मिली सेकेन्डको त्यो स्वर्ण

मिली सेकेन्डको त्यो स्वर्ण

केवल एक पल अर्थात् मिली सेकेन्ड। औसत आयु बाँच्नेका लागि जाबो मिली सेकेन्ड के नै होर। सायद संसारभर यस्तै भन्नेको बाहुल्य छ। तर, यही मिली सेकेन्डले नेपालकी एथलेटिक्स धाविका सन्तोषी श्रेष्ठको जीवन अर्थपूर्ण बनाइदिएको छ।

सन्तोषीले हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा इतिहास रचिन्। दशरथ रंगशालाको ट्र्याकमा १० मिटर दौडन खर्चिएको समयभन्दा अन्तिम पलमा विपक्षीलाई उछिन्दाको समय सन्तोषीका लागि जीवनकै अमूल्य समय भएको छ। सन्तोषीले मिली सेकेन्डले मात्र भारतकी धाविका कविता यादवलाई पछि पार्दै १० मिटर दौडमा स्वर्ण दिलाएकी थिइन्। सन्तोषीले जितेको यो स्वर्ण साग महिला एथलेटिक्समै नेपालको पहिलो स्वर्ण पदक हो। सन्तोषीले एथलेटिक्समा एक्लो स्वर्ण जित्ने महिला खेलाडीको कीर्तिमान पनि रचेकी छन्। यसअघि सागमा नेपाली महिला धाविका रजत पदकभन्दा माथि जान सकेका थिएनन्।

नेपालकी कान्छीमाया कोजूले श्रीलंकामा २००६ भएको सागमा १० हजार मिटरमा रजत पदक जितेकी थिइन्। पुरुष म्याराथनमा भने नेपालका वैकुण्ठ मानन्धरको कीर्तिमान अहिलेसम्म दक्षिण एसियामा कसैले तोड्न सकेका छैनन्। वैकुण्ठले सन् १९८७ मा कलकत्तामा सम्पन्न तेस्रो सागमा म्याराथनमा कीर्तिमानी स्वर्ण जितेका थिए। उनले त्यति बेला दुई घण्टा १५ मिनेट तीन सेकेन्डको कीर्तिमान बनाएका थिए। वैकुण्ठ आफ्नै जीवनकालमा नेपाली खेलाडीले नै कीर्तिमान तोडोस् भन्ने आशमा छन्।

सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गरेकी थिइन्। सबै ल्यापमा अगाडि रहेकी सन्तोषीलाई अन्तिम ल्यापको अन्तिम पाइलामा भारतकी कतिवाले उछिन्न खोजिन्। विपक्षीको चलाखी बुझेकी सन्तोषीको धैर्य गुमेन। उनले अन्तिम फड्कोमा कवितालाई उछिनेरै छाडिन्। जहाँ कविताले ३५ मिनेट ७.९५ सेकेन्डमा दौड सक्दै रजतमा चित्त बुझाएकी थिइन्।

सन्तोषीलाई यसअघि समयको त्यति ख्याल हुँदैन थियो रे। जब उनले अन्तिम फड्कोमा स्वर्ण जितिन्। त्यसपछि केही क्षण थकाइ मारेर मिली सेकेन्डले विपक्षीलाई पछि पारेको चाल पाइन्। ‘समयको म त्यति ख्याल गर्दैन थिए। १३ वर्षको उमेरदेखि स्कुलस्तरको दौडमा भाग लिन्थेँ। स्नातक पढाइ सकेपछि फेरि दौडन सुरु गरेको हुँ। सागमा राम्रो गर्छु भन्ने लागेको थियो। स्वर्ण नै जितेर इतिहास रच्छु भन्ने थिएन। दौड सुरु गरेको दुई वर्षमा देशलाई स्वर्ण नै जिताउन पाउँदा आभारी भएकी छु। जीवनमा मिली सेकेन्डको महत्व अहिले आएर बुझेँ’, २६ वर्षीया सन्तोषीले भनिन्।

