‘राजीनामा दिन्नँ, बैठक चलाउँछु’

‘राजीनामा दिन्नँ, बैठक चलाउँछु’

 काठमाडौं : उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने चेतावनी दिएकी छन्। सत्तासीन नेकपाले राजीनामा मागेपछि ‘पार्टीको निर्णयबारे आफूलाई जानकारी नभएको’ भन्दै उपसभामुखबाट राजीनामा नदिने तुम्बाहाङफेले बताएकी हुन्।

रिक्त सभामुख पद आफूलाई दिने निर्णय नगरी पार्टीले उपसभामुखबाट राजीनामा मागेपछि तुम्बाहाङफेले राजीनामा नदिने अडान लिएकी हुन्। नेकपा सचिवालयको शनिबार बसेको बैठकले सभामुखमा पार्टीले उम्मेदवारी दिनका लागि उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराउने निर्णय गरेको थियो। संवैधानिक व्यवस्थाअनुसार उपसभामुखलाई यथावत् राखेर सभामुख पदमा उम्मेदवारी दिन नमिल्ने तर्कसहित नेकपाले तुम्बाहाङफेको राजीनामा मागेको जनाएको छ।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान छ। यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेपछि कृष्णबहादुर महराले राजीनामा दिएका कारण सभामुख पद रिक्त छ।

‘म राजीनामा दिन्न, भोलि (आइतबार) को संसद् बैठक सञ्चालन गर्छु’, तुम्बाहाङफेले अन्नपूर्णसँग भनिन्। ‘सभामुख पदमा उम्मेदवारी दिन उपसभामुखलाई राजीनामा गर्न आग्रह गर्ने निर्णय भयो’, सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। यद्यपि, नेकपाले सभामुख कसलाई बनाउने भन्ने निर्णय गरेको छैन।

प्रधानमन्त्रीबिनाको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओली भने अनुपस्थित थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपसभामुखलाई राजीनामा माग्ने र सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली भने बैठकमा अनुपस्थित थिए। ‘तपाईंहरू सल्लाह नै गरिरहनुभएको छ नि ! मिटिङ राख्नुहोस्, सल्लाह गर्नुहोस्। म रेस्टमा हुन्छु’, प्रधानमन्त्री ओलीले बैठकअघि नेताहरूलाई भनेका थिए। शनिबार मिर्गौला डायलासिस गरेपछि प्रधानमन्त्री ‘रेस्ट’ मा रहेका बेला सचिवालय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पार्टीले राजीनामा माग्ने कुरा अनौठो नभएको तुम्बाहाङफेले बताइन्। ‘राजीनामा माग्ने कुरा नियमित प्रक्रिया हो। दलहरू प्रक्रियामा अघि बढ्छन्, मेरो राजीनामा मागिएको विषय मलाई थाहा छैन’, तुम्बाहाङफेले भनिन्। संसद्मा झण्डै दुई तिहाइ बहुमत रहेको नेकपाले सभामुख उम्मेदवार तय नगर्दा संसद् बैठक झन्डै एक महिनादेखि अवरुद्ध छ। पुस ४ गते संसद् अधिवेशनको पहिलो दिन औपचारिक पूरा गर्नुबाहेक संसद्का बैठक तीन पटक सूचना टाँसेर स्थगन गरिएका छन्। संसद्को बैठक आइतबार बोलाइएको छ।

राजीनामा नदिए के हुन्छ ?

तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा नदिई सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाए सत्तासीन नेकपा संवेैधानिक संकटमा पर्ने देखिन्छ। ‘संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीलाई म बैठकमा अगाडि बढाउँछु’, तुम्बाहाङफेले अन्नपूर्णसँग भनिन्। सचिवालयले सभामुख निर्वाचनको मिति तोक्ने सम्भावित कार्यसूची बनाएको छ। तर, तुम्बाहाङफेले राजीनामा नदिई सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउँदा संवैधानिक व्यवस्थाअनुसार नेकपाले सभामुख पद गुमाउने नेकपाकै नेताहरू बताउँछन्। ‘उहाँले राजीनामा नदिई प्रक्रिया अगाडि बढाए नेकपाले सभामुख पद गुमाउनुपर्छ’, नेकपाका प्रमुख सचेतक देव गुरुङले भने।

पार्टी अध्यक्षद्वय ओली र दाहालसँग शुक्रबार भएको संयुक्त छलफलमा उपसभामुख तुम्बाहाङफेले आफूलाई सभामुख नबनाए संसद् सञ्चालन गर्ने चेतावनी दिएकी थिइन्। त्यसक्रममा तुम्बाहाङफेले सभामुख आफूलाई बनाए मात्र राजीनामा दिने, नभए आफूले संसद्को प्रक्रिया अगाडि बढाउने र त्यस्तो अवस्थामा महाभियोग लगाए पनि सामना गर्ने चेतावनी दिएकी थिइन्। तुम्बाहाङफेको ‘चेतावनी’ पछि दुवै अध्यक्षले उपसभामुखले राजीनामा नदिई निर्वाचन प्रक्रिया अगाडि बढ्न सक्ने÷नसक्नेबारे पूर्वसभामुख सुवास नेम्बाङलाई फोन गरेर राय मागेका थिए। नेम्बाङले उपसभामुखले राजीनामा नदिई निर्वाचन प्रक्रिया अगाडि बढाउँदा नेकपाले सभामुखमा दाबी गर्न नमिल्ने सुझाव दिएका थिए। त्यसपछि दुवै अध्यक्षले उपसभामुखलाई राजीनामा गर्न आग्रह गरेका थिए।

राजीनामामा पूर्वमाओवादीको जोड

उपसभामुखले राजीनामा दिएर सभामुख निर्वाचन प्रक्रियामा सहयोग गर्नुपर्नेमा पूर्वमाओवादीका नेताहरूको जोड छ। प्रधानमन्त्री ओली भने सभामुख टुंगो लागेसँगै उपसभामुखलाई राजीनामा गराउने पक्षमा थिए। तर, उपसभामुखले राजीनामा नदिई सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन अप्ठ्यारो पर्ने भन्दै पूर्वमाओवादीका नेताहरू उपसभामुखको राजीनामामा जोड दिने गरेका थिए। प्रधानमन्त्री ओली अनुपस्थित बैठकले आफ्नो राजीनामा मागेपछि उपसभामुख तुम्बाहाङफे ‘क्रुद्ध’ बनेको स्रोतले बतायो।

‘उपसभामुखले राजीनामा दिन्न भन्नुको प्रमुख कारण नै प्रधानमन्त्री नभएको बैठकले राजीनामा मागेकाले पनि हो कि ? ’ प्रधानमन्त्री ओलीनिकट एक नेताले भने।

भैंसपाटी बैठकको प्रभाव

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुनुको प्रमुख कारण, भैंसेपाटीको गोप्य बैठक रहेको नेताहरूले बताएका छन्। केही दिनअघि सचिवालय सदस्य वामदेव गौतमको निवास भैंसेपाटीमा अध्यक्ष दाहाललगायत ६ जना नेताको गोप्य बैठक बसेको थियो। उक्त बैठकले अमेरिकी मिलेनियम कर्पोरेसन (एमसीसी), संविधान संशोधन र सभामुख निर्वाचन प्रक्रियाबारे छलफल गरेको थियो। ‘सँगै घर जोडिएका महासचिव विष्णु पौडेललाई समेत जानकारी नदिई गोप्य बैठक गर्नेहरूले पार्टीको पद्धति बिगारेपछि प्रधानमन्त्री नरिसाउने कुरै भएन नि’, ओलीनिकट एक केन्द्रीय सदस्यले भने।

राजीनामा दिन निर्देशन

यसअघि सत्तारुढ दल नेकपाले उपसभामुख तुम्बाहाङफेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो। पार्टी एकता पूर्वतत्कालीन नेकपा एमालेका तर्फबाट उपसभामुख निर्वाचित तुम्बाहाङफेलाई राजीनामा गराई रिक्त सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको हो।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुखलाई राजीनामा दिई सभामुखमा पार्टीका तर्फवाट उम्मेदवारी दिनका लागि सहज वातावरण निर्माणका लागि आग्रह गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।

तुम्बाहाङफेले राजीनामा नगर्दासम्म नेकपालाई सभामुखमा उम्मेदवारी दिने वैधानिक बाटो मिल्दैन। ‘अब पार्टीको निर्णयपछि उहाँले सहज बाटो खोल्नुहुनेछ’ प्रवक्ता श्रेष्ठले भने।

नेकपामा सभामुखका लागि उपसभामुख तुम्बाहाङफे, सुवास नेम्बाङ, अग्नि सापकोटा र पम्फा भुसालको नाम चर्चामा छ। सभामुखका लागि दुई अध्यक्षबीच कुरा मिलेको छैन।

प्रधानमन्त्री ओली पहिलो विकल्पमा नेम्बाङ, उनी नभए तुम्बाहाङफेको पक्षमा छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भने पूर्वमाओवादी धारलाई नै सभामुख दिनुपर्ने अडानमा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.