‘सरकार ! छाउपडी कहिले हट्छ ?’
सुर्खेत : स्कुलमा नयाँ मान्छे आउँदैछन् भन्ने हल्ला फैलियो। शिक्षकले विद्यार्थीलाई कक्षा कोठामा जम्मा गरे। विद्यार्थी आपसमा कानेखुशी गर्दै थिए,‘नगरपालिकाबाट सरकारका मान्छे आउँदै छन् रे !’
बुधवार दिउँसो १२ बजेको थियो। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालसहितको टोलीत्यही कक्षाभित्र पस्यो। उपप्रमुख ढकालले आफू स्थानीय सरकारको प्रतिनिधि भएको परिचय दिइन्। अनि स्थानीय सरकारको बारेमा विद्यार्थीलाई जानकारी दिन थालिन्। वीरेन्द्रनगर-१० मा रहेका जनसेवा माविका विद्यार्थीहरु सुरुमा त अक्मकिए। तर उपप्रमुख ढकालले आफू पढाउन नआएको, बरु बालबालिकाका गुनासा सुन्न आएको स्पष्टीकरण दिइन्।
उपप्रमुख ढकालले बालबालिकालाई स्थानीय सरकारसँग केही अपेक्षा भए भन्नसमेत आग्रह गरिन्। स्थानीय सरकारका अधिकार र कामबारे जानकारी पाएपछि बालबालिकाले प्रश्नको चाङ नै लगाए। छात्रा सीता शर्माले भनिन्,‘नगरभित्रै छाउपडी छ, महिनावारी हुँदा घरभित्र बस्न पाइँदैन। सरकार ! यो छाउपडीको कुप्रथा कहिले हटाउनु हुन्छ ? स्कुलहरु छात्रामैत्री कहिले बन्छन् ?’ सीताको प्रश्न सुनेपछि सबैको नजर उपप्रमुखतर्फ नै सोझियो। उपप्रमुख ढकालले महिनावारी हुँदा बार्ने र किशोरी तथा महिलालाई गोठमा सुताउने कुप्रथा अन्त्यका लागि नगरपालिकाले कडा कदम चाल्ने प्रतिबद्धता जनाइन्।
‘नगरपालिकामा न्यायिक समिति छ, त्यो समितिले के काम गरिरहेको छ ?’ कक्षा १० की छात्रा कल्पना रानाले भनिन्,‘गाउँमा बालविवाह बढेको छ, अभिभाकले नै उमेर नपुग्दै जबर्जजस्ती बिहे गरिदिन्छन्। पीडितलाई न्याय खै ? सानैमा बिहे गराउनेलाई कहिले कारबाही गर्नुहुन्छ ?’ उनले बालविवाहका कारण धेरैले पढ्न नपाएको भन्दै यसमा गम्भिर बनिदिन नगरपालिकालाई आग्रह गरिन्।
विद्यालयका छात्राहरुले छाउपडी अन्त्य गर्न, बालविवाह रोक्क र विदालयलाई छात्रामैत्री बनाउन नगरपालिकालाई आग्रह गरे। विद्यार्थी हिमाल पोखरेलले भने,‘बालबालिकाले बजेट कहिले पाउने हुन् ? नगरपालिकाले हाम्रो नाममा आउने बजेट सडकमा किन खर्च गरेको हो ?’ बालबालिकामाथि स्थानीय सरकारले लगानी बढाउनुपर्ने उनको माग थियो।
कक्षा कोठामै स्थानीय सरकारका प्रतिनिधि पुग्दा बालबालिकाले विद्यालयका समस्या पनि राखेका थिए। बालिबालिकाका गुनासा सुनेपछि उपप्रमुख ढकालले वीरेन्द्रनगरलाई बालिकामैत्री बनाउनका लागि काम भइरहेको बताइन्।
उनले भनिन्,‘हामीले छोरीको बैंक खाता खोल्न थालेका छौं, अब छाउपडी र बालविवाह नियन्त्रणमा पनि कडाइका साथ लाग्नेछौं।’ नगरभित्रका विद्यालयहरुलाई छात्रामैत्री बनाउनका लागि आवश्यक पहल थाल्नेसमेत उनले बाचा गरिन्। महिनावारीको समयमा छात्रालाई विद्यालयमा समस्या हुने गरेको भन्दै ढकालले छाउपडी, बालविवाह र बहुविवाह जस्ता कुरिती अन्त्य गरिने बताइन्। साथै उनले हरेक महिनाको एकदिन विद्यालयमा पुगेर बालबालिकाका गुनासा सुन्ने र समस्या समाधानमा जुट्ने जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस !