नेकपामा बढ्दो अनुशासनहीनता !

नेकपामा बढ्दो अनुशासनहीनता !

नेकपा पार्टी नेतृत्वले गुटको संस्कार नियन्त्रणमा पहल नथाल्ने हो भने निकट दिन पार्टी कमिटी नै ध्वस्त हुने खतरा हुन्छ


भदौ ५ मा बालुवाटारमा प्रधानमन्त्री केपी ओली र पार्टीकै वरिष्ठ नेता माधव नेपालबीच चर्काचर्की पर्‍यो। प्रधानमन्त्रीको ‘स्वास्थ्यलाभ’ का विषयमा मात्र दुई नेताका बीचमा चर्काचर्की परेको थिएन। झगडाको अर्काे थप एउटा कारण पनि थियो, त्यो हो– केन्द्रीय सदस्य राजेन्द्र गौतमको फेसबुकमा लेखिएको स्टाटस।

नेपालले आफ्नो ‘नोट अफ डिसेन्ट’ पछि गौतमले आफूविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेखेको र उनीमाथि कारबाहीको माग गरेका थिए। ‘तपाईं (प्रधानमन्त्री) निकटका मान्छेले जे पनि बोल्न र लेख्न मिल्छ ? उनीहरूलाई अनुशासन लाग्दैन ? मैले पार्टीमा आफ्ना कुरा राख्नसमेत नपाउने ? मैले नोट अफ डिसेन्ट राखेपछि राजेन्द्र गौतमले फेसबुकमा के लेखेको त्यसरी, हेर्नुभएको छ ? तपाईंका मान्छेलाई किन कारबाही नगर्ने ? कारबाही गर्नुहोस्।’ माधव नेपालले त्यस दिन ओलीसँग असन्तुष्टि जनाउँदै भनेका थिए।

त्यसपछि प्रधानमन्त्रीले पनि जवाफ फर्काए– बुधबार साप्ताहिकमा आफूविरुद्ध लेखिएको प्रसंगसम्म। पार्टी शीर्षनेतामै देखिएको यो अविश्वास र आरोप–प्रत्यारोप यतिमा मात्र सीमित रहेन। भोलिपल्टै (६ भदौमा) ललितपुरमा पार्टीनिकट प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने, ‘हामी हिजो निकै अनुशासित थियौं र मात्रै यहाँ आइपुगेका हौं। हिजोआज अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो, त्यही बोल्ने भएका छौं। कम्युनिस्ट पार्टीमा हिजो सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी हुन्थ्यो। हिजोआज यो अवस्था उल्टिएको छ। व्यक्तिगत निर्णय हुन्छ। जिम्मेवारीचाहिँ समूहले लिइदिनुपर्ने अवस्था छ।’

३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता गर्दा नै तत्कालीन पार्टी र नेता–कार्यकर्ताका बीचमा आरोप–प्रत्यारोप नगर्ने समझदारी थियो। तर समझदारी ‘ओठेबोली’ मा मात्र सीमित रह्यो। केन्द्रीय नेताहरू नै पूर्वपार्टीका आधारमा मात्र नभई पूर्ववत् पार्टीभित्रकै पनि गुटगत पक्षधरताका आधारमा ‘जुहारी’ मा उत्रिरहे।

पार्टी नीतिविपरीत सरकार र पार्टी नेतृत्वकै विरुद्धमा सार्वजनिक रूपमा केही नेताहरू आलोचना र गालीगलौजमा उत्रने क्रम नेकपाभित्र बढेपछि केही नेताहरूलाई ‘अनुशासनको डण्डा’ चलाउने तयारीमा शीर्ष नेताहरूलाई पुर्‍यायो।

नेताहरू भीम रावल, जनार्दन शर्मा, जगन्नाथ खतिवडा, सूर्य थापा र रामप्रसाद सापकोटा (दीपशिखा) सम्मका नेताहरूमाथि नेतृत्वका आँखा पटक–पटक परे। पहिलो चरणमा मौखिक स्पष्टीकरण सोध्ने र सचेत गराउनेसम्ममा नेकपाका दुई अध्यक्ष पुगे।

