खुला विश्वविद्यालय : आकर्षण बढ्यो, संरचना छैन

खुला विश्वविद्यालय : आकर्षण बढ्यो, संरचना छैन

काठमाडौं : खुला विश्वविद्यालयमा विद्यार्थी आकर्षण बढे पनि जनशक्ति र भौतिक संरचना अभावमा चाहना राख्ने सबैले पढ्न पाएका छैनन्। विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय, सामाजिक तथा शिक्षा संकाय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायको अध्ययन सञ्चालन गरिरहेको छ। सबै संकायमा १ हजार २ सय १२ विद्यार्थी अध्ययनरत छन्।

विश्वविद्यालयले अहिले स्नातक, स्नातकोत्तर र एमफिल तहमा पढाइ सञ्चालन गरिरहेको छ। तर पर्याप्त जनशक्ति र संरचनासमेत नहुँदा भर्नाका लागि आवेदन दिएका सबैलाई पढाउन नसकिएको विश्वविद्यालयका उपकुलपति प्राडा. लेखनाथ शर्माले बताए। विश्वविद्यालय अहिले मानभवनस्थित भाडाको घरमा कार्यालय राखेर सञ्चालन भइरहेको छ।

विश्वविद्यालयले बर्सेनि हिउँदे र वर्षे सत्र गरि दुई पटक विद्यार्थी भर्ना लिन्छ। तर क्षमताभन्दा बढी विद्यार्थीले आवेदन दिने गरेका छन्। शर्माले भने, ‘विद्यार्थीले भर्ना हुनुअघि प्रवेश परीक्षा दिनुपर्छ। तर प्रवेश परीक्षा उत्तीर्ण भएकामध्ये पनि हाम्रो सीमित क्षमताका कारण सबैलाई लिन सकेका छैनौं।’

शर्माका अनुसार एमफिलको लागि प्रति कक्षा २५ जना र स्नातकोत्तर तहका लागि प्रति कक्षा ५० जना मात्र विद्यार्थीको कोटा तोकिएको छ। विश्वविद्यालयको तथ्यांकअनुसार ०७५ सालको हिउँदे सत्रमा अंग्रेजी विषयमा एमफिल पढ्न २ सय १९ जनाले प्रवेश परीक्षा दिएका थिए। तर विश्वविद्यालयले ५० जना मात्र भर्ना लिएको छ।

५० जनाको भर्ना क्षमता भएको एमफिलकै नेपाली र शिक्षामा क्रमशः १ सय ३८ जना र २ सय १७ जनाले प्रवेश परीक्षा दिएका थिए। अन्य विषयमा पनि भर्ना क्षमताभन्दा दोब्बरले प्रवेश परीक्षा दिने गरेका छन्। अहिले स्नातकोत्तर तहमा ई–गभर्नेन्स, एमएस इन डेभ्लपमेन्ट म्यानेज्मेन्ट एन्ड गभर्नेन्स, आईसीटी, जियोइन्फरमेटिक्स र स्नातक तहमा लाइब्रेरी एन्ड इन्फर्मेसन म्यानेज्मेन्ट कानुनलगायत विषयमा विद्यार्थीको आकर्षण धेरै छ।

विश्वविद्यालयका सामाजिक तथा शिक्षा शास्त्र संकायका डीन प्राडा. रामचन्द्र पौडेलका अनुसार सीप सिकाउने तथा अनुसन्धान र कार्यशालामा जोड दिएर पढाइने भएकाले खुला विश्वविद्यालयको पढाइ विद्यार्थीले निकै रूचाएका छन्। रोजगारी र अन्य समस्याका कारण नियमित विश्वविद्यालय भर्ना हुन नसकेकालाई दृष्टिगत गरेर खुला विश्वविद्यालय स्थापना गरिएको हो।

यहाँ भर्ना हुने विद्यार्थीलाई अनलाइन पढाइन्छ। विद्यार्थीलाई ‘असाइन्मेन्ट’ पनि अनलाइनबाटै दिइन्छ। उनीहरूलाई हरेक दिन अनलाइनमार्फत पढाइन्छ। तर अनलाइनमा उपस्थित हुनैपर्ने बाध्यता छैन। पौडेलले भने, ‘तर असाइन्मेन्ट भने अनिवार्य पूरा गर्नैपर्छ। अन्यथा उनीहरूको मूल्यांकनमा अंक घट्छ।’ विद्यार्थी अनलाइनमा कति पटक उपस्थित भयो भन्ने पनि अभिलेखालयबाट जानकारी पाइने उनले बताए। विश्वविद्यालयको स्थापना ०७२ सालमा भएको हो।

अहिलेसम्म विश्वविद्यालयमा एक जना पनि स्थायी प्राध्यापक र कर्मचारी छैनन्। त्रिभुवन, काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा फ्रिलान्सरबाट अध्यापन भइरहेको छ। ‘आफ्नै प्राध्यापक भएको भए ढुक्कसँग विद्यार्थी भर्ना गर्न सकिन्थ्यो तर करारमा ल्याउँदा सानो विषयमा विवाद भयो भने पनि उनीहरू बीचैमा छाडेर जान्छन्,’ उपकुलपति शर्माले भने। अहिले दुई सयको हाराहारीमा प्राध्यापक र कर्मचारी काम गर्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.