परनिर्भर बन्दै राउटे

परनिर्भर बन्दै राउटे

सुर्खेत : वरिपरि घना जंगल। डाँडामा सानो चउर। चउरभरि बाँस र भाटा प्रयोग गरी बनाइएका टहरा छन्। पुरानो पालका प्वालबाट चिसो बिस्तारामै पुग्छ। तिनै टहराबाहिर शनिबार दिउँसो आगो तापिरहेका थिए, राउटे युवा। उनीहरू अधिकांश मदिराले लठ्ठ देखिन्थे।

यो दृश्य हो, दैलेखको गुराँस गाउँपालिका–४ सत्ताचौरमा बसिरहेका राउटे समुदायको। उनीहरू विगतमा ‘पैसा छोए पाप लाग्छ’ भन्थे तर हिजोआज आगन्तुकसँग पैसा माग्छन्। त्यो रकम उनीहरू धूमपान, मद्यपानमा खर्चन्छन्। यसको मुख्य कारण हो, सरकारी, गैरसरकारी संस्थाले राउटेलाई दिने मनलाग्दी सहयोग। आफूखुसी दिइने सहयोगले राउटेहरू परनिर्भर बन्दै गएका छन्।

जंगलमा बसेर काठका भाँडाकुँडा बनाई जीविकोपार्जन गर्दै आएका उनीहरू मागेर गुजारा चलाउने अवस्थामा पुगेका छन्। ‘सहयोगमा आएको लाखौंका कपडासमेत उनीहरू कहिल्यै लगाउँदैनन्, बरु फाटोटुटो कपडा उपयुक्त ठान्छन्’, गाउँपालिकाले राउटेको हेरचाहका लागि खटाएका नगेन्द्र योगी भन्छन्, ‘फेरि सहयोग आउँछ भन्दै उनीहरू सहयोग पाएको लुगा सस्तैमा बेचिदिन्छन्। त्यही रकमले धूमपान तथा मद्यपान सेवन गर्छन्।’खाद्यान्न तथा लत्ताकपडा बुझ्दै राउटे। तस्बिर : नन्दराम जैसी

उनका अनुसार राउटेलाई स्वदेश तथा विदेशबाट लाखांै सहयोग आउँछ। उक्त सहयोगले अपेक्षानुसार राउटेको व्यवहार परिवर्तन नभई जीवनशैली बिग्रिएको गाउँपालिका अध्यक्ष खेमराज वलीको तर्क छ। ‘पहिले–पहिले राउटेहरू जंगलमै बसेर काठका भाँडाकुँडा बनाएर जीविका चलाउँथे। उनीहरूको मुख्य आहारा जंगली जनावर र जडीबुटी हो’, उनी भन्छन्, ‘तर, विभिन्न निकायले सहयोग गर्न थालेपछि उनीहरू सहयोग माग्दै सहर पसेर कुलतमा लागेका छन्।’ राउटेहरूको रैथाने संस्कृति संरक्षण गर्दै जीवन उपयोगी सीपसहितको व्यवहार परिवर्तनका लागि गाउँपालिकाले आवश्यक योजना बनाउने उनको भनाइ छ।

शिक्षा निर्देशनालय कर्णाली प्रदेश सुर्खेत र अन्नपूर्ण एग्रो इन्डस्ट्रिज तुलक्षीपुरले शनिबार ४ लाखभन्दा बढी रकमको खाद्यान्न तथा लत्ताकपडा राउटेलाई सहयोग गरे। निरन्तर सहयोग आउन थालेपछि समुदायमा काम नगरी खान पाइन्छ भन्ने सोच बढेको राउटे मुखिया सूर्यनारायण शाही स्वीकार गर्छन्। ‘हामी बिस्तारै आमनागरिकजस्तै व्यवसाय गरेर खान सक्छौं’, उनी भन्छन्, ‘तर, समुदाय न पहिलेजस्तो रह्यो न त आधुनिकतासँगै अघि बढ्न सकेको छ।’

चिसोले दुई बालकको मृत्यु

चिसोका कारण दुई सातायता दुई राउटे बालकको ज्यान गएको छ। जाडोबाट जोगिने प्रबन्ध नभएकै कारण पुस ९ गते राति चार महिनाका शिशु जंगबहादुर शाही र पुस १५ गते १४ वर्षीय पीपल शाहीको मृत्यु भएको हो।

दैलेको गुराँस गाउँपालिकामा बस्दै आएका राउटे पुसको कठ्यांग्रिने जाडोबाट बच्ने प्रभावकारी उपाय नभएको बताउँछन्। राउटे मुखिया शाही चिसोले कटेरोमा रात गुजार्न हैरान हुने बताउँछन्। उनका अनुसार दुई बालकले चिसोका कारण ज्यान गुमाएपछि राउटेहरू अर्को वासस्थलको खोजीमा छन्। उनीहरू आफन्त वा परिवारका कोही कसैको ज्यान गएको स्थानमा बस्दैनन्।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान अनि सामाजिक सेवा केन्द्र सोसेक दुई गैरसरकारी संस्थाले राउटेको उत्थानका काम गरिरहेका छन्। मन्त्रालयले चालू आर्थिक वर्ष ‘राउटे समुदायको मूल प्रवाहीकरण कार्यक्रम’ शीर्षकमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ। तर, राउटे समुदायको दिगो व्यवस्थापन र सहज जीविकोपार्जनको क्षेत्रमा कस्ता कार्यक्रम गर्ने भनेर अन्याल देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.