धादिङको ज्वालामुखी गाउँपालिका सुनखानीकी सन्तोषीलाई सुरुमा दौडने कला गाउँघरको उकाली ओरालीले सिकायो। माओवादी युद्धका बेला उनी स्कुल पढ्नकै लागि गाउँ छाडेर दाजुसँग काठमाडौं पसिन्। गाउँमा साना बालबालिका माओवादीले लैजान्छ भन्ने डर थियो। काठमाडौं प्रवेशसँगै उनी गीतामाता स्कुलमा भर्ना भइन्। कक्षा ७ मा पढ्न सुरु गरेसँगै उनले स्कुलस्तरीय दौड प्रतियोगितामा भाग लिएकी थिइन्।

स्कुलस्तरमा राम्रो गर्दै आएकी उनले गत वर्ष सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक भाग लिइन्। आठौंमा प्रदेश नम्बर ३ बाट प्रतिस्पर्धा गरेकी उनले पाँच हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्। सन्तोषीले पाँच हजार मिटर दौडमा १६ मिनेट ३८.५३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन्। त्यसअघि उक्त कीर्तिमान कान्छीमाया कोजूको नाममा थियो। कान्छीमायाले सन् २०१० मा चीनको गोन्झाउमा सम्पन्न १६औं एसियाली खेलकुदमा १६ मिनेट ४९.९६ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

आठौं राष्ट्रिय खेलकुदको सफलताले नै सतोषी सागमा छनोट भएकी हुन्। सन्तोषीले आफूभित्र एथलेटिक्स खेलको दम भएको आठौं खेलकुदमै थाहा पाएकी थिइन्। पब्लिक हेल्ड विषयमा स्नातक गरेकी सन्तोषी पढाइ र खेललाई सँगै लैजाँदै छिन्। सागमा पनि उनले बन्द प्रशिक्षणबाहिर बसेर तयारी गरेकी हुन्। उनलाई एथलेटिक्स संघका पूर्वअध्यक्ष एवं प्रशिक्षक रघुराज वन्तले अभ्यासमा विशेष सहयोग गरे।

रघुराजको घर गोरखा र सन्तोषीको घर धादिङ। नाताले सन्तोषी रघुराजका फुपूकी नातिनी हुन्। काठमाडौंको पढाइसँगै सन्तोषीमा दौडने गुण रहेको रघुराजले पाए। एथलेटिक्समा निखारता ल्याउने काम उनै रघुराजले गरे। सन्तोषीको प्रशिक्षणमा पुलिस क्लब, प्रशिक्षक सुनिल राजवंशी र मुख्य प्रशिक्षक चन्द्र गुरुङले पनि सहयोग गरेका थिए।

सन्तोषीले भाग लिएको साग नै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। ‘पहिलो सहभागितामै स्वर्ण जितेँ। नेपाली महिलाले एथलेटिक्समा पहिलो पटक स्वर्ण जितेको भन्दा अझै खुसी लागको छ। यो खुसी म गरिब र अवसर नपाएका महिलाप्रति समपर्ण गर्न चाहन्छु। अवसर पाए दूरदराजमा रहेका धेरै महिलाले मजस्तै खेलाडी बनेर देशको नाम राख्न सक्छन्। मैले पनि अञ्जानमै स्वर्ण जितेकी हुँ। यसले मलाई ठूला प्रतियोगितामा अझै राम्रो गर्न आत्मविश्वास मिलेको छ’, सन्तोषीले भनिन्।

सन्तोषीले स्वर्ण जितेपछि उनका गुरु रघुराजले आफ्नो एउटा इच्छा पूरा भएको बताए। ‘आफ्नी चेलीले ट्र्याक एन्ड फिल्डमा देशका लागि ऐतिहासिक स्वर्ण जिताउँदा धन्य छु। यो नेपालको एथलेटिक्समा नयाँ सुरुआत हो’, रघुराजले भने। उनले सन्तोषीमा असीमित प्रतिभा रहेकाले उनले एसियाली खेलकुदमा समेत पदक ल्याउन सक्ने बताए। अवसर र सहयोग पाए भविष्यमा देशका लागि ठूला प्रतियोगितामा राम्रो गरेर देखाउने सन्तोषीको योजना छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.