महेन्द्र रत्न क्याम्पसमा विवादै विवाद

महेन्द्र रत्न क्याम्पसमा विवादै विवाद

इलाम : इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्ष राजेन्द्र कुँवर र क्याम्पस प्रमुख रामप्रसाद गुरागाईको विवाद अदालतमा पुगेको छ। क्याम्पस प्रमुख गुरागाईले उच्च अदालत विराटनगरको इलाम इजलासमा क्याम्पसका सञ्चालक समिति अध्यक्ष कुँवर र सहायक क्याम्पस प्रमुख प्रेम लुइँटेललाई विपक्षी बनाएर मंगलबार मुद्दा दर्ता गरेका छन्।

आफूले पुस १६ गते नै बिदा दिएको भए पनि नियमविपरीत सञ्चालक समितिको बैठक बसाएर २२ गतेदेखि बिदा दिने निर्णय गरेको भन्दै गुरागाईले मुद्दा दर्ता गरेका हुन्। अदालतले बुधबार सुनुवाइ गरेको छ। अदालतले पुस २७ गते दुवै पक्षलाई बोलाएको प्राध्यापक संघका सदस्य सन्तोष पराजुलीले जानकारी दिए।

सत्तारुढ नेकपाका नेताले आफ्ना परिवार र आफन्तलाई शिक्षक तथा कमर्चारीमा करार नियुक्ति गर्न, आफन्तको जग्गा भनेको मोलमा क्याम्पसले किन्नुपर्ने दबाब क्याम्पस प्रमुख गुरागाईलाई दिएका थिए। ती काम गर्न अस्वीकार गरेपछि गुरागाईविरुद्ध चौतर्फी दबाब सिर्जना गरेको प्राध्यापकहरूको आरोप छ। त्रिवि प्राध्यापक संघको क्याम्पस इकाईले सञ्चालक समिति, क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखले समस्या समाधान गर्न चासो नदेखाएको आरोप लगाएको छ। इकाई सभापति तारानाथ पराजुलीले विज्ञप्ति निकालेर समस्या समाधान गर्न वा राजीनामा दिएर वातावरण बनाउन माग गरेका छन्।

क्याम्पस प्रमुख गुरागाईमाथि दबाब दिन इलाम नगरपालिकाले क्याम्पसलाई दिँदै आएको पानीको परिमाण घटाएको छ। उनले अहिले दैनिक २ सय लिटर हाराहारी मात्र पानी आउने गरेको बताए। उनले पानी किनेर विद्यार्थीलाई खुवाउने गरेको बताए। छात्राबासमा ६० छात्र र ७० छात्रा बस्छन्। प्राध्यापक र कर्मचारी १३ क्वार्टरमा बस्छन्। उनी नयाँ भर्नाको समयमा क्याम्पसमा द्वन्द्व बढेसँगै विद्यार्थी भड्किने पिरलोमा छन्। उनले भने, ‘अवस्था यस्तो छ, सबैकुरा प्रभावित हुने भयो।’ उनले कतिपय भौतिक पूर्वाधार निर्माणसमेत प्रभावित भएको बताए। क्याम्पसमा २ हजारभन्दा बढी विद्यार्थी छन्।

नेकपाका स्थानीय नेताले भनेको नमानेपछि राजीनामा दिन नेकपाले गुरागाईमाथि दबाब दिएको थियो। राजीनामा नगरेका उनलाई नेकपाले पार्टी सदस्यबाटै उनलाई निलम्बन ग¥यो। यसअघि नेकपा इलामका कार्यालय सचिव नवराज शंकरले विज्ञप्ति निकालेर गुरागाईले पार्टीको हितविपरीत काम गरेकाले निलम्बन गरेको जनाएका थिए।

क्याम्पस प्रमुखले आफ्ना मागको बेवास्ता गरेको भन्दै नेकपाको भ्रातृ संगठनले मंसिर २ देखि उनको कार्यकक्षमा ताला लगाएको छ। विद्यार्थीले क्यापस प्रमुखसँग शैक्षिक अवस्था सुधारका लागि १८ बुँदे माग राखेको अनेरास्ववियूका इलाम जिल्ला अध्यक्ष प्रवेश पराजुलीले बताए। नेकपाकै भागमा परेको क्याम्पस प्रमुखले आफ्ना माग नसुनेपछि अनेरास्ववियूले उनको राजीनामा माग्दै प्रशासन र लेखासमेत बन्द गराएका छन्।

नेविसंघले भने नेकपाका दुई गुटको तानातानले जिल्लाको जेठो क्याम्पसको शैक्षिक वातावरण तहसनहस भएको भन्दै तत्काल समस्या समाधान गर्न माग गरेको छ। नेविसंघका जिल्ला अध्यक्ष प्रकाश भट्टराईले बन्दबाट नयाँ भर्ना प्रभावित भएको बताए। उनले भने, ‘यो विवाद क्याम्पस प्रमुख र क्याम्पस व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र कुँवरबीचको हो, समस्या समाधान गर्न नसके राजीनामा दिनुपर्छ।’

नेकपानिकट विद्यार्थी संगठनले केही दिनअघि विज्ञप्ति निकालेर क्याम्पस प्रमुखलाई बिदाइ गरेको थियो। सो संगठनले मंगलबार क्याम्पस आएका प्रमुखलाई माला र अबिर लगाएको थियो। अनेरास्ववियुले क्याम्पस प्रमुखलाई काम नगर्न चेतावनीसमेत दिएको छ। गुरागाईले ४ वर्षका लागि नियुक्ति भएकाले अवधि पूरा भएपछि आफैं जाने बताए। उनले भने, ‘दबाबका भरमा बीचमै छोड्ने कुरै आउँदैन।

उनले विद्यार्थीका मागभन्दा पनि उनीहरूपछाडिको शक्तिका कारण क्याम्पसको शैक्षिक वातावरण बिग्रिएको बताए। उनले भने, ‘विद्यार्थीभन्दा पनि अरू कुराको ठूलो भूमिका देखिन्छ।’ उनले ‘अरु’बारे भने खुलाएनन्। नेकपा विद्यार्थी प्रयोग गरेरै क्याम्पस प्रमुख हटाउने सुरमा रहेको एक प्राध्यापकले बताए। कर्मचारी नियुक्ति, जग्गा खरिदलगायत विषयमा नेकपाकै स्वार्थ समूहको हितमा काम नगरेकाले पाखा लगाउने प्रयास भएको आरोप नेकपा नेतृत्वमाथि लागेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.