प्रशारण लाइन प्रभावितलाई क्षतिपूर्ति दिन थालियो
बेनी : निर्माणको अन्तिम चरणमा पुगेको २२० केभी क्षमताको दाना-खुर्कोट प्रशारण लाइनबाट प्रभावित हुने जग्गाको क्षतिपूर्ति वितरण सुरु गरेको छ । कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाले पर्वतको कुश्मा नगरपालिका १ खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना जोड्ने प्रशारण लाइनको अधिकार क्षेत्रमा पर्ने जग्गाका धनीलाई करिब तेइस करोड रुपैयाँ क्षतिपूर्ति बाड्न लागेको हो ।
३९ दशमलब ६ किलोमिटर दुरीको प्रशारण लाइनको मध्य भागबाट दायाँ र बायाँ १५÷१५ मिटर भित्र पर्ने निजी जग्गाका धनीलाई टावर प्याडमा निर्धारण भएको मुआब्जाको दश प्रतिशतले हुने क्षतिपूर्ति वितरण गर्न लागिएको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए ।
'करिब एक हजार कित्ता निजी जग्गाका धनीलाई क्षतिपूर्ति दिन लागिएको हो,' उनले भने, 'प्रशारण लाइनको अधिकार क्षेत्र भित्र पर्ने जग्गामा संरचना निर्माण र रुख बिरुवा रोप्न नपाउने भएकाले क्षतिपूर्ति दिन लागिएको हो।'
लाइनको अधिकार क्षेत्रमा पर्ने जग्गामा खेतीबाली लगाउन भने पाइन्छ । बेनीस्थित कार्यालयबाट क्षतिपूर्ति वितरण भइरहेको आयोजनाले जनाएको छ । म्याग्दीको अन्नपूर्ण गाउपालिको वडा न. १, २, ३, ६, ७, रघुगंगा गाउँपालिकाको १, २ र ३ तथा पर्वतको कुश्मा नगरपालिकाको १, २, जलजला गाउँपालिकाको १, २, ३, ६, ७ र ८ नम्बर वडामा प्रशारण लाइन निर्माण भएको छ ।
कुल ११४ वटा मध्य १०८ वटा टावर बनेर तार तानि सकिएको छ । अन्नपूर्ण गाउपालिकाको पोखरेबगर क्षेत्रमा ६ वटा टावर निर्माण भैरहेको छ । टावर निर्माण भएका १०० घरधुरी जग्गाका धनीलाई यसअघि आठ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको थियो ।
पर्वतमा ५५ र म्याग्दीमा चालीस रोपनी निजी जग्गा अधिग्रहण भएको थियो । पर्वतमा तीन करोड ९७ लाख र म्याग्दीमा चार करोड १७ लाख रुपैयाँ मुआब्जा वितरण भएको छ । यो आर्थिक वर्षको साउन यता चार करोड ६६ लाख २३ हजार ४४३ रुपैयाँ मुआब्जा र क्षतिपुर्ति बाडिएको आयोजनाले जनाएको छ ।
टावर निर्माण हुने जग्गालाई चार वर्गमा बाडेर प्रतिरोपनी पाँच लाख देखि तेह् लाख रुपैयाँका दरले मुआब्जा दिइएको थियो । प्रशारण लाइनको अधिकार क्षेत्रमा पर्नेलाई टावरको मुआब्जाको दररेट अनुसार दश प्रतिशतका दरले क्षतिपूर्ति दिन लागिएको हो ।
म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादीत बिजुली केन्द्रिय ग्रिडमा जोड्न एशियाली विकास बैङ्कको सहयोगमा प्रशारण लाइनका साथै दाना र खुर्कोटमा सब स्टेशन बनाउन लागिएको हो ।
प्रशारण लाइन र सबस्टेशन बनाउन सन् २०१६ मा दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना डेढ वर्ष ढिला गरि सकिन लागेको हो । पोखरेबगर क्षेत्रमा जग्गाधनीसंगको बिवाद र वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाइले आयोजना निर्माण प्रभावित बनेको थियो ।
पोखरेबगर क्षेत्रमा करिब दुई वर्षदेखि रोकिएको प्रशारण लाइन निर्माणको काम स्थानीय प्रशासनको सहजिकरणमा गत महिनादेखि सूचारु भएको थियो । अबको दुई महिनाभित्र प्रशारण लाइन र सब स्टेशन निर्माण सकिने आयोजना प्रमुख घोषले बताए।
खुर्कोट र दानाको सब स्टेशनमा उपकरण जडान भइसकेको आयोजनाका लक्ष्मण फुयालले बताए । आयोजना निर्माणमा भएको ढिलाइका कारण घलेम्दीखोला जलविद्युत आयोजनाको ५ मेगावाट विद्युत खेर गएको छ ।
१३ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन् । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाले प्रशारण लाइन र सबस्टेशनसंगै उत्पादन सुरु गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस !