चिबेको चिरबिर

चिबेको चिरबिर

तेह्रथुम : चिबे चरा कालो र सानो हुन्छ। यसको विशेषता चील र बेसहारालाई लखेट्नु हो। कुखुराको चल्ला लाने मांसाहारी चरालाई चिबेले लखेटेर हायलकायल बनाउने गर्छ। यो मध्यपहाडी क्षेत्रमा पाइने हाड भएको पन्छी हो। यसको तिखो र लामो चुच्चो अनि नंग्रा हुन्छ। यसका कारण ऊभन्दा ठूल्ठूला हिंस्रक पन्छीहरू पनि भाग्ने गर्छन्।

सामुद्रिक सतहदेखी दुई हजार मिटरसम्म चिबे चरा पाइन्छ। चिबेले विशेष गरेर गाईबस्तुको डाढमा भएको जुम्रा, लिखा र किर्नाहरूलाई आफ्नो भोजन बनाउने गर्छ। त्यसैगरी कमिला, धमिरा, आकाशमा उडिरहेका ससाना कीराहरूसमेत खाएर यो चराले आफ्नो पेट भर्ने गर्छ।

यसको रङ पूर्ण रूपमा कालो हुन्छ। त्यसैले झट्ट हेर्दा यो नराम्रो देखिए पनि यसको चिरबिर गर्ने आवाज साँच्चै सुमधुर हुन्छ। बिहानको मिर्मिरेमा चिबेको आवाजले गाउँघरको वातावरणमा सुन्दरता थप्ने म्याङ्लुङ नगरपालिका–५ का ७० वर्षीय तेजबहादुर सेनेले बताए। ‘बिहान घरमा परेवा घुर्दा र बारीमा चिबे कराउँदा आनन्द आउँछ’, उनले भने।

यो चराले मानिसको छेउछाउसम्म आएर पनि मित्रताको संकेत दिने गर्छ। प्रायः बस्तुभाउसँग खेल्न खुब रुचाउने गरेकाले मानिसको मित्रको भूमिकासमेत यसले निर्वाह गर्ने छथर गाउपालिका–२ का प्रकाश पाक्साँवाले बताए। उनले भने, ‘यसले अन्नलाई नोक्सान पु¥याउने कीराफट्यांग्रा खाएर अन्नबालीको नोक्सानीलाई रोकथाम गर्ने गर्छ।’

हराउन थाले चिबे

बासस्थान र आहारा अभावले गर्दा चिबे चरा विस्थापित हुँदै जान थालेका छन्। बढ्दो आधुनिकीकरण र खेतीपातीमा विषादी प्रयोगका कारण विस्थापित हुँदै गएपछि सहर तथा गाउँघरमा चिबे चराको चिरबिर सुनिन छाडेको हो। पहिले एकाबिहानै भाले बास्नुअगाडि चिबे चराको स्वर सुनिए पनि अहिले कम हुँदै गएको लागीगुराँस नगरपालिकाका–९ का राजकुमार तेयुङले बताए। उनले भने, ‘अब त चिबे चरा विरलै मात्रामा देखिन्छ।’

गाउँघरमा कुखुराको चल्ला लाने चीललाई टाढासम्म चिबेले लखेटेको दृश्य हिजोआज कम मात्र देखिने फेदाप गाउँपालिका–२ का गोविन्दबहादुर मादेम्बाले बताए। ‘यस्तो दृश्य त अब केही वर्षपछि स्मृतिमा मात्र सीमित रहला’, उनले भने।

केही वर्ष अघिसम्म खेतबारीमा चरिरहेका गाईभंैसीसँग खेलिरहने चिबे देख्न मुस्किल हुन थालेको मेन्छ्यायेम गाउँपालिका–४ का लीलाबहादुर लिम्बूले बताए। उनले भने, ‘अब चिबे चरा देखिनै छाड्यो। यस्तै हो भने पछिल्लो पुस्ताले ती चराको बारेमा थाहा पाउन पनि गाह्रै होला।’

खेतीपातीमा पनि बढी मात्रामा विषादी प्रयोग हुन थाल्यो। त्यसपछि कीराफट्यांग्रा नासिएर आहाराको अभावले पनि ती चरा विस्थापित हुन थालेको चराविद् बताउँछन्। बास र आहारा नपाएपछि ती चरा आफ्नो ठाउँबाट क्रमशः विस्थापित भएर अन्यत्र जान थालेका छन्।

चिबेसँग बालबालिका मोहित

चरनमा गएका बस्तु चौपायाको ढाडमा चिबे चरा खेलिरहने भएकाले यो दृश्यसँग बालबालिका मोहित हुन्छन्। आकाशमा उड्दा पनि कहिले पखेटा फिँजाउने र कहिले बन्द गर्नेजस्ता ठट्यौलो गतिविधि गर्नाले हेर्नेलाई एकोहोरो बनाउने गर्छ। मानिसको नजिक आउने गर्नाले पनि बालबालिका हुरुक्कै हुन्छन्।

पशु चौपायाको सिङमा बस्ने अनि जता गयो उतै जाने दृश्य आफूले हेरिरहने गरेको आइडल एकेडेमी बोर्डिङ जिरी खिम्तीमा कक्षा ६ मा पढ्ने नीलम सेनेहाङले बताइन्। ‘बिदाको दिनमा चिबे चराको नजिक जानलाई भए पनि बस्तु चराउन जान्छु’, उनले भने।

चिबेको जात

नेपालमा विभिन्न आठ प्रकारका चिबे पाइन्छन्। तिनमा कागठुँडे, कालो चिबे, केशराज, ध्वाँसे, भीमराज, भृङराज, सेतोपेटे र सानो चिबे पर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.