हिमपातले जलविद्युत आयोजनाको निर्माण ठप्प
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको निलगिरि र निलगिरि क्यासकेड जलविद्युत आयोजना निर्माण ठप्प भएको छ । ११० मेगावाट क्षमताको आयोजना निर्माण स्थलमा हिउँ जमेपछि सुरुङ, बाँध र पहुचमार्गको काम अवरुद्ध भएको हो । बाक्लो हिउँ परेको र चिसो बढेका कारण आयोजनाको काम रोकिएको निलगिरि हाइड्रोका प्रतिनिधि उपेन्द्र गौतमले बताए ।
'उच्च पहाडी क्षेत्रमा रहेको आयोजना निर्माण स्थलमा हिउँ जमेपछि ठप्प भएको छ,' उनले भने, 'चिसो र हिउँले मजदुरले काम गर्न सकेका छैन्न् ।' सो क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म हिमपात भएको थियो ।
सातवटा एक्साभेटर र सातवटा कम्प्रेसर मेसिन थन्किएको गौतमले बताए । डेढ सय मजदुर छन्। कर्मचारी र मजदुरहरु रानीबासस्थित कार्यालयमा आएर बसेका छन् । बाध निर्माण स्थल छोटेपामा एक मिटर बाक्लो हिउ जमेको छ । हिउ नपग्लीएसम्म आयोजनाको काम सूचारु गर्न नसकिने गौतमको भनाई छ ।
निलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाटका निलगिरि र ७१ मेगावाट क्षमताको निलगिरि क्यास्केड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । नारच्याङको मिरिस्ती र घलेम्दी खोलाको दोभानमा प्रस्तावित विद्युतगृहदेखि छोटेपा भन्ने ठाउँमा बन्ने बाँधसम्म १३ किलोमिटर सडक पुर्याएको छ ।
छोटेपा देखि निलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोलामा प्रस्तावित निलगिरि खोलाको बाँधसम्म थप साढे तीन किलोमिटर सडक विस्तार गरिरहेको छ । काम ठप्प हुँदा आयोजनालाई लाखौं नोक्सानीका साथै निर्माणको समय तालिका प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस !