वाणिज्यको प्रादेशिक कार्यालय स्थापना
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय स्थापना भएको छ। बैंकको प्रादेशिक कार्यालय कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार उद्घाटन गरेका हुन्। सो अवसरमा बोल्दै उनले वाणिज्य बैंकलाई अन्य निजी बैंकभन्दा छिटो छरितो, सुरक्षित र भरपर्दो सेवा प्रवाह गर्न सुझाव दिए।
‘गरिबीको रेखामुनी रहेका जनतालाई उत्पादनशील कार्यमा लगाउन सहुलियत ऋण उपलब्ध गराउने निर्णय कर्णाली प्रदेश सरकारले गरेको छ’ उनले भने, ‘प्रदेश सरकारको यस निर्णयलाई कार्यान्वयन गर्न बैंकले समेत साथ दिनुपर्छ।’ प्रदेश मातहत शाखाको अनुगमन, निरीक्षण र सुपरिवेक्षण गर्ने हेतुले बैंकको प्रादेशिक कार्यालय स्थापना गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बताए।
बैंकको प्रादेशिक कार्यालयले एक करोड २५ लाखसम्मको ऋण स्वीकृत र दुई करोड ५० लाखसम्म कर्जा नवीकरण गर्ने उनले जानकारी दिए। ‘बैंकका झन्डै ३० लाख निक्षेपकर्ता, दुई लाख ग्राहक कर्जा र दुई सय २८ शाखा छन्’, उनले भने, ‘प्रादेशिक कार्यालय स्थापनासँगै बैंकले आफ्ना थप सेवा प्रभावकारी बनाएको छ।’
प्रतिक्रिया दिनुहोस !