पार्टीभित्र आफ्नै नेता–कार्यकर्तामा बढ्दो अनुशासनहीनतापछि नेकपाको ९ भदौमा प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले पार्टी नेताहरूलाई लगाम लगाउने गरी नेतृत्वविरुद्ध गतिविधि गरे कारबाही गर्नेसम्मको निर्णय लिएको थियो। महासचिव विष्णु पौडेलले त्यसबेलाको बैठकको निर्णय सुनाउँदै भने, ‘पार्टीका सबै तहका नेता–कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्थाबमोजिम प्रस्तुत हुन र अन्तरपार्टी जनवादको भरपूर उपभोग गर्न निर्देशित गरेको थियो। पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको थियो।’

१३ भदौमा उसले पार्टीको नीति र नेतृत्वविरुद्ध लेख्ने, बोल्नेमाथि कारबाही गर्ने उल्लेख गर्दै ‘अन्तरपार्टी विशेष निर्देशन’ जारी गर्‍यो। उक्त अन्तरपार्टी विशेष निर्देशनको बुँदा नम्बर (च) मा पार्टीका सबै तहका नेता–कार्यकर्ता तथा सदस्यहरूलाई पार्टी नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशन गरिएको थियो। त्यसमा उल्लेख थियो, ‘पार्टीको नीति एवं नेतृत्वविरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने, कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।’

तर पनि नेता–कार्यकर्ताबीचको जुहारी रोकिएन। झन् पार्टीभित्र अराजकता मौलाउन थालेपछि चितवन पुगेर प्रचण्डले सार्वजनिक कार्यक्रममा भने, ‘कम्युनिस्ट आफैं बिग्रेपछि खतरा हुन्छ। पार्टीमा अहिले यही डर छ।’

पार्टीकै केही नेताहरूलाई सरकार र पार्टी नेतृत्वले गरेका काम पटक्कै चित्त बुझेको छैन। तिनीहरूले कुण्ठा मात्र पालिरहेका छन्। कुण्ठाले कहीं पुगिँदैन।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पनि बेलाबेला पार्टी नेताहरूले नेतृत्वमाथि गरेको आलोचनाप्रति खरो टिप्पणी गर्दै आइरहेका छन्। १२ पुसमा मात्रै उनले आफ्नै सरकारी निवासमा पार्टीनिकट पत्रकारको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भनेका थिए, ‘पार्टीकै केही नेताहरूलाई सरकार र पार्टी नेतृत्वले गरेका काम पटक्कै चित्त बुझेको छैन, उहाँहरू कुण्ठा पालेर मात्र हिँडिरहनुभएको छ। त्यस्तो कुण्ठाले कहीं पुगिँदैन।’

हुन त नेकपाले पार्टीभित्र देखापरेको अराजकतालाई पार्टीको राजनीतिक दस्ताबेजमै उल्लेख गरेर ल्याएको पनि छ। २९ मंसिर देखि ६ पुससम्म चलेको स्थायी समिति बैठकमा पारित राजनीतिक दस्ताबेजमै लेखिएको छ, ‘पार्टी संगठन अन्योलग्रस्त अवस्थामा रहेको छ। पार्टी संस्थागत छैन। बरु अनेक गुट झाँगिदै जान थालेका छन्। पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्ति बढिरहेका छन्। पार्टी अनुशासनस्तर दयनीय अवस्थामा छ। पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ। आलोचना, आत्मआलोचना, राम्रा काम गर्नेलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहन गर्नेजस्ता सजीव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन।’यसले पनि देखाउँछ– सत्तासीन दल नेकपाभित्र पार्टी अनुशासनको स्तर कुन तहमा छ भन्ने तथ्यलाई।

दुई चरण दुई फायर !

नेकपाभित्र नेताहरूबीचकै आरोप–प्रत्यारोप नयाँ भने होइन। एमाले–माओवादीका नेताहरू कुनै बेला एकअर्कालाई ‘दुस्मन’ कै रूपमा लिन्थे। त्यति मात्र होइन, पूर्ववत् पार्टीमा रहेका नेताहरू गुटका आधारमा पनि एकअर्का नेताका मानमर्दन गर्ने र खेदो खन्ने काममा उत्रन्थे। गुटगत पक्षधरताले ती नेताहरू अनुशासनको कारबाहीबाट जोगिने अवस्था बन्थ्यो। अहिले पनि अवस्था उस्तै देखिएको छ।

