मेलोडी किङ अर्थात् सर्जकका पनि सर्जक
नेपाली संगीतको अध्ययन, अनुसन्धान त परै जाओस्, खाकासमेत नकोरिएको अवस्था छ। उन्नाईसौं शताब्दीको उतरार्धमा मलेवादेवी, सेतुराम र मित्रसेनले प्रवासमा र साहिँला ऊस्ताद र रत्नदास प्रकाश आदिले खारेको जगमा नातिकाजी मलेखुले सुगम संगीतको धरहरा ठड्यादिए। पाटनमा जन्मेका टुहुरा अमृतलाल सात वर्षदेखि गुह्येश्वरीका पूजारी मूलका मावलीबाजेले हुर्काएकै कारणले नातिकाजी हुन पुगे। दैनिक रूपमा भजनकीर्तनसँगै ऋतुपिच्छे बजाइने संगीत र खासपर्वमा गाइने शास्त्रीय चर्यागीतले त यिनलाई सानै उमेरमा संगीतको संगत मात्र होइन, मर्मज्ञ नै बनायो, जसको श्रेय गुरु तुयुलाल श्रेष्ठलाई जान्छ।
स्कुल, कलेजमा भर्ना भए पनि उनको मन केवल संगीतमा रतिएको हुन्थ्यो। उनको दृढ इच्छाशक्तिले उनलाई इलाहाबादको प्रयाग संगीत महाविद्यालयमा अध्ययन गर्ने मौका जुर्यो। फर्केपछि उनको गीत, संगीत रचना र गायनमा जन्मेको गीत नै उनको जेठो सन्तान हो। पुष्प नेपालीको रचनामा नातिदाइले गाएको गीत ‘पहाड बसी वनमा खेली हुर्केकी अकेली’ गीत सिर्जना गरे। राजा महेन्द्रले रेकर्ड गरिदिएको सो गीत नै नातिकाजीको संगीतात्मक जिन्दगीको कोसेढुंगा सावित हुन पुग्यो। त्यसलाई उनले आफ्नो जीवनको सबैभन्दा सुखद क्षण मानेका छन्।
२००७ मा खुलेको रेडियो नेपाल र संगीतकार नातिकाजी जम्ल्याहा सन्तानभन्दा पनि हुन्छ। त्यतिबेलै रेडियो नेपाल पसेका नाति संगीत प्रसारणको एउटै थलो रेडियो नेपालमा सुब्बाको जागिरमा प्रवेश गरे। त्यसै वर्ष उनले ‘तिमीले मलाई रुवाएर गयौ’ बोलको गीत आफ्नै रचना र संगीतमा गाएका थिए। त्यसबेलाको रेडियो स्टुडियोको अवस्थाबारे वर्णन गर्दै स्वयं नातिले ‘मैले गीत गाउँदा आफैंले ढोलक बजाएको थिएँ’ भनेका छन्। यसलाई नै नातिकाजीको पहिलो गीत मानिन्छ। त्यसपछि यिनले लगातार एक दशकभित्र दुई सयभन्दा बढी गीत रेकर्ड गरेर उसैबेला नेपाली सुगम संगीतको संख्यात्मक मात्र नभई गुणात्मक रेकर्ड तोडेका थिए।
पछिल्लोपटक गाउन छाडेर संगीत दिन मात्र तल्लीन नातिले दिएको संगीत संख्या चार हजारभन्दा बढी मानिन्छ। यिनको चार दशकको रेडियो नेपालको ढलीमलीमा पुष्प नेपाली, बच्चु कैलाश, तारादेवी मात्र होइन, माणिकरत्न, योगेश वैद्य, ज्ञानबहादुर, पन्नाकाजी, फत्यमानजस्ता गायक–गायिकाको जत्था नै तयार पारे। अझ नारायण गोपाल, प्रेमध्वज र उदितनारायण, मीरा राणा, गंगा राणा र ज्ञानु राणा, कमला श्रेष्ठ, रचना जिसीलाई पनि चम्काए।
गीतकार माधव घिमिरेको ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ गीतलाई उपयुक्त लय र गायनमा बुनेर सर्व श्रेष्ठ राष्ट्रिय गीत बनाउनुमा नातिको सिंगो योगदान छ। गीतकार हरिभक्त कटुवाल, ईश्वर बल्लभदेखि मविवि शाहसम्म रत्नशमशेर थापा, कालीप्रसाददेखि चाँदनी शाह र डा. राममान तृषितदेखि राजेन्द्र थापासम्म रहेका छन्। शम्भुजित बाँस्कोटा र दीप श्रेष्ठ र दीपक जंगम मानसपुत्र भइहाले। यिनले ककसको गीत गाए, संगीत भरे, ककसलाई गाउन लगाए भन्दा कुन–कुन समकालीन गीतकार, संगीतकार र गायक यिनबाट विमुख भए, औंला भाँच्नुपर्ने हुन्छ। त्यसैले नातिलाई सर्जकका पनि सर्जक मान्दा अत्युक्ति हुँदैन।
रेडियो नेपालमा भ्वाइस टेस्ट नगरी गाउन पाइँदैनथ्यो। त्यसैमा मोलाहिजा गर्छन् भनेर गाइँगुइँ नसुनिएको होइन। तर डा. ध्रुवचन्द्र गौतमको अनुभवले उनलाई लागेको दाग पनि पखालिएको छ। गौतमको अनुभव यस्तो छ, ‘२०१६ सालको कुरा हो, म वीरगञ्जको गल्लीमा एक्लै ‘पहाड बसी वनमा खेली’ गीत गाउँदै उफ्रन्थें। मैले नेपाली गीत गाएको देखेर साथीहरू हाँस्थे। यही रन्कोमा नातिकाजीलाई भेट्न गएँ। उनले विनाभ्वाइस टेस्ट मेरो युगल दुइटा गीत मीरा राणा र ज्ञानु राणासँग गाउन लगाए। अझ बाजासमेत आफैं बजाइदिए। यस घटनाबाट मेरो ऊहाँप्रतिको श्रद्धा दुबोजस्तै हरियो भएर रहेको छ।’
त्यस्तै अनुभव भूपी शेरचन्दको पनि छ। नातिकाजी राष्ट्रिय नाचघरमा राष्ट्रिय गीतको धुन खोज्दै थिए, भूपी संयोगले टुप्लुक्क पुगे। नातिले एउटा राष्ट्रिय गीत लेखिदिन अनुरोध गरे। भूपीले टार्न सकेनन्। तुरुन्त गीत बनाइदिए। त्यही गीत हो ‘यो नेपाली शिर उचाली।’ यो गीतमा भूपीको प्रतिभा छर्लंग देखिन्छ। अझ सन्दर्भ हो नातिकाजीको गर्भरचना शैलीको। झण्डै त्यस्तै अनुभूति छ कवि रत्नशमशेर थापाको पनि। नाति हार्मोनियम लिएर सी.. सी.. गरेर धुन खोज्दै थिए। दौंतरी रत्नशमशेर भेट्न पुगे। देख्नासाथ वेदनात्मक गीत लेख्न भने। तत्कालै धुन हालेको गीत हो– आँखैमा रात गली...।’ यसरी सुस्केरामा सुसेलेर मौलिक र विरही लय हालेकाले नै उनी मेलोडी किङका रूपमा प्रख्यात भए।
सात वर्षको कलिलो हातले चालेको हार्मोनियमको पर्दाले ७० वर्ष पछि मात्र वि श्राम पायो। मावलीको गुरुकुलमा दीक्षित नाति संघर्ष र साधनामा घोटिँंदै कालीगण्डकी पुगेको शालीग्रामजस्तै रेडियो नेपालका शालीग्राम हुन पुगे। यसैगरी दुई दर्जनभन्दा बढी अपेरा अर्थात् पिँजडाको सुगा कुञ्जिनी र पृथ्वीनारायण शाहका चार पक्षजस्ता गीतिनाटकमा अब्बल संगीत दिए। मनको बाँध, सिन्दूर र पच्चीस वसन्तसहितका थुप्रै गीतहरूमा पनि उनले संगीत निर्देशन दिएका थिए।
यसरी संगीतमै ब्युँझेर संगीतमै निदाउने एकलव्यजस्ता महर्षि नातिकाजीको आर्थिक स्थिति सुरुबुरुबाट उठ्न सकेन। तीन छोरी हुर्काउन पनि पत्नी सरस्वतीको ठूलो योगदान थियो। उनी स्वास्थ्य परिचारिका भएकाले पारिवारिक जिम्मेवारी सम्हाल्न सफल भइन्। हजारौं संगीतका सर्जक नातिले थोत्रो साइकलमा रेडियो नेपाल धाए। जीवनको उत्तरार्धमा सुब्बाबाट शाखा अधिकृतमा पदोन्नति भए। सँगै उनको साइकलको पनि पदोन्नति भएर थोत्रो मोटरसाइकलमा परिणत भयो।
जेसुकै चढे पनी छरपस्ट गीत बोकेका कालो झोला छुट्दैनथ्यो। ५० को एकदशक नेपालको कल्चरल हेरिटेज पार्किन्सनको सिकार भयो। जसका कारण उनी पत्नीका हात समाएर थर्थराउँदै थिग्रिए। तर रेडियो नेपाल, आस्थाको राजा परम् आस्थाको भगवान्ले पनि उनको उपचारमा चासो देखाएनन्। तर उनलाई भने कृतघ्नताको कुनै परवाह थिएन। उनको सहजता र शुद्धताले कसैलाई सरापेनन् न त कसैको कुभलो चिताए। बरु अन्तिम क्षणसम्म हार्मोनियम बजाउन पाएकोमा उनी सबैसँग कृतज्ञ नै थिए। त्यसैले त गीतकार यादव खरेलले नातिकाजीलाई सरल, सहयोगी र शुद्ध पाएका छन्। कालीप्रसाद रिजालले शब्द संवेदनशीलता बुझ्ने संगीतकारका रूपमा लिएका छन्। तर उनी स्वयंलाई भने माधव घिमिरेको रचना र नारायण गोपालको स्वरमा ‘आजै र राति के देखें सपना मै मरी गएको’ सबैभन्दा मन पर्छ।
हुन त युग स्रष्टाहरू हतपत जन्मदैनन् र जन्मेपछि मर्दैनन्। तर यथार्थ अर्कै छ। ४२ वर्ष सेवा गरेको रेडियो नेपालमै उनका गीत ढुँडी परेर थन्किएका छन्। मोजार्ट र विथोवनसँग दाँजिएका नाति बसेको घरसमेत छैनन्। एउटा घरमा सुगम संगीतको तीर्थस्थलका रूपमा नातिकाजीको संग्रहालय खोल्न सके हुन्थ्यो। उनको निधन भएको १६ वर्ष बित्दा पनि राज्य घोत्लिरहेको छ।
प्रतिक्रिया दिनुहोस !