रुघाखोकीले गाउँ नै थला

रुघाखोकीले गाउँ नै थला

सुर्खेत : हुम्लामा मौसमी रुघाखोकीको संक्रमण फैलिएको छ। मौसमी रुघाखोकीका कारण खार्पुनाथ गाउँपालिकाको राया गाउँ नै थला परेको हो। केही दिनदेखि फैलिएको मौसमी रुघाखोकीले सिंगो गाउँ नै थला परे पनि स्वास्थ्यकर्मी र औषधि नहुँदा उपचारमा समस्या भएको छ।

गाउँमा औषधि अभावमा उपचार नपाउँदा स्थानीय ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको छ। गाउँ नै थला परेपछि स्थानीयले उपचारका लागि तत्काल स्वास्थ्यकर्मी र औषधि माग गरेका छन्। चिसोका कारण फैलिएको रुघाखोकीको संक्रमणले राया गाउँका १ सय ६० घरका झन्डै ३ सयभन्दा बढी स्थानीय थला परेका हुन्।

संक्रमण फैलिएपछि राया स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जना रुघाखोकीका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। तर औषधि नहुँदा उनीहरूको उपचार गर्न कठिनाइ भएको अहेव वीरसिंह रावलले बताए। ‘रुघाखोकीका कारण ज्वरो आउने, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउनेजस्ता रोगका बिरामीको स्वास्थ्य चौकीमा घुइँचो नै छ,’ उनले भने, ‘स्वास्थ्यचौकीमा मौज्दात रहेको औषधि पनि सकिन थालेपछि बिरामीको उपचारमा समस्या भएको छ।’

खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले रुघाखोकीको संक्रमणले थला परेका राया गाउँका स्थानीयको उपचारका लागि स्वास्थ्यकर्मीसहित औषधि माग गरिएको बताए। ‘हालका लागि बिरामीको उपचारमा दुई जना स्वास्थ्यकर्मी खटाएका छौं,’ उनले भने, ‘गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाही बिरामीको उपचारका लागि स्वास्थ्यकर्मी र औषधि व्यवस्थापनमा जुटेका छन्।’ बिहीबार दिउँसोसम्म सदरमुकामबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली राया गाउँ पुग्ने उनले बताए। औषधिसहित दक्ष स्वास्थ्यकर्मीको टोली राया गाउँ पुगेपछि रुघाखोकीको संक्रमण नियन्त्रण हुने उनको भनाइ छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईका अनुसार जिल्लाभरि रुघाखोकीको संक्रमणले सताएको छ। ‘राया गाउँमा मात्रै नभएर रुघाखोकीको संक्रमण पूरै जिल्लाभरि नै भएकाले समस्या छ,’ उनले भनिन्, ‘यसको पूर्वतयारीका लागि पहिलो चरणमा सञ्चारमाध्ययमबाट सूचना प्रवाह गरेर चिसो तथा रुघाखोकीको संक्रमणबाट सुरक्षित रहन आग्रह गरेका छौं।’ राया गाउँमा रुघाखोकीको संक्रमण बढ्दै गए भाइरल नियन्त्रणका लागि औषधि तथा स्वास्थ्यकर्मीसहितका अन्य विकल्प अपनाइने उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.