प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक सिंहदरबारमा ‘इनिङ’ गरिरहँदा नेताहरू योगेश भट्टराई र विष्णु रिमालका बीचमा अस्वस्थ प्रकारको द्वन्द्व देखिएको थियो। तर अहिले भट्टराई पर्यटनमन्त्री भएपछि आरोप–प्रत्यारोपको पुरानो द्वन्द्व ‘स्टप’ भएको छ। तर बेलाबेखत रिमालले नेताविशेषलाई लक्ष्यित गर्दै गर्ने तिखो आलोचना रोकिएको छैन। उनी कहिले आफ्नै नेतालक्ष्यित गर्दै छौंडा प्रवृत्ति भन्छन् त, कहिले के...। यतिखेर नेकपा स्थायी समिति सदस्य भीम रावल र केन्द्रीय सदस्य तथ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीचको ‘वाक्युद्ध’ चर्चामा छ।

सुरुमा प्रधानमन्त्रीका सल्लाहकार थापाले फायर खोल्ने र रावल जवाफी फायरमा ओर्लिने क्रम जारी छ। नेता–कार्यकर्ताका लागि भने यी दुईको ‘वार’ टाउको दुखाइको विषय बन्न थालेको छ। १४ पुसमा रावलका पुराना कविता ‘लिम्पियाधुरा’ र बालुवाटारप्रति व्यंग्य गर्दै हालै स्थायी कमिटीमा रावलले सुनाएको ‘धुवाँले छोपिँदै दियो’ भन्ने कविता तुलना गर्दै थापाले एक्लो वृहस्पति बन्ने बाटोमा हिँडेको आरोप रावलमाथि लगाएका थिए। रावलले पनि जवाफ फर्काइहाले, ‘सल्लाहकारको सल्लाह भए २०३२ मा झ्यालखानादेखि तत्कालीन नेकपा एमालेमा देखेभोगेका कुरा र गुटबन्दीका पत्रपत्रलगायतका तथ्यमा बहस गरौंला। यद्यपि सरकार चलाउनुपर्नेले गुट चलाउन थालेमा सल्लाहकारबाट धेरै अपेक्षा गर्नु सायद उचित पर्दैन होला।’

६ पुसमा सचिवालयको निर्णय रावलले पत्रकारसँग बोलेकोमा थापालाई चित्त बुझेन। उनले परिभाषित जिम्मेवारी र कार्यक्षेत्रको प्रश्न भन्दै सामाजिक सञ्जालमा त्यस दिन लेखे, ‘कुन काम कसको जिम्माको हो ? ख्याल गरिदिने कसले हो त ? अन्यथा, कार्यविभाजनबाट निर्धारित जिम्मेवारी कुण्डल र बुलाकीजस्तो हुने अनि जो पनि प्रवक्ताजस्तो बनेर प्रस्तुत हुने अराजकता हावी हुन्छ।’

रावलले पनि त्यसपछि प्रत्युत्तर सामाजिक सञ्जालबाटै दिए, ‘मलाई जिम्मेवारीको उपदेश दिने धृष्टता गर्ने अधिकार सूर्यजीले कहाँबाट पाउनुभयो त भन्नेबारे भने उहाँले खुलाउनुभएन। बालुवाटारमा प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएपछि उहाँले पार्टी अध्यक्ष भए झैं गरी आदेश–निर्देश गर्ने अधिकार र हैसियत प्राप्त भएको भ्रम परेछ क्या रे।’

यी दुईको आरोप–प्रत्यारोप शृंखलामा छ। सामाजिक सञ्जालको वाक्युद्ध शृंखलामा चर्किंदै जाँदा अब यो विषय दुई नेतासँग मात्रै जोडिएको छैन, यसमा अन्य नेता–कार्यकर्ता पनि जोडिँदै पक्ष–विपक्षमा उत्रिन थालेका छन्। पछिल्लोपटक सञ्चारमन्त्री गोकुल बाँस्कोटाको पनि दुई नेताबीचको वाक्युद्धमा ‘इन्टी’ भएको छ।

नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा दीपशिखा र सहसंयोजक रमेश पौडेलका बीचमा पनि सामाजिक सञ्जालमै आरोप–प्रत्यारोप चलेको छ। पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डको पक्षधरता देखाउँदै उनीहरू एक–अर्काको खेदो खन्ने अभियानमा छन्। संगठनका डकुमेन्टमा संयोजक–सहसंयोजक दुवैले हस्ताक्षर गर्ने–नगर्ने भन्ने आन्तरिक विवाद उनीहरूले सामाजिक सञ्जालमा ल्याइपुर्‍याएका छन्। त्यसमा पनि नेता–कार्यकर्ता रमिते नै बनिरहेका छन्।

शीर्ष नेताकै सचिवालयमा रहेका व्यक्तिहरू पनि पार्टीका नेता–कार्यकर्तामा असहिष्णु देखिएका कयौं घटना नेकपाभित्र छ। खासगरी प्रधानमन्त्री सचिवालयका सदस्यहरू यसमा बढी विवादमा तानिएका छन्। ‘प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालदेखि प्रेस सल्लाहकार सूर्य थापासम्म पटक–पटक पार्टीका नेतासँग सीधै झगडामा उत्रिएका छन्, अनि अन्य नेताहरू किन प्रतिवादमा नउत्रियून् ? ’, नेकपाका एक स्थायी समिति सदस्य बताउँछन्।

पूर्वमाओवादी समूहभित्र भने आफ्नै पूर्ववत् समूहमा यो खालको समस्या देखिएको छैन, जति पूर्वएमाले खेमाका नेताहरूमा देखिएको छ। यो समस्या पार्टीभित्रको गुटबन्दीका कारण मौलाएको नेताहरूकै बुझाइ छ। नेताहरू भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीचको ‘निजी मनमुटाव’ त्यसैको विम्ब भएको ती स्थायी समिति सदस्यको भनाइ छ। कतिपय कमिटीमा बसेर छलफल गर्नुपर्ने विषय सामाजिक सञ्जालमा असन्तुष्टिका रूपमा पनि पोखिन थालेका छन्। राष्ट्रिय युवा संघ नेपालको संयोजक र सहसंयोजकबीचको विवाद भने त्यस्तैमध्येको एउटा हो।

एकतापछिको संगठनका नीति–निर्णयमा संयोजक–सहसंयोजक दुवैले हस्ताक्षर गर्न पाउने–नपाउनेमा संयोजक सापकोटा र सहसंयोजक पौडेलका बीचमा पनि सामाजिक सञ्जालमै आरोप–प्रत्यारोप चलेको छ। ‘संगठनभित्रको छलफलका विषय हो यो, तर सार्वजनिक आलोचनामा उत्रने काम विधिका हिसाबले अनुशासनहीनता हो’ ती स्थायी समिति सदस्यले अन्न्पूर्णसँग भने, ‘यस्तैखाले समस्या पार्टीभित्र अहिले जथाभावी देखिन थालेको छ। यसको नियन्त्रण जटिल बन्दै जान थालेको छ। पार्टी नेतृत्वले सच्याउन पहल नगर्ने हो भने आउँदा दिनमा यसले पार्टी कमिटीलाई नै ध्वस्त नबनाउलान् भन्न सकिन्न।’

केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरूले पार्टी अनुशासन, निर्णय र निर्देशनको पालना गरे वा नगरेको अनुगमन गर्ने र गल्ती गर्नेमाथि अनुशासनको कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिने अधिकारसहितको केन्द्रीय अनुशासन आयोग नेकपाभित्र छ।

त्यसको नेतृत्वमा अमृत बोहोरा र सचिवमा अशोक रोकाय छन्। उनीहरूले जिम्मेवारीअनुसारको पार्टी काम थालेका त छैनन्, तर पार्टीभित्र देखा पर्न थालेको बढ्दो अनुशासनहीनतामा चिन्ता भने देखाएका छन्। पछिल्ला दिनमा गुटको फेरो लिने र अनुशासन तोड्ने संस्कार नेकपामा बढोत्तरी हुन थालेको अनुशासन आयोगका अध्यक्ष बोहोरा बताउँछन्। पार्टीभित्र नेता–कार्यकर्ता कुनै न कुनै गुटमा रहेका र त्यही गुटको छायाँमा बसेका कारण नेता–कार्यकर्तालाई अनुशासनको सीमाभित्र बाँध्न अप्ठ्यारो आइलाग्ने चिन्ता उनी देखाउँछन्। भन्छन्, ‘पार्टी यसरी बन्दैन, यसले पार्टीलाई सिध्याउने काम मात्र गर्छ।’


पार्टी अनुशासन भयावह

– अमृत बोहोरा, अध्यक्ष अनुशासन आयोग, नेकपा

नेकपाभित्र पार्टी अनुशासनको अवस्था कस्तो छ ?

