उपसभामुखले राजीनामा दिने, सभामुखमा नेम्वाङकै सम्भावना

उपसभामुखले राजीनामा दिने, सभामुखमा नेम्वाङकै सम्भावना

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बिहीबार राजीनामा दिने तयारी गरेकी छन्। सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन लागेकी हुन्। संसद् सचिवालयले पुस १४ गते सभामुख निर्वाचनको तालिका बनाएको छ। सत्तारुढ नेकपाले सभामुख लिन तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले उपसभामुख छाड्न लागेको हो।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुख र उपसभामुख दुवै पद रिक्त हुनेछन्। दुवै पद खाली हुँदा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरि निर्वाचन प्रक्रिया सुरु गर्नेछन्। ‘उपसभामुखज्यूले भोलि (बिहीबार) राजीनामा दिने तयारी छ,’ उनको सचिवालय स्रोतले भन्यो, ‘पर्सि (शुक्रबार) निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने भएकाले बिहीबार नै उपसभामुखज्यूले राजीनामा दिने तयारी गर्नुभएको छ।’ यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख रिक्त भएको हो।

उपसभामुखले राजीनामा दिएपछि निर्वाचन प्रक्रियासम्म ज्येष्ठ सदस्यका हैसियतले राजपाका सांसद महन्थ ठाकुरले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन्। ज्येष्ठ सदस्यको हैसियतले अध्यक्षता गर्न ठाकुरले राष्ट्रपतिसमक्ष फेरि शपथ लिने कि नलिने विषय टुंगो लागेको छैन। यसअघि पनि प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्ने बेलामा पनि ठाकुरले राष्ट्रपतिबाट ज्येष्ठ सदस्यको हैसियतमा शपथ लिएका थिए। ‘ज्येष्ठ सदस्यको एकपटक शपथ लिइसकेकाले फेरि शपथ गराउने कि नगराउने भन्नेमा टुंगो छैन,’ सचिवालय स्रोतले भन्यो, ‘उपसभामुखज्यूको राजीनामा आयो भने त्यससँगै शपथको पनि टुंगो लाग्छ।’

संसद् सचिवालयले पुस १४ गते सभामुख निर्वाचनको तालिका बनाइसकेको छ। सचिवालयले पुस १३ गते मनोनयन दर्तालगायत प्रक्रिया पूरा गर्ने र १४ गतेको प्रतिनिधिसभा बैठकमा चुनाव गराउने कार्यतालिका बनाएको छ। ‘चुनावी प्रक्रियाका लागि सचिवालय पूर्ण तयारीमा छ,’ सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले भने। सभामुखको निर्वाचन प्रस्तावद्वारा संसद्मा निर्णय गरिन्छ। सभामुखका लागि एकभन्दा बढी प्रस्ताव परे क्रमशः प्रस्तावमाथि निर्णय गरिन्छ। जुन प्रस्तावलाई बहुमत सदस्यले समर्थन जनाउँछन्, त्यही प्रस्तावका सांसद सभामुख निर्वाचित भएको घोषणा गरिन्छ। एउटा मात्र प्रस्ताव परे निर्विरोध भएको घोषणा गरिने व्यवस्था नियमावलीमा छ।

नेम्वाङकै सम्भावना

नेकपाले भावी सभामुखबारे औपचारिक निर्णय गरेको छैन। पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सभामुखबारे निर्णय गर्ने नेताहरू बताउँछन्। तर सभामुखमा पूर्वसभामुख सुवास नेम्वाङकै सम्भावना रहेको उनीहरू बताउँछन्। पुनःस्थापित प्रतिनिधिसभा, अन्तरिम व्यवस्थापिका, दुवै संविधानसभा र संविधान बनेपछिको रुपान्तरित संसद्मा नेम्वाङ सभामुख थिए। पार्टी र सरकारको स्पिरिट समात्न सक्ने, कानुन र संविधानका जानकार तथा अनुभवका कारण उनी नै सभामुख बन्ने सम्भावना रहेको नेकपाका नेता बताउँछन्।

महराको राजीनामालगत्तै आफू सभामुखमा इच्छुक नभएको सार्वजनिक अभिव्यक्ति दिएपछि पार्टीका अध्यक्षद्वयले सभामुखबारे नबोल्न निर्देशन दिएको नेम्वाङ बताउँछन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको रोजाइमा नेम्वाङ नै रहेको बालुवाटार स्रोत बताउँछ।

तर पूर्वमाओवादीका नेताहरू भने पूर्वमाओवादीकै कोटाबाट सभामुख बनाउन पार्टी अध्यक्ष दाहालमाथि दबाब दिइरहेका छन्। यसअघि पूर्वमाओवादीको कोटाबाट कृष्णबहादुर महरा सभामुख बनेकाले यसपटक पनि पूर्वमाओवादीकै कोटाबाट सभामुख बन्नुपर्ने उनीहरूको भनाइ छ। सभामुखमा पूर्वमाओवादीबाट अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले चाहना व्यक्त गरेका छन्।

उपसभामुख तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गरिरहेकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको चाहना पनि तुम्बाहाङ्फेलाई सभामुख बनाउने छ। पार्टी अध्यक्ष दाहाल बिहीबार काठमाडौं फर्केपछि सभामुखको उम्मेदवार टुंगो लाग्ने नेताहरू बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.