, २०६४ यतामात्र २२ महिलाले छाउगोठमै ज्यान गुमाएको तीतो उदाहरण छन्।
बालविवाहसम्बन्धी कानुन पनि बनेको छ। तर, गाउँमा कसले कार्यान्वयन गर्ने ? गएको दसैंमा डाँडागाउँकी भावनालाई घरभित्र सुतिरहेकै अवस्थामा आठ–नौजना युवाले तानेछन्। घरका सबै मेला हेर्न गएको मौका छोपेर घरभित्रैबाट तानेर लगियो। इलाका प्रहरी कार्यालयमा यसको उजुरी पनि पर्यो। ढिलो गरी आएको प्रहरीले आरोपीलाई पक्राउ पनि गर्यो। अन्त्यमा त्यो मुद्दा एक लाख रुपैयाँमा मिलाइयो। गाउँको यो वेदना र दुःख कसले बुझिदिने ?
सामाजिक सुधार ऐन २०३३ को तिलकमा नियन्त्रण, दफा ४ मा दुलही पक्षले लिन नहुने, दफा ५ को दाइजोमा नियन्त्रण, दफा ६ को आर्थिक दायित्व बेहोर्नेे, दफा ७ को जन्तीसम्बन्धी नियन्त्रण, दफा ८ को विवाहभोजमा नियन्त्रण गर्ने व्यवस्थाबारे स्पष्ट पारिएको छ। यसैगरी न्यूनतम २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था गरिएको छ। विडम्बना ! नेपालमा अझै ४१ प्रतिशत बालिका र ११ प्रतिशत बालकको बालविवाह हुने गरेको छ।
यस्ता सबै घटना सम्झेपछि उनले सोचिन्, अब टोलाएर बस्ने होइन। अब केही गर्छु। त्यो रात गाउँका किशोरीलाई प्रशिक्षण दिइन्। र, छाउगोठहरू भत्काइन् र घरमा बसिन्। गाउँमा छाउगोठ नभएपछि केही समय सबै घरमै बस्न थाले। र, गाउँलाई बालविवाहमुक्त तथा छाउगोठमुक्त घोषणा गरियो। मन्त्री र सीडीओ गएर क्रान्तिकारी भाषण पनि गरे।
तर, दुर्गालाई त्यसको केही दिनपछि घाँस काट्न गएको बेला १४–१५ युवाले तानेरै लगे। छाउगोठ नभएपछि गाउँका महिलाको अवस्था झन् दयनीय बन्यो। बाहिर हेर्दा छाउगोठ देखिँदैनन्। तर, महिला अहिले पनि त्यो पानी र हिलोमा सुत्न बाध्य छन्। महिलाले आफूलाई स्वतन्त्र ठान्ने ती मेलापात र खोलामा दुर्गाहरू अरू कति शताब्दी असुरक्षित हुनुपर्ने हो ? दुर्गाहरू जवाफ खोजिरहेका छन् तर आफैं घटनाका साक्षीपछि पात्र भइरहेका छन्।