पार्टी आन्दोलन र निर्माण दुवै बेलामा अनुशासनको विशेष महत्त्व हुन्छ। अनुशासन र पद्धति भएन भने पार्टी नै हुँदैन। धेरै पद्धति बिग्रेको छ। विधि भत्केको छ। अनुशासन उल्लंघन हुने र अराजकता फैलिरहेको छ। आचरण बिग्रेको छ। पार्टी अनुशासन भयावह अवस्थामा छ। भर्खरै सम्पन्न स्थायी समिति बैठकमा अध्यक्षको प्रतिवेदनमा पनि यी विषय आएको छ।

किन यस्तो भइरहेको छ ? यसले पार्टीलाई कहाँ पुर्‍याउँछ ?

कुनै आग्रह नराखेर एकदम वस्तुनिष्ठ ढंगले भन्दा पार्टीमा अनुशासन पद्धति र मूल्य–मान्यता भन्ने कुरा विस्तारै ह्रास हुँदै गएको छ। त्यसको पछाडिका कारण भनेको वैचारिक–राजनीतिक काम भएन। मान्छेलाई निखार्ने, आलोचना गर्ने, गलत प्रवृत्तिबाट मुक्त गर्ने पद्धति–प्रक्रिया पार्टीमा करिब ठप्पै भयो पहिलो कुरा।

दोस्रो, कमिटीका बैठक भएनन्। बैठक भएको भए त्यही छलफल हुन्थ्यो। ठीक–बेठीक छुट्ट्याउने काम हुन्थ्यो। अनि मान्छेले कहाँबाट प्रशिक्षित हुने ? पुराना लामो इतिहास बोकेर आएकाले के गर्नुहुन्छ–हँुदैन, अलिकति बुझ्छ।

नयाँ पिढीले जे–जसरी चलेको छ, त्यही हो भन्ने ठान्छ। उनीहरूको सैद्धान्तिक स्तर उठाउन अध्ययन प्रशिक्षणको व्यवस्था छैन। गलत काम गरेवापत छानबिन र कारबाही गर्ने प्रक्रिया केही भएन। पार्टीमा गुटबन्दी छ। गुटका कारण यस्तो भएको भन्दिन्छ। आग्रह राखेर यस्तो गरेको भनेर एकले अर्काेलाई ढाकछोप गर्ने प्रवृत्ति छ। एउटा न एउटा गुटमा गएर टाँसिएपछि कसरी छानबिन र कारबाही गर्ने ? समस्या छ।

सामाजिक सञ्जालमै पार्टीका जिम्मेवार नेताहरू आरोप–प्रत्यारोपमा उत्रेको विषयमा कत्तिको जानकार हुनुहुन्छ ?

मैले धेरै हेरेको छैन। पूर्वएमाले हुँदा हामी अलिक बढी छलफल गथ्र्यौं; पार्टी नेतृत्वलाई जानकारी गराउँथ्यौं र सतर्क हुन आग्रह गथ्र्यौं तर एकतापछि त्यस्तो केही पनि छैन। मैले जिम्मेवारी केही समयअगाडि मात्र पाएको हुँ। कमिटीले अझै पूर्णता पाएको छैन। यसकारण यस्ता विषयमा खास टिप्पणी गर्ने अवस्थामा म छैन।

पार्टीमा यो खालको समस्याका बीचमा तपाईं कसरी काम गर्नुहुन्छ ?

अवस्था पार्टीभित्र कति विकराल छ भने यसलाई नसम्हाली हुँदैन। अनुशासन आयोगले मात्र सक्दैन। पार्टी कमिटी पनि सचेत हुनुपर्छ। नेतृत्व पनि सचेत हुनपर्छ।

कहिलेबाट काम अघि बढ्छ ?

आयोगले पूर्णता पाएपछि विधानले दिएको अधिकार क्षेत्रभित्र रहेर काम अघि बढाउँछौं।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.